‘गुरु’ र शिक्षक

गुरुकुल शिक्षामा ‘ गुरु’ शब्दको ठूलो स्थान र भूमिका थियो । यो शब्द अस्थायी, स्थायी, राहत, महिला जस्ता शिक्षक पदका प्रकारमा विभाजित पनि थिएन । त्यसैले नै ‘ गुरु’ शब्दको सम्मान , आदर र प्रतिष्ठा अत्यन्त बृहत् थियो । यो शब्द त्यागेर हामी अङ्ग्रेजीको ‘टिचर’को उल्था गरी ‘शिक्षक’ शब्द प्रयोग गर्न थालेका छौँ । अहिले ‘शिक्षक’ शब्दले प्राथमिक देखि विश्वविद्यालयसम्म अध्यापन गर्नेहरूलाई जनाउँछ । ‘टिचर’ शब्दको अर्थ गुरु राखिँदा के फरक पथ्र्यो होला ! उदाहरणका लागि इन्डोनेसिया र मलेसियामा सम्पूर्ण ‘टिचर’लाई ‘ गुरु’ शब्दले नै पुकारिन्छ र त्यहाँ गुरु शब्दको प्रयोग अत्यन्त आदरणीय, प्रतिष्ठित र सम्मान जनक रूपमा हुन्छ ।

हाम्रो शैक्षिक प्रशासनले ‘ गुरु’लाई ‘शिक्षक’ शब्दमा मात्र बदलेन; शिक्षक पदलाई विभिन्न प्रकारमा विभाजित गरेर उप–पदहरू दिने काम पनि गरेको छ । उदाहरणका लागि, आज अस्थायी, स्थायी, राहत, महिला, स्थानीय स्रोत आदिका १०–१२ प्रकारका शिक्षकहरू कार्यरत छन् । शिक्षकका विविध प्रकारमध्ये कुन प्रकार ठीक हो र रराम्रो शिक्षक पदमा पुग्ने मापदण्ड के हो भन्ने बाटो चाहिँ खुलाउन सकिएको छैन । यसले गर्दा शिक्षा प्रशासनबाट नै शिक्षक पदको मर्यादा बढाउनको सट्टा घटाएको त होइन ? यसबारे शिक्षा प्रशासन, नेपाल शिक्षक युनियन तथा अभिभावक संघसंस्था आदि सबैले चासो देखाउनु जरुरी देखिन्छ ।

शिक्षकको मर्यादा टुटाउने अर्को पाटो, शिक्षकका विभिन्न प्रकारका संघ–सङ्गठनहरू र तिनको राजनीतिक उपयोग हो । शिक्षकको हकहित, पेशागत भलाइ, गुणात्मक शिक्षाको विकास मा प्राज्ञिक कार्य गर्न एउटै मूल संस्था नेपाल शिक्षक युनियन जस्तो भएमा पुग्दैन र ? के शिक्षकले राजनीतिक दलको चाकरीमा लाग्ने र दलको झेला बोक्ने काम गर्नै पर्ने कुनै बाध्यता छ र ? सम्पूर्ण शिक्षक मित्रहरू यसतर्फ घोरिने बेला आएको छ । कैयौं विकसित र विकासाेन्मुख देशहरूको अध्ययन गर्दा यस प्रकारका राजनीतिक आस्था राख्ने शिक्षक संघ–सङ्गठन भएको पाइँदैन ।

धेरैजसो देशमा शिक्षकहरूको एउटै युनियन वा संस्था रहेको र त्यस्तो युनियन अत्यन्त सबल रहेको पाइन्छ । एक ढिक्का हुँदा सङ्गठनको शक्ति स्वतः बलियो हुन्छ र सरकार पनि त्यस्तो युनियनसँग सहकार्य गर्न बाध्य हुन्छ । शिक्षक युनियनको प्रमुख कार्य चाहिँ प्रत्येक शिक्षकलाई प्राज्ञिक कसरी बनाउन सकिन्छ र सो कार्य गर्न सरकारसँग कसरी सहकार्य गर्ने भन्ने नै हुनुपर्छ । यस्तो सहकार्य गर्दा पेशागत हकहित कसरी संरक्षित वा वृद्धि गर्ने भन्ने कुरा ले स्वतः प्रमुखता पाउँछ । यस दिशामा गम्भीर भएमा शिक्षकको मर्यादा र प्रतिष्ठा बढ्ला कि ?

माध्यमिक तह देखि माथि अध्यापन गर्ने शिक्षकहरूले आफूलाई प्राध्यापक भन्न रुचाएको देखिन्छ । प्राध्यापकको अङ्ग्रेजी शब्द ‘प्रोफेसर’ हो । प्रोफेसर बन्न धेरै वर्ष पढाएर मात्रै पुग्दैन, गहन अध्ययनसँगै अनुसन्धानात्मक लेख, कृतिहरू छपाउनुपर्छ । त्यसको समेत मूल्याङ्कन गरी सम्बन्धित विश्वविद्यालय वा आयोगका निश्चित परीक्षा र मापदण्ड पास गरेपछि मात्र कुनै शिक्षक ‘प्रोफेसर’ कहलिन्छ । असल प्राध्यापकहरू प्रायः ‘म फलानो विषयको विद्यार्थी हुँ’ भन्ने गर्छन् ।

केही महिना अगाडि विद्यालयस्तरमा लागू भएको शिक्षक अनुमतिपत्र खारेज हुने खबरले आम सञ्चारमाध्यममा ठाउँ पाएको थियो । अनुमति प्राप्त शिक्षक असल कि अनुमति विना नै आस्थाका भरमा भर्ती गरिने शिक्षक असल भन्ने कुरा को मूल्याङ्कन नागरिक समाज र अभिभावक वर्गले गर्नु पर्ने हो । यो कुनै एक राजनीतिक दलले आफ्नो स्वार्थपूर्तिका लागि लदाउने कुरा होइन । संसारका धेरैजसो मुलुकमा माध्यमिक तहसम्म; शिक्षक अनुमतिपत्र अनिवार्य गरिएको छ । केही देशहरूले उच्चशिक्षाको गुणात्मक शिक्षा विकास गर्ने हेतुले उच्चशिक्षामा पनि शिक्षक अनुमतिपत्र लागू गर्न थालेका छन् । यसकारण; शिक्षक अनुमतिपत्र खारेज गर्ने कि यसका उपलब्धि र कमि–कमजोरीको मूल्याङ्कन गरी सुधार गर्दै लैजाने भन्नेबारे सरकारले अभिभावक र नागरिक समाज को राय लिनु उपयुक्त देखिन्छ । शिक्षक अनुमति प्राप्त र अप्राप्त व्यक्तिमध्ये कुन सफल शिक्षक बन्ला र कसको सामाजिक प्रतिष्ठा राम्रो होला अभिभावक, विद्यार्थी र नागरिक समाज ले तुलना गर्नुपर्छ ।


धेरैजसो देशमा शिक्षकहरूको एउटै युनियन हुन्छ र त्यो अत्यन्त सबल रहेको पाइन्छ । युनियनको प्रमुख कार्य प्रत्येक शिक्षकलाई प्राज्ञिक कसरी बनाउन सकिन्छ र सो कार्य गर्न सरकारसँग कसरी सहकार्य गर्ने भन्ने नै हुनुपर्छ ।

शिक्षकका प्रकारमा सामुदायिक विद्यालय र निजी विद्यालयका शिक्षकहरू पनि भिन्न देखिन्छ । उच्चशिक्षा अध्यापन गराउनेसम्मका शिक्षक निजी र सरकारी रूपमा कार्यरत छन् । यस्ता शिक्षकमध्ये सरसुविधा कम भएर पनि निजी विद्यालय वा कलेजका शिक्षकले गराए को अध्यापन असल हुन पुगेर हो वा बढी मेहनती भएर हो, यदाकदा निजी स्तर मा कार्यरत शिक्षकको मान प्रतिष्ठा वृद्धि भएको हो कि भन्ने पनि सुनिन्छ । निजीभन्दा समाज मा सामुदायिक विद्यालय नै असल हो भन्ने स्थापित गर्न नेपाल शिक्षक युनियनसामु ठूलो चुनौती आएको छ । यसका लागि युनियन एकढिक्का भएर विद्यालयस्तर को सरकारी विद्यालयको शैक्षिक गतिविधि अभिवृद्धि गर्न र सिकाइ उपलब्धि बढाउन ठूलो प्रयत्न गर्नुपर्ने देखिन्छ ।

विश्वव्यापी रूपमा अध्ययन गर्ने हो भने शिक्षक दुई प्रकारका मात्रै पाइन्छन्; अस्थायी र स्थायी । निश्चित परीक्षा पास गरी जीवनलाई शिक्षण पेशामा अर्पित गर्छु भन्ने शिक्षकको खाँचो समाज ले महसूस गरेको छ । यस्ता शिक्षक पैदा गर्न विभिन्न विश्वविद्यालयका शिक्षा सङ्कायले लिने प्रवेश परीक्षा, उक्त सङ्कायबाट प्रशिक्षणले उनीहरूमा ल्याउने सकारात्मक परिवर्तन, अस्थायी शिक्षक भर्ना गर्दा अपनाइने छनोट मापदण्ड तथा अस्थायी शिक्षकलाई तालिमबाट पार्न सक्ने सकारात्मक परिवर्तनले ठूलो भूमिका खेल्दछ । शिक्षक परपूर्ति बेरोजगारीको भर्ती अखडाबाट अलग राख्न सके मात्र शिक्षकको प्रतिष्ठा बढ्नेछ । यस कार्यका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालयस्तर मा शिक्षक युनियन र अभिभावकले चुनौतीपूर्ण रूपमा कार्य गर्नु पर्ने हुन्छ ।

अर्को पाटो भनेको शिक्षकका तलबमान को विविधता हो । शिक्षकलाई मर्यादित र उत्प्रेरित गर्न सबै शिक्षकको तलबमान र सुविधाहरू बराबर हुनुपर्छ । तलबमान को विविधताले शिक्षकमा हीनताबोध हुने र विद्यार्थी तथा जनसमुदायले हेर्ने दृष्टिकोणमा फरक परी शिक्षकको मान प्रतिष्ठामा असर पर्छ । यसका लागि नेपाल सरकारबाट हुने शिक्षक पारिश्रमिकको विविधताको अवलोकन भई समान ता र क्षेत्र हेरी सुविधा दिने व्यवस्था हुनु जरुरी छ । शिक्षा प्रशासनले शिक्षकको तलब र सुविधामा निर्णय लिँदा अन्तर्राष्ट्रिय मान्यता, समान ता तथा विषम परिस्थितिमा कार्य गर्नु पर्ने अवस्था समेतलाई विचार गरिनु उचित देखिन्छ । यस सन्दर्भमा शिक्षक युनियन तथा अभिभावक संघसंस्थाबीच शिक्षा मन्त्रालयको सहकार्य हुनु उपयुक्त हुन्छ ।

शिक्षा मन्त्रालयले शिक्षा ऐन, नियम परिमार्जन गर्दा, शिक्षक सम्बन्धी पद वर्गीकरण, तलबसुविधा आदिबारे निर्णय लिनुअगाडि सम्बन्धित सरोकारवालाहरू— शिक्षक युनियन, अभिभावक सम्बन्धी संस्थाहरूसँग सहकार्य गर्ने परिपाटी बसाल्नु जरुरी देखिन्छ । शिक्षकहरूसँग को नियमित संवादले पनि शिक्षक सम्बन्धी निर्णय लिनमा सहयोग पुर्याउँछ । शिक्षक सम्बन्धी निर्णय लिइँदा निर्णयले शिक्षकहरूको मर्यादा, सामाजिक प्रतिष्ठा, मान र उच्च मनोबल राख्न सकारात्मक प्रभाव पर्छ कि पर्दैन ? गरिएको निर्णयले शिक्षक समुदायमा उत्प्रेरणागराउँछ कि गराउँदैन ? आदिबारे विचार पुर्याउनु जरुरी हुन्छ ।

आजको सञ्चार युगमा शिक्षकले सञ्चारमाध्यमलाई सही उपयोग गर्न सके सिकाइ उपलब्धि वृद्धि गराउन सहायकसिद्ध हुनेछ । शिक्षा मन्त्रालय र अन्तर्गतका निकायले शिक्षकलाई कसरी स्वयं उत्प्रेरित गर्न सकिन्छ त्यसतर्फ पहल गर्ने र नेपाल शिक्षक युनियनले देश–विदेशमा भएका शिक्षाका अनुसन्धान तथा प्रयासहरूलाई प्रत्येक शिक्षकसमक्ष पुर्‍याउने सके शिक्षक उत्पादनशील भई शिक्षण सिकाइ उपलब्धिमा वृद्धि गर्न सहायकसिद्ध हुन्छ । यसका लागि प्रत्येक स्रोतकेन्द्रमार्फत इन्टरनेट सुविधा उपलब्ध गराई शिक्षक स्वयंले स्वाध्यायन गर्ने प्रवृत्तिको विकास गरिनुपर्छ । यस्तो कार्यको थालनी युनियन र नेपाल सरकारले गर्न सके गुणात्मक शिक्षामा सकारात्मक असर पर्नेछ । गुणात्मक शिक्षा विकास गर्न सिकाइ उपलब्धि वृद्धि हुनसके शिक्षकको मर्यादा, मान , प्रतिष्ठामा वृद्धि हुनेछ र यसले शिक्षकलाई समाज को अगुवा शैक्षिक नेतामा विकास गर्न सहयोगसिद्ध हुनेछ । यस कार्यमा नेपाल शिक्षक युनियनले विशेष पहल गर्नु पर्नेछ ।

त्रिपाठी शिक्षा मन्त्रालयका पूर्व सहसचिव हुन् ।

commercial commercial commercial commercial