शिक्षकको तलब नराम्रो छैन !

अरू पेशातिर नलागेर किन शिक्षक बन्नु भयो ?
म आपैंm यस विद्यालयको छात्र थिएँ । मेरा काकाहरू पनि यस विद्यालयको स्थापनामा सक्रिय भएको हुनाले यसलाई नै संस्थागत रूपमा अगाडि बढाउन म शिक्षक बन्न पुगेँ । २०३२ सालमा प्रशासनिक कर्मचारीको रूपमा आबद्ध भएँ । त्यसपछि २०४० देखि माध्यमिक शिक्षक र २०५४ देखि प्रधानाध्यापकको जिम्मेवारी वहन गर्दै आएको छु ।

तपाईंलाई शिक्षक बन्नु परेकोमा पछुतो छ कि ?
छैन । समयक्रमसँगै पेशाप्रति सहज हुँदै गएको छु । २०३५ सालतिर वीरगञ्जकै कृषि औजार कारखानामा लिखितमा नाम निकालेको थिएँ, संस्थानको जागिर खाने रहर पनि थियो तर मौखिकमा भनसुन चलेको हुनाले म प्रतिस्पर्धाबाट बाहिरिएँ । त्यसपछि त फेरि विद्यालयकैगुँडमा यसरी छिरियो कि अन्यत्र लुकामारी गर्ने समय नै भएन ।

एउटै विद्यालयमा कसरी अड्किरहनु भयो ?     
मूलतः म सेवारत रहेको विद्यालयको इतिहास सर्वमान्य नेतागणेशमान सिंह र महाकवि लक्ष्मीप्रसाद देवकोटासँग जोडिएको छ । उहाँहरूले २००७ सालको राजनीतिक परिवर्तनपछि शैक्षिक क्रान्तिको संस्थागतथालनीका लागि नेपाल राष्ट्रिय विद्यापीठको अवधारणा ल्याउनुभयो । यो विद्यापीठको प्रकृति खुला विश्वविद्यालय जस्तो थियो । यसरी आफू एउटा ऐतिहासिक केन्द्रसँग जोडिँदा र त्यहीँको छात्र पनि भएको हुनाले योसँग पेशागत मात्र हैन भावनात्मक सम्बन्ध पनि गाँसिएको छ ।

यो पेशामा लागेर पारिवारिक जिम्मेवारी कतिको पूरा गर्नु भएको छ ?    
हुनत अतिरिक्त कमाइको दृष्टिले शिक्षण पेशालाई आकर्षक मानिँदैन तर मेरो अनुभवजन्य बुझइ भने फरक रहेको छ । औसत नेपालीको तुलनामा एउटा शिक्षकको तलब नरराम्रो छैन । उसले राम्रै तरिकाले पारिवारिक दायित्व निर्वाह गर्न सक्छ । उसले अरूको देखासिकीमा शिक्षक पेशालाई दाँज्नु हुँदैन ।

विद्यार्थीलाई अनुशासनमा राख्न लौरो, छडी वा थप्पडको कत्तिको प्रयोग गरियो ?
लौरो नसमातेको होइन तर यो माध्यम प्रभावकारी होइन । अनुशासनहीन वा अध्ययनमा रुचि नदेखाउने विद्यार्थीलाई भावनात्मक कुरा गरेर सुधार्न सकिन्छ । सबै विद्यार्थीलाई एकै स्तर को व्यवहार गरेर पनि हुँदैन । उसको लिङ्ग, जाति र पारिवारिक पृष्ठभूमिको आधारमा चेतनास्तर नियाल्दै प्रोत्साहित गर्ने प्रयत्न गर्नु पर्छ ।

तपाईंलाई धेरै प्रभाव पार्ने शिक्षक को हुनुहुन्थ्यो ?
स्व. जीवनेश्वर मिश्र मेरो प्रेरणाको स्रोत हुनुहुन्थ्यो । यतिखेरको वीरगञ्जको शैक्षिक स्तर निर्माणमा २००७ देखि २०४० सम्म उहाँको अतुलनीय योगदान रहेको छ । उहाँ एउटा शिक्षक मात्र होइन, वीरगञ्जमा पहिलो विद्यालय र कलेज स्थापना गराउने सूत्रधार पनि हुनुहुन्थ्यो ।

प्रधानाध्यापकको रूपमा तपाईंले के उपलब्धि प्राप्त गर्नु भएको छ ?     
पर्सा जिल्लामै सामुदायिक विद्यालयतर्फ १०+२ वि.सं. २०६१ देखि शुरु गरेको छु । प्रवेशिकाको परिणामलाई ८ प्रतिशतबाट औसत ५५/६० मा उकासेको छु । विद्यालयमा बालामैत्री वातावरण बनाउन अभिभावक, विद्यार्थी र सहकर्मी शिक्षकबीच समन्वय स्थापित गरेको छु ।

सफल प्रअ बन्न कुन सूत्र अँगाल्नुभएको छ ?    
सहकर्मी महिला र पुरुषलाई समान अवसर तथा कार्यको विभाजन गरेको छु । सीमान्तकृत समूहका विद्यार्थीहरू बढी पढ्ने भएका हुनाले अभिभावकहरूसँग व्यक्तिगत एप्रोच गरी विद्यार्थीको बारेमा जानकारी गराउनु तथा उहाँहरूतर्फबाट पनि घरमा चासो राखिदिन समन्वय गरिरहेको हुन्छु । अभिभावकका गुनासा र सुझावहरू धैर्यपूर्वक सुन्छु ।

चन्द्रकिशोर

commercial commercial commercial commercial