फुक्र्याएर पनि बनाउन सकिन्छ

म २००२ सालमा पाँचथरको रवि गाउँमा जन्मिएँ र पाँच वर्षपछि गाउँकै प्राथमिक स्कूल गएको थिएँ । मेरा काका, मामा पूर्व लाहुरेहरूको पहलमा गाउँमा बल्लबल्ल २/४ जना केटाकेटी जम्मा गरेर पढाउने काम शुरु भएको थियो । २००९ सालमा कालिङपोङबाट हाम्रा दाइ पर्ने गम्भीर दास राई शिक्षक बनेर आउनुभयो भने ०१४ सालतिर इलामका काङ्ग्रेस नेता एवं पूर्व शिक्षामन्त्री केवी गुरुङका भाइ हेमबहादुर गुरुङ आउनुभयो । मेरो गाउँको पहिलो प्राथमिक विद्यालयको पहिलो विद्यार्थी पनि म नै रहेछु । मैले पढ्दा यसको नामकरण गरिएको थिएन । हाल त्यो स्कूल दुर्गा उच्च मावि भएको छ ।

प्राथमिक तहमा मेरा पहिलो शिक्षक गम्भीर दास नै हुनुहुन्थ्यो । पछि आउनुभएका इलामका हेम गुरुङ सर पनि रराम्रो शिक्षक हुनुहुन्थ्यो । मैले सौभाग्यवश शुरु मै गम्भीर दास जस्तो नयाँ विचार भएको असल शिक्षक पाएँ । एउटा किताब कण्ठाग्र गरे एक कक्षा पास, दुइटा मुखाग्र गरे दुई कक्षा पास गरिने चलनलाई तोडेर उहाँले गणित, नेपाली, स्वास्थ्य विज्ञान, संस्कृत, अङ्ग्रेजी, विषय राखेर पढाउन थाल्नुभयो । पिरियड तोकेर पढाउने चलन पनि उहाँले नै शुरु गर्नु भएको हो । त्यसअघि पिरियड भन्ने कुरा नै थाहा थिएन । अतिरिक्त क्रियाकलाप को सुरुआत पनि उहाँले नै गर्नु भएको थियो । उहाँ त अलराउण्डर नै हुनुहुन्थ्यो ।

उहाँले पढाइका अतिरिक्त खेलकुद, नाटक, कविता वाचन, वादविवाद, भाषण,गीत लेख्ने तथागाउने जस्ता अतिरिक्त क्रियाकलाप को अवधारणा पनि दिनुभएको थियो । आजका आधुनिक स्कूलमा हुने आधारभूत कुरा त्यो समयमा उहाँले शुरु गरिसक्नुभएको थियो । उहाँले विद्यार्थीलाई जहिले पनि प्रोत्साहित गर्नु हुन्थ्यो । रराम्रो गर्ने विद्यार्थीलाई जहिले पनि केही न केही नयाँ पुरस्कार दिइरहनु हुन्थ्यो । मलाई उनले एक जोर कमिज सुरुवाल समेत ल्याइदिनुभएको थियो ।

मैले पहिलो पल्ट ००९ सालमा नाटक खेल्ने अवसर पाएको थिएँ । गम्भीर दास सरले आफैं नाटक लेख्ने र निर्देशन गर्ने काम गर्नु भएको थियो । त्यसमा मैले राज कुमारीको भूमिका पाएको थिएँ । त्यसपछि मैले धेरै नाटक खेलेँ । पछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विजय मल्लको नाटक खेलेर मैले स्वर्ण पदकसम्म पाएँ । नाटकले मानिसको जीवन र चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा मैले धेरै नाटक खेलेपछि थाहा पाएको हुँ । केही दिनअघि एक जना मित्रले तपाईंलाई अहिले पनि नाटक खेल्न मन लाग्छ भनेर सोध्नुभयो । प्रत्युत्तरमा मैले भनें, “मेरो उमेर अनुसार सुहाउने भूमिका पाएँ भने नाटक मात्र होइन, फिल्म पनि खेल्छु ।” अभिनयप्रतिको आसक्ति र लगाव उनै प्राथमिक शिक्षक गम्भीर दासकै कारण उत्पन्न भएको हो ।

मैले कक्षा ७ उत्तीर्ण गरे पछि केही समय मासिक रु.१५ तलब खाने गरी शिक्षक भएँ । र, पाँचथरमा हाईस्कूल नभएपछि इलाम गएर पढेँ । २०२० सालमा पाँचथरमा हाईस्कूल खुलेपछि पुनः जिल्ला फर्केर त्यहीँबाट सोही वर्ष एसएलसी उत्तीर्ण गरें । हाईस्कूल तहमा शिक्षकहरू राम्रै हुनुहुन्थ्यो । इलाममा कक्षा ८ पढ्दा भरखर बीएड गरेर आउनुभएका केवी गुरुङ सर, जो पछि शिक्षामन्त्री पनि हुनुभयो, उहाँले अङ्ग्रेजी रुचिपूर्ण तरिकाले पढाउनु भएको म अहिले पनि सम्झन्छु । पाँचथरको पहिलो हाईस्कूलका हेडसर कमल पराजुली सर पनि विद्यार्थीलाई उत्प्रेरित गर्न सिपालु हुनुहुन्थ्यो । यो केटालाई शिक्षकलाई कस्तो विद्यार्थी र उत्तर मनपर्छ भन्ने कुरा थाहा छ र उसले तदनुरुप तयारी गर्छ भनेर मलाई खुब फुर्काउनुहुन्थ्यो । मेरो अङ्ग्रेजी त्यति रराम्रो नभए पनि कठिन भने लाग्दैनथ्यो । उहाँले ‘अङ्ग्रेजी यस्तो हुनुपर्छ’ भनेर मेरो अङ्ग्रेजी कपी कक्षाका अरू साथीहरूलाई देखाउनुहुन्थ्यो । मैले लेखेको ‘एसे’ पढेर सुनाउनुहुन्थ्यो । त्यसले मलाई अङ्ग्रेजी थप रराम्रो बनाउने प्रेरणा मिल्यो ।

मैले आईए, बीए र एमएसम्मका सबै परीक्षा प्राइभेट दिएरै पास गरेको हुँ । पछि एमएड पनि गरें । त्रिभुवन विश्वविद्यालयमा रहँदा बस्दा भाषा विज्ञानमा भारतबाट पीएचडी र जर्मनीबाट पोष्ट डक्टरेट गर्ने अवसर पनि पाएँ । धेरै वर्ष कीर्तिपुरमा शिक्षाशास्त्र पढाएँ । जर्मनीको लागि नेपालको राजदूतको जिम्मेवारी पनि सम्हाल्न पाएँ । हाल नेपाल र एशियाली अनुसन्धान केन्द्रमा अनुसन्धानकर्मीको रूपमा छु । आज म जे छु , त्यसमा सबैभन्दा ठूलो हात मेरो स्कूलको छ ।

बच्चालाई स्कूलप्रति आकर्षित गर्ने काम नै प्राथमिक स्कूलको हो । यदि बच्चाहरू स्कूल जान गाह्रो मान्छन् वा स्कूल जानुपर्दा बेखुसी हुन्छन् भने बुझनुपर्छ कि स्कूलमा खास गरी शिक्षकमा ठूलै समस्या छ । बच्चाहरूले स्कूल छाड्ने वा कक्षा दोहोर्याउने अवस्था पनि यसैले खडा गरेको हुनसक्छ । ज्ञान, सीप, आचरण, संस्कार, मूल्यमान्यता र सोचाइको निर्माण गर्ने थलो पनि प्राथमिक तह नै हो । केटाकेटीहरू भित्रको अन्तरनिहित प्रतिभा पहिचान गर्ने र प्रस्फुटित गराउने र सृजनशील तरिकाले सोच्न प्रेरित गर्ने बेला पनि यही हो । त्यसैले यस तहमा पढाउने शिक्षकहरूमा अरूभन्दा विशिष्ट र गहन जिम्मेवारी छ ।

तर हामीकहाँ शिक्षक–विद्यार्थीको सम्बन्ध सासू–बुहारीको जस्तो हुने गरेको छ । प्राथमिक तहमा शिक्षकले विद्यार्थी भकुर्ने गरेका कारण जब ती विद्यार्थी ठूला हुन्छन्, अनि शिक्षकलाई ठटाउँछन् । सिकाइ र शारीरिक यातनाको सकारात्मक सम्बन्ध छैन । त्यसैले शिक्षकले शारीरिक, मान सिक यातना दिने, हप्काउने काम बन्द गर्नु अपरिहार्य छ । शिक्षक विद्यार्थी बीच एकअर्कामा आदर र सम्मान को भावना उत्पन्न गर्न पनि यस्ता क्रियाकलाप बन्द गर्नु जरुरी छ ।

 सबै प्रस्तुतिः सुदर्शन घिमिरे

commercial commercial commercial commercial