हाउगुजी बनेको अङ्ग्रेजी
केही दशकअघिसम्म हजुरबाउ पुस्ताले ‘गाईखानेको भाषा’ भनेर पन्छाउने गरेको ‘अङ्ग्रेजी’ आजनातिपुस्ताका निम्ति ‘गरिखान’ नसिकी नहुने भाषा बन्न पुगेको छ । हुन पनि आज साना विद्यार्थी देखि ठूला प्राध्यापक, पदाधिकारी, नेता, वकिल, पत्रकारहरूमध्ये तिनै बढी छटपटाहटमा भेटिन्छन्, जोसँग गतिलो अङ्ग्रेजी छैन । अङ्ग्रेजीमा आत्मविश्वास भएकाहरूको सामाजिक मान सँगै आर्थिक हैसियत पनि कम्तीमा एक तह माथि भेटिन्छ । अङ्ग्रेजीमा कमजोर अभिभावकहरू सन्तानलाई अङ्ग्रेजीमा पोख्त पार्न यति आतुर देखिन्छन् कि त्यसनिम्ति सर्वस्व खन्याउन पनि पछि पर्दैनन् । अभिभावक र समाज को तीब्र आकाङ्क्षा अनि परिस्थितिको चाप अन्ततः स्कूल र अङ्ग्रेजी पढाउने शिक्षक माथिसम्म पर्न थालेको छ । तर, अङ्ग्रेजी सिक्ने–सिकाउने चाहना र हतारोमा त्यसनिम्ति आवश्यक पर्ने साधन–स्रोत, प्रविधि–सीप तथा योजना र तयारीका पक्षहरू ओझाेलमा परेका पर्यै छन् । परिणामतः पढाउनेले पढाएको भन्दा नपढाएको र सिक्नेले सिकेको भन्दा नसिकेको दृश्य बढी देखि ने गरेको छ ।
समग्रमा, पर्याप्त दक्ष शिक्षक र भौतिक स्रोत–साधन अनि अङ्ग्रेजी सिक्न–सिकाउन आवश्यक र अनुकूल शैक्षिक वातावरणको अभाव विद्यालय स्तर को अङ्ग्रेजी सिकाइको प्रमुख चुनौती रहेको पाइन्छ । तर पनि दोस्रो भाषाको रूपमा अङ्ग्रेजी सिक्ने–बोल्ने विश्वका दर्जनौं देशहरूबीच भने नेपाल/नेपालीको अङ्ग्रेजीको स्तर सन्तोषजनक नै रहेको सम्बद्ध विज्ञहरूको कथनले आशावादी बन्न पर्याप्त आधार दिएको छ ।
मङ्गल उमावि, कीर्तिपुरका छात्रा भागरथी ऐर र रश्मिता रिमाल १० वर्ष देखि स्कूलमा अङ्ग्रेजी पढ्दै आएका छन् । उनीहरूलाई कक्षा १–२ मा छँदा अङ्ग्रेजी जति कठिन र अरुचिकर लाग्थ्यो, अहिले १० कक्षामा त्यस्तै लाग्छ । उनीहरूलाई यही १२ चैत देखि शुरु हुने एसएलसी परीक्षामा कसरी अङ्ग्रेजी ‘पास’ गर्ने भन्ने चिन्ताले सताएको छ । अङ्ग्रेजी बाहेक अरू विषयमा खासै डर नलाग्ने उनीहरूको कथन छ । अहिले उनीहरू स्कूलले सञ्चालन गरेको ‘कोचिङ’ कक्षा र घरमा पनि अङ्ग्रेजीलाई नै बढी समय खर्च गरिरहेका छन् ।
एसएलसीकै तयारी गरिरहेका उक्त उमाविकै विद्यार्थीहरू निरज मोक्तान, सचिन माली, रोहिनी महर्जन र नन्दा थापा भने भागरथी र रश्मिताको तुलनामा अङ्ग्रेजीसँग कम त्रसित छन् । एउटै स्कूलका यी छात्रछात्रामा अङ्ग्रेजीको स्तर फरक हुनुमा तिनको सामाजिक–पारिवारिक पृष्ठभूमि र आर्थिक अवस्थाको अहम् भूमिका रहेको पाइन्छ । निरज मोक्तान कीर्तिपुर आउने पर्यटकसँग अङ्ग्रेजीमा कुरा कानी गर्ने गर्छन् । अङ्ग्रेजी मोहले गर्दा उनमा पत्रपत्रिका, रेडियो, टिभी, पुस्तक, शब्दकोश र शिक्षकको सहयोगप्रति विशेष चासो र अभिरुचि पनि पलाएको छ । तर, पारिवारिक/आर्थिक बाध्यतामा फसेका निरजका अरू साथीहरूले अङ्ग्रेजी सिक्ने उनको जस्तो माहोल र अवसर पाएका छैनन् । सचिन माली भन्छन्, “नियमित कक्षामा समेत उपस्थित हुन सकिँदैन, कसरी पर्यटकसँग कुरा कानी गर्ने समय पाउनु ?” उनको जस्तै भोगाइ सरकारी स्कूलका अधिकांश विद्यार्थीहरूको छ । तिनले स्कूल, परिवार र समाज मा अङ्ग्रेजी भाषाको प्रयोग र अभ्यास गर्ने अनुकूल वातावरण नपाएकाले अङ्ग्रेजीमा अनेक समस्या झेल्नुपरेको छ । नन्दा थापा भन्छिन्, “स्कूल र गाउँमा अङ्ग्रेजी बोल्यो भने पढेर खूब जान्ने भएछ भनेर उल्लीबिल्ली पारिन्छ । स्कूलमा अङ्ग्रेजीबाहेक सबै विषयको पढाइ नेपालीमै हुन्छ, अनि कसरी अङ्ग्रेजी सुधार हुन्छ ?”
एसएलसी पास गर्न मात्र नभई आज औषधि र किताब किन्न, इष्टमित्र–साथीभाइसँग सम्वाद गर्न समेत नजानी नहुने भाषा भएको छ अङ्ग्रेजी । उच्चशिक्षा हासिल गर्न, विदेश जान रगतिलो रोजगारी पाउन त अङ्ग्रेजीको ज्ञान अनिवार्य नै भइसकेको छ । अङ्ग्रेजीविना जीवन जिउनै कठिन हुँदै गएपछि धेरै व्यक्तिमा अङ्ग्रेजी बोल्ने, लेख्ने र पढ्ने रहर पनि बढ्दै गएको पाइन्छ । अङ्ग्रेजी नजानेका कारण नै जीवनको लक्ष्य हासिल गर्न नसकेका धैरै व्यक्ति समाज मा भेटिन्छन् । परिणामतः अङ्ग्रेजीको पठनपाठन सुधार्न विद्यालयहरूमा पनि अघोषित तर तीब्र दबाब पर्न थालेको छ । त्यस्तो दबाब झेल्न देशका थुप्रै विद्यालयले एसएलसी परीक्षालाई लक्ष्य बनाएर अङ्ग्रेजीका निम्ति मात्र विशेष कोचिङ कक्षा सञ्चालन गर्न थालेको पाइन्छ । मङ्गल उमाविको कोचिङ अभ्यास त्यसैको एउटा दृष्टान्त हो । अङ्ग्रेजी भाषा सिक्ने सिकाउने परीक्षामुखी यो जाँगर अरू बेला पनि जारी रहने हो भने ‘अङ्ग्रेजी कठिन’ भन्ने हौवा छिटै हराएर जान सक्छ ।
अङ्ग्रेजी नै बोलिने ठाउँका बासिन्दा (न्याटिभ स्पिकर)का निम्ति सजिलो तर भिन्न मातृभाषा हुनेका लागि चाहिँ कठिन लाग्ने अङ्ग्रेजी आफैंमा ‘कठिन भाषा’ हो या यसलाई कठिन पारिएको वा सही ढङ्गबाट सिक्न नजानिएको हो– यो प्रश्नको यकिन र साझ जवाफ फेला पार्न सजिलो छैन । यसनिम्ति सार्वजनिक स्कूलमा भइरहेको अङ्ग्रेजी पठनपाठनसँग सम्बन्धित धेरै पक्षहरूको लेखाजोखा गर्नु जरुरी हुन्छ । प्राथमिक तहमा अङ्ग्रेजीका पर्याप्त योग्य शिक्षक नहुँदा छात्रछात्राको अङ्ग्रेजीको जग बस्नै नसकेको विश्लेषणप्रति सबैको सहमति देखिन्छ । तल्लो तहमा अङ्ग्रेजी निम्छरो भएकै कारण कक्षा ८ मा पुगेकालाई समेत ए–बी–सी–डी सिकाउनु परेका उदाहरण काठमाडौँका विद्यालयहरूमै भेटिन्छन् । काठमाडौँको सुन्ताखानस्थित देवी बालसुधार उमाविका शिक्षक टीकाजङ्ग थापा भन्छन्, “जबर्जस्ती कक्षा चढाएर निमावि र माविमा पुर्याइएका विद्यार्थीलाई अङ्ग्रेजी अक्षर लेख्न र पढ्न समेत सिकाउनु परेकोले तह अनुसारको शिक्षा दिन सकिएको छैन ।”

त्रुटि जताततै
प्रायः सार्वजनिक विद्यालयमा अङ्ग्रेजी पठनपाठनका लागि अत्यावश्यक ठानिने अङ्ग्रेजी शब्दकोश, पोस्टर, सुन्ने क्यासेट जस्ता शैक्षिक सामग्री उपलब्ध भएको पाइँदैन । भाषाका चार पक्ष— सुनाइ, बोलाइ, लेखाइ र पढाइमध्ये सुनाइको अभ्यास गर्ने लिसेनिङ क्यासेटका बारेमा अधिकांश अङ्ग्रेजी शिक्षक र विद्यालयहरू अनभिज्ञ नै भेटिन्छन् । लिसेनिङ क्यासेट पुगेको विद्यालय र थाहा पाएका शिक्षकहरू पनि क्यासेटको गुणस्तर बाट हैरान छन् । बाराकोगौरीशङ्कर उमाविका शिक्षक राम कुमार शर्मा दाहाल भन्छन्, “क्यासेटहरू प्रायः गुणस्तर हीन आउने गरेका छन् । कक्षा ९ को बाहेक कक्षा ६, ७, ८ र १० को क्यासेटको कुरा कानी सुन्न र बुझनै सकिएन ।” जनकशिक्षा सामग्री केन्द्रले उत्पादन गरेका त्यस्ता क्यासेट काम नलाग्ने भएपछि यता आएर धेरै विद्यालयहरूले भुँडीपुराणले निकालेको लिसेनिङ क्यासेट प्रयोग गर्न थालेको शिक्षक दाहालको कथन थियो ।
एकातिर पर्याप्त शैक्षिक सामग्री नहुँदा विद्यालय तहमा अङ्ग्रेजी शिक्षण फितलो भएको छ भने अर्कोतिर पाठ्यक्रम/पाठ्यपुस्तक, प्रश्नपत्र र मूल्याङ्कन प्रणालीमा पनि धेरै त्रुटि र कमजोरी रहेको मानिन्छ । एसएलसी परीक्षामागत वर्ष देखि कक्षा १० को किताबबाट मात्र प्रश्न सोध्न थालिएको छ । यसबाट परीक्षार्थीमा पाठ्यभारको बोझ् कम भएको ले नतिजामा सङ्ख्यात्मक सुधार आएको शिक्षाविद्हरूको निचोड छ । तर, यतिका भरमा मात्रै अङ्ग्रेजीको स्तर सुध्रेको मान्न सकिँदैन । परीक्षामा सोधिने वाक्यरूपान्तरण, ट्याग क्वोइसन, कालको प्रयोग जस्ता व्याकरणका आधारभूत नियम कक्षा १० को अङ्ग्रेजी पुस्तकमा नरहेको गुनासो अङ्ग्रेजीका शिक्षक र छात्रछात्राले गरेका छन् । उक्त पुस्तकका तीन लेखकमध्येका एक ईश्वर कुमार श्रेष्ठले चाहिँ वर्तमान पाठ्यपुस्तकमा अङ्ग्रेजी व्याकरण छुट्टै सिक्नु नपर्ने गरिएका कारण त्यस्तो भएको बताएका छन् । भैरवाश्रम उमावि फुजेलगोर्खाका शिक्षक खिला शर्मा पोखरेल भन्छन्, “विगतमा व्याकरण सिकेर अङ्ग्रेजी वाक्य बनाउन सिकाइने गरिन्थ्यो । तर, अहिले वाक्य पढेर व्याकरण सिक्नुपर्छ ।” लेखक श्रेष्ठ आफूहरूले पाठ्यक्रम हेरेर पाठ्यपुस्तक तयार गरेको तर प्रश्नपत्र तयार गर्ने ले पाठ्यपुस्तकभन्दा बाहिरबाट प्रश्न सोधिदिँदा समस्या सृजना भएको बताउँछन् ।
देवी बालसुधार मावि सुन्ताखानका शिक्षक टीकाजङ्ग थापा अङ्ग्रेजी पाठ्यपुस्तक क्रियाकलाप मा आधारित भए पनि कक्षाको भौतिक अवस्थाका कारण पाठ अनुसार कक्षामा क्रियाकलाप गर्न कठिन भएको बताउँछन् । उनी भन्छन्, “क्रियाकलाप गर्दा हल्ला हुन्छ, हल्ला भएपछि कक्षा नियन्त्रण गर्न नसकेको आरोप लाग्छ ।” रेन्बो इन्टरन्यासनल कलेज डल्लु, काठमाडौंका उप–प्राध्पापक आइत विश्वकर्मा विद्यालय तहको अङ्ग्रेजी पाठ्यपुस्तकमा पश्चिमी कथा, निबन्ध र उदाहरणको सट्टा नेपाली विषयवस्तुलाई समेट्दा पठनपाठन सहज हुने ठान्छन् । उनको सुझाव छ, “हराम्रो आदिवासी ज्ञानलाई नै अङ्ग्रेजीका पाठमा राख्दा विद्यार्थीको रुचि स्वतः आकर्षित गर्न सकिन्छ र अङ्ग्रेजी पढ्ने–सिक्ने बानी बस्छ ।” त्रिविवि कीर्तिपुरका अङ्ग्रेजीका प्राध्यापकगोविन्दराज भट्टराईचाहिँ निजी र सार्वजनिक विद्यालयमा पाठ्यपुस्तक र पढाइ दुई थरी तर परीक्षाचाहिँ एउटै हुने भएको ले सार्वजनिक विद्यालयका निम्ति अङ्ग्रेजी कठिन भएको तर्क गर्छन् ।
‘जसरी पनि पास गर्नु / गराउनु पर्ने’ बाध्यताले पनि अङ्ग्रेजी सिक्ने/सिकाउने वातावरण स्कूलमा दयनीय भएको मानिन्छ । एक देखि कक्षा १० सम्म अङ्ग्रेजी अनुत्तीर्ण विद्यार्थीलाई विद्यालय र शिक्षकले जसरी पनि एसएलसी पास गराउनु पर्ने बाध्यता रहेको छ । छात्रछात्राले नजाने पनि पास हुनुपर्ने र शिक्षकले चाहिँ नसिकाए पनि उत्तीर्ण गराउनु पर्ने दबाब र बाध्यताले परीक्षामा चिट चोर्ने प्रवृत्ति बढेको छ । शिक्षकहरूको भनाइमा चिट चोर्ने प्रवृत्ति हटाउन सके विद्यार्थीले मेहनत गर्ने र कक्षाको पठनपाठनमा सुधार आउने थियो । यस्तो प्रवृत्तिबाट आजित वीरगञ्जको रात्रि मावि रगुल्मीको सरस्वती उमाविका शिक्षकद्वय अनिता श्रेष्ठ र घनश्याम भण्डारी चिट चोर्ने प्रवृत्तिलाई प्रतिबन्ध लगाउनुपर्ने माग गर्छन् । श्रेष्ठ भन्छिन्, “ए–बी–सी–डी जानेपछि चिट चोर्न सकिन्छ र चिट चोर्न पाए एसएलसी पास गरिन्छ भन्नेगलत मान्यता छ । अङ्ग्रेजी जान्नुपर्छ, पास गरेर मात्र हुदैन भन्ने बुझाउन सकिएको छैन ।” परीक्षा प्रणालीमा रहेको लापर्बाही र खुकुलोपनले अङ्ग्रेजी पढाइप्रति विद्यार्थी, शिक्षक
र अभिभावकको हेलचेक्र्याइँ बढाएको सबैको द्दठम्याइ छ ।
एलएलसीका कतिपय प्रश्नपत्रमा पनि त्रुटिहरू भेटिएका छन् । शिक्षक खिला शर्मा पोखरेलले २०६२ सालमा गरेको एक अध्ययनले एसएलसीका अङ्ग्रेजी प्रश्नपत्रको व्याकरण खण्डमा १२ प्रतिशत गल्ती रहेको देखाएको थियो । परीक्षा र मूल्याङ्कन पद्धति हचुवा भएकै कारणगत वर्षको एसएलसीमा देवी बालसुधार मावि सुन्ताखानका कक्षा १० का प्रथम छात्रले अङ्ग्रेजीको सुनाइमा १२ अङ्क पाए भने सबैभन्दा कमजोरले चाहिँ १८ अङ्क ।

अवसरको अभाव
विद्यालयस्तर को पाठ्यक्रम र पाठ्यपुस्तकमा निरन्तर परिवर्तन भइरहेको छ । तर, त्यसरी परिमार्जन गरिएका पाठ्यपुस्तक पढाउने शिक्षकले भने आफ्नो ज्ञान अद्यावधिक गर्ने पर्याप्त अवसर पाउने गरेका छैनन् । अङ्ग्रेजी समेत प्रायः सबै विषयका बहुसङ्ख्यक शिक्षकहरू, आफूले कलेज स्तर पढ्दा आर्जित ज्ञान र सूचनामा नै सीमित रहने गरेका भेटिन्छन् । तर औपचारिक पढाइका भरमा मात्र गरिने शिक्षण कहिल्यै प्रभावकारी नहुने विज्ञहरूको निचोड छ । औपचारिक अध्ययनले शिक्षणका निम्ति सैद्धान्तिक ज्ञान प्रदान गरे पनि व्यावहारिक अभ्यास का लागि तालिम वा स्वाध्यायन आवश्यक ठानिन्छ ।
सन् १९८७ मा साइन्स एजुकेशन डेभलपमेन्ट प्रोजेक्ट बाट एकमहिने शिक्षण तालिम लिएर पढाउने पेशामा प्रवेश गरेका ईश्वर कुमार श्रेष्ठ ‘तालिमले शिक्षकहरूमा पढाउने आत्मविश्वास र ऊर्जा पैदा हुने’ अनुभव सुनाउँछन् । गोरखाको भैरवाश्रम उमाविका शिक्षक खिला शर्मा पोखरेल भने जान्ने व्यक्तिको सङ्गत र स्वाध्यायन गर्ने बानीले आफूलाई अङ्गे्रजी पढाउन सजिलो भएको बताउँछन् । शैक्षिक जनशक्ति विकास केन्द्रको तालिमले विश्वविद्यालयको ‘ग्याप’ पुर्न सघाएको उनको बुझइ छ ।
सुधार्न सकिन्छ
सरकारी स्कूलमा नेपालीबाहेक अन्य विषयको पठनपाठन अङ्ग्रेजीमा हुने र सबैले अनिवार्य रूपमा अङ्ग्रेजी बोल्नुपर्ने नियम लागू भए आफूहरूको अङ्ग्रेजी केही हदसम्म सुधार हुने सहज धारणा एकथरी छात्रछात्राको पाइन्छ । राजधानीका केही सार्वजनिक स्कूलले यस्तो गर्न पनि थालेका छन् । कक्षा ४ मा पुगेपछि मात्र ए–बी–सी–डी चिनाउने परम्परा त्यागेर अचेल सबै सरकारी स्कूलमा कक्षा एकबाटै अङ्ग्रेजी सिकाउन थालिएको छ ।
अङ्ग्रेजीको आधार बलियो बनाउन प्रावि, निमावि र मावि तहमा दक्ष विषयगत शिक्षकको व्यवस्था गर्नु नै पहिलो विकल्प भएको कुरा मा दुईमत पाइँदैन । सरकारी विद्यालयमा परीक्षाको सम्मुखमा मात्र घोक्न/घोकाउन छाडेर दैनिक जीवनमा अङ्ग्रेजीको अभ्यास र प्रयोगको बानी बसाल्ने अनि स्कूलको पठनपाठनलाई अङ्ग्रेजी माध्यममारूपान्तरण दोस्रो उपाय देखिन्छ ।
यस्ता काम सार्वजनिक स्कूलका हेडमास्टर, अङ्ग्रेजी शिक्षक, छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति र शिक्षा सम्बन्धी सरकारी निकायले मिलेर गर्नु सबैभन्दा रराम्रो हुन्छ । तर सम्बद्ध शिक्षक वा स्कूलले आफ्नै प्रयासमा पनि पर्याप्त सुधार ल्याउन सक्छन्, किनभने समाज या बाहिरको वातावरण अङ्ग्रेजीको पक्षमा निर्माण भइसकेको छ ।

अङ्ग्रेजी शिक्षकले कक्षा १० को किताबमा व्याकरणका कतिपय पक्ष/नियम नराखिएको तर परीक्षामा चाहिँ व्याकरण समेत सोध्ने गरिएकोले समस्या उत्पन्न भएको गुनासो गरेका छन् । के पाठ्यपुस्तक र एसएलसीको प्रश्नपत्रमा तालमेल नभएको हो ?
पाठ्यक्रम हेरेर पुस्तक लेखियो । तर, परीक्षा नियन्त्रण कार्यालयले पाठ्यपुस्तकका आधारमा प्रश्नपत्र तयार न गरेकोले यस्तो भएको हुनसक्छ । पाठ्यपुस्तकमा तस्बिर/इलुस्ट्रेसन राखिएका छन् । दक्षिण एसियामै पहिलो पटक नेपालको स्कूल तहको अङ्ग्रेजी पुस्तकमा बोलाइ परीक्षण (स्पिकिङ टेस्ट) राखिएको छ । अङ्ग्रेजी पाठ्यक्रम र पाठ्यपुस्तक सञ्चारमूलक (कम्युनिकेटिभ) छ । तर एसएलसीको पश्नपत्र अलि परम्परागत भएको ले छात्रछात्रा अन्योलमा परेका छन् ।
त्यसो भए पाठ्यपुस्तकमा व्याकरणलाई कम महत्व दिइएकोे हो ?
पुरानो पाठ्यपुस्तकमा कुन वाक्य कहाँ र कस्तो अवस्थामा प्रयोग गर्ने भन्नेमा ध्यान दिइएको थिएन । अहिलेको किताबमा कुन ठाउँमा कस्तो भाषा प्रयोग गर्ने भन्ने कुरा मा बढी जोड दिइएको छ । सुनाइ, बोलाइ, लेखाइ र पढाइका सीप क्रियाकलाप बाटै सिक्नुपर्छ । पहिला व्याकरण जानेर वाक्य बनाउनुपर्ने चलन थियो । तर, अहिले बोल्ने र लेख्ने अभ्यास गर्दै अङ्ग्रेजी व्याकरण सिक्नुपर्छ । व्याकरणलाई छुट्टै विषयको रूपमा पाठ्यपुस्तकमा उल्लेख गरिएको छैन ।
सरकारी स्कूलमा के कारणले अङ्ग्रेजी निम्छरो भएको हो ?
यसका धेरै कारण छन् । समाज मा अङग्रेजीलाई शुरु देखि नै कठिन विषयको रूपमा बुझने गरिएको छ । अङ्ग्रेजी सिक्ने र सिकाउने विधि पनि उपयुक्त छैन । कुनै पनि चिजलाई शुरु देखि नै कठिन मानेपछि त्यो त्यसै पनि कठिन र बोझ्युक्त हुन्छ । शिक्षकहरूलाई पनि अङ्ग्रेजी अरु जस्तै एउटा भाषा हो र अङ्ग्रेजी सिक्नु भनेको सीप हासिल गर्नु हो भन्ने कुरा बुझइएन । हामीकहाँ सीप सिकाउनेभन्दा पाठ्यपुस्तक घोकाउने र त्यसको अनुवाद गर्ने प्रवृत्ति छ । निजी स्कूलमा अङ्ग्रेजी सिक्ने र सिकाउने वातावरण छ । तर, सरकारीमा त्यस्तो छैन । तालिममा सिकेका कुरा शिक्षकले कक्षामा अभ्यास गर्न/ गराउन नसकेका कारण पनि अङ्ग्रेजी समस्या बनिरहेको छ ।
सार्वजनिक विद्यालयका अङ्ग्रेजी शिक्षक कार्यक्षमताका हिसाबले कत्तिको सक्षम छन् ?
केही वर्षअघि ‘सेरिड’ले गरेको छलफल मा विश्वविद्यालयको अध्ययन पूरा गरेका व्यक्तिले निमावि र मावि तहको अङ्ग्रेजी पुस्तक प्रभावकारी तरिकाले पढाउन नसकेको गुनासो सुनिएको थियो । धेरै व्यक्तिहरूले विश्वविद्यालयको अध्ययनले शिक्षणका बारेमा सैद्धान्तिक ज्ञान प्रदान गरेको तर ‘टिचिङ प्राक्टिस’ कमजोर भएको बताउने गरेका छन् । त्यसैले विश्वविद्यालयको उत्पादनलाई शिक्षण तालिम दिएर मात्र कक्षा कोठामा पठाउनु रराम्रो हुन्छ । प्राथमिक तहमा चाहिँ अङ्ग्रेजी पढाउने विषयगत शिक्षककै कमी छ ।
अङ्ग्रेजीलाई सजिलो पार्ने उपाय के छन् ?
सर्वप्रथम अङ्ग्रेजीका योग्य शिक्षक चाहिन्छन् र तिनले स्तरीय तालिम पनि पाउनुपर्छ । शिक्षक र विद्यार्थीले अङ्ग्रेजी अभ्यास गर्ने बानी बसाल्नुपर्छ । शिक्षकले किताबलाई कुरा न ठानेर पढाउने होइन, सृजनात्मक भएर स्थानीय ज्ञानलाई पठनपाठनमा समावेश गर्न सक्नुपर्छ । अङ्ग्रेजी हाउगुजी होइन, बरु अङ्ग्रेजी जीवनमा काम लाग्छ भन्ने बोध गराउनु पर्छ । शब्दभण्डार र व्याकरणमा बलियो भएपछि अङ्ग्रेजी कठिन हुदैन । अङ्ग्रेजी सिक्न पाठ्यपुस्तकबाहेक, पत्रपत्रिका, रेडियो, टिभी आदि पनि उत्तिकै सहयोगी हुनसक्छन् ।
अङ्ग्रेजीको पठनपाठन सशक्त पार्न स्कूल र अभिभावकको के भूमिका हुन्छ ?
स्कूलले शिक्षक र विद्यार्थीका निम्ति अङ्ग्रेजी अभ्यास गर्ने अनुकुल वातावरण तयार गरिदिनुपर्छ । अङ्ग्रेजी शिक्षणका लागि आवश्यक पर्ने शैक्षिक सामग्री जुटाउने दायित्व पनि स्कूलकै हो । तालिमबाट फर्केका शिक्षकले आफूले सिकेका कुरा कक्षाकोठामा लागू गरे /न गरेको र उसले पढाएको छात्रछात्राले बुझे/नबुझेको अनुगमन गरी शिक्षक तथा विद्यार्थीलाई फिडब्याक दिने काम स्कूल प्रशासन र प्रअको हो । अभिभावकले आफ्ना छोराछोरीको प्रगतिबारे स्कूलसँग निरन्तर जानकारी लिइरहनु पर्छ । हरेक स्कूलमा अङ्ग्रेजी स्रोत केन्द्र स्थापना गरे मा अङ्ग्रेजी पठनपाठनको वातावरण तयार गर्न थप सहयोग पुग्छ ।



