आउनुहोस्, छलफल गरौं !
माथिको तालिका, शिक्षा मन्त्रालय र नेपाल शिक्षक युनियनद्वारा संयुक्त रूपमा प्रकाशित शिक्षा विकास का सवालहरूबारे सरोकारवालाहरूको क्षेत्रीय र राष्ट्रिय सम्मेलनहरूको प्रतिवेदन–२०६४ मा छापिएको “विद्यालयमा सरोकारवालाहरूको अनुपस्थिति विषयक प्रतिवेदन– २०६३” बाट लिइएको हो । सो प्रतिवेदन, शिक्षक युनियनको अग्रसरता र शिक्षा मन्त्रालय तथा
शिक्षा क्षेत्र सल्लाहकार समूह (इस्याट) को आर्थिक एवं प्राविधिक सहयोगमा देशका पाँचै विकास क्षेत्रमा सञ्चालित “विद्यालयमा सरोकारवालाको अनुपस्थिति” सम्बन्धी कार्यशालाहरूबाट प्राप्त सूचनामा आधारित रहेको उल्लेख गरिएको छ ।
तालिका यहाँ पुनर्मुद्रित गर्नु को उद्देश्य– यो विषयमा अलि बढी छलफल होस् भन्ने रहेको छ । तालिका आफैंमा अपूर्ण वा अवैज्ञानिक पनि हुनसक्छ, तर पनि दशौँ लाख खर्च गरी पाँच क्षेत्रमा गरिएका कार्यशालाहरूबाट प्राप्त विवरणलाई निराधार भनेर त्यसै पन्छाउन पनि मिल्दैन । यसर्थ, यो सवाललाई आम शिक्षक, शिक्षकका प्रतिनिधि संस्था, अभिभावक र सरकारका पदाधिकारीहरूले गम्भीरतापूर्वक लिनैपर्ने हुन्छ ।
हाल प्रचलनमा रहेको शिक्षा नियमावलीले विद्यालयहरू वर्ष (३६५ दिन) मा २२० दिन खुल्नुपर्ने र न्यूनतम १८० दिन पढाइ हुनुपर्ने व्यवस्था गरेको छ । तर एउटा औसत शिक्षकले वर्षमा जम्मा ७९.१ दिन मात्र पढाउने गरेको तालिकाले देखाउँछ । यदि बाँकी १०१ दिन वैकल्पिक वा अर्को शिक्षकले पढाउँछन् भन्ने मान्ने हो भने पनि त्यसनिम्ति थप १.२ जना अर्थात् दुईजना शिक्षक चाहिने हुन्छ, जुन व्यवहारतः सम्भव छैन ।
प्रतिवेदनमा, एउटा शिक्षक कक्षाकोठामा औसत १० मिनेट ढिलो पस्ने र ५ मिनेट चाँडो निस्कने तथा हाजिर गरेर नपढाई वा आधा पढाएर वर्षमा १० दिन कक्षामा अनुपस्थित रहने गरेको पनि उल्लेख छ । यसरी खेर जाने समयलाई दिनमागणना गर्दा वर्षभरिमा ४१.६ दिन हुने रहेछ । यहाँ ध्यान दिइनुपर्ने पक्ष के हो भने, यी ४१.६ दिन बाहेक कक्षा हुन नसकेर खेर जाने अन्य दिनहरूका निम्ति शिक्षकहरूको प्रत्यक्ष संलग्नता वा त्रुटि देखिँदैन । समस्या; राज्य, सरकार र सामाजिक, राजनीतिक प्रणालीमै अन्तर्निहित रहेको देखिन्छ ।
न्यूनतम १८० दिन चल्नुपर्ने कक्षाहरू ८० दिन मात्र चल्दा विद्यार्थी, अभिभावक, समाज र राष्ट्रलाई के कति क्षति भइरहेको होला ? १८० दिनको निम्ति बनाइएको पाठ्यक्रम ८० दिन मात्र पढाइँदा विद्यार्थीको सिकाइ लक्ष्य र उपलब्धिमा के कस्तो असर परेको होला ? वर्षमा १३ महिनाको तलब थापेर तीन महिनाभन्दा कम कक्षा लिएको बुझेका वा थाहा पाएका अभिभावकहरूको मनमा शिक्षकका बारेमा कस्तो धारणा या छवि बनेको होला ?
यो विषयमा आफ्नो धारणा, टिप्पणी वा सुझाव लेख्न विशेष गरी सामुदायिक (सरकारी) विद्यालयका शिक्षकहरूलाई आग्रह गर्छौं । अभिभावक र सरकारी अधिकारी तथा प्रबुद्ध नागरिकहरूका सुझाव र प्रतिक्रियाहरू पनि अपेक्षित छन् । प्राप्त सुझाव–प्रतिक्रियालाई शिक्षक ले यथोचित स्थान दिनेछ ।



