कमलाको कमाल
एउटा दुईकोठे धुलौटे भवन थियो, झयालढोका केही थिएनन् । राति कहिले गाउँका गाईबस्तुले कोठामा गोब्य्राउँथे त कहिले मानिसले दिशा-पिसाब गरिदिएका हुन्थे । “बिहान स्कूल आएर पहिले कक्षामा भएको दिशा-पिसाब सोहोर्नु पथ्र्यो” उनले कठिन दिनहरू सम्झ्ँदै भनिन्, “तर यो विद्यालय मेरो जिम्मामा भएकोले यहाँ जे काम आए पनि सम्हाल्नुपर्छ भन्ने लागेर सबै काम बिना हिच्किचाहट गर्ने गर्थें ।”
विद्यालयमा आएको पहिलो वर्ष उनले कक्षाकोठामा झयालढोका बनाउन लगाइन् । त्यसनिम्ति गाविसले सहयोग गरयो । त्यसपछि कमला विद्यालयको भौतिक पूर्वाधार र पढाइको गुणस्तर बढाउने उपाय खोज्न थालिन् । यसमा गाउँलेहरूको सहयोग जुटाइन् । विद्यार्थी बटुल्नका लागि उनी अभिभावकका घर–घर पनि धाइन् । भर्ना भएका विद्यार्थी विद्यालयमा थाम्न पनि सहज थिएन । “बर्खालागेपछि स्कूल रित्तै हुन्थ्यो” उनी भन्छिन्, “अभिभावकका घरघर गएर सम्झउन थालेपछि ‘ड्रप आउट’ घट्दै गयो ।”
उनी अर्थात् कमला विश्वकर्मा (३६) टागनडुब्बा–९, झपास्थित नमुना प्राथमिक विद्यालयको स्थापनाको लगत्तै (२०५९) देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर स्कूल रराम्रो बनाउन कस्सिएकी छिन् । विद्यालयका कक्षा थपिँदै गएपछि तिनलाई व्यवस्थित गर्न र पढाइको स्तर बढाउनका लागि उनले गाविस देखि विभिन्न पार्टीहरूलाई गुहारिन् र राम्रै सहयोग पाइन् पनि । उनले यो रकमबाट दुईकोठे भवन बनाउन शुरु गरिन् । यो वर्ष जिल्ला शिक्षा कार्यालयले दिएको साढे ५ लाख रुपैयाँबाट भवन निर्माण सम्पन्न हुन लागेको छ । विद्यालयका लागि स्थानीय समाज सेवी स्व. सुरज सोरेनका तर्फबाट १५ कट्ठा जग्गा प्राप्त भएको छ, जसले गर्दा भवन बनाउन र खेलमैदानका लागि पर्याप्त ठाउँ छ ।
विद्यालयको वार्षिक नतिजा बर्सेनि प्रगति हुँदै गएको देखिन्छ । केटाकेटीको सिकाइ उपलब्धिमा बढोत्तरी भएको शिक्षक, अभिभावक सबैले महसूस गरेका छन् । शिक्षक भूमा अधिकारी भन्छिन्, “हेडमिसको जुक्ति अनुसार नानीहरूलाई प्रयोगात्मक र प्रदर्शन विधिबाट पढाएको नतिजा त अचम्मलाग्दो गरी बढ्यो ।”
विद्यार्थीको उमेर बढ्दै गएर कक्षाको पनि स्तर थपिँदै गएपछि विद्यालयलाई पनि सजिलो हुँदै गएको छ । कक्षामा मनिटरको प्रबन्ध गर्ने , कमजोर विद्यार्थीलाई पनि कक्षा कार्यमा सहभागी गराउने, कक्षा कार्यमा उत्कृष्ट हुनेलाई पुरस्कार दिने जस्ता साना नियम बनाएकोमा यति ठूलो परिवर्तन भएको देख्दा प्रअ विकलाई नै अचम्म लागेको छ । “शिक्षकले थोरै टेक्निक लगाए नानीहरूको पढाइ त कति सप्रेर जाँदोरहेछ मैले पनि सोचेकी थिइनँ”, कमला भन्छिन् ।
शिक्षक भूमा थप्छिन्, “महिला हेडमिस भएरै होला, स्कूलको वातावरण पनि घरको जस्तै पारिवारिक छ ।” महिला प्रअ भएकै कारण विद्यालय चारैतिर बाट सुधारको बाटोमा लम्किएको ठान्छन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घराज राय । उनी भन्छन्, “पुरुषमा दम्भ हुन्छ महिलामा समन्वय ।” कमला कुनै पनि निर्णय गर्नु अघि समिति, शिक्षक अभिभावक संघ, स्टाफ र सके स्रोतव्यक्तिसँग पनि परामर्श गर्छिन् । उनको पाँचवर्षे कार्यकालमा अहिलेसम्म एउटा निर्णय पनि विवादमा आएको छैन । “यतिका वर्षमा विद्यालयमा एक पैसा पनि तल माथि भएको सुनिएन”, अभिभावक चन्द्रबहादुर आचार्यले भने ।



