निरन्तर योगदान
उनी मावि तहमा दैनिक दुई पिरियड पढाउँछन् । भन्छन्, “म यतिले सन्तुष्ट छैन । विद्यालय प्रशासनमा अरू साथीले सहयोग गरेमा आठै घण्टी पढाउन पनि तयार छु ।” विद्यालयको काम छाडेर हत्तपत्त बिदामा बस्दैनन्, पराजुली सर । पढाउन थाले देखि बिरामी भएकै कारणले दुई दिन मात्रै बिदा बसेको सम्झना छ, उनलाई ।
टीखेल–२, ललितपुरकागोविन्दप्रसाद पराजुली निजामती सेवामा जागिर खाने धोको पूरा गर्न लगातार खरिदारको परीक्षामा बसे । तेस्रो प्रयासमा उनको नाम निस्कियो । त्यही बेला गाउँको महाँकाल स्कूलमा शिक्षक बन्ने ‘अफर’ आयो । ‘खरिदार’ को जागिर त्यागेर उनी शिक्षण पेशातर्फ लागे ।
त्यतिबेला गोटीखेलमा एसएलसी पास गर्ने पराजुलीबाहेक दोस्रो व्यक्ति थिएन । २०१७ सालमा स्थापित महाँकाल स्कूलबाटै उनले अक्षर चिनेका थिए । उनका बाबुगिन्द्रप्रसाद सो स्कूलको संस्थापक शिक्षक थिए ।गोविन्दले आफूलाई स्कूलका संस्थापक बाबुको बिँडो थाम्नुमा मात्रै सीमित राखेनन्, ३७ वर्ष देखि निरन्तर नेतृत्व दिएर उनले स्कूललाई गतिलो उचाइमा समेत पुर्याए । गोटीखेलमा शैक्षिक चेतना जगाउन उनले धेरै गरे । ‘छोराछोरीलाई पढाउनु पर्छ’ भन्दै घर–घर धाएर गाउँलेलाई झुक्याए । परिणामस्वरुप गोटीखेलमा आज त्यस्तो कुनै घर छैन, जसले आफ्ना छोराछोरीलाई विद्यालय नपठाएको होस् ।
गोविन्दले पढेको र पढाउन शुरु गरेको महाँकाल प्रावि आज निमावि, मावि, उच्च माविहुँदै ‘महाँकाल क्याम्पस’को रूपमा ठडिएको छ । उनी अहिले विद्यालयका प्रअ मात्रै छैनन्, क्याम्पस प्रमुख पनि छन् । विगतलाई सम्झ्ँदै पराजुली भन्छन्, “आँट गरे मा सकिँदोरहेछ । मेहनत गरे अनुसार सबै कामहरू पूरा भए । यसमा स्थानीय समुदाय र अभिभावकको ठूलो सहयोग मिलेको छ ।”
पराजुलीले २०२५ सालमा पाटनको त्रिपद्म माविबाट एसएलसी पास गरे । त्यसको पाँच वर्षपछि आई.ए. पूरा गरे । त्यसको लगत्तै उनको विद्यालय निमावि बन्यो । निमावि कक्षालाई नमुना ढङ्गले चलाएकोमा कदर गर्दै शिक्षा विभागले उनलाई पुरस्कृत गरयो र सरकारी खर्चमा बी.एड. पढ्ने अवसर दियो । २०३६ सालमा उनले बी.एड.को पढाइ पनि सके । अरूलाई पढाउँदै र आफू पनि पढ्दै पराजुलीले २०५२ सालमा नेपालीमा स्नातकोत्तर पूरा गरे ।
ललितपुरको दक्षिण–पूर्वीग्रामीण भेगमा उच्चमाविको कक्षा चलाउने महाँकाल मावि पहिलो हो । २०५५ देखि उच्चमाविको पढाइ हुँदै आएको सोही स्कूलमा तीन वर्ष देखि यहाँ बी.एड.को कक्षा सञ्चालित छ । गाउँमै उच्चमावि र क्याम्पस भएपछि धेरैले उच्च शिक्षाको अवसर पाएका छन् । प्रावि देखि मावि तहसम्म करिब ५०० विद्यार्थी छन् । कक्षा ११ र १२ मा १५६ जना र बी.एड.मा ७४ जना विद्यार्थी अध्ययनरत छन् । गोटीखेलका बासिन्दा यो सफलताको श्रेय ‘पराजुली सर’लाई दिन्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र दाहाल भन्छन्, “दक्षिण ललितपुरकै शैक्षिक विकास को निम्ति अगुवा व्यक्ति उहाँ नै हुनुहुन्छ । यहाँको शैक्षिक विकास मा उहाँले जति त्याग अरूले गरेका छैनन् ।” दाहाल पनि पराजुलीकै विद्यार्थी हुन् । महाँकालका अर्का पूर्व विद्यार्थी परशुराम तिमल्सिना ‘पराजुली सर’को योगदानको प्रशंसा गर्दै भन्छन्, “गोटीखेलको शैक्षिक उत्थानमा उहाँको तुलना अरू कसैसँग हुनसक्दैन ।”
महाँकाल स्कूलले दक्षिण–पूर्वी ललितपुरमा ख्याति कमाएको छ । यो भेगका अन्य विद्यालयको तुलनामा महाँकालको एसएलसीको नतिजा पनि रराम्रो छ । २०६४ सालको एसएसली परीक्षामा महाँकालका ६७ प्रतिशत विद्यार्थी पास भएका थिए । तीमध्ये २५ जना प्रथम श्रेणी थिए । त्यही साल महाँकालकी रेखा लामाले ८४ प्रतिशत अङ्क ल्याएर सरकारी विद्यालयमा छात्रातर्फ ललितपुरकै उत्कृष्ट भएकी थिइन् ।
महाँकाल उच्च माविमा कार्यरत १७ जना शिक्षकहरूमध्ये १३ जना पराजुलीकै पूर्व विद्यार्थीहरू छन् । पराजुलीको नेतृत्व क्षमताबाट उनका सहकर्मी शिक्षकहरू निकै प्रभावित छन् । शिक्षक सीताराम घिमिरे भन्छन्, “बाल्यकालमा उहाँबाट अक्षर चिनियो । अहिले शिक्षक हुँदा पनि उहाँकै मार्गदर्शन पाएका छौं । सबैलाई चित्त बुझएर स्कूल चलाउने क्षमता उहाँसँग छ ।”
यो विद्यालयमा पढ्ने कक्षा एक देखि १० सम्मका विद्यार्थीले शुल्क तिर्नुपर्दैन । प्रअ पराजुली भन्छन्, “विद्यालय र समुदायको समन्वय भयो भने शिक्षालाई निःशुल्क गर्न सकिन्छ । हराम्रो प्रयास यसको एउटा सफल उदाहरण हो । मसलन्द खर्चमा आउने अनुदानकै भरमा विद्यालय चलाएका छौं ।”
विगत पाँच वर्ष देखि विद्यार्थी आकर्षित गर्न प्राथमिक तहमा अङ्ग्रेजी माध्यमबाट पढाइन थालेको बताउँदै प्रअ पराजुली भन्छन्, “आउँदो वर्ष कक्षा ६ हुँदै पाँच वर्षभित्र माध्यमिक तहसम्म अङ्ग्रेजी माध्यम बनाउने प्रयासमा जुटेका छौं ।”
५८ वर्षका यी ‘हेडसर’ तथा क्याम्पस प्रमुखको चक–डस्टर चलाउने जोश–जाँगरमा कत्ति पनि कमी आएको छैन । उनी मावि तहमा दैनिक दुई पिरियड पढाउँछन् । उनी भन्छन्, “म यतिले सन्तुष्ट छैन । विद्यालय प्रशासनमा अरू साथीले सहयोग गरे मा आठै घण्टी पढाउन पनि तयार छु ।” विद्यालयको काम छाडेर हत्तपत्त बिदामा बस्दैनन्, पराजुली सर । पढाउन थाले देखि बिरामी भएकै कारणले दुई दिन मात्रै बिदा बसेको सम्झना छ, उनलाई ।
पराजुली सर ललितपुरको दक्षिण–पूर्वी विद्यालय समन्वय समितिका अध्यक्ष पनि हुन् । यो समितिमा ४२ वटा विद्यालयहरू आबद्ध छन् । समितिले ४२ वटै विद्यालयको पठनपाठनमा एकरुपता ल्याउन बर्सेनि शैक्षिक क्यालेण्डर तयार गर्छ ।
उतिबेला खरिदारको जागिर त्यागेकोमा उनलाई विस्मात छैन । “शिक्षण पेशामा कहिल्यै दिक्क लागेन । न त कहिल्यै पछुतो नै भयो” उनी भन्छन्, “छोराछोरीलाई पढाउनु पर्छ भनेरगोटीखेलमा सार्थक अभियान चलाएँ । मेरा लागि योभन्दा ठूलो सफलता के हुन्छ र ?” बरु शिक्षा मन्त्रालयका कर्मचारीले नै शिक्षण पेशालाई ‘दुई नम्बरको जागिर’ भनेको सुन्दा उनलाई दिक्क लाग्छ । त्यसैले उनी भन्छन्, “यस्तो सुन्दा चित्त दुखे पनि पेशागत आत्मसन्तुष्टि, सामाजिक सेवाका हिसाबले उनीहरूभन्दा हामी दुईकदम अगाडि छौं ।”



