फ्रान्सेली पण्डितको नेपाल वृत्तान्त
- २४ वर्षकै उमेरमा लेभी फ्रान्सको प्रसिद्ध सोरवोन विश्वविद्यालयमा प्राध्यापक भइसकेका थिए ।
- उनले भनेका छन्— बौद्ध पुरातात्विक र सामाजिक दृष्टिले नेपाल उपत्यका एउटा पूर्ण सङ्ग्रहालय जस्तो छ ।
- लेभीको अध्ययनलाई नेपालको इतिहासको पहिलो वैज्ञानिक पुस्तक र एउटा कोशेढुङ्गा भनिएको छ ।
- यो पुस्तक नै लेभीद्वारा रचित संस्कृत श्लोकमार्फत वीर, देव र चन्द्र शम्शेरलाई समर्पित छ । चाकडीको कलामा फ्रान्सेली पण्डित पनि के कम !
- लेभीले कीर्तिपुरलाई शहीद शहरको नाम दिएका छन् ।
आजभन्दा ११० वर्षअघि; सन् १८९८ को १३ जनवरीमा संस्कृतका धुरन्धर एक ३५ वर्षे फ्रान्सेली पण्डित काठमाडौँ आए र १० मार्चमा काठमाडौँबाट फिरे । त्यसताका वीरशम्शेर श्री ३ प्रधानमन्त्री र देवशम्शेर जङ्गी लाठ थिए । यी पण्डितले झण्डै दुई महिनाको काठमाडौँ प्रवासमा के मात्रै गरेनन्— तीन शहरका प्रमुख मठ—मन्दिर र वहालहरू चाहारे, ऐतिहासिक सामग्री शिलालेख र अन्य दस्तावेजहरूको स्थलगत सङ्ग्रह र अध्ययन गरे , काठमाडौँका अधिकांश काँचा र केही पाका जानकार हिन्दू तथा बौद्ध पण्डितहरूसँग सम्पर्क र छलफल गरे । काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै महत्वपूर्ण धार्मिक, पुरातात्विक र ऐतिहासिक स्थलको अवलोकन गरे , शिलालेखहरूको छाप लिए । आफूले नसकेका ठाउँहरूमा जङ्गी लाठको सोर्स लगाएर उतार गर्न लगाए र तिनको सरसर्ती मूल्याङ्कन गरे । कति दिन त तीन शहर बाहिरका साँखु, चाँ गुनारायण, ठिमी, नकदेश, फर्पिङ, कीर्तिपुर, मातातीर्थ, थानकोट, इचङ्गु, बालाजु, बूढानीलकण्ठ, टोखा, चपली गाउँ कहिले घोडामा र कहिले पैदलै डुले र उपत्यकाको संस्कृति तथा इतिहास माथि प्रकाश पार्ने हर सम्भव कुरा हरू हेरे । उनीभन्दा अघि नेपालबारे गरिएका अध्ययन र सामग्रीहरूको (कापुचिन मिसनरीका लेखोटहरू देखि कर्कप्याट्रिक, ह्यामिल्टन, ओल्डफिल्ड, भगवानलाल, बेन्दाल, राइट, ब्रायन हज्सन आदिसम्म) उनलाई रराम्रो ज्ञान थियो । आफूले देखेका कुन कुरा नयाँ र कुन कुरा पहिल्यै थाहा पाइसकिएका हुन् भन्ने हेक्का तुरुन्तै राख्न सक्थे । एउटा असल इतिहासकार र अन्वेषकबाट अपेक्षा गरिने विद्वत्ता, उत्सुकता र लगनका धनी यी पण्डितको नाम थियो– सिल्भाँ लेभी ।
२४ वर्षकै उमेरमा लेभी फ्रान्सको प्रसिद्ध सोरवोन विश्वविद्यालयमा प्राध्यापक भइसकेका थिए । नेपाल आउनुअघि युरोपमा बौद्ध धर्मका संस्कृतग्रन्थका पारङ्गत अध्येताका रूपमा यिनले प्रसिद्धि कमाइसकेका थिए । आफ्नो अध्ययनका सिलसिलामा उनले नेपालमा भारतीय बौद्ध धर्मको आखिरी हाँगा जीवित रहेको बुझेका थिए । नेपाल अर्थात् नेपाल उपत्यकाको सांस्कृतिक इतिहास भारतवर्षको इतिहासकै पूर्वाभास जस्तो उनलाई लागेको थियो । हिन्दू धर्ममा विलीन हुँदै निभ्ने अवस्थामा पुगेको नेपाल उपत्यकाको बौद्ध धर्मको स्थिति उनको अध्ययनको पहिलो चाखको विषय थियो भने अर्को चाखको विषय थियो त्यसकै हाराहारीमा काठमाडौँको राजनीतिक र सामाजिक इतिहास । उनले भनेका छन्— बौद्ध पुरातात्विक र सामाजिक दृष्टिले नेपाल उपत्यका एउटा पूर्ण सङ्ग्रहालय जस्तो छ र भारतीय तथा चिनियाँ संसारका सम्बन्धबारे अनुसन्धान गर्न यो उपत्यका कतै नभेटिने एउटा चौबाटो हो ।
प्रस्तुत पुस्तक भौगोलिक हिसाबले मूलतः नेपाल उपत्यका र सामाजिक—सांस्कृतिक हिसाबले नेवारको इतिहास हो । यसको मूल कथ्य ब्राह्मणवाद र बौद्ध धार्मिक—सांस्कृतिक परम्पराका बीचको द्वन्द्व अनि देवी— देवता, पूजा पद्धति, चाडपर्व जस्ता धार्मिक—सामाजिक र अन्य राजनीतिक दाउपेचका माध्यमबाट भइरहेको त्यो द्वन्द्वको समायोजन, बौद्ध धर्मको खस्किँदो उपादेयता र त्यसको परिणति ब्राह्मणवादको उत्थान हो । जातीय, सांस्कृतिक र धार्मिक चेतना बढिरहेको अहिलेको समयमा यो पुस्तकको कथ्य समसामयिक लाग्छ । एक शताब्दी अघि नेपालको धार्मिक—सांस्कृतिक परम्परा र तिनका समायोजनको सिल्भाँ लेभीको गहिरो विश्लेषण र समझ् देखेर आश्चर्य लाग्छ ।
लेभीको यस अध्ययनलाई नेपालको इतिहासको पहिलो वैज्ञानिक पुस्तक र एउटा कोशेढुङ्गा भनिएको छ । किनभने पारम्परिक खालको तिथि, मिति एवं राजाहरूको काम र घटनाहरूको वर्णन मात्र नभएर देशका जनता, उनीहरूको जीविका आदिको जाँचबुझ, अध्ययन र विश्लेषण पनि यसमा समाविष्ट छन् । पुस्तकको पहिलो खण्डको प्रस्तावनामा नेपालको इतिहास र संस्कृतिका गहन अध्येताहरू मार्कग्यावरियो र जेरार्ड तोफाँले लेभीको पुस्तकको महत्व र उनको अध्ययनका कमीहरूलाई समसामयिक प्राज्ञिक सन्दर्भमा खुट्याएका मात्र छैनन् लेभीको अध्ययन पछि का परिपूरक अध्ययनहरूको सँगालो नै प्रस्तुत गरेका छन् । यस प्रस्तावनाले लेभीको विश्लेषण बुझन धेरै सजिलो पारिदिएको छ ।
पुस्तकको प्रथम खण्ड सात परिच्छेदमा विभक्त छ । पहिलो अध्यायमा भारतीय बौद्ध सभ्यताको पृष्ठभूमिमा नेपाल उपत्यकाको सांस्कृतिक र आर्थिक विकास , चीन र तिब्बतसँग को सम्बन्धको कडी, लिच्छविहरूको उत्थान र पतन, हिन्दू वंशको उदय, मल्लकालीन शासन,गोर्खालीको विजय देखि राणाकालिन नेपाल सम्मको छोटकरी चर्चा छ । लेभीका विचार मा आफूलाई धान्न सक्ने स्रोतको अभाव नै लिच्छविहरूको अवनतिको कारण थियो । अत्यन्त केन्द्रीकृत सामन्तवाद र ब्राह्मणहरूको कट्टरताले गर्दा मल्लहरूको पतन भएको हो भन्ने उनको ठहर छ । गोरखाली शासकहरूलाई लेभी ब्राह्मण धर्मका घमण्डी प्रतिनिधिको संज्ञा दिन्छन् र चालचलन, अनुहार र संस्कृतिको विचार गरेर उनीहरूको राजपूत उत्पत्ति माथि ठाडो शङ्का गर्छन् । गोरखाली शासकप्रतिको लेभीको धारणा लुकेको छैन । उनी भन्छन्, “पृथ्वीनारायणका उत्तराधिकारीहरू इतिहासका विकृत चरित्र— रक्स्याहा, मान सिकरूपले दुर्बल, बौलाहा, कामूक, रिसाहा र मूर्ख भए । धेरै जना नाबालकहरू राजा भए कालेग द्दीका नाबालकहरू लाई सधैँ आफ्नो अधीनमा राखी शक्तिपिपासु काका, आमा या मन्त्रीहरूले धोकापूर्वक बढी समयसम्म राज्य चलाउन थाले । राजाहरू अल्छी र नालायक भएकाले तिनीहरू दरबारको शोभा मात्र हुन पुगे” (पृ. १६) । हालै निष्कासित राजा ज्ञानेन्द्र समेतले बेला मौकामा आफ्ना पूर्वजप्रति राखेको धारणा र लेभीको मूल्याङ्कनमा आकास–जमिनको अन्तर छ ! राणाहरूको आतिथ्यको भारले हो कि राणाहरूप्रति भने उनको धारणा धेरै नरम छ र जङ्गबहादुरलाई आधुनिक गोरखाका आदर्श व्यक्ति भन्न पछि पर्दैनन् । वास्तवमा यो पुस्तक नै लेभीद्वारा रचित संस्कृत श्लोकमार्फत वीर, देव र चन्द्र शम्शेरलाई समर्पित छ । चाकडीको कलामा फ्रान्सेली पण्डित पनि के कम !
दोस्रो अध्यायमा ब्रायन हड्सनमा आधारित रहेर नेपाल अधिराज्यको अवस्थिति र भौगोलिक विशेषताको छोटो वर्णन गरिएको छ भने तेस्रो अध्यायमा नेपाल उपत्यकाको भौगोलिक वर्णन, काठमाडौँका तिनै शहरहरूको अवस्थिति र आवादी, मूल बाटाहरू, प्रमुख भवनहरू, विभिन्न जात–जातिको बसोबास र शहरहरूको विस्तारलाई ऐतिहासिक प्रसङ्ग दिएर वर्णन गरिएको छ । त्यसताका तीन शहर बाहेक उपत्यकामा ६० भन्दा बढी गाउँ भएको उल्लेख गर्दै प्रमुख वस्तीहरूको वर्णन पनि लेभीले गरेका छन् । गोरखालीको धोकापूर्ण आश्वासनमा विश्वास गरेर निरापद ठानी बाहिर आएका कीर्तिपुरेहरूको बर्बरतापूर्वक काटिएको नाक र ओठ (तौल ८० पाउण्ड) को जनश्रुति, सन् १७६७ मा कीर्तिपुर शहरको लुट र यी दुवै घटनाक्रमको एक शताब्दीपछि उनी आउँदासम्म ती घटनाक्रम कीर्तिपुरको समुन्नतिमा बाधक रहेका कुरा को पनि उल्लेख छ । लेभीले कीर्तिपुरलाई शहीद शहरको नाम दिएका छन् । यस अध्यायमा नेपालका नक्साबारे पनि चर्चा छ र कर्कप्याट्रिक र ह्यामिल्टनले दिएका नक्सा समावेश छन् ।
नेपाल सम्बन्धी अध्ययनमा युरोपेली, चिनियाँ र तिब्बती अनि स्थानीय सामग्रीहरूको विस्तारित विवेचना र मूल्याङ्कन चौथो अध्यायमा गरिएको छ । यस पुस्तकको यो घतलाग्दो मौलिकता हो । किनभने इतिहासको प्रामाणिकता स्रोतहरूको विश्वसनीयतामा भर पर्छ । यस प्रकारको सामग्रीको विवेचना अहिले पनि धेरै कम नेपाली इतिहासका पुस्तकमा पाइन्छ । ऐतिहासिक सामग्रीका रूपमा कापुचिन मिसनरी देखि लिएर ब्रायन हड्सन र भ्यान्सिटार्टसम्म, प्राचीन चिनियाँ तीर्थयात्री देखि लिएर समय—समयका चिनियाँ दूतका विवरणसम्म र स्थानीय बौद्ध र हिन्दू वा ब्राह्मण प्रभावमा बनाइएका वंशावली, विभिन्न पुराण, शिलालेख, पाण्डुलिपि र सिक्काको अध्ययनको निचोड वस्तुगत ढङ्गले प्रस्तुत गरिएको छ ।
नेपालका बासिन्दा शीर्षक दिइएको पाँचौँ अध्यायमा नेवार र गोरखा अर्थात् लेभीकै शब्दमा ‘विजित र विजयी’ को सांस्कृतिक र सामाजिक मान्यता र बनोटको घतलाग्दो विवेचना छ । नेवारहरू उत्तरतिर बाटै आएका हुन् भन्ने उनको धारणा छ । नेवारमा बौद्ध र हिन्दू प्रभाव तथा हिन्दूकै नक्कलका रूपमा बौद्धहरूमा पनि पेशा वंशानुगत भएको उनले विश्लेषण गरेका छन् । नेवारका ६४ जातको विस्तृत विवरण दिइएको छ । गोरखाहरूका राजा हिन्दू तर, धेरै खसहरू जस्तै मगर रगत मिसिएका हुन् र ब्राह्मणवादको विस्तारसँगै यिनीहरूमा बढी नाटीकुटी देखि एको हो भन्ने तर्क लेभीको छ । देशप्रति गोरखाहरूको माया र स्वतन्त्रताका लागि मरिमेट्नेगुणको भने उनी प्रशंसा गर्छन् । त्यसताकाको नेपालको आर्थिक, राजनीतिक तथा कानूनी सङ्गठनको चर्चा छैठौँ अध्यायमा गरिएको छ । गोरखाको विजयसँगै प्रशासन बढी केन्द्रीकृत भएको , राज्यको आयस्ताको मूल स्रोत घर—जग्गा कर र ब्रिटिस–भारतसँग को व्यापार रहेको र सैनिकका निम्ति हुने खर्च पनि धेरै रहेको लेभीको विश्लेषण छ । सन् १८९१ तिर भारतसँग को व्यापार वार्षिक रु.३ करोड ३० लाख थियो । सन् १८९८ मा नेपालको सेना २५ देखि ३० हजार रहेको उनको अनुमान छ । त्यसताका नेपालको व्यापारमा स्थानीय बजारको नगण्य भूमिका थियो । ल्हासामा नेपाली व्यापारीको उपस्थिति तीन हजारको सङ्ख्यामा थियो ।
प्रथम खण्डको अन्तिम अध्याय स्थानीय देवी—देवता, नदी, तीर्थ आदिको वर्णन, किम्वदन्ती, तिनीहरूको प्रतीकात्मक सङ्केत, बौद्ध र हिन्दू मान्यता तथा विरोधाभासका माझ् यिनीहरूले खेलेको संयोजनकारी (वा विलयवादी) भूमिकाको चर्चा छ । बुद्धलाई हिन्दूका दश अवतारमध्ये एक मानेको सन्दर्भमा लेभी भन्छन्— ब्राह्मणहरू ‘विरोधी धर्मका बुद्धलाई आफ्नो पक्षमा ल्याउन असमर्थ भएपछि उनलाई आफ्नै बनाउनपट्टि लागे’
पुस्तकको पहिलो खण्डलाई एकप्रकारले नेपाल उपत्यकाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक विकास को वैचारिक प्रस्तावना र प्रारुपका रूपमा पनि हेर्न सकिन्छ । पुस्तकको दोस्रो खण्डमा यी प्रस्तावनाहरूलाई आधार मानेर नेपालको संस्कृति र इतिहासको विस्तृत वृत्तान्त प्रस्तुत गरिएको छ । दोस्रो खण्ड तीन अध्यायमा विभाजित छ । पहिलो मा धर्म, पूजा पद्धतिको वर्णन खास गरेर प्रमुख स्मारक र पर्वहरूका सन्दर्भमा गरिएको छ । स्वयम्भू र बौद्धनाथका चैत्यहरूको निर्माण, वास्तुकला र प्रतीकहरू, पाटनको महाबौद्ध, कुमारी र मत्स्येन्द्रनाथका रथयात्रा, साँखुको वज्रयोगिनीको जात्रा र अन्य महत्वपूर्ण जात्रालाई सूक्ष्म हिसाबले वर्णन र विवेचना गरिएको छ । आफ्नो परम्परागत आकृति नगुमाई अरूका शैली र कृतिहरूलाई उपयोग गर्न सक्ने नेपालीहरूको खुबीको लेभी मुक्तकण्ठले प्रशंसा गर्छन् । उनी भन्छन्— उहिले को नेपाल अहि ले पनि जात्रामा देखिन्छ । यिनै जात्राका माध्यमबाट बौद्ध र हिन्दू धर्मका परस्पर विरोधी धारहरूले कसरी एकअर्काको सह—अस्तित्व अङ्गीकार गरिरहेछन् भन्ने विश्लेषणमा लेभीले बढी ध्यान दिएका छन् ।
दोस्रो अध्यायमा नेपालको इतिहास प्रस्तुत गरिएको छ । शुरु मा नेपालको उल्लेख कहिले, कहाँ भयो भन्ने देखि लिएर नेपाल शब्दको व्युत्पत्ति सम्बन्धी किम्वदन्ती अनि नेपाल उपत्यकाकागोपाल, किराँत, लिच्छवि देखि मल्ल राजाहरूको वंशावली, तिथि—मितिको विवेचना, कालगणना, ऐतिहासिक सामग्रीको तुलना गरिएको छ । प्रारम्भिक काल देखि धेरै पछि सम्म पुराण र इतिहासबीच सहज रूपमा साटसाट गर्ने प्रवृत्ति र त्यसबाट उब्जेको अस्पष्टता समेत लेभीले औंल्याएका छन् । लेभीको व्याख्यालाई पछि का इतिहासकारहरूले जे माने पनि उनले आफ्ना तर्कहरूलाई सविस्तार र उपलब्ध सामग्रीका आधारमा प्रस्तुत गरेका छन् । यस अध्यायमा भाद गाउँ, काठमाडौँ र पाटन राज्यको मल्लकालयताको इतिहास, पृथ्वीनारायण शाह र गोरखा वंशको उदय र शम्शेर राणाहरूको उत्थानसम्मको इतिहास पारम्परिक ढङ्गले प्रस्तुत गरिएको छ ।
पुस्तकको तेस्रो र अन्तिम अध्याय एकदमै चाख लाग्दो छ किनभने यसमा लेभीको दुईमहिने नेपाल बसाइँको दैनन्दिनी छ । यसबाट त्यसबेलाको काठमाडौँको दैनिक जीवन, रहनसहन, बाटा—घाटा, मठ—मन्दिर, सरसफाईको अवस्था, शासकहरूको रवाफ, ज्ञानको स्थिति आदिका बिर्सिनसक्नु झलक पाइन्छ । त्यसताकाको काठमाडौँकागल्लीहरूमा प्रशस्त साँढे चाहार्थे । फोहोर यस्तो थियो कि लेभी भन्छन्, “आँखा खोल्नासाथ नाक बन्द गरिहाल्नुपर्छ ।” उनको नोकर ले खाना ल्याउँदा उनी ऊतिर हेर्दै हेर्दैनथे । काठमाडौँमा त्यसताका तिब्बतीहरूको बाक्लो उपस्थिति थियो ।
दैनन्दिनीमा साधारण नेपालीको आफ्ना अमूल्य सम्पदाप्रतिको अज्ञानता, नामका मात्र पण्डितको विगविगी र ‘धर्मका मूर्ख विशेषज्ञ’ देखेर उनी अत्तालिन्छन् । ठगिएको जान्दाजान्दै पनि दुई रुपैयाँमा एउटा भेडो किन्छन् । नेपालीप्रति अलिक पूर्वाग्रही धारणा लिएर आएका लेभी फर्कने बेलामा भन्छन्, “नेपालीहरूको बारेमा नराम्रा कुरा लेख्ने जस्तासुकै ठू ला नाम चलेका ब्यक्ति भए पनि उनीहरूले झूटा कुरा लेखेका हुन् । मैले त नेपालीहरू एकदम दयालु र मद्दतगार पाएँ ।”
यस पुस्तकको अनुवाद डिल्लीराज उप्रेतीले दश वर्ष लगाएर साह्रै मिहिनेतका साथ गर्नु भएको हो । अनुवाद र सम्पादनको खुबी नै भन्नुपर्छ कि यो पुस्तक पढ्दा अनुवाद पढे जस्तो लाग्दैन । यसका निम्ति अनुवादक र सम्पादकहरू बधाईका पात्र छन् र यस्तो ऐतिहासिक महत्वको पुस्तक नेपाली पाठकहरूमाझ् पुरयाउने हिमाल किताबलाई पनि धन्यवाद दिनै पर्छ । नेपालको विगतले वर्तमान मा पारेको छाप बुझन पनि यो पुस्तक पढ्नै पर्छ ।



