‘द काइट रनर’ बालबालिकामाथि युद्ध–असर
अर हसन एकआपसमा मिल्ने साथी हुन्छन् । एउटै आँगनमा खेल्दै/हुर्कदै गरेका यी दुई बालकको सामाजिक पहिचान भने फरक हुन्छ । अमिर मालिकको छोरा हुन्छ भने हसन अमिरको नोकर अलीको छोरा । त्यसैले अमिरलाई जस्तो लेख्ने, पढ्ने अवसर हसनलाई प्राप्त हुँदैन । अमिर सबै कुरा ले सम्पन्न भएर पनि आफ्नी आमाको मायाबाट वञ्चित हुन्छ । आफ्नो जन्मसँगै आमाको मृत्यु भएका कारणले अमिरलाई लाग्छ— ऊ आफैँ आमाको हत्यारा हो ।
अफगानिस्तानको राजधानी काबुल चङ्गा उडाउने खेलका लागि प्रसिद्ध शहर । हिउँदे बिदामा बालबालिकाले यो खेललाई ठूलो उत्सवकै रूपमा लिन्छन् । एकदिन यस्तै प्रतियोगिताका लागि साथीहरूबीच अमिर र हसन दुवै उभिन्छन् । यो खेलका लागि हसन अमिरभन्दा माहिर छ । साथीको मद्दतले अमिरले जित्छ तर ऊ यसको श्रेय हसनलाई दिन चाहँदैन । उल्टै उसको मनमा ईष्र्या जाग्छ । “खेलको यथार्थ बाबालाई थाहा भयो भने म ओझाेलमा पर्नेछु र हसनलाई बाबाको प्रिय भएको हेर्नुभन्दा यसलाई घरबाटै निकालिदिन्छु” भन्ने सोच अमिरको मनमा उब्जिन्छ । फलस्वरूप अमिर हसनको विरुद्धमा अनेक लान्छना लगाउन थाल्छ । अन्ततः अलीले आफ्नो छोरा हसनसहित त्यो घर छाडेर निस्किदिन्छ ।
सन् १९७८ को कम्युनिस्ट विद्रोह, सोभियत संघको सैन्य हस्तक्षेपका बेला अफगानिस्तानमा कम्युनिस्ट विरोधीहरूले टिक्न सक्ने अवस्था नभएपछि घर छाडेर अमिरका बाबु–छोरा पनि अमेरिकाको क्यालिफोर्नियातर्फ लाग्छन् । यति बेला बाबाका साथी रहिम खानले घरको रेखदेख गरिदिने जिम्मा लिएका हुन्छन् । अफगानिस्तानमा शानका साथ बसेका यी बाबु–छोराको क्यालिफोर्निया पुगेपछि सामान्य मान्छेहरूले झैँ काम गर्छन् ।
अमिर त्यहाँको सामुदायिक कलेजमा पढ्ने भयो र उसका बाबाग्यास स्टेशनमा काम गर्न थाले । यता हसन, रहिम खानको अनुरोधमा अमिरकै घर रेखदेख गर्नाका लागि बोलाइन्छ तर तालिवानीहरूले उसका लोग्ने–स्वास्नी दुवैलाई निर्ममतापूर्वक हत्या गर्छन् । यिनीहरूको एउटा छोरा सोराबलाई सो घट्ना पछि काबुलको एक अनाथालयमा पुर्याइन्छ ।
उता, रहिम खानले फोनमार्फत पाकिस्तान फर्कन गरेको अनुरोधलाई स्वीकार गरेर अमिर अमेरिकाबाट फर्कन्छ । रहिम खानबाट उसले जीवनभर थाहा नपाएको सत्य थाहा पाउँछ—हसन अरू कोही नभएर उसकै बाबुको एउटा छोरा हो । अर्थात् अमिरको आफ्नै दाइ । बाबुले उसलाई यो कुरा कहिल्यै बताएन । अमिरलाई हसन र आफू एकै बाबुका सन्तान भएको थाहा भएपछि हसनको छोराप्रति भावनात्मक प्रेम जागेर आउँछ र अनेक बाधा अड्चन खेप्दै, जुक्ति–बुद्धि लगाएर हसनको छोरा सोराबलाई अनाथालयबाट आफ्नो घर लिएर आउँछ । तर दुर्भाग्य, त्यति बेलासम्म रहिम खान पनि मरिसकेको हुन्छ ।
सोराब भने घरमा ल्याइए पनि त्यति खुल्दैन । आमा–बाबुको माया–ममताबाट पूर्णतः वञ्चित यो बालक एकदम एकोहोरो भइसकेको हुन्छ । उसको क्रियाकलाप हेर्दा युद्ध, आक्रमण, हत्या, हिंसाले एकदम निराश भएको आभाष पाइन्छ । एकदिन उसले आफ्नो काका अमिरसमक्ष यति मार्मिक भावना राख्छ, जो शायद विरलै केटाकेटीले अनुभव गर्छन् । ऊ भन्छ, आमा–बा भनेका कस्ता हुन्छन् ? उनीहरूले गर्ने माया कस्तो हुन्छ ? तिमीले आफ्ना आमा–बालाई देख्यौ ? ती कस्ता थिए ? कुनै बेला त मलाई मेरा आमा–बालाई नदेखेकोमा खुसी लाग्छ । म यस्तो फोहोरी/बेकामे देखेर आमा–बा पनि बेचैन हुन्थे होलान् ! उसले अनाथालयमा गरिएको निर्मम व्यवहार, मान सिक र शारीरिक शोषणका कारण उसले यस्तो चरम निराशा ब्यक्त गर्छ ।
अन्तमा अमिरले सोराबलाई रराम्रो चङ्गा किनिदिन्छ र उडाउन सिकाउँछ । उसको बाबु एवं आफ्नो हसनसँग को बाल्यकाल सम्झ्ँदै अमिर सोराबको चेहरामा हाँसो नाचेको हेर्न चाहन्छ । विचरा सोराब ! एकोहोरो हत्या–हिंसा, आतङ्कको त्रास, अनाथालयको अमानवीय व्यवहारले निराश भइसकेको हुन्छ । उसको जीवनको हाँसो–खुसी सबै हराईसकेको हुन्छ ।
खालिद होसिनीद्वारा लिखित ‘द काइट रनर’ र सन् २००३ मा प्रकाशित उपन्यासको कथावस्तुमा आधारित भएर निर्देशक मार्क फोस्टरले सन् २००७ मा सोही नाममै फिल्म बनाएका हुन् । सन् १९७८ को कम्युनिस्ट विद्रोह, सोभियत संघसँग कोे सैन्य हस्तक्षेप र अन्तर्राष्ट्रिय समर्थन प्राप्त कम्युनिस्ट विरोधी मुजाहिद्दिन विद्रोहीले सर्वसाधारणका जीवनसँग गरेका अनेकौँ खेलवाडसँग बढेको छ दुई बालकको कथा । एकै परिवारभित्र दुई विपरीत पहिचान बोकेर हुर्केका अमिर र हसनका कथामा अफगानिस्तानको सामाजिक/राजनीतिक इतिहासको एउटा पाटो प्रतिध्वनित भएको छ । २ घण्टा ८ मिनेट लामो यो फिल्मले ११ वर्षे लामो माओवादी सशस्त्र द्वन्द्वका समयमा कैयन नेपालीहरूले भोगेका त्रासदी र अत्याचारको गहिरो घाउलाई पुनः एकपटक ताजा बनाउँछ । शक्ति हात पार्न विभिन्न बाहनामा ‘ठूला’हरूबाट थोपरिएको युद्धले बालबालिका कसरी पीडित र प्रताडित हुन्छन् भन्ने कुरा लाई फिल्मले मर्मस्पर्शी रूपमा पस्केको छ । - प्रज्ञा तिमल्सिना



