कुशल शिक्षणका २५ सूत्र
अभिवादन गर्नुस्ः बिहानीले दिउँसोको सङ्केत गर्छ भने झैँ कक्षामा प्रवेश गर्नासाथ प्रयोग गर्ने स्नेहिला शब्द र व्यवहारबाटै तपाईंको कक्षा अवधिका गतिविधि प्रभावित हुन्छन् । त्यसैले शिक्षकले कक्षामा छिर्नासाथ सही अभिवादनमार्फत विद्यार्थीहरूमाझ् आफूलाई अनुकरणीय व्यक्तिका रूपमा प्रस्तुत गर्न भुल्नुहुँदैन । त्यसो गर्न सकिएन भने विद्यार्थीले हेप्ने, ध्यान नदिने र पूरै कक्षा हल्लाखल्लामा बित्ने खतरा रहन्छ ।
विद्यार्थीलाई बसिसक्न दिनुस्ः धेरैजसो कक्षामा दुईतिर बेञ्च, डेस्क र कतै कतै कार्पेट मात्र पनि बिछ्याइएको हुन्छ; जहाँ विद्यार्थीले समूहगत रूपमा बसेर पठनपाठनका सबै काम गर्नुपर्छ । त्यसैले विद्यार्थीले आफूलाई सजिलो हुने गरी बसिसके कि सकेनन् भनेर शिक्षकले ख्याल गर्नुपर्छ । त्यसपछि, कक्षामा पालना गर्नु पर्ने नियमबारे सम्झएर मात्र पढाउन शुरु गर्नुपर्छ ।
सकारात्मक कुराबाट शुरु गर्नुस्ः शिक्षक निराश, फोहोरी वा रिसाहा मूडमा कहिल्यै कक्षामा प्रवेश गर्नु हुँदैन । शिक्षक अँध्यारो मुख लिएर रिसाउँदै कक्षामा छिरे भने विद्यार्थीमा त्यसको नकारात्मक प्रभाव पर्छ । स्वभावतः बालबालिकाले नराम्रा कुरा र व्यवहार चाँडै सिक्ने हुँदा उनीहरूले शिक्षकका नराम्रा बानी पनि तुरुन्तै सिक्छन् र सोही अनुरुप व्यवहार गर्न थाल्छन् । त्यस्तै, ‘यो देश/समाज मा केही हुन्न’ वा ‘हामीले केही गर्न सक्दैनौं’ जस्ता घोर नकारात्मक कुरा कहिल्यै गर्नु हुँदैन । त्यसको सट्टा ‘हामी सबैले पहल गरे सकिन्छ’ वा ‘हामीले गर्न सक्छौं, तर धेरै मिहिनेत र तयारी गर्नु पर्छ’ जस्ता सकारात्मक र हरदम नयाँ कुरा को खोजी गर्न उत्प्रेरित गर्ने कुरा हरू गर्नु पर्छ । ‘आउँदैन, हुँदैन, जान्दैनौं, सक्दैनौं...’ जस्ता नकारात्मक कुरा ले विद्यार्थीलाई ‘ए ! यो त नसक्ने कुरा रहेछ...’ भन्ने छाप पर्न जान्छ । र, शुरु देखि नै त्यसप्रति चाख राख्न छाडिदिन्छन् । त्यसैले शिक्षकले सदैव सकारात्मक सोचका साथ कक्षामा प्रस्तुत हुनुपर्छ ।
कहाँबाट पढाउन थाल्नु भो, नभुल्नुस्ः यसले विद्यार्थीलाई अघिल्लो दिनको पाठ सम्झ्न र थप प्रश्न सोध्न सजिलो बनाउँछ । छोटै समय पढाउनु भएको छ भने पनि तपाईंले विद्यार्थीको क्षमता र ज्ञानबारे जानकारी राख्न भुल्नुहुँदैन । विद्यार्थीहरूले सधैं ख्याल गरिरहेका हुन्छन्, त्यसैले तपाईं जहिले पनि ‘वोल्ड एण्ड स्मार्ट’ भएर प्रस्तुत हुनुपर्छ । ‘हराम्रो सर जहिले पनि पूरा तयारी गरेर आउनुहुन्छ’ भनेर विद्यार्थीलाई छाप पार्नै पर्छ । वर्षैभरि पढाएका विद्यार्थी छन् भने धेरै कुरा थाहा हुनसक्छ तर नयाँ कक्षामा जानुभयो भने उक्त कक्षाका पुराना शिक्षकबाट विद्यार्थीहरूका बारेमा जानकारी लिनु रराम्रो हुन्छ । तर कहिलेकाहीँ विद्यार्थीलाई नै सोधेर पनि अघिल्लो दिन के–के पढाइ भएको थियो भनेर जान्न सकिन्छ ।
पाठयोजना बनाउन नभुल्नुस्ः लामो र छोटो समय लाग्ने पाठको बारेमा अलग–अलग योजना बनाउनुपर्छ । तपाईंले बुझाउन खोज्नुभएको कुरा पढाइसक्दा विद्यार्थीले सजिलोसँग जान्ने खालको पाठयोजना हुनुपर्छ । सम्बन्धित पाठको उद्देश्य अनुरुप पढाउन आवश्यक पर्ने शैक्षिक सामग्रीहरू तयार पार्न अल्छी गर्नु हुँदैन । विद्यार्थीलाई कस्ता प्रश्न सोध्ने भन्ने तयारी पनि पहिले नै गर्नु पर्छ ।
के–के सामग्री चाहिन्छ, पत्ता लगाउनुस्ः शब्द मात्र रट्नुभन्दा कार्टुन, चित्र वा अन्य कुनै सामग्रीको प्रयोगबाट बालबालिकालाई सिकाउने प्रयास गर्नु स् । त्यसो भयो भने विद्यार्थीहरू तपाईंप्रति आकर्षित बन्नेछन् । र, सिकाएका कुरा राम्ररी सिक्न सक्छन् । त्यसैले कुन पाठमा के कस्ता सामग्रीहरू चाहिन्छन्, त्यसको रराम्रो तयारी गर्न नभुल्नुस् । त्यस्ता सामग्रीहरूको सूची नै बनाएर राख्नु रराम्रो हुन्छ ।
सामग्री कहाँ पाइन्छन्, थाहा पाइराख्नुस्ः पढाउँदा आवश्यक पर्ने धेरै सामग्री विद्यालयमै उपलब्ध हुनेछन् । तपाईं आफैंले त्यस्ता सामग्रीहरू पत्ता लगाउन र प्राप्त गर्न सक्नुहुनेछ । सूचनाप्रविधिको यो जमानामा तपाईंलाई आवश्यक पर्ने कैयन् सामग्री र उपायहरू इन्टरनेटबाट पनि पाउन सकिन्छ । समुदाय वरिपरि धेरै सामग्रीहरू हुन्छन्, तिनको सृजनात्मक प्रयोगबाट विद्यार्थीलाई व्यावहारिक तरिकाले बुझाउन सकिन्छ भन्ने कुरा एउटा शिक्षकले सधैँ हेक्का राख्नुपर्छ ।
आफू पनि तयार हुनुस्, विद्यार्थीलाई पनि तयार हुनदिनुस्ः आवश्यक सामग्रीसाथ तपाईं पढाउन तम्तयार हुनुभएको हो ? त्यसो हो भने एक नजर सिङ्गो कक्षामा लगाउनुस् । उनीहरू तयार छन् कि छैनन् ? सबैले किताब झ्किेका छन् कि छैनन्, कलम, कापी ठीक पारेका छन् कि छैनन् ? प्रयोगात्मक कक्षामा हुनुहुन्छ भने सोही अनुरुप उनीहरू तयार छन् कि छैनन् ? शिक्षकले यसमा ध्यान दिनु जरुरी हुन्छ । विद्यार्थी अल्मलिइरहेका छन् र तयारी गर्न भ्याएका छैनन् भने त्यसका लागि समय दिनुस् । किनभने तपाईं मात्र तयार भएर हुँदैन, त्यसका लागि विद्यार्थी पनि तयार हुनुपर्छ । तपाईं पढाउन शुरु गर्नु हुन्छ तर कुनै विद्यार्थी पेन्सिल तिखार्न थाल्छन् भने त्यसले पढाइको वातावरण सहयोगी नहुन सक्छ । त्यसले पढाइमा ठूलो बाधा पुर्याउन सक्छ । त्यसैले विद्यार्थीले पनि पाठ शुरु गर्नु अघि आफूलाई तम्तयार पार्नुपर्छ भनेर तिनलाई झ्क्झ्क्याउनुस् ।
पाठको बुँदागत सूची बनाउनुस्ः विद्यार्थीहरूसँग छलफल गर्नु पर्ने र उनीहरूलाई बुझाउनुपर्ने विषयका मुख्य–मुख्य बुँदा टिपोट गरेर पढाउन थाल्नुभयो भने कक्षा व्यवस्थापन गर्न निकै सहज हुनेछ । त्यसो भयो भने तपाईं बालबालिकालाई क्रमैसँग अभ्यास गराउन सक्नुहुनेछ । र, उनीहरूले पनि सिक्नुपर्ने कुरा छुटाउने छैनन् ।
कसले के गर्ने , त्यो पक्का गर्नुस्ः पहिले तपाईं आफू कहाँ काम गर्दैछु भन्नेबारे स्पष्ट हुनुस् । तपाईंको खास काम के हो ? त्यो नभुल्नुस् । यदि तपाईं नर्सरी कक्षामा हुनुहुन्छ भने त्यसबेला परिचारिका तथा अन्य सहयोगी र शिशुका बाबु–आमाको सहयोग लिनुपर्ने हुन्छ । ती सहयोगीहरूबाट के कस्तो सहयोग लिने भनेर पनि पहिले नै तय गर्नु स् । तिनीहरूबाट सहयोग प्राप्त गर्न तपाईंले स्पष्ट र सही निर्देशन दिन सक्नुपर्छ ।
सहयोगी क्रियाकलाप बारे पनि सोच्नुस्ः कैयौँ विद्यार्थीले निर्धारित समय अगाडि नै तपाईंले कक्षामा दिनुभएको काम सम्पन्न गर्न सक्छन् । त्यसरी छिट्टै कार्य सम्पादन गर्ने विद्यार्थीलाई अन्य विद्यार्थीलाई दिइएको कार्य नसकुञ्जेलसम्मका लागि छोटा–छोटा निबन्ध लेख्न लगाउने, नम्बरगेम्स दिने, अन्ताक्षरी खेल्न, लघुकथा लगायतका किताबहरू पढ्न दिएर व्यस्त राख्न सकिन्छ । त्यसो गर्नु भयो भने ती विद्यार्थीले पनि बेकाममा बस्नुपर्दैन र तिनले नयाँ कुरा सिकिरहेका पनि हुन्छन् मुख्य कुरा त अन्य विद्यार्थीलाई ‘डिस्टर्व’ पनि हुँदैन ।
कक्षाको कार्यसूची राख्नुस्ः कुन विद्यार्थीले के गरयो र के गर्दैछ भनी थाहा पाउनका लागि यस्तो कार्यसूची निकै उपयोगी हुन्छ । यसबाट विद्यार्थीले काम शुरु गरेको र सिध्याए वा नसिध्याएको थाहा पाउन सकिन्छ । दिनभरि कुन कुन कक्षामा के के गराएँ, के के गराउनु छ शिक्षकले आफूलाई सम्झाइराख्न मद्दत गर्द छ ।

कुन विद्यार्थीलाई सहयोग आवश्यक छ, पत्ता लगाउनुस्ः कक्षामा सबै विद्यार्थीले समान रूपमा सिकिरहेका हुँदैनन् । त्यसैले शिक्षकले कक्षामा पाठ नबुझेका विद्यार्थी छन् कि भनेर सधैं खोजबिन गरिरहनु र कमजोर विद्यार्थीलाई समस्याबाट मुक्त गराउने प्रयास गर्नु पर्छ । त्यस्ता विद्यार्थीलाई कक्षाको समयभन्दा बेग्लै थप समय दिन पनि हिच्किचाउनुहुँदैन । किनकि जुन विद्यार्थीले आजको पाठ रराम्रोसित बुझेको हुँदैन, भोलिको पाठ बुझन उसलाई थप कठिन हुनसक्छ ।
शब्दको सही प्रयोग र उच्चारण गर्न प्रेरित गर्नुस्ः बालबालिका सही ढङ्गले शब्द उच्चारण गर्न नसकेर अल्मलिइरहेका हुनसक्छन्, शिक्षकले उनीहरूलाई त्यो समस्याबाट छुटकारा दिेलाउनुपर्छ । कक्षामा नयाँनयाँ शब्द र तिनको उच्चारण गर्ने तरिका पनि शिक्षकले सिकाउनु पर्छ । शब्द थाहा पाउने र उच्चारण गर्ने कुनै जादु गरी कुरा होइन । यसको निम्ति दृश्यावलोकन पनि आवश्यक हुन्छ । र, एल्सीडब्लुसी (लुक, कभर, राइट एण्ड चेक) तरिकाद्वारा विद्यार्थीलाई नयाँ शब्दबारे सिकाउन मद्दत मिल्छ । भाषा शिक्षकले मात्र सही उच्चारण गर्न सिकाउने होइन । गणित, स्वास्थ्य, सामाजिक जस्ता अरू विषयका शिक्षकले पनि जुन भाषामा पढाउँछन्, त्यो भाषालाई शुद्ध पढाउनु पर्छ ।
अभ्यास को महत्व बुझाउनुस्ः अरूले गरेको हेरेर होइन, हिसाब गरेर नै हिसाब जान्न सकिन्छ । धेरै पटक अभ्यास गर्न ल गाएपछि मात्र विद्यार्थीले पढाएका विषय राम्ररी बुझन सक्दछन् । फेरि, अभ्यास न गरेको धेरै समय भयो भने पनि सिकेको कुरा बिर्सन सक्छन् । जसरी साइकल चढ्ने,रूख चढ्ने वा पौडी खेल्ने काम नियमित गरिरहँदा त्यसमा पारङ्गत होइन्छ, त्यस्तै लामो समयसम्म अभ्यास गरिएन भने त्यस विषय वा कार्यमा आत्मविश्वास घट्छ । त्यसैले शिक्षकले विद्यार्थीलाई पढाएका कुरा अभ्यास गराइरहन त भुल्नुहुँदैन नै, विद्यार्थीलाई अभ्यास को महत्व र आवश्यकताको बोध पनि गहिरोसित गराउनु पर्छ । ताकि आफूलाई समय मिल्यो कि विद्यार्थीहरू सिकेको कुरा अभ्यास गर्न लागिरहुन् ।
प्रश्नोत्तरको समय उपलब्ध गराउनुस्ः भनिन्छ, असल शिक्षकले विद्यार्थीलाई जहिले पनि आफूसँग प्रश्न गर्न, जिज्ञासु बन्न र नयाँ कुरा सिक्न प्रेरित गर्छ । ‘हो, हुन्छ, ठीक छ, बुझेँ, पुग्यो...’ जस्ता कुरा ले नयाँ ज्ञान लिने बाटो बन्द गर्छ र ‘होइन, हुँदैन, छैन, बुझनिँ, पुगेन...’ जस्ता प्रश्न र जिज्ञासाहरूले नयाँ कुरा खोज्न र जान्न बाटो बनाउँछ । अतः तपाईंले प्रत्येक विद्यार्थीलाई हरदम प्रश्न गर्न र नयाँ जिज्ञासा राख्न उत्प्रेरित गरिरहनु पर्छ । त्यसले एकातिर विद्यार्थीहरूबीच नयाँ नयाँ जिज्ञासा राख्ने क्षमता वृद्धि हुन्छ भने अर्कोतिर उनीहरूमा प्रश्न सोध्ने शिक्षकको मात्र काम हो भन्ने भ्रम र जिज्ञासा राख्न लजाउने बानी पनि हट्छ । यसको साथै, विद्यार्थीलाई एकापसमा अनौपचारिक प्रश्नहरू सोध्न र त्यसको जवाफ दिन पनि समय उपलब्ध गराउनु पर्छ ।
सङ्क्षेपीकरण गर्न प्रोत्साहित गर्नुस्ः कक्षामा सिकेका वा सिकाइएका कुरा सङ्क्षेपीकरण गर्न विद्यार्थीलाई सिकाउनु पर्छ । के महत्वपूर्ण कुरा हो र के चाहिँ बुझाउने अभिप्रायले मात्र व्याख्या गरिएको हो भन्ने छुट्याउन शिक्षकले विद्यार्थीलाई मद्दत गर्नु पर्छ ।
घरबाट ल्याएका सामान कहाँ राख्ने, सिकाउनुस्ः विद्यार्थीले घरबाट खेलका सामग्री, कमिक, खानेकुरा आदि कक्षामा लिएर आएका हुन्छन् र उनीहरू आफूले ल्याएका सामान बारे साथीलाई बताउन आतुर हुन्छन् । त्यसैले कक्षामा प्रवेश गरे पछि उनीहरू यसैमा अल्मलिन सक्छन् । यसरी आफूले ल्याएका सामान आफैंसित राख्ने र त्यसबारे साथीसँग कुरा कानीमा व्यस्त हुन थालेपछि पठनपाठन प्रभावित हुने खतरा रहन्छ । यदि तपाईंले विद्यार्थीलाई कक्षामा आउँदा सामान हरू ल्याउन प्रोत्साहित गर्नु भएको छ भने ती सामान बारे छोटो ‘शो एण्ड टेल सेसन’को पनि व्यवस्था गर्न सक्नुहुन्छ । त्यतिबेला तपाईंले उनीहरूलाई ती सामान देखाउन दराज वा अन्यत्र कसरी राख्ने भनी बताउन सक्नुहुन्छ । यसबाट विद्यार्थीका सामान सुरक्षित हुन्छन् र पढाइमा पनि बाधा पर्दैन ।
हाजिरीको नियम बसाल्नुस्ः यो कार्यलाई अलि रमाइलो र स्मरणयोग्य बनाउनुस् । तर यसो गर्दा कक्षाभित्र अपनाउनुपर्ने नियम भने भुल्न मिल्दैन । तपाईंले हाजिरी बोलाउँदा विद्यार्थीहरूलाई एउटै कुरा रटाएर ‘यस् सर’ मात्र भन्न नलगाउनुस् । विद्यार्थीहरूलाई फरक फरक भाषा या आवाजमा सानो या ठूलो स्वरमा हाजिरी जनाउन लगाउन सक्नुहुन्छ । योभन्दा अन्य रमाइलो तरिका पनि तपाईं हाजिरीका क्रममा अपनाउन सक्नुहुन्छ । यो कुरा तपाईंको अनुभव तथा सृजनात्मक क्षमतामा भर पर्ने कुरा हो । तपाईंले पाठयोजना गर्दा नै केही समय हाजिरीका लागि छुट्याउनुपर्छ ।
पाठ सुहाउँदो क्रियाकलाप गर्न लगाउनुस्ः पढाउन थाल्दा विद्यार्थीले जाने, बुझेका र थाहा पाएकै कुरा बाट अघि बढ्ने प्रयास गर्नु रराम्रो हो । कहिलेकाहीँ अतिरिक्त क्रियाकलाप बाट अघिल्ला पाठहरू सम्झउन सघाउ पुग्छ । नयाँ कुरा का लागि थप छलफल र समयको आवश्यकता पर्दछ । प्रायः कथा, किताब तथा चित्रहरूको प्रयोग गरेर पाठलाई थप सरल ढङ्गले बुझाउन सकिन्छ । कुन सन्दर्भमा के सामग्री प्रयोग गर्दा उपयोगी होला भनेर विद्यार्थीसँग छलफल गर्दा पनि धेरै कुरा थाहा पाउन सकिन्छ ।
अतिरिक्त क्रियाकलाप किन गराइँदैछ ? विद्यार्थीलाई बुझाउनुस्ः तपाईंले गराउन लाग्नुभएको अतिरिक्त क्रियाकलाप बाट विद्यार्थीको पढाइमा के फाइदा पुग्छ भनी उनीहरूलाई रराम्रोसित बुझाउनुस् । नतिजा के आउँछ भन्नेतिर ध्यान दिन चाहिँ कहिल्यै नभन्नुहोला । किनभने त्यसले उनीहरूले अतिरिक्त क्रियाकलाप बाट प्राप्त गर्ने नतिजासित मेल नखान सक्छ र उनीहरूमा थप भ्रम सिर्जना हुनसक्छ ।
नियमहरूलाई पुनः सङ्क्षेपमा स्मरण गराउनुस्ः अतिरिक्त क्रियाकलाप का महत्वपूर्ण बुँदाबारे दोहोरयाएर सङ्क्षेपमा बताउनु उपयोगी हुन्छ । किनभने यसबाट बालबालिकालाई के के गरिएछ भनी थाहा पाउन सजिलो हुनेछ । बालबालिकालाई समय–समयमा सम्झाउने, बुझाउने गरिरहन पनि शिक्षकले भुल्नुहुँदैन ।
अन्तरक्रिया गर्नुस्ः पढाइ हुँदै गर्दा शिक्षक र विद्यार्थीबीच जति बढी अन्तरक्रिया र छलफल हुन्छ, विद्यार्थीले उत्ति नै बढी सिक्छन् । तपाईंले व्याख्यान दिइरहँदा विद्यार्थी चुप लागेर सुनिरहेका छन् भनेर एकोहोरो पढाएको पढायै न गर्नु स् । पाँच सात मिनेट आफू बोलिसकेपछि विद्यार्थीलाई जिज्ञासा वा आफ्नो कुरा राख्न दिनुस् । भर्खर तपाईंले पढाएको कुरा मा विद्यार्थीसित छलफल र अन्तरक्रिया गर्नु स् । तपाईंले भर्खर भनेका कुरा विद्यार्थीले कत्तिको बुझे भनेर थाहा पाउन पनि तपाईंले यो तरिका अपनाउनै पर्छ । विद्यार्थीले आफूलाई आवश्यक पर्ने कुरा बुझरिहेका छैनन् भने उनीहरूलाई त्यसबारेका प्रश्न या जिज्ञासा राख्न थप प्रोत्साहित गर्नु पर्छ । उनीहरूको ध्यान आकर्षित गर्न पनि शिक्षकले प्रश्नोत्तरको समय दिनुपर्छ । पढाउन शुरु गर्दा विद्यार्थीलाई ‘यसोगर र उसोगर’ भनेर मात्र पुग्दैन, उनीहरूलाई ध्यानपूर्वक सुन्न पनि प्रोत्साहित गर्नु पर्छ ।
काम दिनुस्ः विद्यार्थीहरू कक्षामा आ–आफ्ना स्थानमा बसिसकेपछि पाठ दिइहाल्नुपर्छ । पाठ दिन ढिलासुस्ती गर्नु भयो भने उनीहरूले को कहाँ बस्ने भन्ने विवाद झ्किेर कक्षामा हल्ला गर्न सक्छन् । शिक्षकले आफ्नो ध्यान मुख्य क्रियाकलाप मा केन्द्रित गर्नु भन्दा पहिले बालबालिकाले रराम्रो थालनी गरेका छन् कि छैनन् भनी ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ ।
सुहाउँदो वातावरण छ कि छैन, ध्यान दिनुस्ः यदि कक्षाकोठा धेरै चिसो यागर्मी हुने खालको छ भने त्यसले बालबालिकाको पठनपाठनमा मात्र होइन, स्वास्थ्यमा समेत प्रभाव पार्दछ । र, उनीहरूको ध्यान पढाइमा जाँदैन । यस्ता समस्याहरू छन् भने पढाउन शुरु गर्नु अघि समाधान गर्ने प्रयास गर्नु स् । बालबालिकालाई पनि कक्षामा गर्नु पर्ने कार्यको महत्वबारे बुझाउनुस् । एकले अर्कोको कार्यमा बाधा पुग्ने खालका क्रियाकलाप गर्नु हुँदैन भन्ने बारे उनीहरूलाई बताउनुपर्छ ।
अनुवादः ध्रुब सिम्खडा
(प्याकार्ड र रेसद्वारा सम्पादित पुस्तक २००० टिप्स फर टिचर्स बाट )



