अक्षर त जादुजस्तै लाग्यो

म अक्षरमा विश्वास गर्छु । किनभने अक्षरमा जीवन बदल्ने शक्ति हुन्छ । अक्षरमा लुकेको त्यो शक्तिलाई मैले प्रौढ कक्षामा भर्ना भएको पहिलो दिन नै चिनें । त्यहाँ मैले पहिलो पटक मेरो नामका अक्षरहरूलाई नजिकबाट देखें । मैले पहिलो पटक त्यहीँ थाहा पाएँ, म सबैले भन्ने गरिएकी ‘चमिली’ हैन ‘चमेली’ रहिछु । त्यतिबेला मलाई अक्षर त जादुजस्तै लाग्यो । एउटा अक्षरको सानो घुमाइले मेरो नामै फेरियो !

मलाई त्यतिबेलै के पनि लाग्यो भने– तीन वटा अक्षर चिन्दा सही नाम भेटिन्छ भने, सबै अक्षर चिन्न सके सही जिन्दगी पनि अवश्य भेटिनेछ । त्यो राति घर फर्केर आफ्नो नाम लेखेको लेख्यै गरे । आफ्नो नाम लेख्नसक्नु कति ठूलो कुरो रहेछ जिन्दगीमा ! त्यसपछि त अक्षरको मोह यति बढ्यो कि घाँस काट्न, मकैगोड्न जाँदा पनि किताबै लिएर जान थालें ।

अक्षर चिन्नुभन्दा पहिले मेरो जिन्दगी गाउँनजिकको इन्द्रसरोवर (कुलेखानी, मकवानपुर) जस्तै थियो, जमेको जम्यै । बालविवाहको पीडा थियो, श्रीमान को साथ थिएन, गरिबीको व्यथा थियो, न कुनै सीप थियो, न आँट । आजभन्दा भोलि; भोलिभन्दा पर्सि जिन्दगी झन् झन् अप्ठेरो हुँदैथियो । तर गाउँमा पढ्ने– लेख्नेहरू बढ्दै थिए; उनीहरूको जिन्दगी चैं आजभन्दा भोलि सजिलो भएको देखि न्थ्यो । अनि मलाई लाग्न थाल्यो कि धनले न रुपले, जिन्दगीमा धोका दिएको त अक्षरले पो रहेछ ! २०५१ साल माघ ९ गतेको साँझ् मैले पहिला तीन अक्षर चिनेँ ।

जब अक्षरको जादुले मभित्र आत्मविश्वास र आँट भर्दै गयो मलाई थप खुल्दुलीले सताउन थाल्यो– “प्रौढकक्षामा ‘नयाँगोरेटो’ भन्ने एउटा किताबका सानातिना अक्षर र अंक सिक्दा मात्रै जिन्दगी यति सजिलो हुन्छ भने स्कूल, क्याम्पसका मोटा– मोटा किताबका सबै अक्षरको अर्थ जान्नेहरूको जिन्दगी कति आनन्दी हुँदो हो ?” र मैले अठोट गरें, मेरो जिन्दगी त यस्तै भयो तर मेरा भाइबहिनीहरू ती सबै अक्षरहरूसम्म पुग्न पाउनुपर्छ जहाँसम्म उनीहरू पुग्न चाहन्छन् ।

त्यसको लागि एउटा समस्या थियो, घर मुन्तिर को तसर खोला । बाँकी संसार खोलापारि थियो, बर्खामा खोला तर्न नसक्दा हराम्रो गाउँका केटाकेटीहरू स्कूल नै जान पाउँदैनथे । मैले त्यहाँ एउटा पुलको सपना देखें । अक्षरको जादुले दिएको आँट समेलेर तसर खोला माथि पुल हाल्न सबैलाई गुहारें ।


शुरु मा मेरो आँटलाई गाउँलेले पत्याएनन् । सहयोग पनि आएन । कतिले त चमेलीलाई मात्र चाहिने ‘चमेली पुल’ भन्दै खिसी गरे । धेरै हारगुहार र दौडधुपपछि सामान पाइयो, श्रमदान जुट्यो र पुल बनेरै छोड्यो । अहिले स्कूल–क्याम्पस जाने केटाकेटीहरू पुलमा खुरुरु दौडेको देख्दा कम्ती सन्तोष लाग्दैन !

शुरु मा पुल बनाउने सपनाको बीउ उमार्ने काम अक्षरको चेतले गरयो  । तर पुल ठडिन सपना मात्र पर्याप्त थिएन । त्यहाँ दुई–तीन सय गाउँलेको काँध थियो र त्यो सम्भव भयो । खोलाको लागि फलामको पुल, मान्छेको लागि अक्षरको पुल अनि समुदायको उन्नतिका लागि समूहकै पुल चाहिने रहेछ । सबै नमिली केही नहुने रहेछ ।

म आज पाँच वटा स–साना महिला बचत समूहहरूको अगुवाई गरिरहेकी छु । चुरा–टीकामा जाने मासिक दश– बीस रुपैयाँ जो गाउँदा आज ती बचत समूहहरूमा दुई–अढाई लाख जति जम्मा भइसकेको छ । अक्षरप्रतिको विश्वास र यिनै समूहहरूको आडले आज मेरो मात्र हैन गाउँका धेरै महिला, केटाकेटीहरूको जीवन फेरिएको छ । छिटै गाउँमै एउटा सहकारी पनि खोल्दैछौं । महिलाहरूको लागि स्थायी साक्षरता कक्षा र पुस्तकालय खोल्नका लागि पनि पहल गर्दैछौं । बालसमूह र युवा समूह बनाएर सबैलाई समूहमा बाँध्ने उपाय पनि सोचिरहेका छौं ।

यो सबै; मैले ढिलो गरी चिनेका तिनै अक्षरहरूको देन हो । अक्षरभित्र  अनन्त शक्ति र धेरै धेरै जादुहरू लुकेका हुँदा रहेछन् । अक्षरको त्यो शक्ति पहिल्याउन र त्यसबाट प्राप्त हुने अवसरहरू सबैले समात्न सकून् भन्ने मेरो इच्छा र प्रार्थना दुवै हो ।

आखिर संसारमा सबैभन्दा ठूलो अक्षरै रहेछ !

(यो कथन एन्टेना फाउण्डेशन नेपालको कार्यक्रम मेरो जिन्दगी मेरो विश्वासबाट लिइएको हो ।)

 

commercial commercial commercial commercial