कक्षामा लट्ठी होइन, मादल
तपाइँ कसरी शिक्षक बन्न पुग्नुभयो ?
२०४३ मा एसएलसी उत्तीर्ण गरें । आर्थिक स्थिति कमजोर भएको ले क्याम्पस पढ्न सकिनँ । जलेश्वरमा लोकसेवा आयोगले लिएको मुखिया पदमा परीक्षा दिएँ । लिखितमा नाम निस्के पनि अन्तर्वार्तामा निस्केन । काकाको छोरा रामशरण यादव सिन्धुपाल्चोक, बाहुननेपाटीमा जेटिए हुनुुहुन्थ्यो । उहाँकै साथ लागेर २०४७ मा सिन्धुपाल्चोक आएर जनता निमावि ज्यामिरेमा पढाउन थालेँ । पत्रकार ज्ञानेन्द्र खड्का र म सँगै पढाउँथ्यौँ । २०५० मा दुवैजना स्थायी भएका थियौँ ।
प्रेरणादायी शिक्षकको रूपमा कसलाई सम्झनुहुन्छ ?
अङ्ग्रेजीका शिक्षक सुभद्रलाल कर्ण मेरो प्रेरणाको स्रोत हुनुहुन्थ्यो । बेलामा फि तिर्नु नसक्दा उहाँले मिलाइदिनुहुन्थ्यो । ‘एसएलसी उत्तीर्णगर्यौ भने जीवन चलाउन सक्छौ’ भन्नुहुन्थ्यो । त्यसैले म उहाँलाई सधैं सम्झ्रिहन्छु ।
एउटा असल शिक्षकमा हुनुपर्ने तीनवटागुण के के हुनुपर्छ ?
आफ्नो विषयमा दक्ष, प्रस्ट वक्ता र निरोगी तथा समाज मा घुलमिल गर्न सक्ने हुनुपर्छ ।
कक्षामा कसरी पढाउनु हुन्छ ?
व्याख्यानभन्दा व्यावहारिक विधि अपनाउँछु ।
कक्षामा तपाइँले झेल्नुपर्ने समस्या के हुन् ?
स–साना विद्यार्थीलाई पढाउनु पर्छ । कक्षामा नौलो मान्छे प्रवेश गर्दा कोही रोइदिन्छन् । त्यसबेला अप्ठेरो हुन्छ । त्यसबेला, स्थानीय (तामाङ) भाषाकागीतगाएर फुलाउने र फकाउने गर्छु ।
शिक्षक भएर के पाउनुभयो केगुमाउनुभयो ?
हिन्दी, मैथिली, नेपाली र अङ्ग्रेजी बाहेक यहाँ आएपछि तामाङ भाषा सिकेँ र पर्यटकीयक्षेत्र पनि भएको ले अङ्ग्रेजी भाषाको अभ्यास राम्रैसँग गर्न पाएँ । सबैले सम्मान गर्छन् । तर घरपायक नहुँदा परिवारसित टाढिनु परेको छ ।
तपाइँ शिक्षक बन्नु भएको मा घरपरिवार, छरछिमेकले के भन्छन् ?
स्थायी जागिरे भएको ले घरपरिवार, छरछिमेक सबै खुशी छन् ।
विद्यार्थीको नजरमा तपाइँ कडा कि ‘नरम सर’ ?
शायद उनीहरूको नजरमा राम्रै शिक्षक हुँला । किनभने मेरो मिजास कडा खालको छैन ।
पाइँले विद्यार्थीलाई कहिल्यै छडी लगाउनुभा’छ ?
१६ वर्ष भयो पढाएको लौरो लिएर कुनै दिन पनि कक्षामा पसेको छैन । बरु मादल लिएर कक्षामा जाने गरेको छु । यतातिर विद्यार्थी जाँड खाएर पनि आउँछन् । उनीहरू कक्षामा निदाउँछन् । तिनलाई ब्यूँझाउन ताली बजाउन ल गाउँछु र आफूचाहिँ मादल बजाएर नाच्न थाल्छु । कक्षामा प्रायः मेरो पहिलो पिरियड यसरी नै बित्छ ।
तराईको मान्छे, यस्तो लेकमा आएर बस्नुभएको छ । शुरु–शुरु मा केही समस्या पनि परयो कि ?
भाषाको त खासै समस्या परेन । किनभने म नेपाली राम्रैसँग बोल्न सक्थेँ । तर तराईको सम्म ठाउँको मान्छे उकालोओरालो धेरै हिँड्नु पर्दा शुरु –शुरु मा केही अप्ठेरो अवश्य लाग्यो । तर अहिले केही जस्तो पनि लाग्दैन । बरु यो ठाउँको माया लाग्छ । यत्ति हो अरूका छोराछोरीलाई पढाएर बसेको छु, उता आफ्ना छोराछोरीको पठनपाठनमा सहयोग गर्न सकेको छैन । दशैँमा बाहेक बिदा पाइँदैन ।
शिक्षण पेशाबाट सन्तुष्ट हुनुहुन्छ त ?
सन्तुष्ट छु । तर जिल्ला शिक्षाबाट कामको मूल्याङ्कन नहुँदा भने दुः ख लाग्छ ।
जीवनमा सबैभन्दा खुशी भएको दिनको सम्झना छ ?
२०४७ भदौ १ गते । जागिर पाउँदाको दिन । त्यो दिन जति खुशी म कहिल्यै भएको छैन ।
जीवनमा तपाइँले बिर्सनै नसक्ने कुनै घटना पनि छ कि ?
२०६० को कुरो हो । यहाँबाट मेलञ्चीपारिको स्रोत केन्द्रग्याल्थुममा ३ र ५ कक्षाका विद्यार्थीलाई हाजिरीजवाफको लागि लिएर जाँदैथिएँ । मेलञ्ची खोलामा रहेको खाटको फड्के तर्ने क्रममा १४ वर्षीय विद्यार्थी कृष्णबहादुर तामाङ एक्कासि खोलामा खसे । तत्काल खोलामा हाम्फालेर मैले उनको उद्दार गरें । अहिले ऊ सरस्वती उच्च माविग्याल्थुमबाट एसएलसी दिँदैछ । भेट भइरहन्छ । हिसाबमा ‘टप’ गरे छ । र, रु.१५०० पुरस्कार पनि पाएछ । त्यो घटना र क्रियालाई कहिल्यै बिर्सन्न ।



