बजेट महत्वपूर्ण कि जाँगर ?
आज खेलकुदमा कीर्तिमान कायम गर्ने , राम्रा कथा–कविता र निबन्ध लेखेर नाम कमाउने अथवा रराम्रो लेख्ने–बोल्ने सीपका कारण आफ्नो पेशा–व्यवसायमा अगुवा बनेका व्यक्तिहरूलाई आफ्नो सफलताको कारण सोध्यो भने धेरैले स्कूले–जीवन र त्यतिबेला आफू सहभागी भएका हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकला, खेलकुद, निबन्ध तथा कवितालेखन, नाटक मञ्चन आदि प्रतियोगिताहरू सम्झन्छन् । स्कूल तहमा हुने यसखालका अतिरिक्त क्रियाकलाप ले किशोर–किशोरीमा प्रस्फुटन हुन नपाएर वा दबेर बसेको प्रतिभा र रुचिलाई निकास दिने काम गर्छन् । कैयौंलाई नियमित पढाइले भन्दा यस्तै क्रियाकलाप र घटनाले जीवनभर सफल तुल्याएको पनि पाइन्छ ।
तर दुः खको कुरा , यताका दिनमा स्कूलहरूमा विद्यार्थीको सङ्ख्या जुन दरमा बढ्दै गएको छ, खेलकुद, साहित्यिक लगायतका अतिरिक्त क्रियाकलाप हरू लगभग त्यही दरमा घट्दै, खुम्चिँदै गएको भेटिन्छ । नियमित रूपमा खेल्नै पर्ने उमेरका किशोर–किशोरीहरू पढ्ने शहरी क्षेत्रका नयाँ विद्यालयहरूमा खेल्ने ठाउँ परै रह्यो, सामान्य जमघट हुन पुग्ने खाली जमिन पनि देखिँदैन । पर्याप्त खाली जमिन भएका सरकारी स्कूलहरूमा पनि त्यस्तो जमिनको उपयोग विद्यार्थीको शारीरिक–बौद्धिक विकास मा प्रत्यक्ष योगदान पुर्याउनका लागिभन्दा पसल–कबल बनाउन वा अरू नै प्रयोजनका निम्ति उपयोग गरी भाडा असुल गर्ने प्रवृत्ति बढ्दै गएको पाइन्छ । त्यसरी आर्जित रकम अतिरिक्त क्रियाकलाप हरू सञ्चालन गर्न लगाएको पाइँदैन । प्रायः सबैजसो सरकारी या सामुदायिक विद्यालयहरूले आर्थिक अभावकै कारण त्यस्ता कार्य गर्न नसकेको बताउने गरेका छन् । तर, ‘आर्थिक अभाव’ लाई कारण देखाउने विद्यालयहरूले जाँगर र इच्छा भए पुग्ने, थप बजेट नचाहिने खालका क्रियाकलाप हरू समेत गराउने गरेको विरलै भेटिन्छ ।
दिउँसोको साढे चार बजिसक्यो । स्कूल छुट्टी भइसक्यो । तर पनि काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य उमाविका केही विद्यार्थीको भने घर फर्कने बेला भएको छैन । भेला भएका १०/१२ जना विद्यार्थीमध्ये कोही सडक–बालकको अभिनय गरिरहेका छन् त कोही नेताको र बालश्रमिकको । सबै श्रमिक बालबालिकाले पढ्न पाउनुपर्छ र बालअधिकार सुरक्षित होस् भन्ने सन्देश बोकेको यो नाटक विद्यार्थी आफैँले लेखेका हुन् र निर्देशन पनि उनीहरूले नै गरिरहेका छन् ।
गएको पुस महिनाको एक दिन, ललितपुरको बाल विद्या मन्दिर (बीबीएम)मा एउटा रमाइलो दृश्य देख्न पाइएको थियो । त्यस दिन शिक्षकहरू विद्यार्थीको लाइनमा लामबद्ध थिए । प्रार्थनाको समय सकिएपछि कुनै विद्यार्थी प्रिन्सिपलको कुर्सीमा गएर बस्न थाले भने कोही कक्षामा गएर पढाउन थाले । शिक्षकहरू चाहिँ विद्यार्थीहरूसँगै बेञ्चमा बसेर पढ्न थाले । त्यो दिन त्यस विद्यालयमा विद्यार्थी दिवस मनाइँदै थियो । विद्यार्थी दिवसमा बिहान देखि बेलुकासम्म विद्यार्थीले नै विद्यालय सञ्चालन गर्छन् भने शिक्षकहरू विद्यार्थीको भूमिकामा रहन्छन् । विद्यालयका अनुसार, हरेक वर्ष जाडो बिदा हुनुभन्दा अघिल्लो दिन ‘बीबीएम’ स्कूलमा विद्यार्थी दिवस मनाइन्छ । देउसी–भैलो, सरस्वती पूजा, रक्तदान आदि क्रियाकलाप पनि सो विद्यालयमा भई नै रहन्छन् ।
शिक्षाविद् डा. तीर्थ खनियाँका अनुसार, विद्यार्थीको रुचि अनुसारका अतिरिक्त क्रियाकलाप ले विद्यार्थीमा अन्तरनिहित प्रतिभा उजागर गर्न र आत्मविश्वास बढाउन महत्वपूर्ण सहयोग पुग्छ । उनी भन्छन्, “एकोहोरो पढाइमा लागेको दिमागलाई यस्ता क्रियाकलाप ले ताजा बनाउँछन् । विद्यालयमा समय मिलाएर विभिन्न क्रियाकलाप गराउनु जरुरी छ ।” विभिन्न सदन, क्लब र सङ्गठनमा सामेल हुँदा विद्यार्थीहरूमा कर्तव्य र जिम्मेवारी वहन गर्ने बानी बस्छ र उनीहरूले प्रजातान्त्रिक आचरण सिक्छन् भन्ने काठमाडौँको जनप्रभात माविका शिक्षक शिवहरि मान न्धरको अनुभव छ ।
शिक्षा नियमावलीले विद्यालयमा अतिरिक्त क्रियाकलाप गराउनु पर्ने अनिवार्य व्यवस्था गरे पनि अधिकांश सरकारी विद्यालयमा पर्याप्त अतिरिक्त क्रियाकलाप भएको पाइँदैन । सहकार्यकलाप वा अतिरिक्त क्रियाकलाप गराउन रत्नराज्य उमाविमा पाँच सदस्यीय अतिरिक्त क्रियाकलाप समिति नै बनाइएको छ । अतिरिक्त क्रियाकलाप का लागि विद्यालयको वार्षिक क्यालेन्डरमै निश्चित दिनहरू छुट्याइएको छ । तर पनि विद्यालयमा खासै अतिरिक्त क्रियाकलाप भने हुन नसकेको समितिका सदस्य शिक्षक धर्मराज अर्याल स्वीकार गर्छन् । उनका अनुसार बितेको शैक्षिक वर्षभरि अरू प्रतियोगिता हुन सकेनन् । जनप्रभात माविले यो वर्ष सातभन्दा बढी अतिरिक्त क्रियाकलाप गराए को दाबी गरे पनि विद्यार्थीहरू दुईवटा भन्दा बढी न गराए को बताउँछन् । त्यस्तै प्रगति शिक्षा सदनमा पनि यो वर्ष सातवटा भन्दा बढी क्रियाकलाप हुनसकेको छैन । राष्ट्रिय उमावि, इन्द्रायणीको हालत पनि यी तीन विद्यालयको भन्दा फरक छैन । तर बीबीएम स्कूलमा भने खेलकुद सप्ताह बाहेक वर्षभरिमा २८ वटा विभिन्न क्रियाकलाप गरिए ।
--------------------------------
मूल्याङ्कनको कडी बनाउनुपर्छ
नयाँ पाठ्यक्रम अनुसार बालबालिकालाई कक्षा–कोठामा पढाउने भन्दा बढी अतिरिक्त क्रियाकलाप मा सहभागी गराउनु पर्छ । उदार कक्षोन्नतिको अवधारणा अनुसार कक्षा १ देखि ३ सम्मका विद्यार्र्थीको व्यक्तिगत प्रगति विवरण तयार गरी कक्षा कार्य, परियोजना कार्य हेरेर सिकाइ उपलब्धि मापन गरिन्छ । विद्यार्थीको उपलब्धिको बारेमा प्रत्येक महिना अभिभावकलाई जानकारी पठाउने व्यवस्था नयाँ पाठ्यक्रमले गरेको छ । कक्षा ४ र ५ को पनि निरन्तर मूल्याङ्कनको आधारमा सिकाइ उपलब्धि मापन गर्नु पर्ने व्यवस्था छ । निमावि र माविमा भने अतिरिक्त क्रियाकलाप को मूल्याङ्कनका लागि कुनै नियम बनाएको छैन । केन्द्रका पाठ्यक्रम अधिकृत प्रकाश मान न्धरका अनुसार, ती तहका विद्यार्थीका निम्ति पनि अतिरिक्त क्रियाकलाप को मूल्याङ्कन गर्ने विधि तयार गर्ने काम थालिएको छ ।
------------------------------
न गर्ने धेरै
बुझदा–बुझदै पनि विद्यालयमा यस्ता क्रियाकलाप हरू गराउन नसक्नुका पछि धेरै कारण रहेको शिक्षकहरूको भनाइ छ । जनप्रभात माविका शिक्षक शिवहरि मान न्धर अतिरिक्त क्रियाकलाप नहुनुमा विद्यालय प्रशासनलाई जिम्मेवार ठान्छन् । जति रराम्रो काम गरे पनि मूल्याङ्कन नभएपछि आफूले त्यस्ता क्रियाकलाप मा चासो नदिएकोे उनको कथन छ । राष्ट्रिय उमाविका सामाजिक शिक्षक लक्ष्मण घिमिरे भने बन्द–हड्तालले गर्दा बेलामा पाठ नसकिने र पाठ छाडेर अतिरिक्त क्रियाकलाप मा समय दिन नसकिने बाध्यता सुनाउँछन् । उनको विचार मा विद्यालयको आर्थिक पक्ष कमजोर भएर पनि अतिरिक्त क्रियाकलाप मा बाधा पुगेको छ ।
रत्नराज्य उमाविका प्राचार्यगीता खरेल विद्यालयमा अतिरिक्त क्रियाकलाप गराउने शिक्षकको दरबन्दी नै नभएको मा असन्तोष पोख्छिन् । सँगै अतिरिक्त क्रियाकलाप गराउँदा अभिभावकहरूबाट विद्यार्थीको समय खेर गएको गुनासो आउने पनि उनी बताउँछिन् । शहरका धेरैजसो विद्यालयमा खेलकुदका लागि पर्याप्त ठाउँको अभाव छ । मैदानमा खेलाउनुपर्ने खेल खेलाउन थोरै मात्र स्कूलसँग खुला मैदान छ । विद्यालय स्रोत व्यक्ति मनबहादुर थापाका अनुसार पहिलेको तुलनामा विद्यालयमा अतिरिक्त क्रियाकलाप को सङ्ख्यामा निरन्तर कमी आउँदै गरेको छ ।
--------------------------------------------------

उदयपुरको त्रियुगा नगरपालिकामा अवस्थित जनज्योति माविमा अध्ययन गर्दा नै मैले अतिरिक्त क्रियाकलाप मा सहभागी हुने अवसर पाएँ । त्यसबेला मुख्य गरी म हाजिरीजवाफ, चित्रकला र नृत्यमा भाग लिन्थेँ । हराम्रो विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्न/ गराउनका लागि सेतो सदन, हरियो सदन नामक विभिन्न समूह बनाइएका थिए । ती समूहमा तीक्ष्ण, मध्यम, निम्न क्षमताका विद्यार्थीहरू मिसाएर राखिन्थ्यो । मेरो समूहमा चाहिँ म मध्यमस्तरीय छात्रा थिएँ । स्कूलमा हुने हाजिरीजवाफमा भाग लिने क्रममा ममा नयाँ कुरा को खोजी गर्ने र दिमागमा जिज्ञासाको बीज उमारिराख्ने बानी बस्यो । जीवनमा अगाडि बढ्न अनि आत्मविश्वास बढाउन अतिरिक्त क्रियाकलाप ले मलाई ठूलो मद्दत पु¥यायो, आफैंलाई चिन्ने मौका दियो । हामीलाई पढाइसँगै अतिरिक्त क्रियाकलाप मा लगाउने शिक्षकहरूलाई धन्य भन्न मन लाग्छ । शिक्षकले अतिरिक्त समय, तत्परता र ध्यान दिएर यस्ता क्रियाकलाप मा हराम्रो रुचि नजगाएको भए म अहिलेको अवस्थामा पुग्ने थिइनँ । काठमाडौंको कन्या क्याम्पसमा स्नातक पढिरहेकी म अहिले आफ्नो स्कूलमा हुने अतिरिक्त क्रियाकलाप सम्झ्रिहेकी छु ।
------------------------------------------------
अतिरिक्त क्रियाकलाप ले पाठ्यक्रमको गहन उद्देश्य पूरा गर्न सहयोग पुरयाउने विश्वास गरिन्छ । कतिपय शिक्षकहरू पहिलेको तुलनामा अहिलेका विद्यार्र्थीमा अतिरिक्त क्रियाकलाप प्रतिको जोश र जाँगर घट्दै गएको अनुभव सुनाउँछन् । तर, विद्यार्थीहरू यो कुरा मान्न तयार देखिँदैनन् । रत्नराज्यमा कक्षा ९ मा अध्ययनरत छात्रा सरस्वती कार्की भन्छिन्, “सर र मिसहरूलाई भन्दछौँ पनि तर अरू कक्षाकोठाका पढाइमा असर पर्छ, समय छैन, पाठ पढ भन्दै शिक्षकहरूले हाम्रा कुरा लाई वास्तै गर्नु हुन्न ।”
अतिरिक्त क्रियाकलाप लाई सिकाइ–प्रक्रियाको महत्वपूर्ण अङ्ग मानेर शिक्षा मन्त्रालयले २०६० सालमा सबै सरकारी विद्यालय शुक्रबार तीन बजेसम्म खोलेर दुई घण्टा अतिरिक्त क्रियाकलाप गराउनु पर्ने परिपत्र गरेको थियो । तर अतिरिक्त क्रियाकलाप गराउने शिक्षकको अभाव तथा आवश्यक स्रोतसाधनको कमी भएको भन्दै यो नियमलाई झन्डै ८० प्रतिशत विद्यालयले नमानेको आफूहरूले गरेको अनुगमनले देखाएको बताउँछन्, शैक्षिक जनशक्ति विकास केन्द्रमा शारीरिक शिक्षा हेर्ने प्राविधिक अधिकृत नेपालहरि रानाभाट । उनका अनुसार धेरैजसो विद्यालयहरू शुक्रबार १ बजे नै बन्द भइसकेका हुन्छन् ।
प्रायः विद्यालयले आर्थिक अभावका कारण अतिरिक्त क्रियाकलाप गराउन नसकेको गुनासो गर्ने गरेका छन् । तर बालबालिकाको सिकाइमा गुणात्मक सुधार ल्याउनका लागि ‘विद्यालय सुधार योजना’ अन्तर्गत जिल्ला शिक्षा कार्यालयले हरेक वर्ष प्रति विद्यार्थी हिमाली भेकमा रु.३५०, पहाडी भेकमा रु.२५० र तराई तथा उपत्यकामा रु.२६१ दिने गरेको छ । यो रकम प्राथमिकताका आधारमा विद्यालयले खर्च गर्न सक्ने व्यवस्था छ । तर विद्यार्थीको गुणात्मक विकास का लागि भनेर छुट्याइएको पैसा भौतिक पूर्वाधार निर्माण र सामान जोड्ने काममा खर्च गरिएको अनुभव शिक्षा विभाग स्वयंले गरेको छ । विभागका कार्यक्रम शाखा प्रमुख हरि लम्साल भन्छन्, “ गाउँतिर सामान्य कार्यक्रम गर्न चार पाँच सयले पुग्छ । विद्यार्थीका लागि छुट्याइएको रकम अरू काममा खर्च गरेर अतिरिक्त क्रियाकलाप गर्न पैसा छैन भन्न मिल्दैन ।” शिक्षकहरूले जाँगर चलाइदिने हो भने विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्न रकम अभाव नहुने उनको तर्क छ ।
शैक्षिक जनशक्ति विकास केन्द्रका प्राविधिक अधिकृत रानाभाटलाई चाहिँ शिक्षकहरूमा अतिरिक्त क्रियाकलाप गराउने क्षमता नभएको बताउँछन् । उनी भन्छन्, “कतिपय शिक्षकमा तालिमको अभावका कारण प्रार्थना कसरी गराउने भन्ने ज्ञान पनि छैन ।” तर पनि तालिम लिएका शिक्षकहरूले आफूले सिकेका कुरा कक्षाकोठामा प्रयोग न गरेका कारण शिक्षकले तालिम लिनेबित्तिकै स्कूलमा अतिरिक्त क्रियाकलाप भइहाल्छ भन्ने आधार छैन । शिक्षकमा जाँगर नजगाई स्कूलमा अतिरिक्त क्रियाकलाप हुने अपेक्षा गर्न सकिँदैन । यसका लागि स्कूलमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने शिक्षकलाई पुरस्कार र न गर्ने लाई दण्डको व्यवस्था गर्नु उत्तम उपाय हुन सक्छ ।
-----------------------------------------------------
आत्मविश्वास जगायो – भवसागर घिमिरे
२०४८ सालमा म ज्ञानभूमि प्रावि, नदीपुर पोखरामा कक्षा ४ मा पढ्थेँ । विद्यालयमा बेलाबेलामागीतगाउने, चुट्किला भन्ने कार्यक्रम हुन्थ्यो । ‘मेरो गाउँ ज्यामिरे जमुनीको छोरो म..’ बोलकोगीत मैले ६ कक्षाबाट गाउन थालेको हुँ । मैले योगीत बाराही माविमा कक्षा ८ मा पढ्दा पनि गाएँ । विद्यालयमा आयोजना हुने हाजिरीजवाफ, वक्तृत्वकला, नृत्य र नाटक प्रतियोगिता म सकभर छुटाउँदिनथेँ । प्रतियोगितामा भाग लिँदा केही न केही पुरस्कार पनि हात परिरहन्थ्यो । १० कक्षामा हुँदा हाजिरीजवाफ प्रतियोगितामा भाग लिन म राजधानी आएँ । पहिलो पटक काठमाडौं देख्न पाउने सौभाग्य मलाई अतिरिक्त क्रियाकलाप ले जुटाइदिएको थियो । स्कूलमा हुने अतिरिक्त क्रियाकलाप मा सहभागी हुने बानीले म १० कक्षामा पुग्दा आफैँ कार्यक्रम आयोजना गर्ने र चलाउने भइसकेको थिएँ ।
प्रतियोगितामा जितेका पुरस्कार ले पढ्ने हौसला बढाउँथ्यो । स्नातक तहको छात्र छँदा पोखराको माछापुच्छ्रे एफएममा कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएँ । विद्यालयका अतिरिक्त क्रियाकलाप पछि क्लब र एफएममा काम गरेको अनुभवले मलाई एन्टेना फाउन्डेसन नेपालमा संलग्न हुने अवसर जुट्यो । ‘दैनिकी राष्ट्रिय अखबार’ मा पुगेपछि मैले पुनः अतीतलाई फर्केर हेर्दैछु । विद्यालयका अतिरिक्त क्रियाकलाप ले मेरो जीवनमा अघिबढ्न प्रेरणा मात्र दिएका छैनन्, आत्मविश्वासै जगाएको छ ।
--------------------------------------------------
राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ ले अतिरिक्त क्रियाकलाप मा जोड दिएपछि विद्यार्थीको शारीरिक तथा मान सिक विकास का लागि पाँचै विकास क्षेत्रमा प्रशिक्षकहरू व्यवस्था गरेर अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरिएको थियो । यसलाई निरन्तरता दिँदै पाठ्यक्रम विकास केन्द्रले अहिले पनि सांस्कृतिक कार्यक्रम, निबन्ध, कविता र चित्रकला, एकाङ्की नाटक लेखन र मञ्चनमा राष्ट्रिय प्रतियोगिता गराउने गरेको छ । केन्द्रका पाठ्यक्रम अधिकृत प्रकाश महर्जनका अनुसार यस वर्ष पनि राष्ट्रिय प्रतियोगिता अन्तर्गत २६ चैतमा सांस्कृतिक प्रतियोगिता आयोजना गरिएको थियो । केन्द्रले २०६६ सालको लोकतन्त्र दिवसका अवसरमा चित्रकला, कविता, निबन्ध प्रतियोगिता गर्ने छ । आउँदो जेठमा एकाङ्की नाटक लेखन प्रतियोगितागराइने पनि केन्द्रले जनाएको छ । तर, केन्द्रले गरेका यस्तो अभ्यास को अनुसरण गर्ने स्कूल सङ्ख्या धेरै छैन ।



