गणितलाई कसले गाह्रो बनायो ?
कारण धेरै छन्
“म्याडम् यो गणित किन यति गाह्रो ? आज बुझयो भोलि बिर्सिन्छ । एउटा पढाउँदा सम्झन्छि, अर्को पढाउँदा अघिको बिर्सिन्छ । तपाईंले कसरी सम्झ्निुहुन्छ ? अनि, यो पढेर के हुन्छ ?” शुरु का दिनमा जब म गणित शिक्षकको रूपमा कास्कीको एक सार्वजनिक माविमा अध्यापनको लागि गएकी थिएँ, विद्यार्थीका यी र यस्तै प्रश्नले मलाई घेर्नेगर्थे । साढे पाँच वर्ष अध्यापन गर्दा पनि विद्यार्थीका जिज्ञासाहरू उस्तै थिए ।
सामान्यतः विद्यालयमा अप्ठ्यारो विषयका रूपमा हेरिने गणित पढाउने शिक्षक पनि अलि कडा नै हुनुपर्ने ‘मान्यता’ छ । जसले गर्दा गणित झन् बोझलिो विषय भएको छ । गणितका आधारभूत कुरा हरू त्यति अप्ठ्यारो मान्दैनन् विद्यार्थीहरू । स–साना नानीहरूलाई व्यावहारिक उदाहरणसहित एक दुईगन्ती सिकाउनासाथै यसका आधारभूत क्रियाहरू जोड, घटाउ,गुणन र भाग सजिलै बुझछन् । त्यतिबेलासम्म गणित रमाइलो लाग्छ ।
तर, जब गणितमा अङ्कको साथसाथै अङ्ग्रेजी अक्षरहरू समावेश गरिन्छ वा बीज गणितको प्रयोग गरिन्छ तब यो विषय अव्यावहारिक लाग्न थाल्छ । त्यसपछि यसको अर्थ व्यावहारिकतामा बुझन र बुझाउन भन्दा घोक्न र घोकाउनतिर बढी जोड दिइन्छ । जसबाट यो विषय निरश बन्दै जान्छ ।
हुनत सामान्यतः धेरै विद्यार्थीहरू बीज गणितका समस्याहरू सजिलै समाधान गर्न सक्छन् । उनीहरू अङ्क गणित र ज्यामितीका समस्या समाधानमा बढी अल्मलिन पुग्छन् । तर बीज गणितको समस्या समाधानको उपाय लामो समयसम्म उनीहरूको स्मरणमा रहिरहन सक्दैन किनकि दैनिक व्यवहारमा कहीँ कतै यसको प्रयोग भएको पाइँदैन । त्यसैले यो जति छिटो सम्झन्छि त्यति नै छिटो बिर्सिन्छन् ।
अति व्यावहारिक गणित अथवा अङ्क गणित झन् विद्यार्थीहरूको लागि भुलभुलैया जस्तो लाग्न थाल्छ । शुरु बाट प्रश्न पढ्दै जाँदा अन्त्यमा पुग्दासम्म त्यसले भन्न खोजेको कुरा नै थाहा हुँदैन अनि कसरी समाधान गर्ने ? ज्यामिती त झन् सबैभन्दा गाह्रो रे ! कतिपय मध्यम र न्यूनस्तर का विद्यार्थीले त यसलाई आफ्नो अध्ययन तालिकाबाट नै झिकिदिन्छन् ।
त्यस्तै, मावि र निमावि तहको गणितमा ‘समूह’ पाठ्यपुस्तकको एकाई एकमा राखिएको हुनाले अधिकांश शिक्षकले यो विषयलाई अध्यापनगराउँछन् । तर क्षेत्रमिति, त्रिकोणमिति, सम्भाव्यता, तथ्याङ्कशास्त्र जस्ता विषयको त निमावि तहसम्मका विद्यार्थीहरूलाई सामान्य जानकारीसम्म हुँदैन । जब यसको आधारभूत धारणा नै स्पष्ट हुँदैन तब त्यो विषय सधैँ नै समस्या बन्न जान्छ । अहिले आएर सार्वजनिक विद्यालयमा पढ्ने अधिकांश विद्यार्थीहरू कहिले एसएलसी पास गरिएला र यो गणितबाट छुटकारा पाइएला भन्ने सोच्छन् ।
परम्परागत सोच
आज जब हामी गणितलाई गाह्रो विषय भनेर छलफल गरिरहेका छौं, निश्चय नै हामीले चाहेर वा नचाहेर यसलाई झन् गाह्रो बनाइरहेका छौं । कुनै पनि धारणा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भइरहेको हुन्छ । हामीले गाह्रो भनिरहेको विषय स–साना नानीहरूमा पनि गाह्रोकै रूपमा स्थापित भइदिन्छ । कुनै कुरा गाह्रो वा अप्ठ्यारो छ भन्ने थाहा पाएपछि एकदम कम मानिस मात्र त्यो अप्ठ्यारोलाई सहज बनाउन लाग्छन् । अन्य मानिस त त्यतातिर चासो पनि दिन चाहँदैनन् । अधिकांशको धारणा सबैले गाह्रो भनेपछि निश्चय नै सजिलो छैन भन्ने हुन्छ । त्यसैले गणितकोगाँठो फुस्किने भन्दा झन् झन् कस्सिँदै जान्छ ।
शिक्षककेन्द्रित शिक्षण विधि
गणित एक अभ्यास मूलक विषय हो । यसमा विद्यार्थीहरू जति अभ्यास गर्दै जान्छन् त्यति यसका भाषाहरूमा भिज्न सक्छन् । तर हामी धेरैले अध्यापन गर्दा ‘शिक्षककेन्द्रित शिक्षण विधि’ प्रयोग गरिरहेका हुन्छौं । गणितको कक्षा अरूभन्दा शान्त हुन्छ । किनकि त्यहाँ विद्यार्थीका जिज्ञासा, छलफल र अन्तरक्रिया हुँदैनन् । शिक्षक कक्षामा पस्छ । अभ्यास का अप्ठ्यारा समस्याहरू छानेर बोर्डमा समाधान गर्छ । विद्यार्थीहरू खुरुखुरु त्यसलाई कापीमा उतार्छन् । अलिकति रराम्रो विद्यार्थीले शिक्षकले गरेको जस्तै अन्य समस्याहरू नक्कल गरेर समाधान गर्न सक्छन् तर मध्यम र न्यून क्षमता भएका विद्यार्थीका अधिकांश कापीका पन्नाहरू खाली भेटिन्छन् ।
गणित प्रयोगशाला नहुनु
गणित एक प्रयोगात्मक विषय हो । यो आफैँ केही बोल्दैन, जब यसलाई प्रयोग गरिँदैन भने । यसमा समावेश भएका विभिन्न समस्याहरू हराम्रो दैनिक जीवनमा प्रयोगमा आइरहेका हुन्छन् । समूह, नाफा–नोक्सान, प्रतिशत, ब्याजदर, कमिशन र कर, मिसावट, क्षेत्रमिति, त्रिकोणमिति, सम्भाव्यता, तथ्याङ्कशास्त्र जस्ता विषयहरू प्रयोगात्मक रूपमा देखाउन सकिन्छ । तर हामी यी विषयहरूलाई केवल चक र बोर्डको प्रयोग गरी सिकाइरहेका हुन्छौं ।
जब हामी एउटा पिरामिडको चित्र कोर्छौं विद्यार्थीले त्यसको वास्तविक ठोस आकार नै पहिल्याउन सक्दैनन् । तब उनीहरूले यसको आयतन वा क्षेत्रफलको लागि १/३ ब्×ज वा उजंद्दब् को भर पर्नुपर्ने हुन्छ । जुन कुरा कुनै पनि बेला बिर्सन वा उल्टो पर्न सक्छ । विज्ञानलाई प्रयोगात्मक विषय भनेर यसको छुट्टै प्रयोगशाला हुन्छ र प्रयोगात्मक परीक्षाहरू लिने गरिन्छ । तर गणितमा यसको आवश्यकता पनि महसूस भए जस्तो देखिँदैन । कतिपय विद्यालयका मेहनती शिक्षक र विद्यार्थीले आफ्नै प्रयासमा गणितका सामान्य प्रयोगात्मक कक्षाहरू सञ्चालन गरे पनि यसले व्यापकता पाउन सकेको देखिँदैन ।
मूल्याङ्कनको कमी र विद्यार्थीको अधिक चाप
सार्वजनिक विद्यालय भन्नाले सबैको समान अधिकार भएको विद्यालय भन्ने बुझिन्छ । सबैको हो भन्नुको अर्थ कसैको पनि होइन भन्ने जस्तो भइरहेको छ । यस्तो विद्यालयमा कामको मूल्याङ्कन, पुरस्कार र दण्ड भन्ने कुरा हरू राजनीतिक आग्रह र पूर्वाग्रहमा निर्भर गर्छन् । त्यस्ता विद्यालयका शिक्षकहरू क्षमतावान् र प्रशिक्षित भए पनि त्यसको सही प्रयोग गरिरहेका हुँदैनन् । किनकि त्यहाँ जसले जे गरे पनि हुन्छ, कामको कुनै मूल्याङ्कन हुँदैन । आफ्नो कामप्रति इमान्दार तर चाकडी गर्न नसक्ने शिक्षकहरूको क्षमताको कुनै मूल्याङ्कन हुँदैन । त्यसैले उनीहरूको जाँगर पनि मर्दै जान्छ ।
अर्कोतिर एउटै कक्षाकोठाभित्र ९०/१०० विद्यार्थीहरू राखेर अध्यापन गराउनु पर्ने बाध्यता छ । यस्तो अवस्थामा न त शिक्षकले सबै विद्यार्थीलाई उचित समय दिन सक्छ न उनीहरूका सबै जिज्ञासा समाधान गर्न सक्छ । यस्तो अवस्थामा कुनै पनि विषय केवल पढाउनको लागि वा सकाउनको लागि पढाउन सकिन्छ न कि सिकाउनका लागि ।
शिक्षक विद्यार्थीबीच सुमधुर सम्बन्धको अभाव
‘हिसाब देखेपछि पिसाब आउँछ’ धेरै विद्यार्थीले प्रयोग गर्ने शब्द हो यो । यसका दुई कारण छन्ः पहिलो ; गणित त्यसै अस्पष्ट र गाह्रो ठान्छन् उनीहरू । दोस्रो, गाह्रो विषय पढाउने शिक्षक पनि कडा नै हुनुपर्ने रे ! ताकि विद्यार्थी नजिक पर्नै नसकुन् । यस्तो अवधारणाले गर्दा शिक्षक र विद्यार्थीको सम्बन्ध नजिकिन सक्दैन । जब शिक्षकसँग को सम्बन्ध नै सुमधुर हुँदैन भने त्यो शिक्षकको विषयप्रति विद्यार्थीको चासो कम हुँदै जान्छ । जसले गर्दा उनीहरू यो विषयमा शिक्षकको कारबाहीबाट कसरी जोगिने भन्ने मात्र सोच्न थाल्छन् ।
उच्च शिक्षाको अव्यावहारिक शिक्षण पद्धति
म करीब आठ वर्षअघि पद्मकन्या क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययन गर्दा क्याल्कुलस पढाउने शिक्षकसँग ‘सर ! यो क्याल्कुलसको प्रयोग कहाँ गर्न सक्छौं ?’ भन्ने प्रश्न गर्दा उहाँले भन्नुभएको थियो–‘हामीले बोर्डबाट सिक्यौं र अहिले बोर्डमा नै प्रयोग भइरहेको छ । तिमीहरूको पनि त्यही हुन्छ ।’
यस्तो सिकाइ गरेर आएको जनशक्तिले भोलिको पीँढीलाई के सिकाउने ? गणितमा स्नातकोत्तर गरेको विद्यार्थीलाई कुनै एउटा सिद्धान्तको औचित्य र प्रयोगको बारेमा सोध्यो भने ऊ अवाक् हुन्छ । किनकि उसले ती सिद्धान्तहरू केवल रटेको भरमा पास गरेको हुन्छ । यस्तो उच्च शिक्षा अध्ययन गरेर आएका विद्यार्थीहरू भोलि शिक्षण पेशामा आउँदा उनीहरूले के दिनसक्छन् ? जसले आफू पनि अस्पष्ट र अन्योलको बीचमा केवल शब्द शब्द सुगारटाइ गरेर चार घण्टामा कापीको पन्ना भरेको भरमा उच्च शिक्षा उत्तीर्ण गरयो उसले आफूभन्दा तल्लोलाई त्योभन्दा अरू के सुझाव दिन सक्छ र ? यी र यस्तै समस्याहरूले गर्दा आज गणित सबैको टाउकोदुखाइको विषय भएको छ ।
उषा पौडेल
गोगन मावि,गगनगौँडा, कास्की
हालः त्रिवि, कीर्तिपुर
शिक्षकको दक्षता मुख्य कुरा
गणित विषय गाह्रो बनाएको शिक्षकले हो । कारण गणित विषय बढाउने शिक्षकहरू प्रायः सबैको योग्यता पुगेको छ तर ती सबै दक्ष छैनन् । दक्ष शिक्षकको व्यवस्था गर्नु वा शिक्षकको दक्षता बढाउनु यस समस्याको एउटा मुख्य समाधान हो । यसबाहेक गणित विषयको सिकाइ उपलब्धि पूरा गर्न पाठ्यभार बढाउने, विद्यालयले गणित शिक्षणमा विशेष जोड दिने, गणितलाई बढीभन्दा बढी व्यवहारमुखी शिक्षण गर्ने जस्ता काम पनि गर्नु पर्छ । गणितको समस्या समाधान गर्नु भनेको उत्तर मिलाउनु मात्र होइन भन्ने सबैले बुझन आवश्यक छ ।
कर्मागेलु शेर्पा
जुनबेसी मावि, सोलुखुम्बु
धन्न पढिएछ !
‘इतना भी नहीं आता’ भन्दै कक्षा आठ पढ्दा गणितका शिक्षकले हत्केलामा डस्टरले कुटेको घटना आज पनि मेरो मनमा ताजै छ । सबै विद्यार्थी उस्तै हुँदैनन् । कसैले चाँडो बुझछन् । कसैले ढिलो र कसैले त बुझदै बुझदैनन् भने कसैले बुझने अवसर नै पाउँदैनन् । म अरू विषयभन्दा गणित ढिलो बुझनेहरूमध्ये पर्थें । प्राथमिक तह छिचोल्दासम्म सबै विषयमा पास भएको सम्झना छैन । तर कक्षा सात देखि भने चालीस जनामा दोस्रो स्थान हासिल गर्दै गएँ । गणित विषयमा कमजोर भएकै कारण तल्लो कक्षामा औसत विद्यार्थी रहे पनि माथिल्लो कक्षा पुगेपछि राम्रा विद्यार्थीको पंक्तिमा दरिन पाउँदाको सुखद् अनुभवले मन आज पनि फुरुङ्ग हुन्छ । एसएलसीमा गणितमा बल्लतल्ल पास भए पनि विज्ञान समूहमा रराम्रो अङ्क ल्याएकाले ठूलाबडाको परामर्श शिरोधार्य गर्दैै विज्ञान पढें ।
स्कूल देखि को गणितसँग को पौंठेजोरी कलेजसम्म चलिरह्यो । आज सम्झन्छु मलाई पढाउने गणितको शिक्षकले बालमनोविज्ञान बुझेर र शैक्षिक सामग्रीको प्रयोग गरेर पढाइदिएको भए मेरो गणितसँग को सम्झना त्यति नरमाइलो हुँदैन थियो होला । झन्डै तीन दशकअघि मैले पाएको शिक्षा र वर्तमान शिक्षामा आज पनि म त्यति धेरै फरक देख्दिनँ । किनभने आज पनि बहुसङ्ख्यक विद्यार्थीहरूले पनि मेरै अवस्था भोगिरहेका छन् ।
आज आएर हेर्दा म गणितमा कमजोर हुनुमा एउटा पक्ष मात्र जिम्मेवार ठान्दिनँ । मैले पढेको वातावरण विद्यार्थीलाई जुनसुकै विषयमा पनि कमजोर बनाउन पर्याप्त थियो । म पढ्ने स्कूलमा हिन्दी माध्यममा पढाइ हुन्थो । त्यो स्कूल अर्ध–सरकारी भएको ले अभिभावकहरूले महिनैपिच्छे शुल्क तिर्नु जानुपर्दैनथ्यो । शुल्क तिर्नु स्कूल जाने अभिभावकहरूले पनि आफ्ना छोराछोरीको पढाइका बारेमा सोधखोज गर्ने चलन थियो जस्तो लाग्दैन । त्यस्ता कुरा सोध्ने अवस्थासम्म धेरै अभिभावकहरू पुगेकै थिएनन् । यस्तो अवस्थामा अभिभावकलाई दोष दिन मिल्दैन । सँगै शिक्षकलाई मात्र पनि दोष दिन मिल्दैन । ऊबेलाका शिक्षकहरू जो भएको शैक्षिक योग्यताका भरमा मात्र जागिर खान थाल्थे । तालिम नपाएका शिक्षकलाई बालमनोविज्ञानका कुरा र शैक्षिक सामग्री भनेको के हो भन्ने जस्ता कुरा थाहा नहुनु स्वाभाविक हो ।
यसरी हेर्दा मैले स्कूल पढ्दा गणित ढिलो बुझनु वा बुझदै नबुझनुमा म आफ्नो कमजोरी वा गल्ती देख्दिनँ; बरु धन्न पढेछु जस्तो लाग्छ । यस्तै अन्तर्राष्ट्रिय मापदण्डभन्दा तीन चारगुणा बढी विद्यार्थीलाई एउटै शिक्षकले पढाउनु पर्ने बाध्यताले गर्दा पनि विद्यार्थीहरूलाई जान्नुपर्ने जति जान्न पाउँदैन ।
तीमध्येको कुन कारणले म गणितमै कमजोर भएँ भन्ने कुरा पर्गेल्न गाह्रो छ ।
शिक्षण पेशा चुनौतीपूर्ण पेशा हो । तर पेशा चुनौतीपूर्ण भए पनि यो सबैभन्दा सहज रूपमा र कुनै बौद्धिक प्रतिस्पर्धा न गरी आबद्ध हुन सकिने पेशा पनि भएको छ । राजनीतिक पकड हुनेहरूमध्ये धेरैले आफन्तलाई सामुदायिक विद्यालयमा जागिर खुवाएका छन् । यस्ता न देखि ने कतिपय कारणले गर्दा पनि विद्यार्थीका थुप्रै समस्या ओझाेलमा परेका छन् । तीमध्ये गणित विषयमा बहुसङ्ख्यक विद्यार्थी कमजोर हुनु पनि एक हो ।
मधु राई
संस्थापक सहजकर्ताः सुम्निमा शिशु स्याहार तथा बाल विकास केन्द्र, पिछराचोक विराटनगर–१५
बुझाउनै सकिँदैन
अब कसले बनायो गणितलाई गाह्रो भन्ने सवालमा कुनै एक पक्षले मात्र गाह्रो बनाउन सक्ने होइन । मुख्यतः अन्य विषयभन्दा गणितमा एउटा ठीक उत्तर अर्थात्, इण्डिकेटर हुन्छ भने अन्य कतिपय विषयहरूमा इण्डिकेटर हुँदैन । भन्नुको अर्थ गणितमा एउटा निश्चित उत्तर हुन्छ भने अन्य विषयहरू नेपालीको व्याकरण र अङ्ग्रेजीकोग्रामरजस्ता बाहेक अरूमा निश्चित उत्तर हुँदैन, त्यसलाई व्याख्या गर्ने भाषा, शैली र बुँदाहरूको मात्र मापन गरिन्छ । यसर्थ, गणितमा हिसाब गरिसकेपछि मिल्यो मिलेन जाँच्ने काम पनि गर्न सकिन्छ । त्यसै गरी गणितमा चरण चरणको प्रक्रिया मिल्यो मिलेन र अब के गर्नु पर्छ भनेर छुट्याउन सकिन्छ । यसकारण गणित विषय आफैँमा गाह्रो विषय होइन । यसलाई सिकाउने गुरुले सजिलो माध्यमबाट सिकाउने हो भने र विद्यार्थीले पनि ध्यानपूर्वक अध्ययन गर्ने र धेरैभन्दा धेरै अभ्यास गर्ने हो भने अन्य विषयभन्दा पनि सजिलो हुन जान्छ । शिक्षकले बुझाउन नसकेकाले र विद्यार्थीलेग्रहण गर्न नसकेका कारण नै गणित विषय गाह्रो बन्न पुगेको हो ।
रामसुन्दर देउजा
पनौती नपा–१, काभ्रे
जिम्मेवारी विद्यार्थीको पनि हुन्छ
कुनै पनि विषय गाह्रो वा सजिलो हुनेमा प्रभाव पार्ने तत्वहरू धेरै छन् । यी तत्वहरूको एकअर्कासँग गहिरो सम्बन्ध रहेको छ । कुनै उद्देश्य सफलतापूर्वक हासिल गर्न एक तत्व वा व्यक्तिले मात्र सम्भव हुँदैन । त्यस उद्देश्य अनुरुप काम पूरा गर्न त्यससँग सम्बन्धित व्यक्तिहरूको उत्तिकै सक्रिय सहभागिता, लगनशीलताका साथ आफ्नै जिम्मेवारी हो भन्ने दायित्वको बोध नभई उद्देश्य प्राप्ति गर्न सफल होइँदैन । त्यसकारण कुनै पनि विषय गाह्रो वा सजिलो हुनुमा यससँग सम्बन्धित व्यक्तिहरूको उत्तिकै सक्रिय, लगनशील, आफ्नो भन्ने भावनाबाट उत्प्रेरित भई दायित्वबोध हुनु अति नै आवश्यक हुन्छ । सबै तत्वहरूको प्रयासबाट नै लक्ष्यमा पुग्न सफलता मिल्छ ।
यसै गरी गणित विषयलाई गाह्रो वा सजिलो हुनुमा पनि प्रभाव पार्ने तत्वहरू धेरै छन् । तीमध्ये शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रमुख रूपमा लिन सकिन्छ । गणित विषयलाई पूर्णता दिनका लागि शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्वपूर्ण रूपमा रहेको छ । कुनै एकको अभावमा विषयवस्तुलाई पूर्णता दिन सकिँदैन ।
मानौं, गणित शिक्षक लगनशील, मेहनती, विषयवस्तुको गहन अध्ययनशील, प्रभावशाली, नयाँ–नयाँ शिक्षण प्रविधिको ज्ञाता तथा नवप्रवर्तक भए तापनि यदि विद्यार्थीहरू अल्छी, लगनशील नभएका, अध्ययन गर्ने बानी नपरेका र अभ्यास गर्ने समय नपाएका छन् भने शिक्षकले जति नै रराम्रो तरिकाले सिकाइबुझइ गरे तापनि विद्यार्थीका लागि उक्त सिकाइ दीर्घकालीन रूपमा प्रभावकारी हुन सक्तैन । सिकाइ प्रभावकारी हुनको लागि सिकेको वा बुझेको विषयवस्तुलाई फेरि दीर्घकालसम्म प्रभावकारी बनाइराख्न नियमित अभ्यास को बढी महत्व हुन्छ । अभ्यास गर्नका लागि समयको विशेष भूमिका रहेको हुन्छ । समयको व्यवस्थापन गरिदिने काम अभिभावकको काँधमा जान्छ । अभिभावकले आफ्ना नानीहरूलाई नियमित रूपमा गृह कार्य गरे न गरेको बारेमा विशेष ध्यान दिनुपर्दछ ।
गणित विषय एक कठिन विषय हो भन्ने धारणा प्रायः सबै व्यक्तिमागढेको छ । तर यसलाई राम्ररी बुझेर नियमित रूपमा अभ्यास गर्न गराउन सके यो विषय सरल हुनसक्छ । नियमित अभ्यास गराउने क्रममा यदि अभिभावकले आफ्ना नानीहरूलाई विशेष समय दिएर गणितको गृह कार्य एवं अभ्यास गर्न सहयोग गरिदिएको खण्डमा यो विषय सरल बनाउनमा मद्दत पुग्नेछ ।
कुनै पनि विषयवस्तुलाई पूर्णता दिन यी माथि उल्लिखित तीनवटै तत्वको अति नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । एकको अभावमा यो पूर्ण हुन सक्तैन । गणित विषयलाई प्रभाव पार्ने तत्वहरूलाई एउटा त्रिभुजको संज्ञा दिने हो भने शिक्षक, विद्यार्थी र अभिभावक त्रिभुजको शीर्ष बिन्दुहरूको भूमिका खेलेको हुन्छ । यी शीर्ष बिन्दुहरू त्रिभुजको मुख्य भाग हो । तसर्थ, कुनै पनि विषयवस्तु सिक्नको लागि तीनवटै व्यक्तिहरूको भूमिका गहन हुन्छ । कुनै पनि विशेष वस्तु सिक्न शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुन्छ ।
सिक्नको लागि विद्यार्थीको रुचि, चाहना, उमेर, लगनशीलता आदिको अति नै आवश्यकता हुन्छ । शिक्षकले विद्यार्थीको रुचि, आवश्यकता, उमेर आदिको पूर्व ज्ञानको आधारमा स्थानीय शैक्षिक सामग्रीहरू प्रयोग गरी प्रभावकारी तवरले शिक्षण गर्ने , अभिभावकले आफ्ना नानीहरूलाई अभ्यास गर्न वा गृह कार्य गर्न उचित समय दिन सके जुनसुकै विषय पनि विद्यार्थीलाई सिक्न र शिक्षकलाई सिकाउन उत्ति नै जाँगर र शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुन जान्छ र जुनसुकै विषय पनि उत्तिकै सरल हुन्छ । अतः गणित विषय सजिलो बनाउनको लागि तीनवटै तत्वहरूको गहन भूमिका भए तापनि विशेष भूमिका गणित शिक्षकको नै हुन्छ । शिक्षक, विद्यार्थी र विषयवस्तुबीचको पुलको रूपमा रहेको हुन्छ । विषयवस्तुको ज्ञान दिने पहिलो व्यक्ति शिक्षक हो । शिक्षकमा विषयवस्तुको गहन ज्ञान हुनुपर्दछ । शिक्षक मेहनती, लगनशील, नैतिकवान्, चरित्रवान्, शारीरिकरूपले स्वस्थ, धैर्यवान्, तालिमप्राप्त भई स्थानीय सामग्री प्रयोग गरी शैक्षिक सामग्री निर्माण गर्न सक्षम बहुआयामिक प्रतिभा भएका जिम्मेवार व्यक्ति हो ।
शिक्षक विद्यार्थीको भविष्य निर्माणकर्ता हो । विषयवस्तु सरल र सहज तरिकाले सिकाउने मुख्य भूमिका शिक्षकको हो । शिक्षकले विषयवस्तुलाई सरल र सहज तरिकाले सिकाइयो भने विद्यार्थीलेग्रहण गर्न सजिलो हुन्छ । किनभने विद्यार्थी भनेको काँचो माटो हो, त्यस काँचो माटोलाई कुमालेबाट विभिन्न भाँडाको रूपमा ढाल्न सक्छ । त्यसै गरी शिक्षकले पनि विभिन्न प्रक्रिया अपनाई आफूले जाने–बुझेका कुरा हरूलाई शिक्षण विधि, शैक्षिक सामग्री र नयाँ–नयाँ शिक्षण विधि प्रयोग गरी गणित विषय अध्यापन गराए र विद्यार्थीहरूलाई गणित विषय सजिलो तवरले सिकाइ गणित विषय गाह्रो विषय होइन भनेर प्रभाव पार्न सकिन्छ । विशेष गरेर गणित विषयलाई सजिलो बनाउन विद्यार्थीको पूर्व ज्ञानमा आधारित तरिकाले शैक्षिक सामग्रीहरूको प्रयोग गरी सजिलोसँग शिक्षण विधि प्रयोग गरी विद्यार्थीलाई विषयवस्तुको स्पष्ट रूपमा पहिचान गराई बढी अभ्यास गराउन लगाए यो विषय ( गणित) सजिलो र प्रभावकारी हुनेमा दुईमत छैन ।
यसरी शिक्षकले प्रभावकारी तरिकाले पढाएको विद्यार्थीले क्षणिक रूपमा बुझछ भने यसलाई दीर्घकालसम्म जीवन्तता दिने पूर्ण दायित्व विद्यार्थीको हुन्छ । गणितका सूत्रहरूलाई सम्झ्रिाख्न बढी अभ्यास को आवश्यकता पर्दछ । अभ्यास बिना गणित विषय पूर्ण हुनसक्दैन । त्यसैले विद्यार्थीमा अभ्यास गर्ने बानी अनिवार्य रूपमा हुनैपर्छ । अभ्यास को समय मिलाइदिने जिम्मेवारी पूर्ण रूपमा अभिभावकको हुन्छ । तसर्थ, गणित विषय सजिलो पार्न सर्वप्रथम शिक्षकले विद्यार्थीलाई बुझाउने र सम्झ्न सक्ने गरी अध्यापन गर्ने र विद्यार्थीले पनि बुझेको कुरा लाई नियमित रूपमा अभ्यास गर्ने बानी बसालेमा गणित विषय ज्यादै सजिलो हुन्छ ।
सानुमैया शाक्य (बज्राचार्य)
गणित शिक्षक, मदन स्मारक मावि, पुल्चोक



