उपयोगी वेबसाइट

के तपाईले सरकारले तयार पारेको शिक्षण निर्देशिका अझै प्राप्त गर्नु भएको छैन ? के आफूले पढाउने विषयसँग सम्बन्धित सन्दर्भ सामग्री अझै हात परेको छैन ? यदि छैन भने चिन्ता न गर्नु स्, अब ती सामग्रीहरू इन्टरनेटको माध्यमबाट सजिलै प्राप्त गर्न सक्नुहुनेछ । त्यसको ठेगाना हो– moescdc.gov.np

यो काम अरू कसैले नभएर स्वयं शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले शुरु गरेको हो । सो वेबसाइटमा कक्षा एक देखि १० सम्मका हरेक विषयको पाठ्यक्रम पाउन सकिन्छ । त्यसैगरी प्रत्येक विषयको शिक्षक निर्देशिका र सन्दर्भ सामग्री पनि त्यहाँ फेला पार्न सकिन्छ । यसका अलावा केन्द्रले आवधिक रूपमा प्रकाशित गर्ने बुलेटिन तथा शिक्षा पत्रिका पनि ‘डाउनलोड’ गरेर पढ्न सकिन्छ । त्यसै गरी, पाठ्यक्रम विकास केन्द्रले बेला–बेलामा प्रकाशित गर्ने बोलपत्र लगायतका सार्वजनिक सूचना पनि त्यहाँ पाइन्छन् । केन्द्र, जिल्ला सदरमुकाम र शहर आएका बखत कम्प्युटरमा सामान्य जानकारी भएका साइवर क्याफे वा इन्टरनेटको सुविधा भएको ठाउँबाट कुनाकन्दराका शिक्षकले पनि ती सामग्रीहरू हात पार्न सक्छन् ।

केन्द्रले यसरी आवश्यक र उपयोगी सामग्रीहरू वेबसाइटमा राख्न थालेपछि शिक्षकहरूले जिल्ला शिक्षा कार्यालयको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । संसारभरि नै डिजिटल किताबहरूको प्रयोग बढिरहेको सन्दर्भमा नेपालमा पनि विद्यालय शिक्षामा सूचनाप्रविधिको उपयोग बढाउनमा यसले मद्दत पुर्‍याउन सक्छ । धेरैजसो सरकारी कार्यालयको वेबसाइट समयमै अद्यावधिक नहुने ‘रोग’ बाट भने केन्द्रले आफूलाई अलग राख्न सक्नुपर्नेछ । “तर हामी यसलाई नियमित अद्यावधिक गर्छौं ।” केन्द्रका कार्यकारी निर्देशक हरिबोल खनाल आश्वासन दिन्छन्, “हामी यसलाई बढीभन्दा बढी उपयोगी साइट बनाउने प्रयत्न गर्छौं ।” साइटमा अनलाइन फोरम राखिएमा शिक्षक तथा अरू प्रयोगकर्ताले सुझाव दिन र सम्बन्धित विषयमा विचार व्यक्त गर्न तथा अरूका विचार पढ्न पाउने छन् । प्राविधिक रूपमा सहजै बनाउन सकिने यस्तो फोरममार्फत् वेबसाइटलाई अन्तरक्रियात्मक बनाउन सकिन्छ ।

सामग्रीको व्यवस्थापन सही ढङ्गले हुन नसक्दा बेवसाइटमा चाहेको कुरा खोज्न अलि झन्झट लाग्ने खालको छ । माथिको ठेगानाको गृह पृष्ठमा वार्षिक कार्यक्रममा क्लिक गर्नु पर्छ, र त्यहाँ देखि नै ‘नियमित’ मा पुनः क्लिक गर्नु पर्छ । कुन चाहिँ सामग्री नियमित हो र कुन आवधिक हो भनेर थाहा नहुनेहरूले अलिकति धैर्य राखेर नै खोजबिन गर्नु पर्छ । त्यसपछि मात्र कक्षागत रूपमा खोजबिन गरेर त्यहाँ भित्र यी किताबहरूको पीडीएफ कपी डाउनलोड सकिन्छ । अर्थात् वेबसाइट त्यति युजर फेण्ड्ली भइनसकेको तथ्यलाई स्वीकार गरी केन्द्रले यसलाई दक्ष प्राविधिकको सहायतामा परिमार्जन गरी सजिलो र कामकाजी बनाउनै पर्ने देखिन्छ ।


commercial commercial commercial commercial