हेराइ र बुझाइ
मात्र दुई शब्द
यो अत्यन्त कडा नियम र अनुशासनमा बस्नुपर्ने एउटा गुम्बाको प्रसङ्ग हो । गुम्बा अत्यन्त शान्त हुनुपथ्र्यो, त्यहाँ कसैलाई पनि बोल्ने अनुमति थिएन । तर अपवादका रूपमा हरेक दश वर्षमा भिक्षुहरूलाई दुईवटा शब्द बोल्ने अनुमति दिइन्थ्यो ।
गुम्बामा पहिलो दश वर्ष बिताइसकेपछि एकजना भिक्षु प्रमुख भिक्षुछेउ गए । प्रमुख भिक्षुले भने, “तिमीले यहाँ चुपचाप ध्यान गरेको पनि दश वर्ष भइसक्यो ।
भन, तिमीलाई कुन दुई शब्द बोल्न मन लागेको छ ?”
ती भिक्षुले दुईवटा शब्द भने, “बिच्छ्यौना... कडा... ।”
प्रमुख भिक्षुले प्रत्युत्तरमा भने, “ल, बुझेँ ।”
अर्को दश वर्ष ध्यान गरे पछि उही भिक्षु प्रमुख भिक्षुको कक्षमा पसे । प्रमुख भिक्षुले भने, “तिमीले थप दश वर्ष ध्यानमा बितायौ । ल भन; कुन दुई शब्द तिमी भन्न चाहन्छौ ?”
ती भिक्षुले भने, “खाना... दुर्गन्ध... ।”
प्रमुख भिक्षुको प्रत्युत्तर थियो, “लौ, थाहा पाएँ ।”
फेरि अर्को दश वर्ष पार गरे पछि ती भिक्षु पुनः प्रमुख भिक्षु अगाडि पुगे । प्रमुख भिक्षुले पहिलेझैँ प्रश्न दोहो¥याए, “अब तिमी कुन दुई शब्द बोल्न चाहन्छौ ?”
भिक्षुले भने, “म... छोड्छु... ।”
प्रमुख भिक्षुले भने “ठीक छ, तिमी किन छोड्दैछौ, त्यो म राम्ररी बुझछु । किनभने तिमी सधैँ असन्तुष्टि र गुनासो मात्र बोकिरहन्छौ ।”
कथासार
झ्ट्ट पढ्दा यो एउटा हाँस्य–टुक्का जस्तो लाग्न सक्छ । तरगहिरिएर हेर्दा यसमा निकै अर्थपूर्ण कुरा लुकेको पाइन्छ । त्यो भिक्षु जसले दश–दश वर्ष गर्दै गुम्बामा तीस वर्ष अत्यन्त कष्टका साथ ध्यान गरयो तर उसले त्यो ध्यान–चिन्तनको वास्तविक अनुभूति नै गर्न सकेको थिएन । उसले ती ३० वर्ष त आफ्ना गुनासो र असन्तुष्टि गुरुसामु पोख्ने दिन कहिले आउला भनेर अवसरको पर्खाइमा बिताएको थियो । यसैले; कसैले कति कडा परिश्रम गरयो भन्ने भन्दा उसले कुन उद्देश्यले र कसरी त्यो परिश्रम गरयो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
(इन्डियन फोकलोर टिचिङ स्टोरिजनामक किताबबाट )



