शिवेश्वर सरलाई सलाम !
मधेशमा शैक्षिक अवस्था कमजोर हुनुमा तीनवटा कारण छन् शिवेश्वर सरको ठम्याइमा— शिक्षक छनोट प्रक्रियामा त्रुटि, राजनीतिक पार्टीहरूको नाजायज हस्तक्षेप र शिक्षा विकासमा अभिभावकहरूको अरुचि ।
लामो समयसम्म क्रिकेट खेलेर सन्न्यासको घोषणा गर्ने खेलाडीले आफ्नो अन्तिम म्याचमा रराम्रो प्रदर्शन गरे भने ‘ह्वाट अ इनिङ्स !’ भनेर खुसी व्यक्त गरिन्छ । २७ पुस २०६५ मा निवृत्त हुन लागेका सर्लाहीका शिक्षक शिवेश्वर लालको जीवन पनि त्यस्ता क्रिकेट खेलाडीसँग मिल्दोजुल्दो छ । उनी प्रधानाध्यापक रहेको सर्लाहीको सीतापुरस्थित महेन्द्ररत्न जगन्नाथ लक्ष्मिया माध्यमिक विद्यालयले यस वर्षको एसएलसी परीक्षामा जिल्लामै सबभन्दा रराम्रो नतिजा ल्याएपछि उनले सबैतिर बाट प्रशंसा पाइरहेका छन् । लामो समय देखि विभिन्न स्कूलमा अध्यापन गरेका शिक्षकका लागि पेशागत जीवनको अन्त्यमा आफू प्रधानाध्यापक रहेको
कूलले शतप्रतिशत नतिजा प्राप्त गरे कै घडीमा निवृत्त हुन पाउनु स्वाभाविकरूपमै सन्तोष रगौरवको कुरा हो ।
यो परिणामको पछाडि २०५६ साल देखि उक्त स्कूलमा प्रअ रहेका शिवेश्वर लाल र उनको टिमले गरेको कडा परिश्रम बलियो आधारका रूपमा रहेको छ । प्रअको कोठा बाहिर टाँगिएको स्कूलको प्रगति विवरणले पनि उनको टिमले गएको ७–८ वर्षसम्म निरन्तरता दिएको कठोर परिश्रमको नतिजा देखाउँछ । स्कूलको आठ, नौ र दश कक्षामा छात्रको तुलनामा छात्राहरूको सङ्ख्या बढिरहेको उल्लेखनीय कुरा पनि उक्त विवरणमा छ । यस क्षेत्रका बासिन्दाले छोरा र छोरीलाई शिक्षामा भेदभाव न गर्ने कारणले हो वा छोरालाई निजी र छोरीलाई सामुदायिक स्कूलमा पढाउने कारणले यसो भएको हो, छुट्याउन गाह्रो पर्छ । जेहोस्, करिब हजार जना विद्यार्थी पढ्ने यस स्कूलबाट गत वर्ष सयभन्दा बढीले एसएलसी परीक्षा दिए र सबै उत्तीर्ण भए, यो स्कूलको वास्तविकता यही हो ।
सर्लाहीको मुख्य व्यापारिक केन्द्र वरहथवा नजिकै यो स्कूलको आसपास अन्य पाँच वटा स्कूल छन् । त्यसका बाबजुद पनि सीतापुरको यो स्कूलले धेरै विद्यार्थीलाई आकर्षण गर्न सक्नुमा नेतृत्वको सफलता बाहेक अरू कारण ठम्याउन मुश्किल पर्छ । स्कूल नजिकैको बस्तीमा प्रधानाध्यापक लालको सफल नेतृत्वको प्रशंसा सुनेपछि उनीसँग भेटेर लामै कुरा कानी गर्ने जाँगर र अभिलाषा पलायो । मधेशमा छुट्टै पहिचानको लागि सङ्घर्ष भइरहेको बेला हामीले चाहिँ शिक्षा क्षेत्रका समस्याका बारेमा छलफल गर्यौ । मधेशमा अन्य कुरा सँगै शैक्षिक अवस्था पनि कमजोर छ भन्ने प्रअ लालको मूल्याङ्कन थियो । उनको विचार मा यसका तीन वटा प्रमुख कारण छन्, शिक्षक छनोट प्रक्रियामा भएको त्रुटि, शिक्षा क्षेत्रमा राजनीतिक पार्टीहरूको नाजायज हस्तक्षेप र अभिभावकहरूको शिक्षा विकास मा अरुचि ।
पढाउँदा पढाउँदा खारिएका शिक्षक लालको विश्लेषण सही थियो । जबसम्म शिक्षालाई ‘ज्ञानको शक्ति’ को रूपमा स्वीकार गरी त्यसलाई भौतिक तहमा उत्पादनसँग र आध्यात्मिक तहमा दर्शनसँग जोडिँदैन, त्यतिबेलासम्म शिक्षा अधुरो, अपुरो नै रहन्छ । मधेशलाई माथि उठाउने पहिलो खुट्किलोको रूपमा शिक्षाको गुणात्मक विकास हो जुन यतिबेला कमजोर धरातलमा छ । राज्यका जुनसुकै अङ्गमा पनि बौद्धिक प्रतिस्पर्धामा खरो उत्रिन गुणात्मक शिक्षा चाहिन्छ । शिक्षामा पछि परुन्जेल प्रतिस्पर्धा गर्न सकिँदैन र अन्य समुदायका प्रतिस्पर्धी भन्दा तल भएसम्म राज्यका अङ्गहरूमा मधेशीको प्रतिनिधित्व कमजोर भई नै रहन्छ । मधेशलाई अहिले राजनीतिक चेतनाले निकै उचालेको छ तर, त्यसलाई बौद्धिक खुराकले भरथेग गरे न भने यो एकाङ्गी हुनजान्छ र लामो समयसम्म आफ्नोगन्तव्यतिर लम्कन सक्दैन । त्यसैले राजनीतिमा जत्तिकै शिक्षामा ध्यान दिने नेता र स्वयंसेवकहरूको खाँचो खट्किएको छ अहिलेको मधेशमा ।
मधेशमा पनि गुणात्मक शिक्षाको आवश्यकता महसूस गर्ने र त्यसलाई हासिल गर्न प्रत्यत्न गर्ने मा हिन्दू वर्णाश्रममा माथिल्लो तहका भनेर चिनिने व्यक्तिहरू नै पर्छन् । त्यसलाई अन्य तप्कामा पुर्याउन ठूलै मिहिनेत गर्नु पर्ने अवस्था छ । प्रत्येक गाउँमा हुनेखाने परिवारले आफ्ना सन्तानलाई आर्थिक अवस्था अनुसार काठमाडौँ, ठूला शहर र जिल्ला सदरमुकाममा पढाउँछन् । आफ्नो गाउँको स्कूल अन्तिम छनोटमा पर्छ । गाउँका हुनेखाने परिवारले आफ्ना छोरछोरीलाई बाहिर पढाउन गर्ने खर्च गाउँकै स्कूलमा लगानी गर्ने हो भने मधेशका अधिकांश स्कूलहरू आर्थिक अभावबाट सजिलै मुक्त हुनसक्छन् । त्यसका लागि व्यक्तिगत आकाङ्क्षालाई सामुहिक विवेकको घेरामा ल्याउन भने सक्नुपर्छ ।
मधेशमा शिक्षाको स्तर उकास्न शिक्षक छनोटमा पनि विशेष ध्यान दिनुपर्ने अवश्यकता छ । काठमाडौँमा दरबार हाईस्कूल र त्रिचन्द्र कलेज स्थापना गर्दा भारतबाट शिक्षकहरू ल्याइएका थिए । आदर्श विद्यालय विराटनगरका प्रधानाध्यापकसहित शिक्षकहरू बिहार र बङ्गालका थिए । सर्लाही धनगढाको स्कूलमा पढ्दा रघुवीर नामका शिक्षकलाई भारतबाट खोजेर ल्याएर प्रधानाध्यापक बनाइएको मलाई अझै हेक्का छ । योग्य शिक्षक राख्ने क्रममै यसो गरिएको थियो । तर, आज शिक्षक छनोटमा धाँधली र भ्रष्टाचारले यति जरागाडेको छ कि योग्य शिक्षक छान्न त्यसले पूरै बाधा सिर्जना गर्द छ । त्यसको अन्त्य गर्न सबभन्दा पहिले शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरण हटाउनु पर्दछ ।
शिक्षा क्षेत्रका समस्याका बारेमा लामो छलफल पछि मैले प्रधानाध्यापक लाललाई निवृत्त भएपछि के गर्ने योजना छ भनेर जिज्ञाशा राखेँ । उनले सामान्य जवाफ दिँदै भने, ‘श्रीमती पनि शिक्षक छिन्, उनको निवृत्त हुन अझ् केही वर्ष बाँकी भएकाले यहीँ बस्छु होला ।’ सँगै उनले त्यहीँ बसेर वरिपरिका स्कूललाई अझै सुदृढ गर्न अग्रसरता लिन सकिने आशय पनि व्यक्त गरे जसले मलाई उत्प्रेरित गरयो । मधेशी गाउँका सफल शिक्षक शिवेश्वर लाल वास्तवमा शिक्षा क्षेत्रका जग नै हुन्, जो मेरा लागि मात्रै होइन हजारौँ शिक्षकका लागि प्रेरणाका स्रोत बन्न सक्छन् ।



