‘पहिला पढिएन अब नपढी भएन’
१० महिने शिक्षक तालिम उत्तीर्णले कक्षा १२ कोे ५०० पूर्णाङ्क र कक्षा ११ को अनिवार्य अङ्ग्रेजी समेत गरी ६०० पूर्णाङ्कको परीक्षा उत्तीर्ण गरे पछि प्रवीणता प्रमाणपत्र सरहको योग्यता प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
साङ्ला बालकुमारी उमावि काठमाडौंका प्राथमिक शिक्षक हरिकृष्ण अधिकारी (४२)ग्रामीण आदर्श बहुमुखी कलेज, नेपालटारका नियमित विद्यार्थी हुन् । २०४६ सालमा घरपायक प्रावि शिक्षकमा स्थायी नियुक्ति पाएपछि फुरुङ्ग भएका अधिकारी ले एसएलसीपछि को अध्ययनलाई प्राथमिकतामा राख्न सकेनन् । शिक्षकमा नियुक्त भएपछि उनी क्याम्पस भर्ना त भए तर आफूले पढाउने र पढ्ने समय बिहानै परेकाले उनलाई पढाइ धान्न कठिन भयो । आईकम दोस्रो वर्षको ‘बिजनेश म्याथ’ कसै गरी उत्तीर्ण गर्न नसकेपछि पुनः प्राइभेट विद्यार्थीका रूपमा परीक्षा दिए । यसपटक भने उनलाई दोस्रो वर्षको अङ्ग्रेजी विषयले धोका दियो । उनी भन्छन्, “कलेजमा नियमित उपस्थित भएर नपढी नहुने लागेर त्यतिबेला पढ्न छोडियो, अहिले फेरि नियमित कक्षा धाउन थालेको छु ।”
सीतापाइला मावि, काठमाडौँमा कार्यरत सावित्री शर्माले धेरै वर्षअघि पद्मकन्या क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिएकी थिइन् । तर, उनी सफल हुन सकिनन् । २०३५ सालमा तनहुँमा प्राथमिक शिक्षकमा स्थायी नियुक्ति पाएपछि आफ्नो औपचारिक पढाइ अघि बढाउन नपाएको उनको भनाइ छ । बीसौं वर्ष काम गरेर पनि बढुवा नभएपछि उनलाई औपचारिक प्रमाणपत्रको अभाव महसूस भयो । र, उनी नेपाल राष्ट्रिय कलेज, मनमैजु काठमाडौंमा भर्ना हुन पुगेकी छन् । उनी भन्छिन्, “उमेरको हदका कारण अनिवार्य अवकाश पाउन धेरै समय नभए पनि कम्तीमा कक्षा १२ उत्तीर्ण गर्ने धोको छ ।”
गुल्मीको बालसुन्दर प्राविमा २०६२ देखि निजी स्रोत शिक्षकका रूपमा कार्यरतगणेशराज विश्वकर्मा (२१) सट्टा शिक्षक राखेर विशेष कक्षा पढ्न काठमाडौँ आएका छन् । सरकारले उपलब्ध गराए को अवसर उपयोग गर्ने र पढेपछि स्थायी शिक्षक बन्न समेत सहयोग पुग्ने आशामा अध्ययनका लागि आएको उनको कथन छ । उतागाँखु–१, गोरखाकी सीता गुरुङलेगत वर्ष प्राथमिक शिक्षकका लागि १० महिने शिक्षक तालिम लिएकी छन् । उनी शिक्षक होइनन् तर नेपाल राष्ट्रिय कलेज, मनमैजुको विशेष कक्षामा अध्ययनरत छिन् ।
माल्टा, ललितपुरकी सिर्जना लामिछानेले पाटन कलेजबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्न नसकेपछि निजीस्तर बाट सञ्चालित बागमती प्रेरणा शिक्षक तालिम केन्द्रबाट २०६४ मा १० महिने शिक्षक तालिम लिइन् । शिक्षण पेशामा लाग्ने रुचि भएकाले शिक्षक लाइसेन्स लिन उनले उक्त तालिम लिएकी हुन् । ललितपुरको किटनी उमाविकोे विशेष कक्षामा अध्ययनरत उनी योग्यता बढाउने र सरकारी शिक्षक बन्न सहयोग पुग्ने आशामा छिन् ।
एसएलसी उत्तीर्ण गरी शैक्षिक जनशक्ति विकास केन्द्र वा सो केन्द्रबाट मान्यता प्राप्त संस्थाबाट १० महिने शिक्षक तालिम प्राप्त गरेका व्यक्तिहरूलाई लक्षित गरेर उच्च माध्यमिक शिक्षा परिषदले २०६५ माघ देखि देशभरि विशेष कक्षा सञ्चालन गरेको छ । १० महिने प्राथमिक शिक्षक तालिम गरेकालाई परिषदले अङ्ग्रेजी विषय बाहेक कक्षा ११ सरहको मान्यता दिएको छ । तालिम लिएर सरकारी विद्यालयमा प्राथमिक शिक्षकका रूपमा कार्यरत (इन सर्भिस) र तालिम लिएर कार्यरत नरहेका (प्रि सर्भिस)हरूलाई लक्षित गरेर विशेष उच्च शिक्षा अन्तरगत विशेष कक्षा सञ्चालन गरिएको हो । यस्तो कक्षा पढ्न योग्यता पुगेका शिक्षकहरु इन सर्भिसमा ४५ हजार र प्रि सर्भिसमा १५ हजार रहेको शैक्षिक जनशक्ति विकास केन्द्रले जनाएको छ ।
‘विशेष कक्षा’ सञ्चालन गर्न चालु शैक्षिक सत्रमा १९० वटा उमाविहरूले अनुमति लिएका छन् । काठमाडौँमा ६, ललितपुरमा तीन र भक्तपुरमा दुइटा उमाविले यस्तो कक्षा चलाइरहेका छन् भने एउटा उमाविलाई ४० देखि १२० जना विद्यार्थी भर्ना गर्ने अनुमति दिइएको छ । १० महिने शिक्षक तालिम उत्तीर्णले कक्षा १२ कोे ५०० पूर्णाङ्क र कक्षा ११ को अनिवार्य अङ्ग्रेजी समेत गरी ६०० पूर्णाङ्कको परीक्षा उत्तीर्ण गरे पछि प्रवीणता प्रमाणपत्रसरहको योग्यता प्राप्त गर्ने व्यवस्था गरिएको छ । माघ २०६५ देखि पढाइ शुरु गरिएको विशेष कक्षाको वार्षिक परीक्षा आउँदो मङ्सिरमा हुनेछ । यस वर्षको नयाँ भर्ना चाहिँ आउँदो साउनमा गरी अन्तिम परीक्षा आगामी वैशाख/जेठमा गरिने उच्चमाध्यमिक शिक्षा परिषद्ले जनाएको छ ।
शैक्षिक जनशक्ति विकास केन्द्रका अधिकृत कमल पोख्रेल १० महिने तालिमलाई प्राज्ञिक मान्यता दिन विशेष कक्षा शुरु गरिएको बताउँछन् । सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत कक्षा १ देखि ८ लाई आधारभूत र ९ देखि १२ सम्म माध्यमिक तहको विद्यालय शिक्षा निर्धारण गरेको छ । एसएलसी गरेर प्रावि शिक्षक बनेकाहरूलाई कक्षा १२ सम्मको योग्यतामा पु¥याई आधारभूत तहमा पढाउन सक्ने तुल्याउनु विशेष कक्षाको लक्ष्य हो । विशेष कक्षामा सफल हुन नसक्ने शिक्षकले कक्षा ५ सम्म मात्र पढाउन पाउँछन् भने विशेष कक्षा उत्तीर्ण हुनेले कक्षा ८ सम्म पढाउन पाउने छन् ।
किटिनी उमाविले सञ्चालन गरेको नेपाली भाषा र साहित्य विषयको परीक्षामा सहभागी त्यहीं पढ्ने शिक्षकहरू ।
बढुवाको आशा
किटनी उमावि, ललितपुरमा अध्ययनरत शिक्षक जीवन कुमार विष्टले (५३) विशेष कक्षाबाट बुढेसकालमा बढुवा हुने आशा राखेका छन् । विशंखुनारायण मावि, ललितपुरमा २०३८ देखि कार्यरत विष्टलाई विशेष कक्षाले कक्षा १२ उत्तीर्ण हुने आशा जगाएको छ । उता विशेष कक्षामा नियमित उपस्थित हुँदा ज्ञानको भण्डार विस्तार गर्न र कक्षाकोठामा पढाउन महत्वपूर्ण सहयोग पुगेकोगुल्मीका शिक्षकगणेशराज विश्वकर्मा बताउँछन् ।
जसरी पनि पास हुने धोको लिएर हरिकृष्ण अधिकारी कक्षामा नियमित उपस्थित हुन्छन् । अधिकारी सँगै कार्यरत शिक्षक कृष्णराज पौडेल पनि हम्मेसी कक्षा छोड्दैनन् । तर, अधिकारी र पौडेलझै विशेष कक्षामा भर्ना भएका सबै शिक्षकले नियमित कक्षा लिएको पाइँदैन । ८ जेठ २०६६ मा २६ जना भर्ना भएको नेपाल राष्ट्रिय कलेज पुग्दा कक्षामा ८ जना मात्रै उपस्थित थिए । यस्तैग्रामीण आदर्श बहुमुखी क्याम्पसमा भर्ना भएका ६० जनामध्ये ३० जना मात्र नियमित रूपमा कक्षामा आउने गरेका छन् । पठनपाठनको स्तर कमजोर नहोस् भनेर परिषद्ले विशेष कक्षामा अध्ययन गर्ने ले परीक्षामा सहभागी हुन कक्षामा नियमित उपस्थित हुनुपर्ने एवं न्यूनतम ७० प्रतिशत हाजिर हुनुपर्ने नियम बनाएको छ । तर, धेरै छात्रछात्रा र उमाविले यस्तो नियमलाई पालना गरेको पाइँदैन ।
ललितपुर कालेश्वरको वाघभैरव उमाविले नियमित कक्षाको सट्टा कलेजमा भर्ना भएका विद्यार्थीलाई नमुना मच्छिन्द्र मावि लगनखेल, एम्स् कलेज प्यापोखरी र वाणीविलास माविमा ट्युशन पढाउने गरेको छ । सबै प्रशिक्षार्थी शिक्षक नियमित रूपमा कक्षामा उपस्थित हुन नसक्ने भएको ले तिनलाई ट्युशन पढाउनु परेको बताइन्छ । किटनी उमाविमा भर्ना भएका सबैले नियमित रूपमा कक्षा लिनसकेका छौनन् । अपरान्ह ३.३० मा शुरु हुने कक्षामा नियमित पाँच पिरियड अध्यापन गरिन्छ । प्राचार्य अर्जुन सिलवाल विशेष कक्षालाई तालिमकै रूपमा अघि बढाउने प्रतिबद्धता जनाइए पनि त्यस्तो नभएको बताउँछन् ।
नेपाल राष्ट्रिय कलेजको विशेष कक्षा पढ्ने बाँसबारी मावि काठमाडौँमा कार्यरत शशि बस्नेत विद्यालय तथा जिशिकाले अध्ययन बिदा नदिएकाले पढ्न समस्या भएको बताउँछिन् । विद्यालयमा पढाउनु पर्ने घण्टी समेत नघटाएको र उमेर तथा सेवा अवधि नतोकी सबै शिक्षकलाई एउटै मापदण्डमा पढाइने गरेकोले विशेष कक्षा धेरै शिक्षकलाई बोझ् बनिरहेको बस्नेतको कथन छ ।
पास नहुने चिन्ता
विशेष कक्षा पढ्ने शिक्षकहरूको उमेर ढल्किएको छ । यस्तो कक्षामा भर्ना भएका अधिकांश शिक्षकले स्कूलमा पढाएर विशेष कक्षा पढ्न आउनुपर्ने अवस्था छ । शहरी र सुगमका शिक्षकका लागि जसोतसो विशेष कक्षा लिन भ्याएको भए पनि दुर्गम भेगका शिक्षकले भर्ना भएको उमाविमा पढ्न जान भ्याएको पाइँदैन । पढाइ छाडेको लामो समयपछि नियमित विद्यार्थी बन्नु पर्दा धेरै शिक्षकलाई अप्ठ्यारो महसूस भएको पनि पाइएको छ । काठमाडौँको बालाजु बाइसधारामा बस्ने लक्ष्मी देउजा भवानी प्रावि, नुवाकोटमा पढाउँछिन् । बालाजुबाट एक घण्टाको बस यात्रा र झण्डै फेरि एक घण्टा हिँडेर स्कूल पुगेर अपरान्ह साढे तीन बजेको विशेष कक्षा भ्याउन नेपालटार आइपुग्ने गरे की छन् । उनी विशेष कक्षा भ्याउन विद्यालयमा टिफिन समयमा पठाएर आफ्नो घन्टी पूरा गर्छिन् । “पढ्ने र पढाउने चापले गृह कार्य गर्ने र पुस्तक हेर्ने फुर्सद कहिल्यै हुँदैन”, आफ्नो बेहाल सुनाउँछिन् । भद्रकाली प्रावि, बूढानीलकण्ठका शिक्षकगायत्री सापकोटा आफ्नो स्कूलमा पढाएर अनि विशेष कक्षा सकेर घर पुग्दा राति ८ बजेको हुन्छ । उनको पनि पढाइलाई पर्याप्त समय दिन नसकेको गुनासो छ ।
विद्यालयमा पढाएर पढ्नुपर्ने बाध्यताका कारण अधिकांश शिक्षकहरू विशेष कक्षा उत्तीर्ण हुनेमा ढुक्क हुन सकिरहेका छैनन् । धेरैलाई अङ्ग्रेजी कठिन लागिरहेको छ । फुल्चोकी प्रावि, विशंखुनारायणका शिक्षक इन्दिरा दाहाल विद्यालय र घरपरिवारको जिम्मेवारी पूरा गरेर पढ्नु पर्दा असाध्यै गाह्रो भएको बताउँछिन् । उनी भन्छिन्, “नियमित कलेज पढ्दा पनि अङ्ग्रेजी पास गर्न सकिनँ, अहिले पनि त्यही विषयले दुः ख दिन्छ जस्तो लागेको छ ।” पढ्न छोडेको लामो समय भएकाले पढेको कुरा बुझे पनि चाँडै बिर्सने समस्या रहेको शिक्षकहरूको अनुभव छ ।
तर, विशेष कक्षामा भर्ना भएकीगुल्मीकी नीरा सापकोटालाई पढाइमा छोराहरूले सघाएकोले सफल हुने आशा छ । लक्ष्मी देउजालाई पनि कठिन पाठहरूको अध्ययनमा छोराछोरीले सघाएका छन् । उनको भनाइ छ, “यति बूढी भएर पनि आउँदैन भनेर छोराछोरीले सिकाउँदा टिप्पणी गर्छन् ।” यता, फुल्चोकी उमावि, ललितपुरका शिक्षक प्रगति श्रेष्ठले चाहिँ छोराछोरीको सट्टा पतिको सहयोग लिने गरेको बताइन् ।



