‘चिल्ड्रेन अफ् हेभेन’ बालपीडा ठम्याउन सघाउँछ

च्यातिएर काम नलाग्ने भइसकेको एकजोर जुत्ता मर्मत गरेर ल्याउने क्रममा बालक अलीले बाटैमा हराउँछ । दाजुले कति बेला जुत्ता ल्याइपुर्‍याउला भनेर पर्खिबसेकी सानी बहिनी जाराले थाहा नपाउने कुरै भएन । “जारा यो कुरा आमा–बालाई नभन है, म जसरी भए पनि जुत्ता फेला पारेर ल्याउँछु” भन्दै अली फेरि जुत्ता खोज्न निस्कन्छ । तर जुत्ता फेला पर्दैन ।

‘खति भन्दा खाँचो ठूलो’ भयो अब । भोलि बिहानै जारालाई स्कूल जानु छ । खाली खुट्टा कसरी स्कूल जानु ? जाराको चिन्ता जायज छ । अलीले एउटा जुक्ति झिक्छ— “पालैपालो गरेर मेरो जुत्ताले नै दाजु–बहिनी काम चलाऔँ । आमा–बालाई भने पनि जुत्ता किनिदिने पैसा छैन । बेकारमागाली र कुटाइ मात्र किन खानु ?” आफ्नो बिहान र दाजुको दिउँसो स्कूल लाग्ने भएकाले अलीको कुरा मा जारा सहमत हुन्छे । भोलिपल्ट बिहान जारा दाजुको जुत्ता लगाएर स्कूल जान्छे । तर पढ्न– लेख्नमा जाराको ध्यान पटक्कै छैन । उसको सारा ध्यान हराएको जुत्तामै गइरहेको छ । कति बेला छुट्टी होला र दाजुलाई जुत्ता पुर्‍याऊँ, एकछिन ढिला भयो भने ऊ समयमा स्कूल पुग्न भ्याउँदैन भन्ने चिन्ताले जाराको बालमस्तिष्कलाई सताउँछ ।

यो उपक्रम कैयन् दिनसम्म चलिरहन्छ । एकदिन हतार–हतारमा स्कूलबाट फर्कदै गर्दा खुट्टाबाट फुत्केर एउटा जुत्ता नहरमा खस्छ । नहरबाट जुत्ता झ्क्निे उसका सबै प्रयास निरर्थक हुन्छन् । ऊ रुन थाल्छे । त्यत्तिकैमा आइपुगेको एक जना बटुवाले नहरबाट जुत्ता निकालिदिन्छ । अनि दौडेर गएर दाजुलाई जुत्ता बुझाउँछे ।  ढिलो गरी स्कूल पुग्दा एउटा जुत्ता मात्र कसरी भिज्यो ? अनि एउटा खुट्टामा मात्र मोजा किन ? चित्तबुझदो जवाफ पाउन नसकेपछि प्रिन्सिपलले अलीलाई कक्षामा पस्नै नदिई घर फर्काइदिन्छन् ।

चरम गरिबीबाट गुज्रिरहेका अलीका बा–आमालाई छोराछोरीले झेलिरहेको समस्याप्रति चासो नै हुँदैन । स्थिति त्यति बेला मर्मस्पर्शी बन्छ, जब बाउ आफ्ना छोराछोरीको समस्या बुझनतिर लाग्नुको साटो उल्टै बम्कन्छ— “मैले त नौ वर्षको उमेरमा कति काम गरेर बा–आमालाई सघाउने भइसकेको थिएँ, तर तिमीहरू सबै केवल खेल्ने, खाने र सुत्ने मात्र भयौ । म एउटाले कसरी सबै कुरा पुर्याउन सक्छु र ?” यी दाजु–बहिनीलाई स्कूल र घरको उस्तै व्यवहारले खिन्न बनाउँछ । उनीहरूको समस्या माथि न शिक्षक न त अभिभावक, कसैले ध्यान दिएको छैन ।

एकदिन अलीले स्कूलमा दौड प्रतियोगिता हुने कुरा थाहा पाउँछ । ‘तेस्रो पुरस्कारः एक जोर जुत्ता’मा आँखा पर्नासाथ ऊ दौडमा भाग लिने अठोट गर्छ । त्यसको एउटै कारण थियो, तेस्रो पुरस्कार जितेर बहिनीलाई जुत्ता दिने र हाल झेलिरहेको समस्याबाट मुक्ति पाउने । तर हरेक दिन स्कूल पुग्न हुने ढिलाइका कारण उसको नाम दर्ता गराउने समय फुत्किसकेको हुन्छ । यो कुरा ले साह्रै दुः खी हुन्छ, शिक्षकसँग बरर्र आँसु झरेर रुन्छ । शिक्षकले अलीलाई उल्टैगाली गर्छन्, “यति बेलासम्म चाहिँ निदाएर बसेको थिइस् ? अहिलेलाई छुटिस्, अर्को पटक समयमै नाम लेखाउन आउनू ।” अली जिद्दी गर्छ— “सर ! म जसरी भए पनि जितेर देखाउँछु, मलाई पनि सहभागीगराइदिनोस् !” अन्ततः शिक्षकको मन पग्लन्छ र अलीको नाम दौड प्रतियोगिताका लागि दर्ता हुन्छ ।

दौडमा अली पहिलो हुन्छ । तर विडम्बना त्यसबाट अली खुसी हुन सक्दैन । ‘तेस्रो पुरस्कार ’ अर्थात् जुत्ता जितेर बहिनीलाई दिने उसको सपना आफू प्रथम भएको थाहा पाएपछि टुट्छ । ऊ भक्कानिएर रुन्छ । पहिलो भएको खुसीमा शिर ठाडो पारेर उभिनुको साटो तेस्रो हुन नपाएको दुः खमा निहुरिन्छ । यो उत्कर्षसँगै एक घण्टा २९ मिनेट लामो फिल्म सकिन्छ ।

प्रसिद्ध इरानी निर्देशक माजिद माजिदीद्वारा लिखित तथा निर्देशित प्रस्तुत फिल्म सन् १९९७ मा बनेकोे हो । इरानको राजधानी तेहरानमा छायाङ्कन गरिएको सो चलचित्रलाई यति जीवन्त ढङ्गले प्रस्तुत गरिएको छ कि दर्शकले वास्तविक घटना हो कि फिल्म भनेर छुट्याउन मुस्किल पर्छ । थुप्रै पुरस्कार हरूबाट सम्मानित पर्सियन भाषाको यो फिल्म बालबालिकाका विषयमा बनाइएकामध्ये विश्वकै अग्रणी चलचित्रमा पर्दछ । नेपाली परिवेशसँग मिल्दोजुल्दो सो फिल्मले सानो समस्याको हल हुन नसक्दा बालबालिकाहरू कति ठूलो मान सिक तनावमा पर्छन् भन्ने कुरा लाई शक्तिशाली रूपमा प्रस्तुत गरेको छ । त्यस्तै, गरिबी र अभावमा रहेका बालबालिकाकाले सामना गरिरहेका समस्याहरू र त्यसप्रति अभिभावक र शिक्षक दुवै कसरी बेखबर हुन्छन् भन्ने कुरा लाई मार्मिक ढङ्गले उजागर गरेको छ ।

प्रज्ञा तिमल्सिना

commercial commercial commercial commercial