हामी शिक्षकले नै धेरै सुधार्न सक्छौं

धेरैले विज्ञानलाई कठिन विषय ठान्ने गरेका छन् र एसएलसीमा असफल हुने अधिकांश छात्रछात्रा विज्ञानमा पनि असफल हुने गरेका छन् । तर यो विषयलाई सरल बनाउन र विद्यार्थीको रुचि बढाउन सकिन्छ, यदि शिक्षकले सही शिक्षण विधि प्रयोग गरे भने ।

शिक्षण निकै कठिन र संवेदनशील कार्य हो । त्यसमा पनि विज्ञान शिक्षणमा थप समस्या र जटिलताहरू छन् । विज्ञानलाई कठिन विषय ठान्ने गरिएको छ र एसएलसीमा असफल हुने अधिकांश छात्रछात्रा विज्ञानमा असफल पनि हुने गरेका छन् । विज्ञान गहन विषय अवश्य हो तर यसलाई हामी सरोकारवालाहरूले अस्वाभाविक रूपमा गाह्रो र हौवाको विषय बनाएका छौं । पाठ्यक्रम विकास केन्द्रले बनाएको विज्ञान विषयको एउटै पाठ्यक्रम, परीक्षा नियन्त्रण कार्यालयले प्रयोगात्मक मूल्याङ्कन भए/नभएको तथ्य थाहा पाउनका निम्ति देखाएको उदासीनता, विज्ञान शिक्षकले यो विषयको शिक्षण कार्यलाई अन्य विषयको शिक्षणभन्दा भिन्न नठान्नु, शिक्षा प्रशासनले विज्ञान विषयलाई अन्य विषयसरह मात्र पाठ्यभार तोक्नु आदि विज्ञानलाई कठिन बनाउने प्रमुख कारण रहेका छन् । यसले गर्दा विज्ञान शिक्षाको उपलब्धि उँभो लाग्न सकेको छैन । यसबाहेक; पाठ्यपुस्तकमा रहेका त्रुटि र पाठ्यवस्तुको असन्तुलन, अस्पष्टता र क्रमभङ्गता,ग्रिड, प्रश्नपत्र र मार्किङ स्किमका त्रुटि तथा विज्ञान अध्ययन गरेको जनशक्ति अरू क्षेत्रतर्फ लागेका कारणले पनि विद्यालयमा विज्ञानको पठनपाठन कमजोर भएको छ । तथापि चुनौतीहरूका बाबजूद पनि विज्ञान शिक्षकले आफ्नो सीपको सदुपयोग गर्न सक्यो भने विज्ञान शिक्षाको उपलब्धिलाई चम्काउन सकिन्छ । सार्वजनिक स्कूलमा विज्ञानको पठनपाठन कमजोर हुनुमा अरूको भन्दा बढी भूमिका विज्ञान शिक्षककै छ । विज्ञान शिक्षकले आफूले पढाउने तरिकामा परिवर्तन ल्याउने बित्तिकै धेरै कुरा आफैं सुध्रिन थाल्छन् ।

विज्ञान शिक्षकले शैक्षिक सत्र शुरु हुनुअगावै आफ्नो विषयको शिक्षण–सिकाइ क्रियाकलाप हरूको वार्षिक योजना बनाउनुपर्छ । यसमा चार्ट प्रतियोगिता, मोडेल निर्माण, विज्ञान प्रदर्शनी, विज्ञान हाजिरीजवाफ प्रतियोगिता, विज्ञानको हिज्जे प्रतियोगिता, विज्ञान सम्बन्धी वादविवाद प्रतियोगिता, स्थलगत भ्रमण, परियोजना कार्यका साथै समुदायलाई मद्दत पुरयाउने खालका क्रियाकलाप लाई स्थान दिनु उपयोगी र आवश्यक हुन्छ । यस्ता क्रियाकलाप ले शिक्षण–सामग्री जुटाउन मद्दत पुग्छ । यसो गर्दा एकाई योजना र दैनिक पाठयोजना बनाउन पनि सजिलो हुन्छ ।

आफूले पढाउनु पर्ने पाठको तयारी गर्दा पाठ्यपुस्तकमा मात्र निर्भर नरही पाठ्यक्रम र सन्दर्भ पुस्तकका साथै सम्भव भएमा विश्वकोशहरू (एन्साइक्लोपेडिया) र इलेक्ट्रोनिक मिडियाहरूको प्रयोग गर्नु लाभदायक हुन्छ । पाठ्यपुस्तकमा पाठ्यसामग्री अपुग भएमा अथवा बाह्य पाठ्यवस्तु र पाठ्यसामग्रीको क्रम नमिलेको भए आफैं क्रम मिलाएर शिक्षण योजना बनाउनुपर्छ । हराम्रो जस्तो देशमा व्याख्यान विधिबाट गरिने शिक्षणको महत्वलाई पनि नजरअन्दाज गर्न सकिँदैन । किनभने यो विधिलाई पनि विद्यार्थीकेन्द्रित तुल्याउन सकिन्छ । शिक्षण योजना बनाउँदा आवश्यक पर्ने शिक्षण सामग्रीहरूको सूचीलाई पनि महत्व दिनुपर्छ ।


जंगली च्याउ खाँदा भएको मृत्यु, इनार सफा गर्न छिरेको व्यक्तिको निस्सासिएर भएको मृत्यु, कोठामा कोइला बालेर सुतेको परिवार मूर्छा पर्ने र मृत्यु हुनुका कारण र बच्ने उपाय बारेमा छलफलले विज्ञानतिरका लगाव बढाउन मद्दत पुर्‍याउँछ ।

योजना बनाएर पढाउँदा पनि एउटै विधिको प्रयोग गर्नु पट्यार लाग्दो हुनसक्छ, त्यसैले शिक्षण विधिमा विविधता ल्याइरहनु पर्छ । शिक्षण क्रममा सरल, स्पष्ट र सकभर शुद्ध भाषाको प्रयोग गर्नु पर्दछ र उदाहरणहरू दिँदा विद्यार्थीको वरिपरि पाइने वस्तु र घटनाहरू छुटाउनुहुँदैन । व्याख्यान विधिलाई छलफल , प्रदर्शन, प्रश्नोत्तर आदि विधिसँग गाँसेर पढाउँदा विद्यार्थीहरूले सहज रूपमा विषयवस्तुग्रहण गर्द छन् । प्रदर्शन कार्य प्रयोजनका लागि प्रयोग गरिने चार्ट र बोर्डमा लेखिने चित्रले पनि प्रभावकारी शिक्षणमा सघाउँछन् । कक्षाकोठाको वातावरण मैत्रीपूर्ण र प्रजातान्त्रिक बनाउन शिक्षक सधैं तत्पर रहनु पर्दछ । यहाँ प्रजातान्त्रिक भन्नुको अर्थ छाडावादलाई टेवा दिनु भन्ने होइन । विद्यार्थी र शिक्षक दुवै आफ्नो मर्यादाभित्र रहनै पर्दछ । आफूले गरेका कठिन अनुभवहरू साथीहरूसँग साटासाट गरेर सहज तुल्याउन सकिन्छ ।

विज्ञान शिक्षणलाई उपलब्धिमूलक बनाउन मूल्याङ्कन प्रक्रियाको पनि महत्वपूर्ण भूमिका हुन्छ । मेरो विचार मा निर्माणात्मक मूल्याङ्कन (Formative evaluation) को स्थान निर्णयात्मक मूल्याङ्कन (Summative evaluation) भन्दा माथि हुनुपर्दछ । विज्ञान शिक्षकले विद्यार्थीका हरेक क्रियाकलाप को मूल्याङ्कन निरन्तर गर्नु पर्दछ । र, त्यसको पृष्ठपोषण पनि सम्बन्धित विद्यार्थीहरूलाई दिनुपर्दछ । विद्यार्थीको आचरण र व्यवहारमा आएको सकारात्मक परिवर्तनको प्रशंसा गर्न र अरूको अगाडि उदाहरणको रूपमा प्रस्तुत गर्न पछाडि पर्नुहुँदैन । यसो गर्दा अन्य विद्यार्थीहरू पनि राम्रा र प्रशंसनीय व्यवहार देखाउन उत्प्रेरित हुन्छन् । विद्यार्थीको सीप मूल्याङ्कन गर्ने प्रयोगात्मक परीक्षा सञ्चालन गर्न साधन र स्रोतले भ्याएसम्मको प्रयास गर्नु पनि विज्ञान शिक्षकको दायित्वभित्र पर्दछ ।

विज्ञान विषयलाई रुचिकर बनाउँदा विद्यार्थीहरूको विज्ञानतिर को झुकाव बढ्छ । विज्ञानको अध्ययन तथा कुनै विशेष पाठको अध्ययनबाट हुने फाइदा विद्यार्थीहरूलाई जानकारी गराउँदा र विज्ञान सम्बन्धी सह–क्रियाकलाप हरू सञ्चालन गर्दा पनि विद्यार्थीहरूको ध्यान विज्ञान अध्ययनतिर केन्द्रित गर्न मद्दत पुग्दछ । विद्यार्थीहरूसँग विभिन्न किसिमका समसामयिक घटनाका वैज्ञानिक कारणहरू छलफल गर्नु पनि महत्वपूर्ण हुन्छ । जङ्गली च्याउ खाँदा भएको मृत्यु अनि इनार सफा गर्न छिरेको व्यक्तिको निस्सासिएर भएको मृत्यु तथा जाडोमा कोठालाई न्यानो पार्न कोठाभित्र कोइला बालेर सुतेको परिवार मूर्छा पर्ने र मृत्यु हुनुका कारणहरू बताउँदा विद्यार्थीमा विज्ञानप्रतिको रुचि बढ्छ । यसै गरी विभिन्न प्राकृतिक घटना/दुर्घटना (ग्रहण, बाढी, पहिरो, भू–कम्प आदि) का कारण र बच्ने उपायबारेका छलफल ले पनि विज्ञानतिर को लगाव बढाउन मद्दत पुर्‍याउँछ । यस्ता छलफल का लागि स्रोतव्यक्तिको समेत सहयोग लिन सकिन्छ ।

नेपालका विद्यालयहरूमा विज्ञान शिक्षण सिकाइको प्रभावकारिता बढाउनको लागि सरोकारवाला पक्षहरूले निम्न कुरा हरूमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छः

  •  पाठ्यक्रम विकास केन्द्रले सबैको लागि सामान्य विज्ञान र विशेष विद्यार्थीहरूको लागि विशिष्ट विज्ञान पाठ्यक्रम तयार गरी सोअनुरुप कम त्रुटि र स्पष्ट व्याख्या भएको पाठ्यपुस्तक तयार गराउनु पर्दछ ।
  • परीक्षा नियन्त्रण कार्यालयले परिमाणात्मक नतिजाको साथसाथै कस्तो मूल्याङ्कन प्रक्रिया अपनाउँदा विद्यार्थीहरूको गुणात्मक मूल्याङ्कन पनि हुनसक्छ भन्ने कुरा को खोजी गर्नु पर्दछ । साथै विद्यालयहरूमा विज्ञान विषयको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सम्पूर्ण संयन्त्रलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने कुरा पनि पत्ता लगाउनु पर्दछ । यसो भएमा मात्रै विद्यार्थीहरूको ज्ञान र सीप दुवैको सही मूल्याङ्कन सम्भव हुन्छ ।
  • विद्यालय प्रशासनले अन्य विषय–शिक्षक भन्दा विज्ञान शिक्षकलाई अलि कम भार दिएर शिक्षण क्रममा प्रदर्शन विधि र प्रयोगात्मक विधि अपनाउन उत्प्रेरित गर्नु पर्दछ ।
  • विज्ञान शिक्षकले शिक्षणको क्रममा पाठ्यपुस्तकमा मात्र सीमित नरही अत्यावश्यक पाठ्यसामग्री बाहिरी स्रोतबाट जुटाएर भए पनि राम्ररी पढाउनु पर्छ ।
  • आफ्ना सहकर्मीहरूसँग भेट हुँदा शिक्षण समस्या र त्यसको समाधानबारे अनुभवहरूको साटासाट गर्ने कार्यमा विज्ञान शिक्षक स्वयं अग्रसर हुनुपर्दछ ।
  • विज्ञान शिक्षकले कक्षाकोठामा सधैं आफ्नो सीप देखाउने प्रयास गर्नु पर्छ ।
  • विज्ञान अति परिवर्तनशील विषय भएको हुनाले विज्ञान शिक्षकले आफूलाई अद्यावधिक गरी राख्न निरन्तर अध्ययन गर्ने बानी बसाल्नुपर्छ । रराम्रो विद्यार्थी बन्न सक्ने व्यक्ति नै रराम्रो शिक्षक बन्न सक्छ ।
  • विज्ञान शिक्षकले विद्यार्थीहरूमा वैज्ञानिक तरिकाको सोचाइ, विज्ञानप्रतिको रुचि र विज्ञान विषयको आवश्यकता महसूस गराउनको लागि हरसम्भव प्रयास गर्नु पर्दछ ।
  • विज्ञान शिक्षकले शिक्षण विधिमा विविधता, शिक्षणक्रम, बालमनोविज्ञान आदि कुरा हरू ख्याल राखेर शिक्षण गर्दा दिगो र प्रभावकारी सिकाइमा मद्दत पुग्दछ ।
  • कक्षाकोठामा पाठ्यपुस्तकभन्दा शिक्षण सामग्रीहरूको प्रयोग बढाएर विद्यार्थीहरूले पाठ्यपुस्तकको बढी उपयोग घरमा गर्ने वातावरण बनाउन सकेमा विज्ञान शिक्षण कार्य दिक्कलाग्दो हुँदैन ।
  • समग्रमा भन्दा विज्ञान शिक्षणलाई प्रभावकारी बनाउन अरूको भन्दा बढी भूमिका हामी विज्ञान शिक्षककै हुन्छ । त्यसैले विज्ञान शिक्षकले आफैंबाट विज्ञान शिक्षणको सुधार थाल्नु आजको आवश्यकता र माग हो ।

(श्रीवास्तव प्रभात उमावि, त्यागल, ललितपुरका विज्ञान शिक्षक हुन् ।)

commercial commercial commercial commercial