गतिविधि

खेल खेलमै गणित सिकाइ

बालबालिकालाई सानो उमेरमै ‘ गणित कठिन होइन’ भन्ने बोध गराउने कीर्तिपुरको मङ्गल उमाविले खेल विधिबाट गणित सिकाउने अभ्यास थालेको छ । ११ फागुनमा आयोजित गणित प्रदर्शनीमा उक्त स्कूलका कक्षा १ देखि ५ सम्मका बालबालिका सहभागी थिए ।

प्रदर्शनीमा गणित शिक्षकको सहयोगमा कक्षा ३ का छात्रछात्राले तयार पारेका १२ वटा सामग्री राखिएका थिए । खेलबाट गणित सिकाउने एउटा माध्यमको रूपमा प्रयोग गरिएको थियो— तास । तासको प्रयोगबाट जोड–घटाउ सिकाउने यो खेलमा एक जना शिक्षक र दुई जना छात्रछात्रा सहभागी थिए । दुई जना विद्यार्थीलाई दुईवटा तास आ–आफ्नो निधारमा राख्न लगाइएको थियो । त्यसपछि ती दुई जनाको तासको अङ्क जोडेर तेस्रो व्यक्तिले कुल योग बताएपछि सहभागीलाई आफ्नो साथीको निधारमा रहेको तासको अङ्क हेरेर आफ्नो निधारको तासको अङ्क पत्ता लगाउन लगाइएको थियो । दुईवटा तासको कुल योगमा आफ्नो साथीको निधारमा रहेको तास सङ्ख्या घटाउँदा आफ्नो निधारको तासको अङ्क पत्ता लगाउने यो खेलबाट बालबालिकाले गणितको जोड र घटाउ सजिलै सिक्ने विश्वास शिक्षकहरूको छ ।

प्रदर्शनीमा उक्त उमाविका प्रअ प्रदीप महर्जन, शिक्षकहरू सावित्री महर्जन, रति महर्जन, सरिता महर्जन, अन्जना शाक्य, लक्ष्मी महर्जन, पुष्कर महर्जन लगायतका शिक्षकहरू सक्रिय रूपमा सहभागी थिए । प्रतियोगिता जित्ने छात्रछात्रालाई पुरस्कार को व्यवस्था गरिएको थियो । शिक्षक सावित्री महर्जनले गणित सिकाउन स्कूलमा पहिलो पटक यस्तो प्रदर्शनी आयोजना गरिएको र विद्यार्थीले उत्साहपूर्वक भाग लिएको बताइन् । कक्षा ३ को गणित पाठ्यपुस्तकमा दिइएको पाठका आधारमा तयार गरिएका सामग्रीबाट गणितका समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुगेको प्रअ प्रदीप महर्जनको कथन छ । शिक्षक सावित्री महर्जनले गणित शिक्षण सम्बन्धी विभिन्न तालिमबाट आफूले सिकेका कुरा विद्यालयमा लागू गरेको बताइन् । ‘हाम्रा शिक्षकले तालिममा सिकेका कुरा स्कूलमा लागू गर्न यस्तै जाँगर देखाउने हो भने स्कूल सुधार गर्न महत्वपूर्ण सहयोग पुग्छ’ प्रअ महर्जनले भने ।

मङ्गल उमाविले गणितको प्रदर्शनीप्रति छात्रछात्राले देखाएको रुचिका कारण वार्षिक रूपमा यस्तो प्रदर्शनी आयोजना गर्ने योजना बनाएको छ ।


अमेरिकी राष्ट्रपति बाराक ओबामाले धेरै पटक दोहोर्याएको वाक्यांश ‘एस वी क्यान’ अर्थात् ‘हामी गर्न सक्छौँ’ भन्ने प्रतिबद्धता सहित नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसिएसन (नेल्टा) को चौधौँ अन्तर्राष्ट्रिय सम्मेलन १३ फागुनमा ललितपुरमा सकिएको छ ।

तीन दिनसम्म चलेको उक्त सम्मेलनलेगङ्गारामगौतमको अध्यक्ष तामा आउँदो दुई वर्षका लागि १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । समितिका वरिष्ठ उपाध्यक्षमा लक्ष्मण ज्ञवाली, उपाध्यक्षमा डा. बालमुकुन्द भण्डारी, महासचिवमा हेमन्तराज दाहाल, सचिवमा कमल पौडेल र कोषाध्यक्षमा अर्जुन नेउपाने चुनिएका छन् । त्यसै गरी सदस्यहरूमा निवर्तमान अध्यक्ष डा.गोविन्दराज भट्टराई, ध्रुवबाबु जोशी,गीता सिटौला, दामोदर रेग्मी, हिमा रावल, मनमाया शर्मा, पदमबहादुर चौहान, नरेन्द्रनारायण साहु, रामजी हमाल, तुलध्वज खतिवडा, कुमार पोख्रेल, पुरन कुँवर र दुर्गाप्रसाद पाण्डे रहेका छन् ।

नेपालमा अङ्ग्रेजी भाषाको विकास गर्ने उद्देश्यले सन् १९९२ मा स्थापित नेल्टाका देशभरि छरिएका २६ वटा शाखामा पूर्वप्राथमिक देखि विश्वविद्यालय तहसम्मका अङ्ग्रेजी शिक्षक, प्राध्यापक, अङ्ग्रेजी साहित्यका विद्यार्थी र अनुसन्धानकर्ता आबद्ध छन् । नेल्टाले अङ्ग्रेजी भाषाको अभ्यास मा संलग्न व्यक्तिहरूको पेशागत क्षमता बढाउन तालिम,गोष्ठी, जर्नल प्रकाशन आदि काम गर्दै आएको महासचिव हेमन्त दाहाल बताउँछन् ।  

सात सयभन्दा बढी प्रतिनिधि सहभागी उक्त सम्मेलनमा नेपाल, भारत, बाङ्लादेश, पाकिस्तान, जापान, हङकङ, बेलायत, अमेरिका, दुबई एवं कतारबाट आएका अङ्ग्रेजी भाषाका विज्ञहरूले ७४ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा ‘परिवर्तित मूल्य र भाषा शिक्षण’, ‘विषयपरक पाठ्यक्रमको आविष्कार र विश्व परिवर्तन’, ‘कक्षाकोठामा बिम्बको प्रयोग’, ‘कक्षामा अङ्ग्रेजी वाणी’, ‘प्रजातन्त्रका लागि अङ्ग्रेजी शिक्षण’, ‘सिकाइ र शिक्षणबीचको सम्बन्ध’, ‘अङ्ग्रेजी कक्षामा लैङ्गिक विभेदको समाधान’, ‘सञ्चारिक भाषा शिक्षण’, ‘अङ्ग्रेजीका उपयोगी वेबसाइटहरू’, ‘कक्षाबाहिर अङ्ग्रेजीको प्रयोग’, ‘सुनाइबाट सिकाइ’, ‘नेपालको भाषिक विविधता र मातृभाषा शिक्षण’, ‘अङ्ग्रेजी भाषा शिक्षणमा आविष्कार’ जस्ता विषयहरू समेटिएका थिए ।

सम्मेलनमा अमेरिकी प्राध्यापक डा. रेबिका अक्सफोर्डले नेपालका अङ्ग्रेजी शिक्षकको उत्साहले नेपालमा अङ्ग्रेजी पठनपाठनको अवस्था र आवश्यकतालाई उजागर गरेको बताइन् । बेलायतका  प्राध्यापक टोनी राइटको कथन थियो— “विश्वभरि नै अङ्ग्रेजीको शिक्षण र सिकाइको प्रभाव बढ्दै गएकोले नेपालमा यसको आवश्यकता अझै बढी छ ।”

त्रिविवि केन्द्रीय अङ्ग्रेजी विभागका प्राध्यापक अभि सुवेदीले अङ्ग्रेजीका विभिन्न स्वरूपहरूको विकास भइसकेको सन्दर्भ र परिवेशका आधारमा शिक्षण ढाँचा चयन गर्नु पर्नेमा जोड दिएका थिए । प्राध्यापक जयराज अवस्थीले चाहिँ कक्षाकोठाबाहिर पनि प्रजातन्त्रको संस्थागत विकास अनि मानव अधिकार रक्षाका लागि अङ्ग्रेजी भाषाको भूमिका महत्वपूर्ण हुने भएको ले नेल्टा र अन्य संस्थाहरूबीच सहकार्यको खाँचो रहेको बताएका थिए । सम्मेलनमा प्राध्यापक तीर्थराज खनियाँले अङ्ग्रेजी भाषाको महत्व माथि प्रकाश पारेका थिए ।


सुदूरपश्चिममा शिक्षक  चर्चा

शिक्षकको पेशागत विकास का लागि शिक्षक  मासिक थप उपयोगी हुँदै जाओस् भन्ने विचार सुदूरपश्चिमका शिक्षाकर्मीले व्यक्त गरेका छन् । नेपाल शिक्षक युनियन डोटी र शिक्षक मासिकद्वारा १० फागुन २०६५ मा शिक्षक तालिमकेन्द्र दिपायलमा आयोजित कार्यक्रममा उनीहरूले पत्रिकामा शिक्षकको ज्ञान अद्यावधिक गर्न, पेशागत सीपको स्तर वृद्धि गर्न र पेशाप्रति अभिप्रेरित गर्ने खालका सामग्रीलाई प्राथमिकता दिन पनि आग्रह गरे ।

नेपाल शिक्षक युनियनकी केन्द्रीय सदस्य एवं कुमालीकोट निमाविकी शिक्षक पूर्णा जोशीले रराम्रो गरिरहेका शिक्षकलाई थप हौसला र बिग्रेका लागि सुध्रन प्रेरित गर्ने खालका सामग्री निरन्तर पस्किरहन सुझाव दिँदै भनिन्, “शिक्षक सुदूरपश्चिम र विकट क्षेत्रको आवाज पनि बनिदेओस् ।”

भूमिराज मावि, सलेना डोटीकी शिक्षक भारती रोकायाले सुदूरपश्चिममा महिला शिक्षकले भोगिरहनु परेको पीडा यसरी पोखिन्, “महिला शिक्षकलाई पुरुष शिक्षक र सिङ्गो समाजले हेप्ने गरेका छन् । महिला घरबाहिर निस्केको भनेर कुरा काटिँदा मन नै कुँडिएर आउँछ । एकै पटक सबै महिला शिक्षक सुत्केरी भए भने कसरी स्कूल चलाउन सकिन्छ भनेर पुरुष शिक्षकहरू महिला शिक्षक राख्न नहुने तर्क गर्छन् ।” महिला शिक्षक हुँदा स्कूलको पठनपाठनमा सुधार आएको र केटीहरूलाई स्कूलमा निकै सजिलो भएको अनुभव पनि उनले राखिन् ।

शिशु कल्याण निमावि अछामका शिक्षक टङ्कप्रसाद तिमल्सिनाले निमावि र माविमा जस्तै प्राथमिक तहमा पनि विषयगत शिक्षक नियुक्त गरिनुपर्ने धारणा राखे । देवस्थल प्राविका शिक्षक रघुनाथ पाठकको अनुभव थियो, “एकै ठाउँमा धेरै समय बस्दा नैराश्यता आउँछ ।” विद्यमान शिक्षा ऐन र नियमावलीमा समयसापेक्ष संशोधन गरेर शिक्षक सरुवालाई खुकुलो बनाउनुपर्ने उनको आग्रह थियो ।

महिला शिक्षक हुँदा स्कूलमा सुधार आएको अनुभव सुनाउँदै नेपाल शिक्षक संघ डोटीका अध्यक्ष गगनसिंह कार्कीले निम्नमाध्यमिक र माध्यमिक तहमा पनि महिला शिक्षक अनिवार्य गरिनुपर्ने कुरा मा जोड दिए ।

आफूहरूको पेशागत संस्था र शिक्षक  मासिक दुवैको उद्देश्यमा समान ता पाएको उल्लेख गर्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन डोटीका अध्यक्ष नरबहादुर शाहीले भने, “हामीले शिक्षकको पेशागत विकास का लागि के कति गर्न सक्यौँ भन्ने विषयमा पनि शिक्षक पत्रिकाले बहस चलाओस् ।” शिक्षकहरूको पेशागत सुरक्षाकोग्यारेन्टी गरिए विद्यालय समुदायमा हस्तान्तरण गर्ने कुरा मा आफूहरूलाई आपत्ति नहुने बताउँदै उनले भने, “सरकार व्यवस्थापन समितिको क्षमता अभिवृद्धिमा लाग्नुपर्छ । व्यवस्थापन समितिले स्पष्टीकरणसमेत नलिई अस्थायी शिक्षकलाई सेवाबाट हटाउने क्रम तुरुन्त रोकिनुपर्छ ।”

अस्थायी शिक्षक सङ्घर्ष समिति डोटीका नेता मीनबहादुर बमले अस्थायी शिक्षकहरूमध्ये योग्यलाई स्थायी गर्ने काम गर्न नसक्नेलाई गोल्डेन ह्यान्डसेक दिएर बिदा गर्नु पर्ने माग गरे । शिक्षक दीर्घबहादुर कठायतको कथन पनि त्यस्तै थियो । उनले भने— अस्थायी शिक्षकको कक्षा हेर्दा सक्षम देखि ए स्थायी गर्नु पर्छ, नत्र सुविधासहित बिदा दिनुपर्छ ।

क्षेत्रीय शिक्षा निर्देशक नयनसिंह धामीले शिक्षामा ठोस र स्पष्ट नीतिको आवश्यकता रहेको स्वीकार गरे । शिक्षक नियुक्ति प्रक्रियामा परिमार्जन गरी जिल्लास्तर मै अस्थायी शिक्षक छनोट समिति बन्न लागेको जानकारी दिँदै उनले शिक्षक पत्रिकाबाट भरपूर लाभ लिन सबै शिक्षकहरूलाई अनुरोध गरेका थिए ।

सो अवसरमा शिक्षक का सहायक सम्पादक सुदर्शन घिमिरेले पत्रिकाको आलोचनाले आफूहरूलाई मार्गदर्शन गर्ने बताउँदै प्राप्त सुझाव अनुरूप आगामी अङ्कहरूमा नयाँ–नयाँ सामग्री पस्किँदै जाने विश्वास दिलाए । कार्यक्रममा डोटीका अतिरिक्त डडेलधुरा, अछाम, बाजुरा, बझङका शिक्षक र स्थानीय शिक्षाकर्मी समेत झण्डै एक सय जनाको सहभागिता थियो ।  


संघमा फेरि ज्ञवाली

नेपाल शिक्षक संघको छैटौँ राष्ट्रिय महाधिवेशन २५ फागुनमा काठमाडौंमा सकिएको छ । महाधिवेशनले मोहन ज्ञवालीलाई फेरि संघको अध्यक्ष मा चयन गरेको छ । सम्मेलनबाट संघको वरिष्ठ उपाध्यक्षमागोविन्द न्यौपाने र महिला उपाध्यक्ष इन्दिरा सापकोटा सडौला चुनिएका छन् । त्यसै गरी क्षेत्रीय उपाध्यक्षहरुमा राजेश पाण्डे (मध्यमाञ्चल), विदुर खड्का (पूर्वाञ्चल), बसन्त कुमार सिके (पश्चिमाञ्चल), तीर्थजङ्ग शाही (मध्यपश्चिमाञ्चल), तर्कराज जोशी (सुदूरपश्चिमाञ्चल) र दानबहादुर बम (कर्णाली क्षेत्र) छानिएका छन् । महासचिवमा केशव निरौला चुनिएका छन् ।

पमहासचिवमा मोहमद जलिल रैन (तराई), ललिता उपाध्याय (महिला) र राजेन्द्रराज पौडेल (खुल्ला) निर्वाचित भएका छन् । संघको कोषाध्यक्षमा विष्णुदेवी पाण्डे निर्वाचित भएकी छन् । केन्द्रीय सदस्यहरूमा अमृतागौतम, निलम उप्रेती, सुशीला सुवेदी,गोकर्णबहादुर बानियाँ, मुक्तिनाथ ढकाल, यमप्रसाद भुषाल, किशोरदत्त बराल, मणिकण्ठ कण्डेल, नरेन्द्रध्वज जिसी, शशिराम विश्वकर्मा, धनबहादुर खड्का, नन्दराज भट्ट, भरतप्रसाद लम्साल, विष्णु कुमारी शेरचन, मधु बोहरा, सुवा कुमारी कार्की, डिल्लीरमण बराल, विदुर निरौला, बलराम बराल, अजयमिलन श्रेष्ठ र धनलाल रोकाया चुनिएका छन् ।

सम्मेलनले पारित गरेको महासचिव वीरेन्द्रप्रकाश श्रेष्ठको साङ्गठनिक प्रतिवेदनमा विद्यालय समुदायमा हस्तान्तरण गर्ने सरकारी नीतिको विरोध गर्दै तत् सम्बन्धी प्रक्रिया तत्काल रोक्न आग्रह गरिएको छ । सो प्रतिवेदन अनुसार विभिन्न पक्षबाट अहिलेसम्म २०७ जना शिक्षकहरू मारिएका छन् । २२ असोज २०६४ मा मारिएका महोत्तरीका नागेन्द्र यादव, २२ कात्तिक २०६४ मा मारिएका लमजुङकागोविन्दबहादुर मजाकोटी र ७ कात्तिक २०६५ मा मारिएका रौतहटका शिक्षक सुनिल यादवलाई सरकारले शहीद घोषणा गरी राहत तथा क्षतिपूर्ति दिने घोषणा गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा माओवादी कार्यकर्ताले स्थायी शिक्षकलाई जबर्जस्ती राजिनामा दिन बाध्य पारेर वाईसीएल भर्ना गरेको तथा एउटै तहमा काम गर्ने शिक्षकलाई समान तलब र सुविधा प्रदान गर्नु पर्ने अन्तर्राष्ट्रिय मान्यता विपरीत राहत अनुदानका नाममा न्यून तलब दिएर शिक्षकभित्र वर्ग सृजना गर्ने सरकारको व्यवहारप्रति क्षोभ प्रकट गरिएको छ । बन्दसत्रले संघको विधान संशोधन प्रस्ताव, संघको भावी नीति तथा कार्यक्रम, संघका सल्लाहकार केशवप्रसाद भट्टराईद्वारा पेश गरिएको नयाँ संविधान सम्बन्धी शिक्षक समुदायको अवधारणा, कोषाध्यक्ष ईश्वर सापकोटाको आर्थिक प्रतिवेदन र महिला विभाग प्रमुख नर्वदा पोखरेलको महिला शिक्षक सम्बन्धी प्रतिवेदन पनि पारित गरेको छ ।

अध्यक्ष मोहन ज्ञवालीको १० बुँदे समसामयिक विषय सम्बन्धी प्रस्तावमा शिक्षामन्त्रीले शिक्षक युनियनलगायत शिक्षकका पेशागत संघसंस्था माथि लगाएको आक्षेपप्रति खेद व्यक्त गरिएको छ । त्यसै गरी खुल्ला विश्वविद्यालयमार्फत माओवादी लडाकूलाई शैक्षिक योग्यताको प्रमाणपत्र दिने तयारी तथा पाँच प्रतिशत कर नतिर्नुे निजी स्कूलका छात्रछात्रालाई एसएलसी परीक्षामा सहभागी नगराइने र कर नतिर्नुे स्कूल सञ्चालकलाई जेल पठाउने अर्थमन्त्री डा. बाबुराम भट्टराईको कथनप्रति खेद प्रकट गरिएको छ । कुनै शिक्षकको आकस्मिक मृत्यु वा हत्या भएमा त्यस्ता शिक्षकका परिवारमा योग्यता पुगेका व्यक्ति भए तिनलाई शिक्षण पेशामा सहज प्रवेश दिने कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ ।

संघको महाधिवेशनको उद्घाटन नेपाली काङ्ग्रेसका सभापतिगिरिजाप्रसाद कोइरालाले २१ फागुनमा गरेका थिए ।

सङ्गठन र युनियन पनि तयारीमा
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १–४ चैतमा काठमाडौँमा गरिन लागेको राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । सङ्गठन अध्यक्ष हीराप्रसाद नेपालका अनुसार सम्मेलनको उद्घाटन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले गर्ने छन् । नेपाल शिक्षक युनियनले पनि ७–९ वैशाख २०६६ मा राष्ट्रिय अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ ।


सरकारी कार्यदलको सुझाव ‘शिक्षामा लगानी बढाऊ’

शैक्षिक समस्या समाधानका लागि सुझाव पेश गर्न सरकारद्वारा गठित कार्यदलले १८ फागुनमा शिक्षामन्त्री रेणु कुमारी यादवलाई करिब दुई महिना लगाएर तयार गरेको ४८ पृष्ठ लामो सुझावपत्र पेश गरेको छ ।

कार्यदलले सरकारी स्कूलमा रिक्त १२ हजार ९६ पदमध्ये ७ हजार २५७ मा २१ साउन २०६५ सम्म नियुक्ति भएका अस्थायी शिक्षकहरूलाई प्रतिस्पर्धा गराई स्थायी गर्न र बाँकी पदमा खुल्ला विज्ञापन गरी पूर्ति गर्न सुझाव दिएको छ । कार्यदलले अब शिक्षक नियुक्ति गर्दा अनिवार्य रूपमा प्रतिस्पर्धा गरिनुपर्ने, राहत, पिसिएफलगायत सबै खाले शिक्षक नियुक्ति गर्न जिल्लास्तरीय परीक्षाबाट योग्य ठहरिएका शिक्षकको सूची तयार गरी त्यसबाट मात्र नियुक्त गरिनुपर्ने, दीर्घसेवी शिक्षकलाई निजामती कर्मचारीसरह समयबद्ध पदोन्नति गरिनुपर्ने राय पनि सरकारलाई दिएको छ । त्यसै गरी सामुदायिक विद्यालयमा शिक्षक कोटा वितरण गर्दा आरक्षणको कार्यढाँचा अवलम्बन गरिनुपर्ने, तीन वर्षभित्र २० र सन् २०१५ सम्ममा शिक्षामा सरकारको लगानी २२ प्रतिशत पुर्याइनुपर्ने अनि स्थानीय निकायको बजेटबाट शिक्षामा २० प्रतिशत थप लगानी गरिनुपर्ने सुझाव कार्यदलको छ ।

सुझावमा स्कूलले कुनै पनि शुल्क लिन नहुने, पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउनु पर्ने, पिछडिएका समुदायका बालबालिकाका निम्ति स्टेशनरी र दिवा खाजा उपलब्ध गराउनु पर्ने, सबै प्रस्तावित विद्यालयलाई स्वीकृति दिइनुपर्छ पनि भनिएको छ । अहिलेसम्म शिक्षक सेवा आयोगद्वारा वितरण गरिँदै आएको अध्यापन अनुमति पत्रचाहिँ शिक्षक काउन्सिल बनाएर त्यसमार्फत वितरण गर्न सुझाव दिइएको छ । द्वन्द्वकालमा विस्थापित शिक्षकहरूको पुनर्वहालीका लागि कानूनी व्यवस्था गर्न कम्पनी ऐनअन्तर्गत स्कूल खोल्ने क्रमलाई बन्द गरी सार्वजनिक वा निजीगुठीअन्तर्गत विद्यालय खोल्ने व्यवस्था गर्न, संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई नियुक्तिपत्रसहित सरकारी स्केल अनुसार तलबभत्ता दिनुपर्ने लगायतका सुझाव कार्यदलले सरकारलाई दिएको छ ।

यसैबीच शिक्षामन्त्री रेणु कुमारी यादवको अध्यापन अनुमतिपत्रको व्यवस्था खारेज गर्ने अभिव्यक्तिप्रति नेपाल शिक्षक युनियनले विरोध जनाएको छ । ५ फागुनमा युनियनद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यापन अनुमतिपत्रको व्यवस्था खारेज गर्ने सरकारी प्रयासको विरोध गर्न शिक्षाका सरोकारवालाई आह्वान गरिएको छ । 

commercial commercial commercial commercial