शुरु त भयो, पूर्वाधार छैन
बाल विकास कक्षा सञ्चालन गरेका स्कूलका साना कक्षामा विद्यार्थी भर्ना अनुपात बढेको देखाउँछ भने यस्तो कक्षा सञ्चालन नभएका स्कूलमा भने विद्यार्थी भर्ना दर घट्दैछ ।
काठमाडौँको थानकोटस्थित सरस्वती प्राविमा छात्रछात्रा घट्दै गएपछि उक्त विद्यालयगत वर्ष देखि बन्द भएको छ । यसको कारण हो— अभिभावकले बालबालिकालाई निजी स्कूलमा भर्ना गर्नु । जिशिका काठमाडौँका शाखा अधिकृत लक्ष्मी भट्टराईका अनुसार, निजी स्कूलमा साना कक्षाको पठनपाठन प्रभावकारी हुने विश्वासमा अभिभावकले सरस्वती प्राविमा छोराछोरी भर्ना गर्न हिच्किचाएका हुन् । तर, सरस्वती प्रावि नजिकैको मङ्गलोदय माविका साना कक्षामा भने छात्रछात्राको चाप निकै छ । त्यहाँ बाल विकास कक्षा (इसीडी) सञ्चालन गरिएका कारण साना बालबालिका यसतर्फ आकर्षित भएका हुन् ।
काठमाडौंकै कमलपोखरी प्राविमा तीन वर्ष यता थोरै विद्यार्थी भर्ना हुँदै आएका छन् । सात जना शिक्षक दरबन्दी रहेको यस स्कूलमा यो वर्ष त ८२ जना मात्र छात्रछात्रा मात्र भर्ना भए । त्यहाँ २०६३ मा ८२ र २०६४ मा १२१ जना विद्यार्थी भर्ना भएका थिए । अध्ययनका लागि छात्रछात्रा नभएका कारण पाँच जना शिक्षक कार्यालयमा कुरा कानीमै व्यस्त थिए । शिक्षक शोभा राईको भनाइमा जताततै खुलेका निजी स्कूलले विनाशुल्क भर्ना गर्न थालेपछि कमलपोखरी प्राविमा विद्यार्थी घट्दै गएका छन् । यता, काठमाडौंको आलापोटस्थित बाल विकास माविले साना कक्षामा विद्यार्थी भर्नाको अनुपात घटेपछि यसै वर्ष देखि बाल विकास कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सरकारी स्कूल सम्बन्धी माथिका दृष्टान्तले बाल विकास कक्षा सञ्चालन गरेका स्कूलका साना कक्षामा विद्यार्थी भर्ना अनुपात बढेको देखाउँछ भने यस्तो कक्षा सञ्चालन नभएका स्कूलमा भने विद्यार्थी भर्ना दर घट्दैछ । थानकोटको सरस्वती प्राविले त पठनपाठन नै बन्द गरेर शिक्षक दरबन्दीसमेत नजिकका सार्वजनिक स्कूलमा मिलान गरेको छ । सार्वजनिक स्कूलमा कक्षा एकमा भर्ना हुन ६ वर्षको उमेरलाई मापदण्ड मानिएको छ । शुरु मै एक कक्षामा भर्ना भएको विद्यार्थीलाई स्कूलको वातावरणसँग घुलमिल भएर पठनपाठन अघि बढाउन कठिन हुने गर्द छ । तर, एक वर्ष बाल विकास कक्षामा बिताएको विद्यार्थीले भने पठनपाठन, शिक्षक र विद्यार्थीसँग को सम्बन्ध एवं विद्यालयको वातावरण सम्बन्धी आधारभूत ज्ञान आर्जन गर्ने भएको ले उसलाई कक्षा एकमा राख्दा प्रभावकारी हुने शिक्षा विभागको प्रारम्भिक बाल विकास शाखा प्रमुख देविना प्रधानाङ्गले बताइन् । यही अवधारणाका आधारमा बाल विकास कक्षा प्रारम्भ गरिएको देविनाले उल्लेख गरिन् । साना कक्षामा असफल हुने र सानैमा स्कूल छाड्ने प्रवृत्ति रोक्न बाल विकास कक्षा प्रभावकारी भएको उनको अनुभव छ । बाल विकास मावि आलापोटका शिक्षक धर्मान न्द फुँयाल निमावि र माविमा विद्यार्थी सङ्ख्या राम्रै भए पनि सानो कक्षा बन्दै गर्ने अवस्था उत्पन्न भएपछि आउँदो शैक्षिक सत्र देखि बाल विकास कक्षा सञ्चालनको तयारी गरिएको बताउँछन् ।
अवधारणाको पाटो
आठ वर्षसम्मको उमेर समूहका बालबालिकाको सामाजिक, संवेगात्मक, शारीरिक र मान सिक पक्षको विकास का लागि सञ्चालन गरिने कक्षालाई बाल विकास कक्षा भन्ने गरिएको छ । यस्तो कक्षा सरकारले देशभरिका २० हजार २३ वटा स्कूलमा बाल विकास केन्द्रमा सञ्चालन गरेको शिक्षा विभागले जनाएको छ । काठमाडौंमा मात्रै २ सय २१ वटा यस्ता केन्द्र सञ्चालित छन् । आगामी शैक्षिक सत्र देखि सञ्चालन गर्न थप ३ हजार ५०० केन्द्रलाई स्वीकृति दिएको शिक्षा विभागको बजेट तथा कार्यक्रम शाखाका अधिकृत कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो ।
------------------------

हामीले बाल–बालिकालाई माया गरेर सिकाएको देख्दा छोराछोरी हुर्काइसकेका कतिपय अभिभावकले पुनः सन्तान जन्माएर पढाउने रहर गरेको समेत पाएकी छु ।
तपाईंको अनुभवमा बालबालिकालाई कसरी पढाउँदा तिनले सजिलै सिक्न सक्छन् ?
हामी मन्टेश्वरी शिक्षण विधिका आधारमा दुई देखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई उनीहरूकै ज्ञानेन्द्रियको प्रयोगद्वारा सिकाउने गर्छौं । छोएर, पढेर, अभ्यास गरेर, सुँघेर अनि चाखेर केटाकेटीले धेरै कुरा सिक्न सक्छन् । यसलाई खेल विधि पनि भनिन्छ ।
त्यति सानो उमेर समूहका बालबालिकाले कसरी सिक्न सक्छन् त ?
बालबालिकाले खेल्दै अनि नाच्दै सिक्छन् । पढाइको कारणबाट उनीहरूले कुनै पनि किसिमको तनाव र समस्या झेल्नुपर्दैन । यो सबैभन्दा महत्वपूर्ण फाइदा हो । मन्टेश्वरी शिक्षण विधि शारीरिक रूपमा अशक्त, धनी, गरिब सबैका लागि लाभदायक छ ।
साना बालबालिकालाई यसरी सिकाउँदा अभिभावकको प्रतिक्रिया कस्तो आउँछ ?
गृह कार्य न गर्दा आफ्ना छोराछोरीलाई मास्टरले कुखुरा बनाएर सजाय दिएको देखेका अभिभावक हामीले फकाएर पढाएको देख्दा छक्क पर्छन् । साना केटाकेटी जाँगरका साथ सिकाइ प्रक्रियामा संलग्न हुने भएको ले अभिभावकको बोझ् घटेको छ । अनुशासित तवरले छोराछोरीले सिकेको देख्दा अभिभावक खुसी हुनु स्वाभाविक हो । हामीले बालबालिकालाई माया गरेर सिकाएको देख्दा छोराछोरी हुर्काइसकेका कतिपय अभिभावकले पुनः सन्तान जन्माएर पढाउने रहर गरेको पाएकी छु ।
सार्वजनिक स्कूलका बालविकास केन्द्रमा साना नानीहरूलाई यसरी सिकाउन सकिँदैन ?
पूर्वाधार भए सकिन्छ । तालिमप्राप्त शिक्षक, व्यवस्थित कक्षाकोठा र उपयुक्त शैक्षिक वातावरण स्तरीय सिकाइका पूर्वाधार हुन् । कतिपय स्कूलमा पूर्वाधार विना पनि मण्टेश्वरी विधिबाट पढाइन्छ । त्यस्तो अभ्यास बाट अभिभावक र बालबालिका ठगिएका छन् ।
तर यो सर्वसाधारणका लागि त महँगो पर्छ नि ?
मण्टेश्वरी स्कूल पठनपाठन केही महँगो हुन्छ किनभने विद्यार्थीले प्राप्त गर्ने सुविधा र शिक्षा पनि स्तरीय र प्रभावकारी हुन्छ । खाने, सुत्ने, खेल्ने जस्ता सुविधा प्रदान गरेर तालिमप्राप्त शिक्षकहरूबाट पढाइने भएको ले यो केही महँगो हुनु स्वाभाविक हो ।
-----------------------------
बालबालिकाको विकास का लागि बाल विकास कक्षा प्रभावकारी मानिए पनि सरकारी स्कूलमा यस्तो कक्षा सञ्चालनका लागि उपयुक्त जनशक्ति र पूर्वाधार भने अझै तयार भएको छैन । चाबहिलस्थित मित्र निमाविमागत वर्ष देखि बाल विकास कक्षा सञ्चालन गरिएको छ । तरकारी बजार नजिकैको अति व्यस्त ठाउँमा रहेको उक्त निमाविको भुईं तलाको सानो कोठामा बाल विकास कक्षा चलाइएको छ । अन्दाजी ६ बाइ १२ को कोठा बालकथा र कविता तथा विद्यालयस्तरीय पाठ्यपुस्तकले भरिएको छ । जिशिका काठमाडौंका शाखा अधिकृत रुद्रमणि भण्डारी सार्वजनिक स्कूलले सञ्चालन गरेका बाल विकास कक्षाको जनशक्ति र पूर्वाधार कमजोर रहेको बताउँछन् । उनको कथन छ, “बाल विकास कक्षा सञ्चालनका लागि उज्यालो तथा फराकिलो कोठा तथा तातो ओछ्यान चाहिन्छ, तिनलाई खानेकुरा को समेत व्यवस्था गर्नु पर्छ तर धेरैजसो केन्द्रमा यस्तो मापदण्डसमेत पूरा भएको छैन ।”
मित्र निमाविको बाल विकास केन्द्रमा यस वर्ष भर्ना भएका १२ जना बालबालिकालाई सहयोगी शिक्षक रजनी सापकोटा लेख्न, बोल्न र अनुशासनका कुरा सिकाउँछिन् । तामाङ, मगर, नेवार, भुजेल समुदाय ती बालबालिकाहरू शुरु मा मातृभाषामा मात्र कुरा गर्थे । तर अहिले सबै जना नेपाली भाषामा बोल्न र लेख्न सक्ने भएका छन् । जिशिका काठमाडौंका स्रोत व्यक्ति रेणुका श्रेष्ठ एउटा कक्षामा १० जना मात्र भर्ना गरिनुपर्ने र कलिलो उमेर समूहका यस्ता बालबालिकालाई विद्यालयमा खाने र सुत्ने व्यवस्था गरिनुपर्नेमा जोड दिन्छिन् । तर, उनकै क्षेत्रको मित्र निमाविको बाल विकास कक्षामा भर्ना भएका बालबालिकाले यस्तो सुविधा पाएको देखि एन ।
बाल विकास कक्षाको सङ्ख्या बढाउने सरकार नीति रहेको छ । तर सरकारले यस्तो कक्षामा पढाउने योग्य र सीपयुक्त जनशक्ति तयार भने गर्न सकेको छैन । त्यसो त यस्तो कक्षामा अहिले पढाइरहेका शिक्षकले समेत पर्याप्त पारिश्रमिक पाएका छैनन् । सरकारले बाल विकास केन्द्रमा पढाउने सहयोगी शिक्षकलाई मासिक जम्मा १८ सय दिने गरेको छ । दुर्गममा मासिक दुई हजार पाउँछन् । जिशिका काठमाडौंबाट एकहप्ते तालिम लिएकी शिक्षक सापकोटा भन्छिन्, “हामीले अरू शिक्षकले भन्दा बढी खटेर कलिला बालबालिका पढाउनु पर्छ । तर तलब र सुविधा भने असाध्यै थोरै दिएर सरकारले शोषण गरेको छ ।” उनलाई भने लाइब्रेरियनका रूपमा समेत काम लगाएर स्कूलले थप २५ सय रुपैयाँ दिएको छ । सरकारले सहयोगी शिक्षकलाई यस आर्थिक वर्ष देखि हिमाली क्षेत्रमा २ हजार र अन्य क्षेत्रमा १८ सय रुपैयाँ दिने निर्णय गरेको जिल्ला शिक्षा कार्यालय, काठमाडौंका अधिकृत रुद्रमणि भण्डारीले जानकारी दिए ।
मण्टेश्वरीसँग को समान ता
निजी स्कूलले सञ्चालन गर्ने मन्टेश्वरी कक्षा र सरकारी स्कूलमा सञ्चालन गरिएको बाल विकास कक्षामा धेरै समान ता भेटिन्छ तर मण्टेश्वरीको तुलनामा बाल विकास कक्षा भने प्रभावकारी बन्न सकेको छैन । मण्टेश्वरीमा खेल विधिबाट बालबालिकालाई सिकाइने गरेको छ । दुई वर्ष देखि ६ वर्षसम्मका बालबालिकालाई खेलबाट सिकाइने पद्धतिले तिनको शारीरिक, मान सिक, बौद्धिक र संवेगात्मक विकास हुने शिक्षा विभागका प्रारम्भिक बाल विकास शाखा प्रमुख देविना प्रधानाङ्गले बताइन् ।
अनामनगरस्थित सिटी मण्टेश्वरीका सञ्चालक पुष्पा रिजाल साना बालबालिकालाई ज्ञानेन्द्रियहरूको प्रयोगद्वारा प्रयोगात्मक एवं सहभागीमूलक तरिकाबाट सिकाउँदा त्यस्तो शिक्षण प्रभावकारी हुने धारणा राख्छिन् । उनी भन्छिन्, “हामीले बालबालिकालाई सिकाएको देख्दा अभिभावकले थप सन्तान जन्माउन रहर गरेको समेत पाइएको छ ।” डब्ल्युडब्ल्युडब्ल्यु डट मण्टेश्वरी डट इडियु नामको वेब साइटमा मण्टेश्वरी वा बाल विकास कक्षामा पढेका छात्रछात्रा विषयगत अध्ययन, गणितका क्रियाकलाप र सामाजिक अन्तरक्रियामा अरूभन्दा उत्तम रहेको उल्लेख गरिएको छ ।



