हाहाकारको रहस्य
कक्षा-१ देखि १० सम्मका पाठ्यपुस्तक समयमा उपलब्ध नहुँदा लाखौं कक्षा–घण्टा बराबरको पढाइ बर्बाद भइसकेको छ । तर राष्ट्रको निम्ति यति गम्भीर गल्ती गर्नेहरूलाई अलग्याएर कानूनी दण्ड दिने खाँचो र जाँगर कतै देखिँदैन ।
तेज विनायक माविगोठाटारमा कक्षा-९ मा पढ्ने सुदर्शन सापकोटा, बुद्धरत्न शाक्य र बुद्धराज बम्जन किताब किन्न वैशाख २४ गते दिउँसो ११ बजे देखि साढे दुई बजेसम्म जनक शिक्षा सामग्री केन्द्रको मूलद्वारमा लाइन लागे । जनक शिक्षाका कर्मचारीले एउटा भन्दा किताब छैन भन्दै तिनलाई विज्ञान विषयको किताब दिएर फर्काए । किताब बेच्न बसेका कर्मचारीको जवाफ थियो, “पूरै किताब पाउन त असारको अन्तिम साता आउनुपर्छ ।” भोलिपल्ट देखि झेलाभरी किताब हालेर स्कूल जाने तिनको धोको अझै पूरा हुन सकेको छैन ।
जिल्लामा छोराछोरीका लागि किताब नपाएपछि सोलुखुम्बुका फुर्वा शेर्पा काठमाडौँ नै हानिए । किताबको खोजीमा भौतारिँदै १५ दिन काठमाडौँमा बिताएका शेर्पा भन्छन्, “ऋण काढेर ल्याएको पैसा पनि काठमाडौँ बसेर सकियो । छोराछोरीले किताब पनि पाएनन् ।”

यसपटक पाठ्यपुस्तकको अभाव कतिसम्म चर्को भयो भन्ने बुझन माथिका दुई घटनाले सघाउँछन् । शैक्षिक सत्र शुरु भएको दुई महिना बित्दा पनि छात्रछात्राले सरकारी पाठ्यपुस्तक पाएका छैनन् । २८ जेठभित्रमा विद्यालयस्तर का सबै पाठ्यपुस्तक सहज रूपमा उपलब्ध गराउने शिक्षा मन्त्रालयको बचनबद्धता गलत सावित भएको छ । जनक शिक्षाले २८ जेठमा सार्वजनिक सूचना जारी गरी भनेको मितिमा किताब उपलब्ध गराउन नसकेकोमा क्षमा मागेको छ र पाठ्यपुस्तक उपलब्ध हुन अझै केही समय लाग्ने जनाएको छ । ४ वैशाख देखि शुरु भएको विद्यालय भर्ना अभियान किताब अभावकै कारण प्रभावकारी हुन नसकेपछि सरकारले जेठको दोस्रो सातासम्म तन्कायो । तर, जेठको अन्तिम सातासम्म पनि छात्रछात्राले किताब पाएनन् । सरकारले एकातिर बढीभन्दा बढी बालबालिकालाई स्कूलतर्फ आकर्षित गर्न भर्ना अभियान सञ्चालन गर्दै थियो भने अर्कातिर विद्यार्थी, अभिभावक र शिक्षक समेत सडकमा धर्ना दिन, जनक शिक्षा र साझमा तालाबन्दी गर्न व्यस्त थिए । चितवनमा १२ जेठमा ६४ वटागाडी तोडफोड गरिएपछि सरकारले दुईसाताका निम्ति देशभरिका स्कूल बन्द गरिदियो । ३० वैशाखमा हातमा रित्तो झेला बोकेर शिक्षा मन्त्रालय पुगेका छात्रछात्राको नारा थियो, “हामीले किताब पाउनैपर्छ ।”
हाहाकारको कारण
असारको पहिलो सातासम्म पनि बजारमा पाठ्यपुस्तकको हाहाकार छ । तर, जनक शिक्षा सामग्री केन्द्र, पाठ्यक्रम विकास केन्द्र र साझ प्रकाशन भने एकआपसमा आरोप– प्रत्यारोप गर्नमै व्यस्त छन् । पाठ्यक्रम विकास केन्द्रले जनक शिक्षालाई किताब छाप्न नसकेको आरोप लगाएको छ भने जनक शिक्षाले पाठ्यक्रम विकास केन्द्रले समयमै छाप्ने सामग्री (क्यामेरा रेडी कपी–सीआरसी) नपठाएर ढिलो भएको भनी आफ्नो बचावट गर्ने गरेको छ । साझले चाहिँ किताब छाप्न ढिलाइ भएका कारण समयमा बजारमा किताब पुर्याउन नसकिएको तर्क गर्दै आएको छ । साझका व्यापार प्रवद्र्धन विभाग प्रमुख रामकृष्ण भण्डारी समय छँदै यो विषयलाई जिम्मेवार निकायले नलिएका कारण पाठ्यपुस्तक अभाव भएको बताउँछन् । उता जनक शिक्षाका प्रबन्ध सञ्चालक रामप्रसाद शर्मा भने पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा, साझ, भृकुटी र एभरेष्ट कागज कारखानाको कमजोरीको कारण पाठ्यपुस्तक अभाव भएको धारणा राख्छन् । उनको कथन छ, “कक्षा ३, ९ र १० का किताब यो वर्ष परिमार्जन गरिएकाले ‘सीआरसी’ ढिला आयो । ‘सीआरसी’ ढिला आएकोले छाप्न ढिलो भयो ।” तर पाठ्यक्रम विकास केन्द्र निर्देशक हरिबोल खनाल जिम्मेवारीबाट उम्कन जनक शिक्षाले अरूलाई आरोप थोपरेको बताउँछन् । उनी भन्छन्, “हामीले माघको पहिलो हप्तामै ‘सीआरसी’ दिएका हौं ।” तर केन्द्रकै उपनि र्देशक हरिशङ्कर मान न्धरका अनुसार चैतको अन्तिम साता मात्र ‘सीआरसी’ जनक शिक्षामा पुगेको हो ।
जनक शिक्षाका अनुसार, जेठको पहिलो सातासम्म कक्षा १ देखि ५ सम्म करिब १ करोड ४२ लाख ६८ हजार ८३१ थान किताब छापिनुपर्ने थियो । तर त्यस अवधिमा ३९ लाख ७४ हजार ४०९ थान मात्र किताब छापिन सके । यसै गरी कक्षा ६ देखि १० सम्मका लागि चाहिने ८३ लाख ३ हजार २८७ थानमध्ये ३७ लाख ८० हजार ४४५ थान छापिएका छन् । यस हिसाबले कक्षा ६ देखि १० सम्मको ५० प्रतिशतभन्दा कम किताब छापिएको छ ।
‘हामी अक्षम भयौं’
– रामप्रसाद शर्मा, प्रबन्ध सञ्चालक, जनक शिक्षा सामग्री केन्द्र
पाठ्यपुस्तकको हाहाकार किन भयो ?
यो वर्ष पाठ्यपुस्तक नपुगेकै हो । यसमा आन्तरिक तथा बाह्य कारण छन् । जनक शिक्षाका कर्मचारीको हड्ताल, लोडसेडिङ, तराई बन्द, संविधानसभाको निर्वाचनमा मत पत्र छाप्नु परेको र माग अनुसार कागज आपूर्ति नभएको ले पाठ्यपुस्तक छाप्न ढिला भएको हो ।
यसको जिम्मेवारी कसले लिने ?
सम्बन्धित सबैले यसको जिम्मेवारी लिनुपर्छ । सबैले अरूलाई दोष लगाएर मात्रै हुँदैन । शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र, साझ प्रकाशन, भृकुटी कागज कारखाना र एभरेष्ट कागज कारखाना सबैले जिम्मेवारी लिनैपर्छ । हामी यसमा अक्षम भएकै हौं । गल्ती भएकै हो । यसमा सबैले क्षमा माग्नुपर्छ ।
अर्को वर्ष पनि यस्तै अभाव हुन्छ ?
यो वर्ष पनि किताब हाहाकार होला जस्तो लागेको थिएन । हामीले यसै वर्ष सेक्युरिटी प्रेस ल्याउने भनेका थियौं । तर, ल्याउन सकिएन । यो वर्षको कात्तिक मङ्सिरमा सेक्युरिटी प्रेस ल्याएपछि यस्तो अवस्था आउँदैन । अब हामी समयमै काममा लाग्छौं । यो हाहाकारले हामीलाई पाठ सिकाएको छ ।
ऐच्छिक विषयको ‘सीआरसी’ पाठ्यक्रम विकास केन्द्रले जनक शिक्षालाई जेठको ५ गते मात्रै दिएको बताइएको छ । यसै गरी जेठको अन्तिम सातासम्म कक्षा ९ का मात्रै अनिवार्य विषयका ४ प्रतिशत किताब छापिएका थिए भने ऐच्छिक विषयका ७ प्रतिशत । कक्षा ९ र १० मा ५२ वटा ऐच्छिक विषय रहेका छन् । केन्द्रले असारसम्म पनि ‘सीआरसी’ पठाउने जनाएको छ । कक्षा ९ र १० का ५ वटा ऐच्छिक विषयको ‘सीआरसी’ पठाउन बाँकी छ । निर्देशक खनाल भन्छन्, “ऐच्छिक विषयका विद्यार्थी कम भएको ले बढी विद्यार्थी भएका विषयलाई प्राथमिकता दिएका हौं ।” उनले संविधानसभामा कर्मचारी खटाइएकाले काममा ढिला भएको बताए । विगतमा भने कात्तिक देखि माघसम्ममा ‘सीआरसी’ पठाइसकिन्थ्यो ।
शुरु मा किताब हाहाकार हुनुमा राजनीतिक अस्थिरता, आर्थिक सङ्कट, लोडसेडिङ, इन्धनको अभाव र तराई आन्दोलनलाई जनक शिक्षाले कारण मानेको थियो । तर भृकुटी र एभरेष्ट कागज कारखानाले माग अनुसार कागज नदिएपछि समस्या चर्केको प्रबन्ध सञ्चालक शर्माको भनाइ छ । एभरेष्ट कागज कारखानाका शैलेन्द्र सुमन भन्छन्, “लोडसेडिङ, पराल रगहुँको छ्वालीको अभावले जनक शिक्षालाई भने जति कागज दिन सकेनौं ।” कर्मचारीले तलब वृद्धि, स्थायी लगायतका माग राखेर गत वर्ष जम्मा ५२ दिन जनक शिक्षा बन्द गरेका कारण पनि समयमा काम नभएको हो ।
पाठ्यपुस्तक अभाव हुनुमा कमिसनको खेल अर्को कारण बनेको छ । नाम नखुलाउने शर्तमा शिक्षा मन्त्रालयका वरिष्ठ कर्मचारी भन्छन्, “सचिवले कागजको लागि समयमै जनक शिक्षालाई सिफारिस नदिएकाले यो समस्या आएको हो ।” भारतमा किताब छाप्न पठाउँदा प्रतिपेज दुई पैसा कमिसन आउने उनको भनाइ छ । सरकारले यस वर्ष भारतमा १८ लाख पाठ्यपुस्तक छापेको छ । यसबारेमा सोध्दा शिक्षा सचिव बालानन्द पौडेलले केही बताउन चाहेनन् ।
निजीको पनि जोर चलेन
आफूले मात्र किताब छाप्न नभ्याएपछि जनक शिक्षाले २०६३ देखि मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चलका सात वटा छापाखानालाई किताब छपाई तथा वितरणको अनुमति दिएको छ । तर निजी छापाखानाले पनि किताब पुर्याउन नसकेको जनक शिक्षाका प्रबन्ध सञ्चालक रामप्रसाद शर्मा बताउँछन् । साझका व्यापार प्रवद्र्धन विभाग प्रमुख भण्डारीको भनाइमा निजी पे्रसले सजिलो र सुगम ठाउँमा मात्रै किताब पुर्याएको छ ।
पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रमा पाठ्यपुस्तक छपाई तथा वितरणको जिम्मा पाएको काठमाडौंस्थित रोशन अफसेट प्रेसका सञ्चालक उद्धव पौडेल भन्छन्, “पूर्वलाई मात्र पुग्ने गरी छापिएको किताब पश्चिमाञ्चल पठाएपछि नपुगेको हो ।” सरकारले असोज मसान्तभित्र अनुमति र ‘सीआरसी’ उपलब्ध गराएमा आफूहरूले किताब छापेर समयमै स्कूलमा पुर्याउन सक्ने उनको कथन छ ।
निकासको बाटो
शिक्षा सचिवले समयमै कागज किन्न सिफारिस गर्ने , पाठ्यक्रम विकास केन्द्रले ‘सीआरसी’ तयार गरेर दिने, जनक शिक्षाले बेलैमा छाप्ने काम गरे आउँदो वर्ष समस्या नआउने शिक्षाविद् तथा प्राध्यापक तीर्थ पराजुली बताउँछन् । भन्छन्, “समयमै काम शुरु गरको भए समस्या आउने थिएन । यसबाट जिम्मेवार निकायले पाठ सिक्नैपर्छ ।”
साझा प्रकाशनलाई पनि किताब अभावमा केही हदसम्म जिम्मेवार मानिएको छ । साझले थोरै पुस्तक बिक्रेताहरूलाई मात्र वितरणको जिम्मा दिँदै आएको छ । वितरणमा सिण्डिकेट प्रणाली नहटाए समस्या उस्तै रहने मकवानपुर जिल्ला शिक्षा अधिकारी चोलेन्द्र पण्डित बताउँछन् । जिशिअ पण्डित भन्छन्, “बिक्रेताले लागू गरेको सिण्डिकेट प्रणाली हटाउनुपर्छ र सबैले किताब बेच्न पाउनुपर्छ ।” सिण्डिकेट प्रणाली अनुसार साझले तोकेको पसलमा मात्र किताब पुग्ने गर्द छ । विगतमा पाठ्यपुस्तक उत्पादनको समस्या नहुँदा पनि वितरण प्रणाली प्रभावकारी नभएर विद्यार्थीले समयमा किताब पाउन सकेका थिएनन् ।
२०६५ असार अंकमा प्रकाशित ।



