शिक्षकलाई घरपायक कसलाई लाभ, कसलाई हानि ?

सरकारले विद्यालय शिक्षकहरूको निम्ति घरपायक नियुक्तिको नीति अवलम्बन गरे पनि शैक्षिक उपलब्धिका दृष्टिले घरपायकको लाभ–हानि बारे अहिलेसम्म वस्तुनिष्ठ विश्लेषण र लेखाजोखा भएको पाइँदैन ।

गुल्मीको खड्गकोट गाविसकागोविन्दप्रसाद ढकाल आठ वर्ष देखि सिन्धुपाल्चोकका सामुदायिक विद्यालयमा पढाइरहेका छन् । पहिलो ६ वर्ष उनले जलपादेवी उमाविमा विज्ञान पढाए । दुई वर्षअघि स्थायी भएपछि उनी सिन्धुपाल्चोककै सिद्धि कमलादेवी माविमा प्रअको रूपमा कार्यरत छन् । ढकाल दशैँको १५ दिने बिदामा एक्ली आमा भेट्न गुल्मीको गाउँ फर्कन्छन् । अघिपछि लामो बिदा हुँदा शहर–बजारका आफन्तकहाँ पुग्छन् । उनको बाँकी समय स्कूलको आसपासमै बित्छ ।

उनी प्रअ रहेको सिद्धि कमलादेवी माविका १५ शिक्षकमध्ये १२ जना स्थानीय छन् । ढकालबाहेक गणित शिक्षक विनोद नेपाल र अङ्ग्रेजीका ओम कुमार श्रेष्ठ बाहिरबाट गएका शिक्षक हुन् । उक्त स्कूलमा पढाउने स्थानीय शिक्षकले बिरामी बिदा १५ दिन र भैपरी बिदा ६ दिनबाहेक पेस्की बिदा समेत लिने गरेको पाइन्छ । अङ्ग्रेजी, गणित, विज्ञानजस्ता सापेक्षतः कठिन तर महत्वपूर्ण मानिने विषयका गैर–रैथाने शिक्षकहरू कहिलेकाहीँ आफ्नो भैपरी र बिरामी बिदा पनि उपयोग नहुने गरेको बताउँछन् ।

स्थानीय शिक्षकले अनेक बहानामा कक्षामा बाधा पुरयाउने गरेको आरोप र गुनासो जताततै सुन्ने गरिन्छ । तर, राजनीतिक संरक्षण आदि कारणले गर्दा त्यस्ता शिक्षकलाई जिशिकाले समेत कारबाही गर्न अप्ठ्यारो मान्ने गरेको गुनासो कतिपय प्रअहरूको छ । घरपायक शिक्षकमा स–साना विद्यार्थीलाई ‘पढ–पढ नानी’ भनेर घरतिर लाग्ने क्रम बढी भएको ले माविमा भन्दा प्राविका छात्रछात्राको पढाइमा घाटा पुगेको अनुभव शिक्षा अधिकारी हरूको छ । हप्तामा दुई वा तीन दिन मात्र विद्यालयमा आउने गरेका कारण स्थानीय शिक्षक हेमनारायण श्रेष्ठलाई प्रअ ढकालले जिशिअलाई पत्राचार गरेर सिन्धुपाल्चोककै भैरवी प्रावि स्याउलेमा सरुवा गराए । तर, स्याउलेमा पनि महिनामा एक/दुई दिन स्कूल पुगेर श्रेष्ठले महिनाभरिकै हाजिर गर्ने गरेको गुनासो स्थानीय अभिभावक र अन्य शिक्षकहरूको छ । श्रेष्ठले स्याउलेमै आफ्नो निजी स्कूल खोलेका कारण उनी सरकारी स्कूलमा नियमित हुन नसकेको आरोप गाउँलेहरूले लगाएका छन् । स्थानीय शिक्षकसँग को तीतो अनुभवका कारण प्रअ ढकाल आफू घरपायक शिक्षक हुन नचाहने बताउँछन् । उनी भन्छन्, “जिल्लासम्म त ठीकै हो, आफ्नै गाउँको स्कूलमा त म कहिल्यै पनि जान्नँ ।”

स्थानीयभन्दा बाहिरबाट गएका ढकाललाई समुदायले प्रअका रूपमा पत्याउनुका पछाडि विद्यालयको उन्नतिमा उनले पुर्याएको योगदान बाहेक अरू कारण देखिँदैन ।गोविन्दका अनुसार समुदायमा हस्तान्तरण भइसकेको सिद्धि कमलादेवी माविले यस वर्ष नियमित र पूरक गरी एसएलसीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराए को छ भने छात्रछात्राले विज्ञानमा ७०, अङ्ग्रेजीमा ६५ र गणितमा ८० प्रतिशतसम्म अङ्क हासिल गरेका छन् । घरपायक शिक्षक स्कूलमा ढिलो आउने अनि चाँडो जाने, सधैँभरि घरायसी, सामाजिक, धार्मिक तथा राजनीतिक काममा सक्रिय हुने प्रवृत्ति बढेकोले स्कूलको पठनपाठनमा प्रत्यक्ष व्यवधान पैदा भएको ढकालको कथन छ । तर सबै स्थानीय शिक्षक उस्तै हुन्छन् भन्ने आशय चाहिँ उनको थिएन । उनी आफ्नो स्कूलका स्थानीय शिक्षकमध्ये पुष्कर रायमाझी, झलक भुजेल, सीताराम घिमिरे आदिलाई अपवाद ठान्छन् । उनीहरू बाहिरका शिक्षक जति नै दत्तचित्त भएर शैक्षिक क्रियाकलाप मा संलग्न हुने गरेका छन् । ढकालका शब्दमा “घरपायकमध्ये अरूलाई जति भए पनि बिदा पुग्दैन, तर हामीजस्तै उहाँहरूको पनि बिदा सकिँदैन ।”

उनले सिन्धुपाल्चोककै बाहुनीपाटीकी कविता आचार्यसँग विवाह गरेका छन् । सिद्धिगणेश प्रावि बाहुननेपाटीकी प्रअ कविता छोरासहित बाहुनीपाटीमा बस्छिन् भनेगोविन्द चौतारामा । पति–पत्नी एउटै जिल्लामा शिक्षक भए पनि भेटघाट भने बिदाको समयमा मात्र हुने गर्छ । स्थानीय भन्दा बाहिरका शिक्षकलाई अभिभावक र छात्रछात्राले मन पराउने अनि आफ्ना छोराछोरीको प्रगतिका बारेमा पनि बाहिरका शिक्षकसँग जानकारी लिने गरेको अनुभव प्रअ ढकालले सँगालेका छन् ।

------------------------------------------------------------

शारदाको सङ्घर्ष

भक्तपुरको मध्यपुर ठिमीकी शारदादेवी श्रेष्ठ रसुवाको लहरेपौवास्थित शिवालय निमाविकी शिक्षक हुन् । त्यहाँ उनले धेरै कष्ट झेलेर आमा, पत्नी र शिक्षकको भूमिका निर्वाह गर्दै आएकी छन् । २०४६ सालमा दुई छोरी र एक छोराकी आमा– उनकी दिदी तेस्रो सन्तान जन्माउने क्रममा मृत्युवरण गर्न पुगिन् । पत्नीको निधनपछि नीलकण्ठ उमावि रसुवामा शिक्षक रहेका उनका भिनाजु सरोज कुमार श्रेष्ठ आफू विधुर मात्र भएनन् उनका साना लालाबाला टुहुरासमेत भए । शारदाका बाबुआमाले दिदीका छोराछोरी काखमा थमाएर भिनाजुसँग विवाह गरिदिए । त्यसलगत्तै शारदा दिदीका छोराछोरी च्यापेर मध्यपुरबाट रसुवा पुगिन् ।

रसुवा पुगेकोलगत्तै शारदाले शिवालय निमावि लहरेपौवामा अध्यापनको काम आरम्भ गरिन् । उनको डेराबाट स्कूल झन्डै आधा घण्टाको दूरीमा थियो । बाटोको जङ्गलमा बाँदरले दुई पटक उनको झेला पनि खोसे । दिदीका छोराछोरी जिम्मा लिएपछि उनमा सन्तानको रहर थिएन । त्यसैले उनी परिवार नियोजन गर्न एकपटक रसुवाबाट प्रसूति गृह थापाथली आइन् । तर, अस्पतालले एउटा सन्तान नजन्माएका महिलाको परिवार नियोजन गर्न नमिल्ने बतायो भने सन्तान जन्माउन पति र परिवारको दबाब त थियो नै । अन्ततः उनले एउटा छोरा जन्माइन् ।

दिदी र आफ्ना छोराछोरीबीच उनले कहिल्यै विभेद गरिनन् । दिदीका छोराछोरीले एसएलसी उत्तीर्ण नगरुन्जेलसम्म उनलाई आफ्नै आमा भन्ने ठाने । एसएलसी सकेर उच्चशिक्षा हासिल गर्न राजधानी आउने बेलामा मात्र शारदाले सबैलाई यथार्थ जानकारी दिइन् । तर उनको माया र योगदानले गर्दा दिदीका छोराछोरीले उनलाई अहिले पनि आमा नै ठानेका छन् । चारै जना छोराछोरी एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेर काठमाडौँमा उच्चशिक्षा हासिल गरिरहेका छन् । गाउँ बाहिरको शिक्षक भएर पनि पारिवारिक र स्कूलको उन्नतिमा उनको योगदान कम छैन । उनकै सक्रियतामा जापान सरकारको आर्थिक अनुदानमा विद्यालयको भवन निर्माण भएको छ ।

२०४९ सालमा जिल्ला शिक्षा कार्यालयले शारदालाई रसुवामै बछलादेवी प्राविमा सरुवा गरयो । त्यसबेला उनले असाध्यै कष्ट झेल्नुपरयो । बछलादेवी प्रावि पुग्न उनको डेराबाट दुई घण्टा उकालो हिँड्नुपथ्र्यो । जिशिकालाई पटकपटक अनुरोध गरे पछि चार महिनापछि शारदाको पुरानै स्कूलमा सरुवा भयो । ९ पुस २०६५ मा काठमाडौंस्थित शान्ति निकुञ्ज माविमा शिक्षक प्रतिनिधिसँग कुरा कानी गर्दा शारदाको आँखाबाट पटकपटक आँसु झ्रेको थियो । यसपटक उनी तालिमको सिलसिलामा काठमाडौँ आएकी थिइन् । शारदा भन्छिन्, “मैले जन्मथलोबाट टाढा गएर शिक्षक, आमा अनि पत्नीको भूमिका एकैपटक पूरा गर्नु पर्दा निकै दुः ख झेल्नु परयो । पति, छोराछोरी, विद्यार्थी अनि स्थानीय अभिभावकलाई सन्तुष्ट राख्नु कम्ती चुनौतीपूर्ण होइन । तर मबाट सबै सन्तुष्ट भएको देख्दा खुशी लागेको छ र दुः ख बिर्सिएकी छु ।”   

-----------------------------------------------------------

१० वर्षअघि सप्तरीबाट रामेछापको शारदा माविगेलुमा शिक्षक बनेर गएका श्यामनन्दन साह उक्त स्कूलका चार जना गैर –रैथाने शिक्षकमध्ये पर्छन् । साह अङ्ग्रेजी पढाउँछन् । स्कूलनजिकै डेरा लिएर पत्नी, छोरा र छोरीसहित बसेका श्यामनन्दनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययन गरेकोले नेपाली भाषा राम्रैसँग अभ्यास गर्न पाए । फरक भूगोल, भेषभूषा अनि रहनसहनमा हुर्केका श्यामनन्दनले मधेशी शिक्षक भए पनि रामेछापमा भाषा र जातीय समस्या भने झेल्नु परेको छैन । हरेक वर्ष मङ्सिर र बर्खे बिदामा गरी दुई पटक मधेश झर्ने साहको रामेछापमा स्कूलको काम बाहेक चार महिना ट्युसनमा बित्छ भने बाँकी समय स्वाध्यायन र छोराछोरीलाई पढाउनमा । तर, उनको स्कूलका घरपायक शिक्षकहरू स्कूल सकिने बित्तिकै कृषि तथा पशुपालन, विवाह, मलामी, श्राद्ध, चाडपर्व मनाउने जस्ता घरायसी तथा सामाजिक काममा लाग्छन् । कतिपय स्थानीय शिक्षकले राजनीतिक दलको जिम्मेवारी बोकेका छन् ।

सहायक प्रअ साह शिक्षक आफ्नो पेशाप्रति निष्ठावान र जागरुक भएमा घरपायक वा अपायकले कुनै फरक नपार्ने ठान्छन् । उनको कथन छ, “शिक्षकले पेशागत धर्म निर्वाह गरे मा ठाउँले फरक पार्दैन । तर बाहिरका शिक्षक स्कूलको विकास का लागि जति सक्रिय छन्, स्थानीयहरू त्यति लागेको पाइँदैन ।” स्तरीय शिक्षण गरे पछि बाहिरको शिक्षक भए पनि अभिभावक र छात्रछात्राको माया एवं सम्मान पाइने बताउँदै उनी भन्छन्, “मेहनतकै कारण अस्थायी भए पनि मलाई अभिभावकले सहायक प्रअ बनाए ।”

शारदा माविगेलुमा साह बाहेक धनुषाका उमेशप्रसाद साह, सिरहाका योगेन्द्र राय र सर्लाहीका धु्रव भण्डारी पनि पढाउँछन् । स्थानीय शिक्षकमा पढाए वा नपढाए पनि अभिभावक र छात्रछात्राको दबाब कम हुने तर बाहिरका शिक्षकले नपढाएमा अभिभावक र छात्रछात्राको दबाब झेल्नुपर्ने उनीहरूको अनुभव छ । घर अपायक शिक्षकले पढाउन आनाकानी गरे वा लामो समय बिदामा बसे सरुवा हुने वा जागिरै छाड्नुपर्ने भएको ले स्थानीय भन्दा बाहिरका शिक्षक शैक्षिक क्रियाकलाप मा बढी सक्रिय हुने गरेको पनि पाइन्छ ।

‘घरपायकलाई सबैथोक’
पाँच वर्षअघि शिक्षाशास्त्रमा अङ्ग्रेजी विषय लिएर स्नातकोत्तर सकेका दार्चुलाका शङ्करसिंह धामीलाई शिक्षक हुने रहर र बाध्यताले रामेछापको खाडादेवी मावि मझुवा पु¥यायो । उक्त विद्यालयका आठ जना स्थानीय र पाँच जना बाहिरका शिक्षकहरूमध्ये धामी अङ्ग्रेजी शिक्षण गर्छन् भने बैतडीका ललितबहादुर चन्द र सर्लाहीका सभापतलाल साह गणित पढाउँछन् अनि महोत्तरीका रुद्रनारायण यादव सामाजिक अध्ययन शिक्षण गर्छन् । धामी भन्छन्, “देशभरि नै कठिन विषय पढाउन बाहिरका शिक्षक राख्ने गरिएको छ, सजिला विषय पढाउने चाहिँ गाउँकै वा स्थानीय हुन्छन् ।”गत वर्षको एसएलसीमा अङ्ग्रेजी विषयमा खाडादेवी माविका सबै छात्रछात्रा सफल भए ।

घरपायक शिक्षकले वैकल्पिक काम गरेर बाहिरका शिक्षकले भन्दा बढी आम्दानी गर्ने र आफ्नै परिवार, समाज र आफन्तसँग बस्न पाउने हुनाले उनीहरूमा आत्मसन्तुष्टि बढी भेटिन्छ । तर उनीहरूबाट त्यहीस्तर को शैक्षिक योगदान भएको भने कम पाइन्छ ।  

रामेछापकै कैलेश्वर माविगुप्तेश्वरमा स्थानीय भन्दा बाहिरका शिक्षकको बाहुल्य छ । त्यहाँका १२ जना शिक्षकमध्ये १० जना बाहिरका छन् । बाहिरका शिक्षकको मेहनतका कारण उक्त स्कूल दुई वर्षअघिको एसएलसीमा जिल्लामै रराम्रोमध्ये तेस्रोमा परेको थियो । रौतहटबाट अङ्ग्रेजी शिक्षकको रूपमा कैलेश्वर मावि पुगेका सोभितलाल दासगत वर्ष पनि ७५ प्रतिशत छात्रछात्रा एसएलसीमा सफल भएको बताउँछन् । उनका अनुसार, अधिकांश शिक्षकको समय स्कूल र पुस्तकालयमै बित्छ । विभिन्न विषयका विषय समितिगठन गरिएकोले स्कूल सकिएपछि पनि शिक्षकले समितिमा समय दिनुपर्ने व्यवस्था गरिएको छ । ‘विषयगत र अतिरिक्त ज्ञान दिने कुरा मा हराम्रो स्कूलका शिक्षकबीच प्रतिस्पर्धा नै चल्छ’ दासको दाबी छ ।

खासाको फाइदा
सिन्धुपाल्चोकको सानोसिरुवारीस्थित ज्ञानमन्दिर नमुना माविका १४ जना शिक्षकमध्ये ११ जना स्थानीय छन् । स्कूलबाट १० मिनेटको दूरीमा घर भएका उक्त स्कूलका शिक्षक यज्ञप्रसाद दङ्गालको अन्य जिम्मेवारी हेर्दा उनी शिक्षक कम र सामाजिक कार्यकर्ता बढी जस्ता लाग्छन् । शान्ति समाज को जिल्ला सभापति, मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष अनि नेपाल शिक्षक संघको क्षेत्रीय संयोजकको जिम्मेवारीले उनलाई समयमा स्कूल पुगेर छात्रछात्रालाई पढाउने समय निकाल्न सधैं धौ–धौ पार्छ । त्यसो त, सोही विद्यालयका सहायक प्रअ तुलसीप्रसाद दङ्गाल स्कूलपछि मेलचौरमा खोलेको आफ्नो स्टेशनरी पसलमा व्यस्त हुन्छन् । अर्का स्थानीय शिक्षक भीमबहादुर श्रेष्ठले चाहिँ खासाबाट जुत्ता–चप्पल, फेन्सी कपडा र कस्मेटिक सामान ल्याएर चौतारा बजारमा बेच्ने कामलाई सहायक व्यवसाय बनाएका छन् ।

तर, ०६३ मङ्सिर १५ देखि ज्ञानमन्दिरमा विज्ञान शिक्षण गर्दै आएका महोत्तरीका अनिल कुमार झको फुर्सद ट्युसन र कोचिङ पढाएर अनि स्वाध्यायन गरेर बित्छ । उक्त स्कूलका प्रअ झपाका तुलसीराम तिमल्सेना र विज्ञान शिक्षक धनुषाका महमद रसिद नदाबको दिनचर्या पनि लगभग उस्तै छ । अनिल भन्छन्, “यहाँ हराम्रो कृषि; व्यापार केही छैन, राजनीति पनि गरिँदैन । तर गाउँका शिक्षक साथीहरू स्कूल समयमै बिटा लाउने, दाइँ र रोपाइँ गर्ने , मलामी वा जन्ती जाने गर्नु हुन्छ ।”

जीतपुरफेदीको कथा
काठमाडौंको जीतपुरफेदी– ९ स्थित पृथ्वीनारायण उमाविगोलढुङ्गाका २१ मध्ये १० जना स्थानीय शिक्षकले बाहिरबाट आएका शिक्षकको योगदानलाई ओझाेलमा पारेका छन् । प्रअ रामशरण घिमिरेको अगुवाईमा उनीसहितका स्थानीय शिक्षकको मेहनत र जाँगरले स्कूलको पठनपाठनमा पछिल्लो समयमा व्यापक सुधार आएको शिक्षक मधु अर्याल बताउँछन् । स्थानीय भए पनि उनी वर्षमा कहिल्यै पनि ९ दिनभन्दा बढी बिदा नबसेको बताउँछन् । स्थानीयभन्दा बाहिरका शिक्षकले बढी बिदा लिने गरेको अर्यालको अनुभव छ । सिरहाका शिक्षक बरुण देव दशैंमा गएपछि छठ सकेर मात्र स्कूल फर्किने गर्छन् । ०५१ देखि ०५८ सम्म ५० प्रतिशतको हाराहारीमा एसएलसी परिणाम प्राप्त गरेको पृथ्वीनारायण उमाविले त्यसयता ९५ प्रतिशतसम्म नतिजा हासिल गरेको छ । पृथ्वीनारायण उमाविका शिक्षकका लागि बिहान चाँडो स्कूल आए बेलुकी चाँडो जाने अनि ढिलो आए ढिलै जाने नियम लागू गरिएको छ ।

काभ्रेको छत्रेबाँज– १ का दुर्गालाल श्रेष्ठको घर उनले पढाउने कृष्ण उमाविबाट १०० मिटरको दूरीमा छ । ०२५ साल देखि उक्त स्कूलमा शिक्षक रहेका श्रेष्ठ र प्रअगणेशबहादुर श्रेष्ठको अधिकांश समय स्कूलकै काममा बित्छ । दुर्गालाल घरपायक शिक्षकमा स्कूलको माया बढी हुने भएको ले तिनले बाहिरकाको भन्दा रराम्रो गर्ने धारणा राख्छन् । ०३२ सालमा प्रावि मात्र रहेको स्कूललाई मावि बनाउन दुर्गालालसहित ६ जना स्थानीय शिक्षकले ६ महिना विना पारिश्रमिक शिक्षण गरेका थिए भने बाहिरका शिक्षकका लागि तलबको व्यवस्था गरिएको थियो । श्रेष्ठ भन्छन्, “बाहिरका शिक्षक जागिरका लागि आएका हुन्छन् तर स्थानीय शिक्षकमा गाउँको स्कूलको माया हुन्छ ।” तर, कृष्ण उमाविका सबै स्थानीय शिक्षकले दुर्गालाल र प्रअले जसरी स्कूललाई समय दिएको पाइँदैन । निमावि शिक्षक केदार सत्याल गाउँका पुरोहित पनि भएको ले यजमान को काम पर्दा स्कूलै छाडेर जानुपर्छ भने स्कूलबाट नजिकै घर भएका अर्का शिक्षक राधेश्याम श्रेष्ठ धेरैजसो समय स्कूलै आउँदैनन् र आए पनि थोरै समय मात्र बस्छन् । यो उमाविमा १६ मध्ये १० जना स्थानीय शिक्षक छन् ।

काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक उमाविका शिक्षक झ्म्क चौलागाई पनि सार्वजनिक स्कूलको पठनपाठनमा सुधार गर्न स्थानीय भन्दा बाहिरका शिक्षक राख्नुपर्ने धारणा राख्छन् । उनको तर्क छ, “सरकारी स्कूलमा घरपायक भन्दा बाहिरका शिक्षक शैक्षिक क्रियाकलाप र स्कूलको प्रगतिका लागि सक्रिय भएको देखिन्छ, केही घरपायकले शिक्षण कार्यलाई दोस्रो प्राथमिकतामा समेत राख्ने गरेका छन् ।”

शिक्षा विभागका अनुसन्धान तथा शैक्षिक सूचना व्यवस्थापन शाखाका अधिकृत शङ्करबहादुर थापा र शिक्षक किताबखानाका उपनि र्देशक डम्बरध्वज थापाले आफूहरूका निम्ति घरपायक शिक्षकको आँकडाको प्रयोजन नभएको ले यस्तो आँकडा नराखिएको बताए । शिक्षा मन्त्रालयसँग पनि घरपायक शिक्षकको राष्ट्रिय तथ्याङ्क छैन । तर, शिक्षक को अध्ययनमा परेका रामेछाप, सोलुखुम्बु, सिन्धुपाल्चोक, काठमाडौं र काभ्रेका समेत ८ वटा मावि तथा उमाविका ११८ शिक्षकमध्ये ६५ जना शिक्षक स्थानीय रहेको पाइयो भने ५३ जना बाहिरका । सरकारले पनि सार्वजनिक स्कूलका शिक्षकलाई घरपायक नियुक्ति दिने नीति लिएका कारण घरपायक शिक्षकको बाहुल्य क्रमशः बढ्ने क्रममा देखिन्छ ।
 
विकल्प शिक्षक आवास गृह
अरूको घरमा बस्नु पर्दा घर बाहिरबाट आएका शिक्षकले अनेक खालका मान सिक तनाब झेल्नुपर्ने हुन्छ । त्यसैले धेरै गैर –रैथाने शिक्षकहरू आवास गृह को व्यवस्था गर्नु पर्ने धारणा राख्छन् । हाल ज्ञानमन्दिर नमुना मावि, सिन्धुपाल्चोकका शिक्षक अनिल कुमार झ कालीदेवी मावि कदमबासमा शिक्षक छँदा आवास गृह मा बस्ने गरेका थिए । शिक्षक आवासको व्यवस्थाले बाहिरका शिक्षकलाई ठूलो राहत पुरयाउने उनको अनुभव छ । अहिले बसेको घरमा पानी–बत्ती धेरै चलाएको वा साथीभाइ भेटघाट गर्न आएको बहानामा घुमाउरो पाराले घरवालाबाट मान सिक तनाब झेल्नु परेको अनिलले शिक्षक प्रतिनिधिलाई सुनाए । सिन्धुपाल्चोकको सिद्धि कमलादेवी माविले घर अपायक शिक्षकका लागि ‘शिक्षक आवास गृह निर्माण’ गर्ने तयारी गरेको छ । 

(यो रिपोर्टमा उल्लिखित विभिन्न जिल्लाका शिक्षकहरूसँग पुसको पहिलो साता काभ्रेको धुलिखेल र काठमाडौंमा कुराकानी गरिएको हो । प्रशिक्षणको क्रममा शिक्षकहरू ती स्थानमा एकत्रित थिए ।) 

commercial commercial commercial commercial