योग्य शिक्षक तयार पार्ने चार उपाय

‘मेन्टोरिङ’, सहकार्य, कार्यगत अनुसन्धान र आपसी सञ्जाल विधिमार्फत अङ्ग्रेजी शिक्षकहरूको दक्षता वृद्धि गर्न सकिन्छ ।

अङ्ग्रेजी भाषाको प्रयोग र महत्व दिनप्रतिदिन बढ्दो छ । बेलायती अङ्ग्रेजी व्याकरण र दक्षिण लण्डनको उच्चारण शैली सिकाउने शिक्षक बेलायती र अमेरिकी व्याकरण, शब्दावली र उच्चारणबीचको अन्तर छुट्याउन लागिपरेका छन् । अब दुवैथरी अङ्ग्रेजीको अद्यावधिक ज्ञान हुने शिक्षक मात्र पेशामा टिकिरहन सक्छ । चक र डस्टरका भरमा पढाउने शिक्षकले कालान्तरमा कम्प्युटरएडेड ल्याङग्वेज लर्निङ मा जानुको विकल्प छैन । भाषा शिक्षणमा थुप्रै अवधारणा र विचार को विकास भएका छन् । कहिले ती गैर शिक्षण क्षेत्रबाट आउँछन् भने कहिले शिक्षण क्षेत्रबाटै उब्जने गर्द छन् । शिक्षकले परिवर्तनलाई सम्भव तुल्याउने तथा त्यसमा समाहित हुनेगुणको विकास गर्नै पर्ने हुन्छ । पढाउँदा पढाउँदै सिक्ने बानी भएका अङ्ग्रेजी शिक्षकको मात्र पेशागत उन्नति सम्भव हुन्छ ।

शिक्षक विकास को अर्थ सिक्दैअघि बढ्नु र चुनौती सामना गर्ने सामथ्र्य थप्दै जानु हो । अङ्ग्रेजी शिक्षकले पेशागत क्षमता बढाउनका लागि अङ्ग्रेजी भाषाका विभिन्न पक्ष, शिक्षण विधिमा आएका परिवर्तन तथा अङ्ग्रेजीको ज्ञान र सीपलाई अद्यावधिक गर्नै पर्ने हुन्छ । भाषामा रराम्रो दख्खल भए आत्मविश्वास बढ्छ र आत्मविश्वास भए भाषा सुधार्न सजिलो हुन्छ ।

अङ्ग्रेजी भाषा शिक्षकको सबलता र आत्मनिर्भरताको अवधारणा विद्यार्थी आत्मनिर्भरताको अवधारणासँग सोझै सम्बन्धित छ । जसरी विदेशी भाषा कक्षामा विद्यार्थीलाई आफ्नो सिकाइको निर्णय गर्ने अवसर दिँदा उनीहरूको प्रगति अर्थपूर्ण र द्रूत हुन्छ, त्यसै गरी शिक्षकहरूले आत्मोन्नतिको जिम्मा आफैँ लिन सकेमा उनीहरूको पनि पेशागत विकास सुनिश्चित हुनपुग्छ । भाषा शिक्षण प्रक्रिया ज्ञान प्रदान गर्ने भन्दा पनि शिक्षक–विद्यार्थी र विद्यार्थी–विद्यार्थीबीचको अन्तरक्रिया हो । र; यस्तो अन्तरक्रिया वास्तविक जीवनसँग जोडिएको हुन्छ । त्यसैले शिक्षकले आफ्नो काम, त्यसको औचित्य तथा प्रभावबारे सधैँ हेक्का राख्नुपर्दछ ।

शिक्षकमा नभई नहुने अर्कोगुण हो– आफूले गरेका काम र त्यसका असरहरूको स्वमूल्याङ्कन । यसलाई प्रतिबिम्ब अर्थात् ‘रिफ्लेक्सन’ पनि भन्ने गरिन्छ । शिक्षकको पेशागत विकास र ‘रिफ्लेक्सन’ पनि परस्पर अन्तरसम्बन्धित विषय हो । भूमिका, पेशागत सबलता र कमजोरीको लेखाजोखा गर्न नसक्ने व्यक्ति कुनै पनि पेशामा सफल हुन सक्दैन । भाषा शिक्षणमा प्रतिबिम्बितलाई निकै महत्व दिने गरिएको छ । त्यसो भए सबल, आत्मनिर्भर र प्रतिबिम्बित गर्न सक्ने अङ्ग्रेजी शिक्षकको विकास को लागि को जिम्मेवार छ त ? शिक्षक आफै ? प्रशिक्षक ? निरीक्षक ? प्रधानाध्यापक ? अङ्ग्रेजी विभाग प्रमुख ? मातृभाषा अङ्ग्रेजी भएको व्यक्ति ? वा अरू कोही ? एउटा वयस्क वा प्रौढ व्यक्तिको विकास स्वतः स्फूर्त हुनुपर्छ; किनकि उसले कसैको दबाबमा केही सिक्न सक्दैन । अङ्ग्रेजी शिक्षकको विकास को सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । तर उनीलाई विकास को बाटो देखाउन भने सकिन्छ । सबै शिक्षकलाई आफ्ना कमजोरी पत्ता लगाई तिनको समाधान निकाल्न कठिन हुने भएको ले  सहजकर्ताको सहयोग आवश्यक पर्दछ । सहजकर्ताले अङ्ग्रेजी शिक्षकका पेशागत सबलता र कमजोर पक्षलाई उजागर गर्दै विकास तर्फ पथप्रदर्शन गर्न सक्ने भएको ले पेशागत विकास चाहने शिक्षकले उक्त प्रक्रियामा समाहित हुन तत्परता देखाउनुपर्दछ ।

अङ्ग्रेजी शिक्षक विकास का उपायहरू थुप्रै हुन सक्दछन् तर ती समय, परिवेश, स्रोत र साधनको उपलब्धता, आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा भर पर्दछन् । प्रविधि सजिलै उपलब्ध भएका देश र प्रविधि नभएका देशमा एउटै खालका उपायहरू अवलम्बन गर्न सकिँदैन । त्यस्तै अङ्ग्रेजी दोस्रो भाषा भएका र मातृ भाषा भएका स्थान पनि अङ्ग्रेजी पठनपाठनका रणनीति फरक हुनसक्छन् । नेपालमा चाहिँ अङ्ग्रेजी भाषा शिक्षक विकास को भविष्य सकारात्मक नै देखिन्छ ।

‘मेन्टोरिङ’ः अनुभव प्राप्त अङ्ग्रेजी शिक्षकले भर्खर पेशामा आएका शिक्षकलाई उपलब्ध गराउने सहयोग, सल्लाह/परामर्शलाई ‘मेन्टोरिङ’ भनिन्छ । नयाँ शिक्षक पेशामा आउँदा उसलाई विद्यालय र कक्षाकोठा आदिको परिवेश राम्ररी थाहा नहुन सक्छ, यस्तो अवस्थामा अनुभवी शिक्षकले नयाँलाई पाठ्यपुस्तक, शिक्षण विधि तथा सामग्री, विद्यालयको संस्कृतिबारे जानकारी गराउनु पर्ने आवश्यकता हुन्छ । विद्यालयले नयाँ शिक्षकलाई विद्यालयमा हाजिर गराए पछि कम्तीमा एक वर्षसम्म अनुभवी शिक्षकको जिम्मा छोडिदिनु उचित हुन्छ । यस्तो प्रक्रियाबाट नयाँ शिक्षकले अनुभवीबाट थोरै समयमा धेरै कुरा सिक्न सक्छ । यसबाट नयाँ शिक्षकमा पेशागत ज्ञान र आत्मविश्वास बढ्छ । आत्मविश्वास भएको शिक्षकले आफ्नो उन्नतिको जिम्मा आफैँ लिन सक्छ ।

सहकार्यः अवस्था हेरेर अङ्ग्रेजी शिक्षकलाई विभिन्न व्यक्तिहरूको सहयोग तथा सहकार्यको आवश्यक पर्दछ । प्रशिक्षक, निरीक्षक, अङ्ग्रेजी विभाग प्रमुख र प्रधानाध्यापकसँग को सहकार्यबाट शिक्षकले आफ्नो पेशागत क्षमता बढाउने अवसर पाउँछ । अङ्ग्रेजी कमजोर भएको शिक्षकले हीनताबोधका कारणले आफूले भोगेका समस्या आफूभन्दा सिनियरसँग राख्न हिच्किचाउने तर समकक्षीसँग चाहिँ समस्याबारे खुलेर छलफल गर्ने गर्छन् । कक्षा अवलोकन, पृष्ठपोषण, सल्लाह, परामर्श र छलफल का माध्यमबाट पनि सहकार्यलाई सार्थक तुल्याउन सकिन्छ । शिक्षकको अङ्ग्रेजीको स्तर , प्रश्न सोध्ने तरिका र पृष्ठपोषण विधि, गल्ती सच्याउने तत्परता आदिका बारेमा एउटा शिक्षकले अर्को शिक्षकको कक्षा अवलोकन गरेर पत्ता लगाउने अनि आपसी छलफल बाट शिक्षण तरिकामा सुधार ल्याउने उपाय पहिल्याउन सकिन्छ । यो प्रक्रिया लामो समयसम्म चलाउँदा दुवै शिक्षकले आफ्नो सबल पक्षको पहिचान गर्न सक्दछन् । सहकर्मी आफू जस्तै हुने हुनाले शिक्षकले आफ्नो समस्या राख्न र दिइएको पृष्ठपोषण स्वीकार गर्न गाह्रो मान्दैनन् किनकि समकक्षीबीचमा आपसी समस्या राख्न र त्यसको निकास निकाल्न कठिन हुँदैन । शिक्षक विकास को यो प्रक्रिया सबैभन्दा कम खर्चिलो र यथार्थमा आधारित हुने हुनाले दिगो हुन्छ ।

कार्यगत अनुसन्धानः ठूलो कक्षा, छात्रछात्राको फरक फरक क्षमता, सुनाइ तथा बोलाइमा कठिनाई, सिकाइप्रति विद्यार्थीको रुचिको कमि जस्ता समस्याले अङ्ग्रेजी शिक्षकलाई घेरिरहन्छन् । यी समस्याको समाधानको लागि धेरै शिक्षकले प्रशिक्षकको सल्लाह लिन चाहन्छन् । तर प्रशिक्षकलाई शिक्षकको स्थानीय परिस्थितिको रराम्रो ज्ञान हुँदैन । त्यसैले उनले दिएको सल्लाहले काम न गर्न पनि सक्छ । सल्लाहले एक पटक काम गरे पनि शिक्षकका अगाडि यति धेरै समस्याहरू हुन्छन् कि तिनको निराकरण आफैँले गरे मात्र उनीहरू आत्मनिर्भर हुन सक्दछन् । त्यसैले शिक्षकले समस्याको पहिचान र निदान आफैँ गर्न सिक्नुपर्दछ । शिक्षकलाई कार्यमूलक अनुसन्धानमा अभिप्रेरित गरी त्यस सम्बन्धी ज्ञान र सीपको विकास गराएमा आफ्ना समस्या आफैँ समाधान गर्न सक्छन् ।

कार्यमूलक अनुसन्धानका चार चरण हुन्छन्ः समस्याको पहिचान, कार्ययोजनाको निर्माण, त्यसको कार्यान्वयन र प्रतिबिम्बित । प्रतिबिम्बित गर्दा कार्य योजनाले सकारात्मक प्रतिफल दिएको देखि ए त्यसलाई सधैँका लागि अँगाल्ने, प्रतिफल आशातीत नभएमा अर्को कार्ययोजना बनाउने र कार्यमूलक अनुसन्धानको चक्र पूरा गर्ने । यो प्रक्रिया बारम्बार दोहो¥याइरहँदा शिक्षकमा समस्याको समाधानकर्ता म आफैँ हुँ भन्ने बोध हुन्छ र अरूमा भर पर्ने बानी हट्न सक्छ ।

शिक्षक सञ्जालः विद्यालयमा काम गर्ने शिक्षकका आफ्नै खालका चुनौती हुन्छन् । दुर्गमग्रामीण क्षेत्रमा स्रोत र साधनको अभाव हुन्छ, अङ्ग्रेजी भाषा प्रयोग भएको देख्न र सुन्न पाइँदैन तर विद्यार्थीहरू सिक्न लालायित हुन्छन् । शहरी विद्यालयमा धेरै कुरा हरू उपलब्ध भए पनि विभिन्न कारणले गर्दा विद्यार्थीहरूमा सिकाइप्रतिको रुचि कम हुन्छ । आफ्नो जस्तै परिवेशमा काम गर्ने अर्को ठाउँको शिक्षकसँग अनुभव आदानप्रदान गर्दा समस्या समाधानका उपायहरू पत्ता लगाउन सकिन्छ । नजिक वा टाढाका सहकर्मीसँग को सम्पर्कले शिक्षकमा मनोवैज्ञानिक र पेशागत बल पैदा हुन्छ र सुरक्षाको अनुभूति हुन सक्छ । यसका लागि अङ्ग्रेजी भाषा शिक्षकहरूको सञ्जालको आवश्यकता पर्दछ । ‘नेल्टा’ त्यस्तो सञ्जाल हुनसक्छ, जसको माध्यमबाट अङ्ग्रेजी शिक्षकले भोगेका समस्याहरू पत्ता लगाउने र त्यसको समाधान निकाल्न सकिन्छ ।

अङ्ग्रेजी शिक्षक–विकास अति आवश्यक काम हो । पेशागतगुण र क्षमताको विकास भएको शिक्षकले आफूलाई मनोवैज्ञानिक रूपमा दरिलो पार्ने मात्र होइन, विद्यार्थी, स्कूल, सहकर्मी र सिङ्गो समाज का लागि नै महत्वपूर्ण सहयोग पुर्याउन सक्छ । त्यसैले अङ्ग्रेजी शिक्षकको पेशागत क्षमता अभिवृद्धि यतिखेरको आवश्यकता हो ।

(ज्ञवाली काठमाडौं विश्वविद्यालयका अङ्ग्रेजी भाषा शिक्षणका असिस्टेन्ट प्रोफेसर तथा ‘नेल्टा’ का वरिष्ठ उपाध्यक्ष हुन् ।)

commercial commercial commercial commercial