असल शिक्षक असल विद्यार्थी पनि हो
प्राथमिक विद्यालय देखि विश्वविद्यालयसम्मको अध्ययन र अध्यापनको दौरानमा मेरो करिब १५ सयभन्दा बढी शिक्षकसँग अन्तरव्यक्तिगत सञ्चार र सम्पर्क भयो होला । शिक्षाको सुधार र विकास का लागि विद्यालय र समुदायसँग को सहकार्यमा अरू दुई हजार शिक्षक र पाँच हजारभन्दा बढी अभिभावकसँग अन्तरक्रिया गरियो होला । अध्यापनको क्रममा करिब पाँच हजार विद्यार्थीसँग भेटघाट, विचार विचार र शिक्षण सिकाइ क्रियाकलाप मा संलग्न भएँ हुँला । तर कक्षा १ मा पढाउने सुशीला मिस, निमाविस्तर मा पढाउने प्रेमबहादुर र युवराज सर तथा माध्यमिक तहमा नेपाली पढाउने धर्मानन्द गुरु र गणित पढाउने प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकी सरले जुन छाप ममा पार्नुभयो त्यो अतुलनीय छ । सुशीला मिसको विद्यार्थीलाईसँग सँगै पढ्न सिकाउने र हरेक विद्यार्थीको छेउमागई माया गर्दै कक्षाकार्य र गृह कार्य नियमित हेर्ने बानी अनुकरणीय थियो । प्रेम सर र युवराज सरको विद्यार्थीहरूसँग विभिन्न खेल खेल्दै अतिरिक्त क्रियाकलाप मार्फत सिकाउने सीपले विद्यार्थीलाई सधैँ उत्पे्ररित गथ्र्यो । कहिल्यै कडा स्वरले नबोल्ने, समयमै कक्षामा प्रवेश गर्ने र घण्टी बजेपछि मात्र कक्षा छोड्ने तथा पाठ्यविषयलाई दैनिक जीवनसँग तालमेल गराउने उहाँहरूको कला बिर्सनै सक्दिनँ । स्वभावमा कडा भए पनि विभिन्न शैक्षिक सामग्रीको प्रयोग गरी हरेक विद्यार्थीलाई हिसाब गराउने र सबैले नजानेसम्म पाठ अगाडि नबढाउने कृष्णबहादुर सरको मेहनत र सहनशीलता मैले पनि शिक्षक बन्दा प्रचलनमा ल्याएको थिएँ ।
कलेजमा पढ्दा हेटौँडाका यादव (शर्मा) सर र शङ्करदेव क्याम्पसका रमेश पाण्डे सर दुवै लेखाव्यवस्थापन पढाउनु हुन्थ्यो । कलेज नियमित हुनु र पूरा समय पढाउनु, नबुझेको कुरा जहिले सोध्दा पनि सिकाउन तयार रहनु उहाँहरूको धर्म नै थियो । कीर्तिपुर क्याम्पसमागणेश गुरुङ सर पनि अविस्मरणीय हुनुहुन्छ जसले समाज शास्त्रको पढाइलाई व्यावहारिक र कामयावी बनाउन तथा गरिरहेको सामाजिक कार्यलाई समाज शास्त्रको आँखाबाट हेर्ने दृष्टिकोण दिनुभयो । काठमाडौँ विश्वविद्यालयका सबै सरहरू रराम्रो नरराम्रो दुवै हिसावले सम्झ्नलायक हुनुहुन्छ । तर पनि मन वाग्ले सरको प्रस्ट विश्लेषण र सहज पहुँच, टङ्क शर्मा सरको व्यवहारको कसीमा घोट्ने चलन र महेश पराजुलीको अध्ययनशीलता र समय परिपालनाबाट म प्रभावित भएको छु ।
म्याकिन्सेले विश्वभरि शिक्षाको गुणस्तर सुधारका विकल्पको खोजीका लागि गरेको अध्ययनले विश्वका उत्कृष्ट ११ देशको शिक्षामा भएको उपलब्धि शिक्षामा लगानी बढाएर, कक्षाकोठामा थोरै विद्यार्थी राखेर, शैक्षिक वातावरण र सामग्रीको प्रबन्ध गरेर, समुदायलाई विद्यालय सञ्चालनको स्वतन्त्रता र स्वायत्तता दिई मालिक बनाएर मात्र नभई शिक्षकको क्षमता, गुणस्तर र प्रतिबद्धतामा ध्यान दिएर भएको निष्कर्ष निकालेको थियो । नेपालमा शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक अगाडि नलागी सम्भव छैन । शिक्षक विद्यार्थीको मात्र नभई समाज रूपान्तरणको पनि अगुवा हो ।गत वर्ष मात्र सार्वजनिक भएको म्याकिन्सेको अध्ययन प्रतिवेदन र मेरो जीवनको भोगाइ र अनुभवमा सादृश्य छ ।
एउटा विद्यार्थी, शिक्षक र शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिका हिसाबले मैले जीवनमा अनुभूति गरेको, विद्यार्थी, शिक्षक र अभिभावकसँग को उठबस, अन्तरक्रिया तथा माथि उल्लिखित राम्रा शिक्षकहरूको समष्टिगतगुणलाई विश्लेषण र एकीकृत गर्दा एक असल शिक्षकमा देहायबमोजिमका विशेषता हुनुपर्दछ भन्ने ठान्दछुः
१) राम्रा शिक्षक आफ्नो विषयवस्तुको उद्देश्य, लक्ष्य, अपेक्षित उपलब्धि र प्रक्रियाका बारेमा जिज्ञासु हुन्छन् । आफ्ना विषयमा निरन्तर अध्ययन र अनुसन्धान गर्छन् । विषयसँग सम्बन्धित र सन्दर्भसामग्रीहरूको बारेमा विद्यार्थीलाई परिचितगराइदिन्छन् । पढे/पढाएको कुरा को प्रयोग कहाँ र कसरी भइरहेको छ । यस विषयको प्रयोग विद्यार्थीको व्यक्तिगत र सामाजिक जीवनमा कसरी हुन्छ वा गर्नु पर्छ आदि विषयमा प्रस्ट हुन्छन् ।
२) शिक्षकले कुनै विद्यालय वा कक्षाकोठामा जानुअघि त्यस गाउँको परिवेश, रहनसहन, संस्कृति, भाषा, भेष, सामाजिक तथा आर्थिक अवस्था आदिको बारेमा सामान्य जानकारी राख्नु अनिवार्य छ । आफूले पढाउने विषयवस्तुका अतिरिक्त आफ्ना विद्यार्थी र समाज को बारेमा पनि शिक्षकले जानकारी राख्नुपर्छ । आफ्नो कक्षामा कति विद्यार्थी छन् । केटा र केटी कति छन् । कुन कुन उमेरका छन् । पढाइस्तर कस्तो छ । पारिवारिक वातावरण र अवस्था कस्तो छ । राम्रा र कमसल विद्यार्थी को को हुन् । उनीहरूको फरक क्षमता र रुचि के छ । विद्यार्थीको औसत उपस्थिति कस्तो रहेछ । कक्षाकोठाबाहिर विद्यालयमा र समुदायमा विद्यार्थीले के के गर्छन् । कस्तो बानीव्यवहार छ आदि ।
३) पाठ्यक्रम के हो ? यो किन चाहियो ? यसले के खोजेको छ ? पाठ्यक्रम, विद्यार्थी र शिक्षकको सम्बन्ध तथा भूमिकामा प्रस्टता असल शिक्षकमा हुँदोरहेछ । कक्षा तथा विषयको पाठ्यक्रमलाई दैनिक पाठयोजनामा ढाल्ने सीप तथा कला र सोही अनुरूपको शिक्षण सिकाइ क्रियाकलाप निर्धारण र सञ्चालन गर्ने बानी । पाठ्यपुस्तक र सन्दर्भसामग्रीको प्रयोग तथा तालमेल पनि महत्वपूर्ण हुन्छ ।
४) असल शिक्षक भन्नेबित्तिकै चकको प्रयोग बढी र कम ‘टक’ महत्वपूर्ण छ । कक्षाकोठामा प्रयोग गरिने कालो वा सेतो पाटीको रखाइ, त्यसको प्रयोग, लेख्ने अक्षर
(आकार र शैली), अन्य स्थानीय शैक्षिक सामग्रीको प्रयोग र विद्यार्थीको ती सामग्रीमा पहुँचले उनीहरूको सिकाइ र बुझइमा सीधा सम्बन्ध राख्दछ । शैक्षिक सामग्रीको जतन र अद्यावधिकीकरण तथा कालोपाटीको सरसफाइले पनि शिक्षककोगुण बताउँछ ।
५) पाठयोजना र पाठ्यपुस्तकको तालमेल तथा प्रयोगरूखमुनिको विद्यालयमा पनि अति उपयोगी र प्रभावकारी हुन्छ । पाठयोजनाले शिक्षकलाई व्यवस्थित र पूर्वतयारी मात्रै गर्दैन पाठ्यक्रम, विषयगत शिक्षक निर्देशिका र विद्यार्थीको परिवेशसँग जोड्ने काम गर्द छ । यसले पाठ्यपुस्तकको प्रयोग विद्यार्थीले कहाँ, कहिले र कसरी गर्ने तरिका सिकाउँछ । सिकाइ क्रियाकलाप र सिकाइ उपलब्धिको मापन गर्न र शिक्षकको स्वमूल्याङ्कन गर्न पनि सरलगराउँछ । यसले कक्षाकोठाको समयको उचित प्रयोगगराउँछ । पाठ्यपुस्तकबिना पनि शैक्षिक क्रियाकलाप गराउन र उपलब्धि हासिल गर्न/ गराउन सघाउँछ ।
६) विद्यार्थीको सरल पहुँच र उनीहरूको शिक्षण क्रियाकलाप मा सक्रिय सहभागिताले सिकाइको स्तर र उपलब्धि छिटो र दिगो बनाउँछ । बालमैत्री र बालकेन्द्रित शिक्षण सिकाइ विधि, प्रविधि र औजारको माध्यमले विद्यार्थीमा सिकाइको तिर्खा मात्र बढाउँदैन तिर्खा मेटाइ सन्तुष्टि लिन पनि सिकाउँछ । विद्यार्थीलाई ज्ञान तथा चेतना मात्र होइन सीप, अवधारणा र प्रवृत्तिमारूपान्तरण गर्न एउटा विद्यार्थीको समष्टिगत विकास मा ध्यान दिनुपर्छ । हरेक विद्यार्थी समान हुन् तर हरेकको फरक क्षमता र विशेषता छ । हरेक विद्यार्थीका लागि शिक्षकसँग को पहुँच सरल, सहज र प्रभावकारी हुनु अनिवार्य छ । अतिरिक्त क्रियाकलाप मा मात्र होइन कक्षाकोठा भित्रको सिकाइ, अनुशासन, उपलब्धि मापन र अन्तरवैयक्तिक सञ्चारमा समेत बालबालिकाको सहभागितालाई उच्च महत्व दिएमा सिकाइ दिगो, स्थायी र कामयावी हुन्छ ।
७) शिक्षक विद्यार्थी जीवनको नायक मात्र होइन सर्वेसर्वा पनि हो । परिवारका सदस्यभन्दा बढी समय ऊ विद्यालय र शिक्षकसँग हुन्छ । उसको बोली, वचन, सकारात्मक सोच, व्यवहार, सङ्गत, रहनसहन, लवाइखवाइ बालबालिकाका लागि अनुकरणीय हुन्छ । ऊ शिक्षकका अतिरिक्त विद्यार्थीका लागि अभिभावक हो । श्रोता हो । नायक हो । न्यायाधीश हो । प्रहरी हो । साथी हो । पथप्रदर्शक होे । कोच तथा अनुगमनकर्ता हो । मनोविचारकर्ता होे । संरक्षक हो । तसर्थ शिक्षकले विद्यार्थीको सिकाइ र भविष्य निर्माणका लागि निजको अभिभावकसँग निरन्तर सम्पर्क, संवाद र सहकार्य गरी योजना तर्जुमा तथा कार्यान्वयन गर्दा रराम्रो हुन्छ ।
तसर्थ मेरो विचार मा असल शिक्षक एउटा असल बालबालिका र विद्यार्थी पनि हो । उसले एउटा बच्चाले जस्तो बोल्छ, खेल्छ, विचार गर्छ, सिक्छ, काम गर्छ, प्रतिक्रिया व्यक्त गर्छ, अनुभव गर्छ, असल शिक्षक साँच्चै आफ्नो बाल्यकाल र विद्यार्थी अवस्थामै फर्कन्छ । र, सोहीअनुरूप विद्यार्थीसँग घुलमिल, बातचित, व्यवहार र सहकार्य गर्छ । अतः असल शिक्षक आफ्ना बालबालिकालाई समय, सीप, स्रोतसाधन, सम्बन्ध, सञ्चार, श्रम, सहमति र सहकार्यको अर्थ, महत्व, आर्जन, उपयोग र उपलब्धिको अनुभूति र अभ्यास को कसीमा खरो उतार्न सफल हुन्छ ।



