प्रयोगात्मक नै भएन

यस पटकको एसएलसी परीक्षामा देशभरिमा झण्डै ६४ प्रतिशत छात्रछात्रा उत्तीर्ण भए पनि एसएलसीमा सामेल धनुषाको जानकी माविका १७४ छात्रछात्रामध्ये जम्मा ५९ जना मात्रै उत्तीर्ण भए । विज्ञान शिक्षक सुरेश मिश्रका अनुसार, उत्तीर्णमध्ये अधिकांशले विज्ञान विषयमा न्यून अङ्क हासिल गरेका छन् । जानकी माविमा ३७ वर्ष विज्ञान शिक्षण गरेका मिश्रले प्रयोगात्मक कक्षा सञ्चालन गरेको विरलै भेटिन्छ । “प्रयोगशाला र प्रयोगात्मक सामग्री नै छैन, कसरी प्रयोगात्मक कक्षा सञ्चालन गर्ने ? मसँग दक्षता र सीप छ तर उपयोग भएको छैन” उनको कथन छ । उनले विद्यालयमा विज्ञानको प्रयोगात्मक कक्षाका लागि चाहिने एउटा ट्युब पनि नभएको गुनासो गरे । पाठ्यक्रमको उद्देश्य अनुसार विज्ञान शिक्षण गर्न कम्तीमा एउटा पढाउने र अर्को प्रयोगात्मक कक्षा सञ्चालन गर्ने कोठा आवश्यक रहेको मिश्रको भनाइ छ । सोही माविका अर्का विज्ञान शिक्षक दिलीप कुमार माथेमा भने ०६४ मङ्सिर देखि काज मिलाएर काठमाडौँमा बस्दै आएका छन् ।

यता काठमाडौँको विजय स्मारक उमावि, डिल्लीबजारको विज्ञान प्रयोगशालामा राखिएका डेलिभरी ट्युब, मोडल स्केलेटल, बर्नर,ग्याँस जार, केमिकल लगायतका सामग्री प्रयोग नभएका कारण थन्किएका छन् (हे. तस्बिर) । २२ असारमा सिसाको दराजभित्र धुलोले ढाकिएको अवस्थामा देखि एका यस्ता सामग्री प्रयोगै न गरी थोत्रा भएका छन् । ती सामग्री विरलै प्रयोग हुने गरेको विज्ञान शिक्षक मीना पनेरु बताउँछिन् ।

काठमाडौं घट्टेकुलोस्थित डेरामा बस्दै आएका अर्घाखाँचीका राजन घिमिरेले जिल्लाकै शारदा मावि,गौरागोठबाट यसै वर्ष विज्ञानमा ४२ अङ्क ल्याएर एसएलसी उत्तीर्ण गरे । घिमिरेसँगै परीक्षा दिएका शारदा माविका ७८ जना परीक्षार्थीमध्ये केवल ६ जना एसएलसी परीक्षामा सफल भए । सो स्कुलका अधिकांश छात्रछात्रा विज्ञान, गणित र अङ्ग्रेजी विषयमै अनुत्तीर्ण भएका छन् । राजन भन्छन्, “कक्षा ९ र १० मा विज्ञानको प्रयोगात्मक कक्षा नभएकै कारण हामीले विज्ञान विषयलाई रराम्रोसँग बुझन सकेनौं, प्रयोगात्मक कक्षा र अभ्यास को अभावमा हामी विज्ञानमा कमजोर भएका हौं ।”

एसएलसी परीक्षाको पछिल्ला वर्षहरूको अधिकांश नतिजा अनुसार, सार्वजनिक विद्यालयमा अङ्ग्रेजी र गणितपछि छात्रछात्रा कमजोर एवं अनुत्तीर्ण हुने महत्वपूर्ण विषयमा विज्ञान परेको छ । चिकित्सक, इन्जिनियर बन्ने धोको भएका छात्रछात्राले एसएलसीपछि पनि दुई वर्ष विज्ञान अध्ययन गर्नु पर्छ, तर विद्यालय तहमा विज्ञान शिक्षण प्रभावकारी नहुँदा डाक्टर र इन्जिनियर बन्ने चाहना राख्ने कतिपय छात्रछात्राको सपना अधुरै रहने गरेको छ ।

बहाना अनेक

कक्षा ९ र १० को विज्ञानमा पाठ्यक्रमको उद्देश्य अनुसार विज्ञान शिक्षकले शिक्षण गर्दा ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्रयोगात्मक विधि अनिवार्य रूपमा अपनाउनुपर्छ । तर, अधिकांश सार्वजनिक विद्यालयमा प्रयोगात्मक विधि अनुसार कक्षा सञ्चालन भएको भेटिँदैन । अरू विषय झैँ विज्ञान शिक्षण पनि प्रयोगात्मकको सट्टा व्याख्यान विधिमै सीमित छ ।

नेपालमा पहिलो पटक अङ्ग्रेजी पढाइ आरम्भ भएको रानीपोखरीको भानु माविका विज्ञान शिक्षक प्रमिला पोखरेलले शिक्षण गरेको ३५ वर्ष पुग्यो । १९ असारमा उनले कक्षा ८ मा छात्रछात्रालाई ‘फूलको जीवनचक्र’ पढाउँदा प्रयोगात्मकभन्दा बढी व्याख्यान विधि नै प्रयोग गरे की थिइन् । १२ छात्र र तीन जना छात्रा रहेको कक्षामा कक्षा चलेकै अवस्थामा केही छात्रछात्रा आपसमा कुरा कानी गर्दैथिए । छात्र रोशन श्रेष्ठ भन्छन्, “विज्ञान बुझन सारै कठिन भएको छ, सधैँ प्रयोगात्मक कक्षा भए बुझन सजिलो हुन्थ्यो ।” शिक्षक ले कक्षा अवलोकन गरेका कारण हुनसक्छ, पोखरेलले अरू दिनभन्दा १९ असारमा बुझिने गरी पढाएको छात्रछात्राको अनुभव छ ।

तुलनात्मक रूपमा भानु माविभन्दा केही बढी प्रयोगात्मक विधिमा विज्ञान शिक्षण गरिने काठमाडौंकै पद्मोदय माविमा ०६२ सालयता एसएलसीमा शतप्रतिशत छात्रछात्रा उत्तीर्ण भएको पाइन्छ । पद्मोदयबाट दुई वर्ष यता विज्ञानमा पनि औसत छात्रछात्राले ६० भन्दा बढी अङ्क ल्याएको प्रअ रमेशप्रसादगौतम बताउँछन् । विज्ञान शिक्षक महेश रेग्मी प्रयोगात्मक र व्याख्यान विधिमा बराबरी ध्यान दिएका कारण परिणाम रराम्रो आएको धारणा राख्छन् । भन्छन्, “दुई पिरियड व्याख्यान विधिमा पढाउनु र एक पिरियड प्रयोगात्मक विधिमा पढाउनु मध्ये पछिल्लोले जित्छ ।”   

त्यसो त निजी विद्यालयमा पनि विज्ञान शिक्षण प्रभावकारी हुन सकेको छैन ।ग्यालेक्सी पब्लिक स्कूलका विज्ञान शिक्षक किरण शर्मा प्रयोगात्मक भन्दा व्याख्यान विधि सजिलो हुने भएको ले निजी स्कूलमा व्याख्यान विधिमै शिक्षण गरिने बताउँछन् । अधिकांश विद्यालयमा विज्ञानका लागि प्रयोगात्मक सामग्री तथा प्रयोगशालाको अभावका कारण कामचलाउ पढाइ भएको उनको ठम्याइ छ ।

विगत २२ वर्ष देखि विज्ञान शिक्षण गर्दै आएका शर्मा परिणाम नरराम्रो भए पनि निजीभन्दा सामुदायिक विद्यालयमा नै बढी प्रयोगात्मक कक्षा हुने उल्लेख गर्छन् । उनको भनाइ छ, “सबै निजी विद्यालय बाहिर देखि ए जस्ता राम्रा छैनन्, विज्ञानको प्रयोगात्मक कक्षामा चाहिने रसायन किन्न पनि व्यवस्थापकसँग खुसामद गर्नु पर्छ ।” सामुदायिक तथा निजी स्कूलका प्रशासक र व्यवस्थापकले समन्वय गरे विज्ञान शिक्षण गुणात्मक हुने उनको भनाइ छ । तर काठमाडौँकै पद्मोदय माविका प्रअ रमेशप्रसादगौतम सक्षम शिक्षकले आवश्यकता अनुसार आफैंले सामग्री जुटाएर प्रयोगात्मक कक्षा लिनुपर्ने तर्क गर्छन् ।

सामुदायिक विद्यालयमा विज्ञान शिक्षण कमजोर हुनमा शिक्षकको उमेर पनि जिम्मेवार छ । सामुदायिक विद्यालयमा पञ्चायतकाल देखि का पाका शिक्षककै वर्चस्व रहेकोले तिनले प्रभावकारी शिक्षण गर्न नसकेको अनुभव हुन थालेको छ । आउँदो वर्ष उमेरको हदबन्दीका कारण अवकाश पाउने अवस्थामा रहेकी भानु माविका शिक्षक प्रमिला पोख्रेल भन्छिन्, “युवा शिक्षकले पाकाले भन्दा रराम्रो पढाउँछन् । युवामा जोश, जाँगर हुन्छ र सिकाउने तरिकामा पनि विविधता हुन्छ ।”

उमेर मात्र होइन लामो र छोटो अवधिका तालिम लिएका शिक्षकले समेत विज्ञान विषयमा प्रभावकारी ढङ्गले शिक्षण प्रभावकारी गर्न सकेका छैनन् । उता दरबन्दी अभावका कारण एउटै शिक्षकले सामुदायिक स्कूलमा धेरै विषय पढाउनु पर्ने बाध्यता छ । अरु नै विषयमा उच्च शिक्षा हासिल गरेका शिक्षकले समेत विज्ञान शिक्षण गरेका कारण विज्ञानमा छात्रछात्रा कमजोर भएका हुन् । “हाम्रा सार्वजनिक स्कूलमा एउटै शिक्षकले अङ्ग्रेजी, गणित र विज्ञान पढाउनु पर्ने अवस्था छ, विषय शिक्षकको अभावले पनि समस्या थपेको छ” पाठ्यक्रम विकास केन्द्रका अधिकृत डम्बर आङदम्बे भन्छन् । कक्षा १० को विज्ञान अन्तर्गत छात्रछात्राले भौतिक, जीव, रसायन, भू र अन्तरिक्ष विज्ञान पढ्नुुपर्दछ । विषय शिक्षकको अभाव हुनुमा रसायनशास्त्र र भौतिकशास्त्रको उच्च अध्ययन सकेको जनशक्ति विदेश पलायन भएको र देश भित्रको जनशक्ति शहरकेन्द्रित भएको ले पनि गाउँका स्कूलमा विज्ञान शिक्षकको अभाव रहेको छ ।

पाठ्यपुस्तकमै त्रुटि

विज्ञानमा विद्यार्थी कमजोर हुनुमा पाठ्यपुस्तक पनि छ । मावि तहको विज्ञानको पाठ्यपुस्तकमा अत्यन्तै संक्षिप्त सामग्री दिने, अस्पष्ट रेखाचित्र र तथ्यगत गल्ती रहेकोले कतिपय शिक्षकले विज्ञानलाई आत्मसात् गर्न नसकेकोग्यालेक्सी पब्लिक स्कूलका विज्ञान शिक्षक किरण शर्माको अनुभव छ । शर्मा भन्छन्, “माध्यमिक तहको विज्ञानको पाठयपुस्तक छात्रछात्राका लागि नभई शिक्षकका लागि तयार गरे जस्तो देखिन्छ ।” जानकी मावि धनुषाका विज्ञान शिक्षक सुरेश मिश्र पनि विज्ञान विषयको पाठ्यक्रम व्यवस्थित नभएको तर्क गर्छन् । उनको भनाइमा कक्षा १० को पाठ्यक्रम ९ मा कक्षा ९ को पाठ्यक्रम कक्षा १० मा राखिएको छ । “पाठ्यक्रम कहिले यता र कहिले उता सारिएकोले पढ्न र पढाउन गाह्रो भएको छ”, मिश्रको अनुभव छ । तर पाठ्यक्रम विकास केन्द्रका अधिकृत डम्बर आङदम्बे भने पुस्तकमा विस्तृत कुरा उल्लेख गर्दा आकार ठूलो हुने तर्क गर्दै भन्छन्, “विज्ञान विषयको तथ्य र छपाइमा कमजोरी छ ।”

गणित जस्तै विज्ञानका पाठ्यक्रमहरूमा विषयवस्तुको भार बढी रहेको छ । एसएलसी अध्ययन समूहले जुलाई २००५ मा तयार गरेको प्रतिवेदनमा भनिएको छ, “पाठ्यक्रमसँग सम्बन्धित सामग्रीहरूको विश्लेषण गर्ने हाम्रा विज्ञहरूले यी दुई पाठ्यक्रमहरू एसएलसी परीक्षा उत्तीर्ण गरिसकेपछि सम्बन्धित विषयहरूमा उच्चशिक्षाको चाहना गर्ने विद्यार्थीहरूका लागि बढी सान्दर्भिक रहेको विश्वास व्यक्त गरेका छन् । नेपालका धेरैजसो विद्यालयमा यी दुई पाठ्यक्रमहरू लागू गर्न आवश्यक पर्ने भौतिक, मानवीय र शैक्षणिक सामग्रीहरूको कमी रहेको कुरा पनि यहाँ उल्लेखनीय छ ।”

यस्तो छ परिणाम

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको ०५७ देखि ०६३ सम्मको एसएलसी परीक्षा सम्बन्धी विषयगत राष्ट्रिय औसत उपलब्धिलेगतवर्षसम्म विज्ञान विषयको राष्ट्रिय औसत उपलब्धि ४० प्रतिशतभन्दा माथि उक्लिन नसकेको देखि एको छ । २०६३ सालको एसएलसी परीक्षामा सामेल नियमित परीक्षार्थीमध्ये विज्ञानमा औसत उपलब्धि ३४.७६ प्रतिशत थियो भने ०६२ सालमा २९.६४, २०६१ मा २७.६१ र २०६० सालमा ३८.६५ प्रतिशत रहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको आँकडाले देखाएको छ । एसएलसीको यो आँकडाले सरकारले शिक्षामा लगाएको श्रमशक्ति, स्रोत र समयको सदुपयोग नभएको प्रमाणित गरेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अधिकृत हरिप्रसाद निरौला बताउँछन् ।  

पाठ्यक्रम विकास केन्द्रका विज्ञान विषय शाखाका अधिकृत डम्बर आङदम्बे विज्ञानको पढाइ रराम्रो नहुनुमा शिक्षकमा लगनशीलताको कमी, प्रयोगात्मक अभ्यास र सामग्रीको अभाव र कमजोर परीक्षा प्रणालीलाई कारण मान्छन् । एसएलसी परीक्षामा कक्षा ९ र १० को पाठ्यक्रमबाट प्रश्न निर्माण गरी विद्यार्थीहरूको शैक्षिक उपलब्धि मूल्याङ्कन  हुँदै आएकोमा २०६३ देखि एसएलसी परीक्षामा कक्षा १० को पाठ्यक्रमबाट मात्र प्रश्न निर्माण गर्न थालिएको छ । पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको नयाँ राष्ट्रि य पाठ ् य क्रम परारु प मा यसरी कक्षा १० को पाठ्यक्रममा मात्र आधारित भएर परीक्षा सञ्चालन गर्दा परीक्षा बोझ्युक्त नभई सरल र सुगम हुन जाने हुँदा एसएलसी परीक्षाको न्यून उत्तीर्ण प्रतिशत बढाउन सहयोग पुग्ने अपेक्षा छ ।

विज्ञान शिक्षणलाई बढी प्रयोगात्मक बनाएमा अहिलेको भन्दा रराम्रो परिणाम आउने विज्ञान शिक्षक किरण शर्मा बताउँछन् । उनका अनुसार विज्ञान शिक्षणलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको प्रयोग गरी त्यसबाट सिकाइको प्रक्रिया अघि बढाउन सकिन्छ । भन्छन्, “अहिले टेलिभिजनको पहुँच गाउँसम्म पुगेका कारण यस्तो कार्यक्रम सञ्चालन गरिए शिक्षक र विद्यार्थी दुवैका लागि फाइदा हुन्छ तर यसका लागि सरकारले लगानी गर्नु पर्दछ । थोरै लगानीबाट रराम्रो परिणाम निकाल्न सकिन्छ ।”

पाठ्यपुस्तकमा सुधार, शैक्षिक सामग्रीको प्रबन्ध र विज्ञानको प्रयोगशालाको व्यवस्था, विषय शिक्षकको समुचित व्यवस्था, पाठ्यक्रम र मूल्याङ्कन प्रणालीमा समयानुकूल सुधार गरे मा विज्ञानमा छात्रछात्राले गुणात्मक उपलब्धि हासिल गर्ने परीक्षा नियन्त्रण कार्यालयका अधिकृत हरिप्रसाद निरौला बताउँछन् ।


गर्नेहरु गर्‍या गर्‍यै

अधिकांश शिक्षकले स्रोत र साधनको अभाव देखाएर विज्ञान शिक्षण प्रभावकारी हुन नसकेको बताए पनि केही शिक्षकले स्थानीय सामग्रीकै प्रयोग गरेर स्तरीय विज्ञान शिक्षण गरेका पाइएको छ । यस पटकको एसएलसी परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्न सफल सर्लाहीको महेन्द्ररत्न जगन्नाथ लक्ष्मीनियाँ मावि स्थानीय सामग्रीको प्रयोगबाटै प्रभावकारी विज्ञान शिक्षण गर्ने स्कूलमा परेको छ । ०५५ साल देखि उक्त माविमा विज्ञान शिक्षण आरम्भ गरेका मनोज मिश्रले पढाउन थालेकै वर्ष ‘फरमल डिभाडर’ मा भ्यागुतो, सर्प, छनेपारो, साङ्ला, माउसुली, माछा लगायतका जीव मारेर राखेका छन् । जीव विज्ञानमा प्रयोगात्मक कक्षा सञ्चालन गर्न राखिएका यस्ता जीव केमिकलको प्रयोगका कारण कुहिएका छैनन् । “पाठ अनुसार यी जीवलाई प्रयोगशालामै देखाउने गरेको छु, स्थानीयस्तर मा भेटिने यस्ता जीवको प्रयोगमा खर्च पनि कम लाग्छ, पढाउन पनि सजिलो हुन्छ” उनले भने ।

त्यसो त उनले विद्युत्को प्रयोगबाट पानीबाट अक्सिजन र हाइड्रोजन निकाल्ने तरिका पनि छात्रछात्रालाई अभ्यास बाटै सिकाउने गरेका छन् । प्रयोगात्मक विधिमा जोड दिएकै कारण मावि सीतापुरका नामले चिनिने यस विद्यालयका रामप्रवेश रायले ०५५ सालमा जिल्ला टप गरेका थिए । मिश्रका छात्र रामप्रवेश एमबीएस सकेर अहिले चार्टर एकाउन्टेण्ट अध्ययन गर्दैछन् । स्कूलमा विज्ञानको आधार बलियो भएका कारण तीन जना इन्जिनियरिङ, एक जना कम्प्युटर साइन्स र सात जनाभन्दा बढीले ओभरसिएर अध्ययन गरेका छन् । थोरै छात्रछात्रा मात्रै  विज्ञानमा असफल हुने मिश्रको कथन छ । “म सैद्धान्तिक र प्रयोगात्मक दुवैमा उत्तिकै जोड दिन्छु, अभ्यास बाट विषयलाई बुझाउने कोशिश गर्छु” उनले थपे ।

यता काठमाडौँको वृहस्पति विद्या सदनका शिक्षक सुनिरा श्रेष्ठ पनि आफ्नो कक्षालाई सकेसम्म प्रयोगात्मक तुल्याउने कोशिश गरेको बताउँछिन् । प्रयोगात्मक विधिमा कक्षा शिक्षण गर्दा माइक्रोस्कोप सञ्चालन गर्ने तरिका, इन्टरनेटको प्रयोग, विभिन्न सामग्री सङ्कलन, वस्तुको अवलोकनगराइन्छ । वृहस्पति विद्या सदनमा विज्ञानका पाठ अनुसार छात्रछात्रालाई प्रोजेक्ट वर्क दिने गरिएको शिक्षक श्रेष्ठको भनाइ छ । रसायनशास्त्र र भौतिक शास्त्रको शिक्षणका लागि अलग अलग शिक्षकको व्यवस्था छ भने विज्ञानमा अक्तिरिक्त शिक्षण समेत गरिन्छ । प्रयोगात्मक विधिमा शिक्षण गरे कै कारणले हुनसक्छ विगत तीन वर्ष देखि एसएलसीमा शतप्रतिशत छात्रछात्रा रराम्रो अङ्कका साथ उत्तीर्ण भएका छन् ।

 

 

commercial commercial commercial commercial