चुम–छेकम्पारः लुकिबसेको उपत्यका छुपिबसेको संस्कृति
चुम–छेकम्पार जस्तो वेयुल किमोलुङ र त्यहाँको समृद्ध संस्कृति र गुम्बाहरूको अलौकिक आकर्षण, अद्वितीय प्राकृतिक छटा, सहृदयी स्थानीय बासिन्दा र तिनको निष्पाप आतिथ्य आदि सम्झ्ँदा जेम्स हिल्टनले सन् १९३३ मा अथ्र्याएको ‘साङ्ग्रिला’को अनुभूति यही उपत्यकामा अनुभव हुन्छ ।
Something hidden. Go and find it.
Go and look behind the Ranges—
Something lost behind the Ranges.
Lost and Waiting for you.
- Rudyard Kipling, "The Explorer" 1898.
केही छ त्यहाँ लुकिबसेका । जाऊ र पत्ता लगाऊ ।
हिँडिहाल र खोजी हेर पर्वत श्रेणीको पछाडि गएर ।
केही हराएको छ त्यहाँ, ती पर्वत श्रेणीका पछाडि ।
हराएका ती वस्तु तिम्रै लागि पर्खिबसेका छन् ।
बस् तिम्रै लागि...
एक सय एघार वर्ष पहिले कवि किप्लिङले व्यक्त गरेका यी भावनाहरू मनभरी साँचेर एक खोजपूर्ण यात्रामा लम्कियौं भने हिमालयको काखमा कतै लुप्त अवस्थामा, कतैगुप्त अवस्थामा त कतै सुप्त अवस्थामा साना–ठूला भू–स्वर्गहरू भेट्दछौं । कसैले तिनलाई शम्वाला भनी सम्बोधन गरे , कसैले तिनलाई साङ्ग्रिला बनाए र कसैले तिनलाई वेयुल भनी व्याख्या गरे । यस्ता देवात्मा भूमिको सङ्ख्या हिमालयभरिमा १०८ वटा छन् भनी परिकल्पना गरिएको छ । आठौं शताब्दीका धर्म गुरु पद्मसंभवले जगतको कल्याण गर्न बौद्ध धर्म र ज्ञानका सामग्रीहरू हिमाली गुह्यगुफा र उपत्यकाहरूमा सुरक्षित गरेर जानुभएको जनविश्वास छ, विशेष गरेर महायानी बौद्ध जगतमा । ती स्थलहरू विभिन्न रत्ननिधि र धार्मिक द्रव्यहरूका गुप्त ढुकुटी (Hidden Treasure) हुन् । बौद्ध धर्मावलम्बीहरू यस्ता लुकाइएका ठाउँलाई वेयुल भन्छन् । यस्ता पवित्र स्थलहरू तीर्थाटनका पुण्यभूमि मात्र नभई जैविक विविधताको अनुपम भण्डार पनि सावित भएको हुनाले नेपालमा प्राप्त केही वेयुलहरू संरक्षित क्षेत्रभित्र पर्न आएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको खुम्बु क्षेत्र, मकालु–वरुण राष्ट्रिय निकुञ्जको खेम्पालुङ, लाङटाङ राष्ट्रिय निकुञ्जको योल्मो र नाग्मो तथा मनास्लु संरक्षण क्षेत्रको किमोलुङ विशेष उल्लेखनीय छन् ।
पर्यटन विकास र प्राकृतिक सम्पदा संरक्षणको ध्येयले विश्व संरक्षण संघ (आईयुसीएन) नेपालको तत्वावधानमा सन् १९९६ को जून २ देखि २० तारिखसम्म छेकम्पारको भ्रमण गर्ने अवसर प्राप्त भएको थियो । किमोलुङ वेयुलको एउटा महत्वपूर्ण क्षेत्र हो । इशाको बाह्रौं शताब्दीमा तिब्बतका बौद्ध गुरु एवं प्रख्यात कवि मिलेरनेपाले किमोलुङमा तप, जप, ध्यान गरेर बोधिज्ञान प्राप्त गरेका उदाहरणहरू यस क्षेत्रमा भेटिन्छन् । यहाँको पिरोन फु गुफा मिलेरनेपाको गुफाको नाममा तीर्थाटनको लागि पवित्र स्थान मानिन्छ । यही क्षेत्रमा सार्पुङ किमोलुङ नामक एक विशेष स्थल पनि छ । उत्तरीगोर्खाको स्यार खोलाको पानी ढलोभित्र पर्न आउने यो क्षेत्रलाई चुम भनिन्छ । यसभित्र चुम्चेन र छेकम्पार दुई वटा गाउँ विकास समिति छन् । स्थानीय छ्यो–क्याङ गाउँलाई अचेल छेकम् भनिन्छ । छेकम् र पारु दुई गाउँको नाम संयोजनबाट छेकम्पार नाम बनेको छ । यसप्रकार किमोलुङ वेयुलको भौगोलिक वास्तविकता र आध्यात्मिक चिन्तन चुम–छेकम्पारमा साकार छ । नेपालमा सबैभन्दा कम सुनिएको, कतिपय नेपालीले थाहै नपाएको, मानव वस्ती र प्राचीन संस्कृतिले सु–सज्जित त्यो विशाल उपत्यका सबैतिर बाट लुकी बसेको छ ।गोर्खा जिल्लाको आरूघाटबाट बूढीगण्डकी पछ्याउँदै तीन चार दिनमा लापुबेसी, खोर्लाबेसी, जगातहुँदैगण्डकी तरेर फिलिम गाउँ पुगिन्छ । त्यसपछि स्यारखोलाको अति साँघुरो र ज्यादै अप्ठेरोगल्छीको बाटो दुई दिन हिँडेपछि एकाएक चौडा र फराकिलो भू–दृश्य उजागर हुन्छ । झ्ट्ट हेर्दा कमलको फूलको एक विशाल तरेली बिच्छ्याइएको जस्तो लाग्छ । त्यहाँ पुगेपछि आकाशको क्षितिज टाढा–टाढासम्म फैलन्छ । पूर्वतिर गणेश हिमाल
(७,४०६ मिटर) को शृङ्खला र पश्चिमी भागमा शृङ्गी हिमाल (७,१८७ मिटर)का शृङ्खला झण्डै समान्तर रूपमा उत्तर–दक्षिण फैलिएका छन् । बीचमा लगभग ३००० मिटरको उँचाइमा विशाल समथर भागलाई चिर्दै स्यारखोला बगेको छ । उत्तरतिर बढ्दै जाँदा नेपाल–तिब्बत साँधलाई जोड्ने ङुइला ढजेन, हुमलुङ र थाप्ला भञ्ज्याङहरू पर्न आउँछन् । त्यसपछि तिब्बतको समथर मालभूमि आँखाले भ्याएसम्म अनन्त क्षितिजभरि फैलन्छ ।
चुम उपत्यकाको छेकम्पारमा उर्वरा फाँटहरू निर्माण भएका छन् । तिनमा विशेष गरेर उवा, करु, फापर,गहुँ र आलु खेती गरिन्छ । दायाँबायाँका पाखामा हरियो वन फस्टाएको छ । यो उपत्यकामा बाली पाक्न दश/एघार महिना लाग्छ । असोजमा छरेकोगहुँ अर्को वर्षको भदौ नभई काट्न मिल्दैन । त्यसैले यहाँको भू–दृश्यमा विभिन्न बालीका पाटाहरू भिन्नभिन्न रंगका कार्पेट बिच्छ्याइ राखेझै देखिन्छ । यो वर्षगहुँ रोपेको ठाउँमा अर्को वर्ष फापर रोपिन्छ वा अरू नै बाली लगाइन्छ । बाली विज्ञानको यो उच्चतम चेतना अनुभवको अनुपम उपज पनि हो । यहाँ ३१०० मिटरको उँचाइमा पनि तोरीबारी पहेंलै देखिन्छ । त्यो उँचाइको तोरी र यस्तै अरू बालीहरू पवित्र हिमालको चोखो अनुवंश लिएर चुम–छेकम्पारमा अझै सुरक्षित छन् । यहाँ रासायनिक मल र कीटनाशक विषादि अझै पुगिसकेको छैन । सन् १९९६ को भ्रमणका बेला सङ्कलित तथ्याङ्क अनुसार छेकम्पार गाविसभरिमा १४०० जनसङ्ख्याका लागि १४०० हेक्टर खेतीयोग्य जमिन उपलब्ध देखि न्थ्यो । त्यहाँ २६५ घरधुरी थिए । पशुपालनमा याक, नाक र चौंरीबाहेक केही घोडा थिए ।
यो क्षेत्रभरि पशु बध वा मारकाट वर्जित छ । त्यहाँको जनजीवनसँग स्थानीय रूपमा नै भिज्न सक्यौं भने हामी आफूलाई सयौं वर्ष पहिलेको ऐतिहासिक कालखण्डमा पुगेको अनुभव हुन्छ । भौगोलिक दूरीको हिसाबले अर्थात् हवाई दूरीको मापनबाट भने काठमाडौंबाट छेकम्पार ९० किलोमिटरभित्रै पर्न आउँछ । लाङटाङ रगणेश हिमालले छेकिदिएकोले छेकम्पार पुग्न झण्डै नौ दिन लाग्यो हामीलाई । त्यसैले यो दुर्गम छ, यहाँको रहस्य कौतुहलपूर्ण छ । प्राचीन धर्म र संस्कृति अनि यहाँ अनुभव हुने अलौकिक शान्ति अद्वितीय छ । किमोलुङको अर्थ ‘हर्षपूर्ण उपत्यका’ (Valley of Happiness) चुम–छेकम्पार पुगेपछि खुल्दछ ।

यस क्षेत्रमा २४ वटा महत्वपूर्ण गुम्बा छन् भन्ने कुरा चुम कल्याण समितिले उल्लेख गरेको छ । सन् १९७० को यात्रा विवरणमा फ्रान्सेली अन्वेषकद्वय डोव्रोमेज र जेस्ट (Dobremez & Jest) ले ३८ वटा धार्मिक स्थल र गुम्बाको नामावली प्रस्तुत गरेका छन् । त्यसभन्दा अघि सन् १९५६ मा बेलायतका अन्वेषक डेभिड स्नेलग्रोभ (David Snellgrove) ले यहाँका मुख्य–मुख्य गुम्बा र धार्मिक स्थलहरूको बेलिविस्तार विशेष रूपमा वर्णन गरेका छन्, उनको ‘हिमाली तीर्थयात्रा’ (Himalayan Pilgrimage) नामक पुस्तकमा । यस क्षेत्रका प्रसिद्ध गुम्बामध्ये छेकम्पारको समथर भू–भागमा अवस्थित राछेन गुम्बा तथा त्यहाँबाट एकदिन हिँडेर पुगिने अग्लो टाकुरा मा अवस्थित मु गुम्बा पर्छन् । राछेन गुम्बामा महिला भिक्षु आनीहरू मात्रै बस्छन् भने मु गुम्बा पुरुष भिक्षु र ढावाहरूका लागि निर्माण भएका हुन् । यी दुवै गुम्बा अवतारी लामा ङावाङ खेन्राप ब्रुग–पा रिङबोचेको संरक्षकत्वमा सञ्चालित छन् । वर्तमान लामाका पूर्व अवतारको समय सन् १९०५ मा राछेन गुम्बा स्थापना भएको देखिन्छ । गुरुले पूरै वेयुल क्षेत्रलाई पूर्णरूपले हिंसामुक्त क्षेत्र बनाउनुभएको कुरा सन् १९५३ बाट कार्यभार सम्हाल्दै आउनुभएका वर्तमान रिङबोचेबाट हामीलाई जानकारी भएको छ । यसैबीच प्रहरी चौकी, पर्यटन र सरकारी कर्मचारीहरूबाट पशुपक्षी मारकाट हुने सम्भावना बढ्दै गएपछि सम्वत् २०२६ वैशाखमा स्थानीय लामा, बुद्धिजीवी एवं सर्वसाधारणले यो काटमार वर्जित क्षेत्र हो भन्ने आधिकारिक प्रतिबद्धता कागज गरिदिएका थिए । यसै सन्दर्भमा; चुम कल्याण समितिले यो कुरा लाई अझ् बढी आधिकारिक र कानूनसम्मत बनाउने जमर्को अघि बढाएको छ । सम्वत् २०२६ को लिखतमा निम्न कुरा हरू उल्लेख भएका छन्ः
‘(१) शिकार नखेल्ने (२) पासो नथाप्ने (३) मह नकाढ्ने (४) कुनै पनि जीव जनावरलाई काटमार न गर्ने (५) काम दिन नसक्ने गरी बूढो भएपछि पनि कुनै जनावरलाई काटी खाने व्यक्तिको हातमा नबेच्ने र चमरीगाईको बाछा नमार्ने (६) कुनै तवरबाट जीव हिंसा न गर्ने ...’ अहिले हुन लागेको चुम महोत्सव (२०६६ असार ३० देखि साउन २ गतेसम्म) को अवसरमा उपर्युक्त बुँदाहरूप्रति पुनः प्रतिबद्धता व्यक्त गर्ने र हिंसामुक्त क्षेत्रको चारकिल्ला अथवा साँध किटान गर्ने कार्यक्रम पनि राखिएको छ ।
राछेन गुम्बामा सन् १९९६ को जून महिनामा, १३ वर्ष देखि ८३ वर्ष उमेरका लगभग ८० जना आनीहरू थिए । हाल उक्त सङ्ख्या सयको हाराहारीमा छ । सामान्यतया घरकी माहिली छोरी आनी बन्ने चलन रहेछ । गुम्बामा दाखिला हुने आनीको भरणपोषण परिवारजनबाटै हुने गर्छ । धर्म र ज्ञान प्राप्तिका लागि त्यस्तो अनकन्टार ठाउँमा त्यत्रो जमात जम्नु मामुली कुरो होइन । त्यहाँको समाज , संस्कृति र संस्कारले मात्र होइन, आर्थिक व्यवस्थाले पनि गुम्बाहरू सुचारु छन् । भीख थाप्नु भिक्षुको स्वभावै हो । तर, यी भिक्षुका नाममा अनेकन विदेशी संघसंस्थाले अत्यन्त दुष्ट तरिकाबाट वेब (Web) मार्फत चन्दा, दान, भिक्षा माग्दै गरेका उदाहरण इन्टरनेटमा भेटिन्छन् । एउटा वेबपेजमा भनिएको छ, “यी आनीहरू विभिन्न प्रकारका सामाजिक दुव्र्यवहार सहनु परेर, गरिबीको चपेटामा परेर, जबर्जस्ती विवाहको बन्धनमा बाँधिन पुग्नुपर्ला भनेर आदिआदि कारणले गुम्बामा भर्ती भएका हुन् ।” नकारात्मक प्रचारको यो हिंसालाई पनि चुम कल्याण समिति र आजका जागरुक युवा चुम निवासीले रोक्नुपरेको छ । मेरो आफ्नो भोगाइमा ज्ञानोद्दीपन र मोक्षको बाटोमा लागेका यी आनीहरूभन्दा सुखी र सन्तोषी प्राणी यो पृथ्वीमा विरलै भेटिएलान् !

मु गुम्बाका लामा र ढावाहरू पनि अलौकिक प्राणीका अवतार लाग्छन् । हराम्रो भ्रमणकालमा उनीहरूको सङ्ख्या ८/१० जति थियो । मु गुम्बा राछेनभन्दा दश वर्ष पहिले स्थापना भएको रहेछ । त्यहाँ २/४ वटा ठूला–ठूला भोटे कागहरूको पहरा छ । गुम्बाको बाटो केही अपरिचित मानिसहरू उकालो लाग्नासाथ यी कागहरू गुम्बाको चारैतिर उडेर ठूलो–ठूलो स्वरमा कराउँदा रहेछन् । यिनै कागका कर्कसामा लामाहरूले हराम्रो स्वागत गरेका थिए । केही समयपछि हामी कागका पनि साथी बन्यौं । दुई दिनपछि केही प्रहरी हामीलाई सोधपुछ गर्न आउँदा रहेछन् । तिनीहरू हामी छेउ आउनु दुईघण्टा अगावै यी कागले हामीलाई जनाउ दिए कि केही अपरिचित व्यक्तिहरू उकालो चढ्दैछन् । हामी छक्क पर्यौं !
चुम छेकम्पार विकास को पर्खाइमा छ । पृथकीकरण वर्तमान युगको माग होइन । हाल छेकम्पार पुग्ने बाटो धेरै सुधार भइसकेको छ । यस क्षेत्रको हवाई मैदानको माग सन् १९७४ देखि नै थाती रहेको छ । त्यस वर्ष राजा वीरेन्द्रको भ्रमणको सिलसिलामा उक्त माग उजागर भएको थियो । विगत दुई वर्ष देखि यो क्षेत्र समूहगत पर्यटनका लागि खुला गरिएको छ । पहिले निषेधित थियो । छेकम्पार र केरुङको आवत–जावत परम्परागत रूपमा सहज थियो । त्यसकारण नेपाल–चीनको राजनीतिक समझ्दारी र व्यापारिक सम्भावनाको दृष्टिले यो क्षेत्र केही संवेदनशील मानिन्छ । वर्तमान अवस्थामा विकसित सूचनाप्रविधि विशेषतः इन्टरनेट र टेलिकम्युनिकेशनका उपलब्धिबाट चुम–छेकम्पारले यथोचित विकास गर्ने अवसर जुटाउन सकिने देखिन्छ । यस सन्दर्भमा यस वेयुलको अस्मिता कायम गर्न विशेष नीति र कार्यक्रम तर्जुमा हुनु अति आवश्यक हुन्छ ।
पर्या–पर्यटनको सम्भाव्यता अति उच्च रहेको यस क्षेत्रमा भित्रिने अतिथि, कर्मचारी, विकास निर्माणका कार्यकर्ता सबैले यहाँको आचारसंहिता अनिवार्य रूपमा पालना गर्नु पर्ने स्थिति बसालिनुपर्छ । पर्यटन विकास का लागि यस क्षेत्रको भू–उपयोग गर्न घरजग्गा वा अन्य भू–स्वामित्व खरिदबिक्री र लेनदेनको सम्बन्धमा विशेष व्यवस्था हुनुपर्दछ । समग्रमा भन्नुपर्दा यस क्षेत्रको विकास गर्न यहाँका स्थानीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धनका खाकाहरू तयार हुनुपर्दछ । त्यसपछि मात्र शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पर्यटन, वन, कृषि तथा वातावरण एवं शान्तिसुरक्षाका कार्यक्रमहरू सञ्चालन हुनुपर्दछ । जलविधुत एवं वैकल्पिक ऊर्जाको विकास मा यस क्षेत्रको उच्च सम्भाव्यतालाई नकार्न मिल्दैन । भोलिका दिन कमोलुङ क्षेत्रलाई कस्तो रूपमा रुपान्तर गर्ने भन्ने स्पष्ट खाका आजको पहिलो आवश्यकता हो ।
अन्त्यमा,
चुम–छेकम्पार जस्तो वेयुल किमोलुङ र त्यहाँको समृद्ध संस्कृति र गुम्बाहरूको अलौकिक आकर्षण, अद्वितीय प्राकृतिक छटा, सहृदयी स्थानीय बासिन्दा र तिनको निष्पाप आतिथ्य आदि सम्झ्ँदा जेम्स हिल्टनले सन् १९३३ मा अथ्र्याएको ‘साङ्ग्रिला’को अनुभूति यही उपत्यकामा अनुभव हुन्छ । यदि यस ठाउँलाई हामीले बेलैमा चिन्न सकेनौं र यहाँको संस्कृति र प्रकृतिलाई बिथोलेर विकास र अर्थोपार्जनका नाममा विकृतितिर उन्मुख भयौं भने हामीले आफूलाई निश्चय पनि ‘मणिको देशका भिल्ल’ प्रमाणित गर्ने छौं । अस्तु !
सन्दर्भग्रन्थ
१. खेन्पो ङवाङ वोसेर लामा (२०६५)ः पवित्र स्थल संरक्षण र जीविकोपार्जन सम्बन्धीगोष्ठी कार्यपत्र (१९ मङ्सिर २०६५) काठमाडौं
2. Lhakpa N. Sherpa (2005): Sacred Hidden Valleys and Ecosystem Conservati on in the Himalayas. Internati onal Symposium on Conserving Cultural and Biological Diversity. 30 May - 2 June 2005 Tokyo.
3. Bishnu Bhandari (2097): Prospects for Tourism in Chhekampar. IUCN-Nepal.
4. J.F. Dobremez & C. Jest (1976): Manaslu Hommes et Milieu des Vallees du Nepal Cnetral, Chaiers Nepalais, CNRS, Paris.
5. David Snellgrove (1961): Himalayan Pilgrimage Bruno Cassire, Oxford.



