बाजुराः मदिरा र मास्टर
बाजुराको स्कूले शिक्षा, जनशक्ति र लगानीका हिसाबले उच्च प्राथमिकतामा परेको भए पनि उपलब्धिका हिसाबमा भने धेरै पछाडि छ । लाग्छ, यहाँको शिक्षा, सामाजिक सदाचार, अर्थतन्त्र र घरायसी अमनचयन मदिरासँगै झुम्दैछ । यहाँ जो झुम्दैन उसले लाज मान्नुपर्ने अवस्था देखिन्छ ।
महिना चैत भए पनि बिहान जाडो निकै थियो । एकजना अधबैँसे मानिस चियापसलमा पसे । उनी बाटै देखि दुईवटा हत्केला ठाडो पार्दै आएका थिए । भित्र पसेर साहुनीलाई धकेल्दै उनी आगोको छेउमा पुगे ।
“तेरो इज्जत छैन भन्दैमा मेरो पनि इज्जत छैन भन्ने ठानेको छस् तैँले ?” साहुनीलेगाली मात्र गरिनन्; डँडाल्नोमा तीन–चार मुड्की हिर्काएर ती मानिसलाई बाहिर धपाइन् ।
“डाक्टर साब, मेरो हड्डीकोगति के भयो होला ?” होटलको बलेँसीबाट मुन्टो भित्र हुलेर उनले बेञ्चमा बसेर चिया खाँदै गरेका सिनियर हेल्थ असिस्टेन्टलाई सोधे । “यिनीहरूले आफ्नै अगाडि जे गरे पनि नदेखे झैँ गर्नु पर्छ”, जँड्याहाबाट आजित भएका हेल्थ असिस्टेन्टले हामीसँग विस्तारोसँग गुनासो गरे ।
साहुनीलेगाली थपेपछि ती व्यक्ति त्यहाँबाट धर्मराउँदै हिँडे ।
उनी नजिकैको प्राथमिक स्कूलका शिक्षक रहेछन् । त्यसको तीन घण्टामा उनले २०० मिटर टाढाको प्राथमिक स्कूलमा पुगेर केटाकेटीहरूलाई आदर्श आचरण, मर्यादा र सीपका कुरा सिकाउनु पथ्र्याे । तर उनी त्यो दिन स्कूल नै जान सकेनन् ।
ती शिक्षकलाई त्यहीँ छाडेर हामी उकालो लाग्यौँ ।
“सरहरूसँग एउटा कुरा गर्नु पर्ने थियो; बाजुरामा २०५१ साल देखि पढाउने मान्छेलाई बढुवा न गरेर पछि पढाउन थालेका शिक्षकलाई बढुवा गरिएको छ”, बाटोमा भेटिएका एक अर्का अधबैँसेले गुनासो गर्दै भने– “म अङ्गऊपानी स्कूलको हेडसर हुँ ।”
हामी तीन दिन देखि अङ्गऊपानीको स्कूलमै थियौँ । स्कूलको रजिष्टरका अनुसार, यी हेडसर स्कूलमा हाजिर थिए । तर हराम्रो देखाभेट चाहिँ त्यतिबेलासम्म भएको थिएन । हामी उनकै स्कूलतिर जाँदैथियौँ । त्यति भनेर उनीचाहिँ ओरालो लागे ।
१० बजे हामी अङ्गऊपानीको स्कूलमा पुग्दा झण्डै ९० प्रतिशत विद्यार्थी आइपुगिसकेका थिए । शिक्षक पुष्कर नेपालीले विद्यार्थीलाई लाम लगाए । शारीरिक व्यायाम गराए । दुईतीन जना विद्यार्थीलाई लामको अगाडि गएर आफ्ना कुरा प्रस्तुत गर्न लगाए । एकजनालेगीतगाए, अर्काे जनाले आफू भविष्यमा के हुन्छु भन्ने विषयमा भाषण गरे ।
सवा १० बजेसम्म स्कूलमा पुष्कर मात्रै थिए । उनले भने “सधैँ यस्तै हो । अरू सर–मिसहरू विस्तारै आउनुहुन्छ ।” पुष्कर जिल्ला शिक्षा कार्यालयबाट तलब नपाउने अस्थायी शिक्षक रहेछन् । अरू शिक्षक जस्तै तलबको ठेगान भएको र स्थायी भएको भए उनी त्यसै गरी बेलामा स्कूल आउँथे वा आउँदैनथे भन्ने पाटो हामीले कोट्याएनौं ।
बाजुरा जिल्लाको स्कूल शिक्षामा सरकारले बर्सेनि रु.२० करोडभन्दा बढी खर्च गरिरहेको छ । त्यहाँका कुल विद्यार्थीबीच भाग लगाउने हो भने एकजनाको भागमा वार्षिक रु.६,५०० पर्छ । अभिभावकले तिर्नुे परीक्षा शुल्क र केही स्कूलमा खुवाइने खाजाको समेत हिसाब गर्ने हो भने यो लगानी अझ् बढी हुन्छ । तर यसको उपलब्धि भने एकदमै कम छ ।
बाजुराको शिक्षा धेरै वर्ष देखि खल्बलिएको छ । लडाइँ भएका बेलामा यहाँका शिक्षक त्राहिमाम् थिए । केही शिक्षक मारिए पनि । माओवादीलाई सघाएको भनेर सरकारले कत्तिको तलब रोक्का गरिदियो । माओवादीहरूले शिक्षकलाई अपहरण गर्ने , कालोमोसो दलेर गाउँ घुमाउने र उनीहरूबाट चन्दा उठाउने काम प्रशस्त गरे । स्कूल बन्द गरेर विद्यार्थीहरूलाई आफ्ना कार्यक्रममा लगे ।
त्यतिबेला सत्य मा.वि. पाण्डुसेनका शिक्षक जनक शाही माओवादीलाई भन्नेगर्थे, “भोलि तिमीहरूले रराम्रो संविधान बनाउला । त्यो संविधान पढ्ने र बुझने मान्छे चाहिएला । त्यसैले स्कूल बन्द नगर ।गोठाला जाने र बम्बई जाने मान्छेले संविधान पढेर तिमीहरूले रराम्रो संविधान बनाएछौ भन्न सक्दैन ।”
बाजुराको स्कूल शिक्षामा सरकारले गरिरहेको बर्सेनि रु.२० करोडभन्दा बढी खर्चलाई त्यहाँका कुल विद्यार्थीबीच भाग ल गाउँदा एकजनाको भागमा वार्षिक रु.६,५०० पर्छ । तर यसको उपलब्धि भने एकदमै कम छ ।
तर माओवादीले यस्ता कुरा कहिल्यै सुनेनन् जसको निकै नरराम्रो असर परयो । “एक पुस्ता त खत्तमै भयो”, शाही भन्छन् ।
दुई वर्षयता माओवादीका कारणले स्कूलको पढाइ बिथोलिएको छैन । यसले गर्दा बाजुरामा शिक्षाका क्षेत्रमा पुनर्जागरण नै आए जस्तो देखिन्छ । तीन–तीनवटा क्याम्पस सामुदायिकस्तर मा खुलेका छन् । समुदायमा शिक्षाप्रति चेतना बढेको कुरा को योभन्दा बढी प्रमाण के चाहिन्छ र ?
सरकारी र गैर सरकारी संस्थाले पनि शिक्षामा लगानी बढाएका छन् । बितेका दुई वर्षमा बाजुरामा १६३ वटा नयाँ कक्षा कोठा थपिए । तर पनि धेरै स्कूलमा पढाइ भने हुँदैन । अरूका कारणले होइन विद्यार्थीलाई पढाएबापत पढाइञ्जेल तलब र पढाउन छाडेपछि पेन्सन पाउने शिक्षकका कारणले ।
बाजुरामा ७१० स्थायी र ११९ जना राहत शिक्षक छन् । बाजुराको शिक्षामा जति जनशक्ति लागेको छ त्यति जनशक्ति अरू कुनै पनि काममा लागेको छैन । तर जनशक्ति र लगानीका हिसाबले उच्च प्राथमिकतामा परेको शिक्षा क्षेत्र उपलब्धिका हिसाबमा भने धेरै पछाडि छ । यहाँ शिक्षक जनक शाहीले भनेझैँ “जाँड खानेको मान बढेको छ, जाँड नखानेको मान हानि भएको छ ।”
लाग्छ, बाजुराको स्कूले शिक्षा, सामाजिक सदाचार, अर्थतन्त्र र घरायसी अमनचयन मदिरासँगै झुम्दैछ । यहाँ जो झुम्दैन उसले लाज मान्नुपर्ने अवस्था देखिन्छ ।
सरकारले बाजुरामा जाँडरक्सी निषेध गरेको धेरै भयो । माओवादीले त जाँड खाने मान्छे देख्यो कि पिट्नेगर्थे । तैपनि जाँडप्रतिको मोह पटक्कै घटेको देखिँदैन । कुनै पनि खराब चलनलाई बल र हिंसाका भरमा नियन्त्रण गर्न खोज्दा त्यसले केही समयसम्म मात्र काम गर्छ, जब हिंसाको अन्त्य हुन्छ तब हिंसा भएका बेलामा जति दबाइएको थियो त्यति नै मात्रा उन्मत्त भएर आउँछ भन्ने कुरा बाजुरामा मदिरा व्यापारको पुनरुत्थानले पुष्टि गरेको छ । यो सामाजिक महारोगको निदान र उपचार स्वयं शिक्षक आफैँ र शिक्षकका सङ्गठनहरू दायित्वबोध गरी अग्रसर हुँदाको स्थितिमा मात्र सम्भव देखिन्छ । यदि उनीहरू जागृत नहुने हो भने यो काम अरू निकाय वा पक्षबाट हुने सम्भावना देखा पर्दैन । त्यो स्थितिमा शिक्षा, शिक्षण पेशा र समग्र समाज को भविष्य निरन्तर अन्धकारतर्फ धकेलिइनै रहनेछ ।



