प्रतिक्रिया र सुझाव
पुरस्कार ः रराम्रो कुरा
शिक्षक को २०६५ पुस अङ्क अध्ययन गर्दा शिक्षकका लागि महत्वपूर्ण प्रश्न र पुरस्कार को व्यवस्था भएको मा खुसी लागेको छ । तर आफूलाई लागेको कुरा कति पेज वा शब्दमा नबढाई लेख्नुपर्ने हो ? त्यसबारेमा स्पष्ट नभएको ले स्पष्ट गरिदिनुहुन अनुरोध गर्द छु । साथै एक जनालाई रु.५,००० पुरस्कार दिनुभन्दा प्रथम, द्वितीय र तृतीय गरी क्रमशः रु.३ हजार, २ हजार र १ हजारका साथै प्रमाणपत्रको व्यवस्था र शिक्षक मासिक एक वर्षका लागि निःशुल्क गरिदिनुभए अझ् रराम्रो हुनेथियो ।
रामसिंह घिसिङ
शिक्षक, बालुवा मावि, बालुवापाटी, काभ्रे
त्रुटि नहोस्
महिना–महिनामा शिक्षक पढ्न पाउँदा धेरै खुसी लागेको छ । यसमा बालबालिकाहरूलाई सक्षम नागरिक बनाउन शिक्षकको कर्तव्य र मेधावी शिक्षक हुन आवश्यक पर्नेगुण तथा लगनशीलताका बारेका लेखहरूले अन्य शिक्षक साथीहरूलाई शिक्षण पेशाप्रति इमान दार हुन निश्चय पनि प्रेरित गर्छ ।
पुस २०६५ को अङ्कमा ‘शब्दावली–३’ र ‘अन्ताक्षरी–३’ मा प्राविधिक त्रुटिहरू दोहोरिनु राष्ट्रिय स्तर मै लोकप्रिय हुन थालेको शिक्षक पत्रिकालाई शोभा दिन्न होला । आशा गरौँ, आगामी अङ्कहरू देखि प्राविधिक त्रुटि हुने छैन ।
रामबहादुर राना
शान्ति उच्च मावि, धारापानी–३, अर्घाखाँची
नरेन्द्रबहादुर खाती
सानोठिमी क्याम्पस, भक्तपुर
(हराम्रो असावधानीका कारण शब्दखेल–३ तथा अन्ताक्षरी–३ मा हुन गएको प्राविधिक त्रुटिले गर्दा पाठकहरूलाई भएको असुविधाका निम्ति हामी क्षमा चाहन्छौं । त्रुटि औंल्याउनुहुने राना र खातीजी लगायत सबै पाठकहरूलाई धन्यवाद दिँँदै आगामी अङ्कमा बढी सावधानी अपनाउने विश्वास दिलाउन चाहन्छौं । सं.)
गणित सजिलो पार्नै पर्छ
गणितलाई गाह्रो (शिक्षक पुस, २०६५) बनाउने सवालमा कुनै एउटा पक्षलाई मात्र दोष दिन मिल्दैन । गणित गाह्रो हुनुका कारण र सरल पार्ने उपायका बारेमा बुँदागत रूपमा आफ्ना धारणा राखेको छुः
१. हराम्रो असक्षम शैक्षिक अवधारणा बाधक छ ।
२. पाठ्यक्रम निर्माण गर्दा बाहिरी देशका विशेषज्ञ माथि भर पर्ने चलन छ, स्थानीय र स्थलगत अध्ययनलाई आधार बनाउने गरिएको छैन ।
३. शिक्षण विधि अझै परम्परागत छ ।
४. विद्यालयमा गणित प्रयोगशाला तथा पुस्तकालयको अभाव छ ।
५. विद्यालयमा न्यून भौतिक साधन र विद्यार्थीहरूको उच्च चाप छ ।
६. धेरैजसो गणित विषयका शिक्षकहरू आफ्नो विषयमा दक्ष छैनन् । त्यसैले उनीहरूमा आफ्नो विषयमा पूर्णरूपले आत्मविश्वास छैन ।
७. अभिभावक तथा शिक्षकहरू गणित विषयको ट्युसन पढ्नै पर्छ भन्ने मान सिकताबाट ग्रसित छन् ।
गणितलाई सजिलो पारेर पढाउन निम्नलिखित उपाय अपनाउनु रराम्रो हुन्छः
१. सिकाइको प्रक्रियालाई चिन्तनमनन गर्ने , तार्किक तरिकाबाट बुझाउने कोशिश गर्नु पर्छ । साथै, सिकाइएका नयाँ तरिकाहरूमा अभ्यस्त पार्न विद्यार्थीहरूलाई अभ्यास गराइरहनु पर्छ ।
२. विद्यार्थीहरूलाई गृह कार्य र पाठ्यपुस्तकमा दिइएका समस्याहरू नियमितरूपले जाँच गरी आवश्यक सुझाव दिनुपर्छ ।
३. गणित सुनेको बिर्सिन्छ, देखेको सम्झन्छि, गरेर मात्र सिकिन्छ भन्ने सिद्धान्तलाई आत्मसात् गरी विद्यार्थीले सिक्नुपर्ने कुरा मा सधैँ अभ्यास रत रहने बानी विकास गराउनु पर्छ ।
४. शिक्षकले जुनसुकै शिक्षण विधि प्रयोग गरे पनि मुख्यतः विद्यार्थी–केन्द्रित हुनुपर्छ ।
५. शैक्षिक सामग्रीको प्रयोग गर्नै पर्छ ।
अरूण कुमारगणेश
शिक्षक, डिल्लीराज मावि, टाहानडुब्बा, झपा
शिक्षकलाई थाहा छैन
म महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा आई.ए. दोस्रो वर्षमा पढ्दैछु । पढिसकेपछि मेरो एउटा असल शिक्षक बन्ने इच्छालाई सशक्त पार्न शिक्षक पत्रिकाले निकै सहयोग गरेको छ । यसै कारण म हरेक महिना शिक्षक किन्न पसलमा कुरिरहेको हुन्छु र सबै अङ्क समयमै पाएको पनि छु ।
शिक्षक पत्रिकामा छापिएका समसामयिक विषयवस्तुहरूबाट शिक्षा क्षेत्रका हरेक मानिसहरू लाभान्वित हुनसक्छन् । तर मलाई एउटा कुरा मा दुः ख लागेको छ, किनभने आठ–नौ महिना देखि प्रकाशित शिक्षक पत्रिकाबारे हाम्रा साथीभाइ तथा क्याम्पसका सरहरूलाई समेतथाहा छैन ।
राम कुमार राउत
महेन्द्र मोरङ क्याम्पस, विराटनगर
मार्गदर्शक बनेको छ
सम्भवतः शिक्षक का हालसम्म प्रकाशित सम्पूर्ण अङ्क पढ्ने मौका पाएको छु ।
पढ्ने सामग्रीमा दुई रुपैयाँ खर्च न गर्ने कतिपय शिक्षकहरूले शिक्षक पत्रिका बोकेर हिँड्न थालेको देख्दा मलाई अत्यन्त खुसी लागेको छ । यो पत्रिका उत्कृष्ट त छँदैछ यो शिक्षकहरूको मात्र नभएर सम्पूर्ण शिक्षाप्रेमीहरूका लागि स्रोत सामग्रही हुने लक्षण मैले देखेको छु ।
यस पत्रिकाका कतिपय कुरा यति महत्वपूर्ण छन् जुन मैले १७ वर्षको विद्यार्थी जीवनमा कहिल्यै सुन्न पाएको थिइनँ । जस्तै, ‘शिक्षकले प्रमाणपत्र बोेकेर पढाउनु भनेको सुगारटाइ’ भन्ने लेख मलाई औधी मन परयो ।
यस पत्रिकाका धेरै कुरा प्रतिलिपि बनाएर कक्षाकोठा तथा कार्यालय कक्षमा टाँस्न थालेको छु ताकि सबैका घैंटामा घाम लागोस् अनि हाम्रा कर्णधार सन्ततिको भविष्य नबिग्रियोस् ।
निर्जन अर्याल
सनसाइन बोर्डिङ स्कूल, मकवानपुर
आफूलाई नपन्छाऊ
केही समयको व्यस्तता र चाडपर्वको गाउँबसाइँले गर्दा शिक्षक को असोज अङ्क हेर्ने मौका अलि ढिला प्राप्त भयो । अरू विभिन्न पत्रिकाभन्दा पृथक् भएर होला अङ्क जुन भए पनि त्यो नयाँ नै बन्न सक्यो । असोज अङ्कका सम्पूर्ण विषयवस्तु अत्यन्त सान्दर्भिक र गहन पाएँ । स्कूल निरीक्षणका समस्याको आवरण समसामयिक र सान्दर्भिक लागे । तर विषयवस्तुले उठाएका सवालहरू ओजपूर्ण हुँदाहुँदै पनि समस्याको जरो नभेटिएको महसूस भयो । अहिले नेपालको शिक्षा प्रणालीमा रहेको स्कूल निरीक्षणको प्रावधान समस्याग्रस्त हुनुका कारण र त्यसको लागि जिम्मेवारपक्षको बारेमा पनि व्यापक खोजी गरिनु आवश्यक छ । आगामी अङ्कहरूमा यो विषय पुनः समेटियोस् भन्ने अपेक्षा छ । पूर्व शिक्षामन्त्री प्रदीप नेपालको शिक्षक सङ्गठन हिजो र आज पढ्दा केही प्रश्नहरू उब्जिए । उहाँले शिक्षकहरू राजनीतिक पार्टीका कार्यकर्ता बन्दा नेपालको शिक्षा समस्याग्रस्त भएको भन्ने भाव प्रस्तुत गर्नु भएको छ । उहाँ स्वयं एउटा जिम्मेवार राजनीतिक पार्टीको नेता भएको र शिक्षामन्त्री समेत भएको सन्दर्भमा अरूले गरेनन् मात्र भनेर आफू पानी माथिको ओभानो बन्न खोजेजस्तो लाग्यो । शिक्षकहरू राजनीतिक पार्टीको कार्यकर्ता बन्नु मा उहाँले आफ्नो पार्टी र आफूलाई पनि (विगतमा शिक्षामन्त्री समेत भएको नाताले) जिम्मेवार बनाउनुपर्छ । सबै राजनीतिक पार्टी र नेताकै चरित्र आफूलाई दोषबाट पन्छाउने प्रवृत्ति उहासँग पनि रहेछ ।
देवीराम आचार्य, रामपथ, अर्घाखाँची
साथी बनिरहेछु
साथी बनिरहेछु म, भाइबहिनीसँग
अनि चक, डस्टर र कालोपाटीसँग
ज्ञान साटासाट गरिरहेछु म तोतेबोलीसँग
फूल फुलाइरहेछु म, कोपिलाहरूसँग
गोडमेल गर्न तल्लीन छु म हरेक पल दश–चारसम्म
डोका, हँसिया होइन त्यहाँ रङ्गीन चित्र र पुस्तकहरूसँग
मनोरञ्जनका मादल र बाँसुरीहरूसँग
कखगघकागीत अनि एबीसीडीसँग
रोएका रोदनहरूलाई फुल्याइरहेछु अभियानसँग
विद्यालय आउन प्रेरित गरिरहेछु कथाहरूसँग
सिकाउने कला सिकिरहेछु बालकहरूसँग
स्वरमा स्वर मिलाएर
गाइरहेछु बालगीत बालकहरूसँग ।
मन कुमारी राई



