कमजोर छैनन् सार्वजनिक स्कूल

हामी खेतमा रोपाईं गर्दै थियौं । हेलिकप्टर आकाशमा फनफनी घुम्न थाल्यो । एकैछिनपछि भटट्ट आवाज गर्दै आकाशबाट गोली बर्सिन थाल्यो ! भागाभाग भयो । धन्न त्यो दिन कसैलाई केही भएन । चारैतिर डाँडैडाँडाले घेरिएको रोल्पाको हाम्रो नुवागाउँमा माओवादीहरू छन् भनेर सेनाले हेलिकप्टरबाट गोली बर्साएको रहेछ । तर उनीहरू पल्लो गाउँमा रहेछन् ।

अर्को एउटा घटना झनै हृदयविदारक छ । मेरो मामाको छोरा; दाइको बिहे गरेको एक वर्ष मात्र भएको थियो । सेनाले माओवादीमा लागेको आशंकामा समातेर उहाँलाई मारेछ । वास्तवमा उहाँ कहिल्यै माओवादी हुनुहुन्नथ्यो । माओवादीलाई मन पनि पराउनुहुन्नथ्यो । उहाँले अनाहकमा ज्यान गुमाउनु परेको घटनाले मलाई आज पनि उत्तिकै बेचैन बनाउँछ । स्कूलमा, गाउँमा माओवादीले विभिन्न कार्यक्रम गरिरहन्थे । यस्ता कार्यक्रम हेर्दै जाँदा मेरा केही साथीहरू माओवादी विद्रोहमा पनि सरिक भए । तर खोइ किन हो कुन्नि मलाई चाहिं त्यो कुराले कहिल्यै आकर्षित गरेन ।

माओवादी विद्रोहका समयमा देशभर परिचित हुन पुगेको नुवागाउँ २५ वर्षअघि म जन्मँदा त्यस्तो अवस्थामा थिएन । बाल्यकालमा त्यस्ता कुनै अप्रिय घटना थाहा पाइएन । जो अलि ठूलो भएपछि देख्नु–सुन्न पर्‍यो । सशस्त्र द्वन्द्व शुरू हुनुअघि हाम्रो गाउँ अत्यन्त शान्त थियो । ६ जना दाजुभाइ, दिदीबहिनीको बीचमा खेल्न, चल्न पाएपछि अरू के चाहियो र ! गाउँघरका अरू साथीहरू झैं मेरो पनि दिनचर्या बिहान घरगोठको कामबाट आरम्भ हुन्थ्यो । पाखाबाट एक भारी घाँस काटेर गोठमा बिसायो, हतारमा खाना खायो अनि हस्याङफस्याङ गर्दै स्कूल गयो । बेलुकी फर्केर घरधन्दा गर्‍यो । खाना पकायो, खायो । अनि पढ्न बस्यो । राति दश एघार बजेतिर सुत्यो । स्कूल पढ्दा मेरो दिनचर्या यस्तै थियो । म पढ्ने अरनिको मावि घरबाट नजिकै पर्दथ्यो । त्यसैले स्कूल आउन र जान धेरै समय लाग्थेन ।

मैले कहिल्यै ट्युसन लिइनँ । जति बुझें, स्कूलको कक्षामा नै बुबुझें । खोइ किन हो कुन्नि, कक्षामा बस्दा मैले सधैं पढाइलाई नै ध्यान दिएँ । मेरो मन त्यतैतिर मात्र गयो । शिक्षकका प्रत्येक शब्द, वाक्य, क्रियाकलाप, आदेश, हाउभाउमा सन्निहित मर्मलाई ध्यान दिएर बुझने प्रयत्न गरें । म त्यसमा कति सफल भएँ, त्यो म भन्न सक्दिनँ । मेरो तर्फबाट सक्नेजति गर्न सकिन्थ्यो; त्यो मैले पूर्ण लगावका साथ गरें । ‘हाफ टाइम’ को समयमा अरू साथीहरू चउरमा खेलमा रमाइरहेका हुन्थे, म चाहिं कक्षामा आफ्नै बेञ्चमा काममा मग्न हुन्थें । कैयौं गृहकार्य म यही ‘ब्रेक’ मा गर्दथें । ध्यान दिएर शिक्षकका कुरा सुन्यो, नबुझेका कुरा तत्कालै शिक्षकलाई सोध्यो, राम्रोसित गृहकार्य गर्‍यो भने स्कूलको पढाइलाई राम्रोसित पार लगाउन सकिंदोरहेछ । मेरो अनुभवले त्यही भन्छ ।

शायद हरेक मानिसको सपना आफ्नो परिवेशबाट निर्माण हुने गर्छ । खास खास घटनाले मानिसलाई गहिरोसित छुँदोरहेछ । अनि त्यसैको सेरोफेरोमा भविष्यको योजना र सपना बुन्न थालिंदोरहेछ । मेरो हकमा पनि त्यस्तै भयो ।  सानै उमेरमा लागेको एउटा ठूलो झ्ट्काले मलाई आज पनि उत्तिकै पछ्याइरहेको छ । त्यो हो, बहिनीसितको बिछोड । म करीब सात वर्षकी थिएँ । झाडापखालाले लखतरान पारेर बहिनीको ज्यान लियो । गाउँमा उपचार हुन सकेन । डाक्टर भएको भए बहिनी बाँच्थी भनेर म पछिसम्म सोच्थें । म ऊसित धेरै नै निकट भएकी रहिछु । ऊसितको विछोडको पीडाको घाउ कति गहिरो रहेछ भने आज पनि म त्यसबाट मुक्त हुनसकिरहेकी छैन । शायद मभित्र डाक्टर हुने सोच बहिनीसितको वियोगसँगै पैदा भएको रहेछ, जुन मसितै हुर्कदै र बढ्दै गयो ।

दाइ काठमाडौंमा एमए गर्दै हुनुहुन्थ्यो । त्यसैले एसएलसी पास गर्ने बित्तिकै मलाई उहाँले काठमाडौं ल्याएर त्रिचन्द्र कलेजमा आईएस्सीमा भर्ना गरिदिनुभयो । राजधानी आएर आफ्नो रुचिको विषय पढ्न पाएकोमा म दंग थिएँ । तर भाषिक समस्याले भने धेरै नै पिरोल्यो । गाउँमा त अंग्रेजी पनि एकप्रकारले नेपालीमा पढाइ हुन्थ्यो । नबुझेका अंग्रेजी शब्दका अर्थ सरहरूले तुरुन्त नेपालीमा लगाइदिनुहुन्थ्यो । तर कलेजमा त शतप्रतिशत अंग्रेजी बोलिंदोरहेछ, नेपालीमा अथ्र्याउने काम पनि हुँदोरहेनछ । शुरूका केही महीना त कक्षामा बस्नै गाह्रो भो । गाउँमा हामीले अंग्रेजी सरलाई नेपालीमा पढाउन लगाएर कति ठूलो गल्ती गरेका रहेछौं भनेर त्यसबेला मात्र होस खुल्यो । तर पनि मैले हरेस चाहिं खाइनँ । दिउँसो नबुझेका शब्दको अर्थ साँझ् डेरामा पुगेपछि शब्दकोश पल्टाएर खोज्ने गर्थें । एक घण्टा जति त शब्दकोशमा नयाँ शब्दको अर्थ खोज्न र खुट्याउनमै लाग्थ्यो । ६ महीना जतिको अथक् मिहिनेत पछि बल्ल अलि कुरा बुझन थालियो । भाषा भनेको नबोलुञ्जेल सिक्न सकिने विषय नै होइन रहेछ । त्यो कुराको आत्मानुभूतिपछि जाने पनि नजाने पनि म अंग्रेजीमा बोल्न थालें । त्यसले मेरो आत्मविश्वास विस्तारै बढाउँदै लग्यो ।

आईएस्सी उत्तीर्ण गरेको दिन मलाई लाग्यो, मैले एउटा महŒवपूर्ण खुट्किलो पार गरें । तर मेरो सपना हासिल गर्न झ्न् अर्को ठूलो पर्खाल थियो, एमबीबीएसमा भर्ना । खेती किसानीबाट खान बस्न मात्र ठिक्क हुने मेरो परिवारको आम्दानीले एमबीबीएस भर्ना गर्नको लागि सोच्न पनि सकिन्नथ्यो । पच्चीस–तीस लाख कहाँबाट ल्याउनु ! शिक्षा मन्त्रालयले दिने छात्रवृत्ति कोटा पाउन सकिएन । त्यसपछि परिवारमा सबैले एकैस्वरमा भन्न थाले, ‘सपना ठूलो देखेर मात्र हुँदैन ।’ मसित त्यसको जवाफ थिएन । तर म मेरो सपनासित सम्झैता पनि त गर्न सक्दिनथें ! अनि म बीएस्सी भर्ना भएँ । पढ्दै गएँ । यता संभावनाहरूको खोजी पनि जारी रह्यो । बीएस्सी सकिनै लाग्दा पाटन अस्पतालमा एमबीबीएसको पढाइ शुरू भएको रहेछ, जहाँ भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले गरीब तथा जेहेन्दार छात्रवृत्ति दिन थाल्नुभएछ । ६ वर्षे अवधिको पूरा कोर्सको दुईतिहाइ रकम भाटभटेनीले लगानी गर्ने र बाँकी एकतिहाइ अस्पतालले ब्यहोर्ने गरी दिएको छात्रवृत्ति परीक्षामा सौभाग्यबस सफल भएँ ।

सानैदेखि डाक्टर हुने सपना विपनामा परिणत हुने मूल ढोका खोलिएको त्यो क्षण म जीवनमै सबभन्दा धेरै खुशी भएकी थिएँ ।
पाटन अस्पतालमा डाक्टरी पढ्न थालेको तीन वर्ष पुगिसक्यो । यहाँ हाम्रो ब्याचमा ६० जना विद्यार्थी छन् । आधाजसो साथीहरू शहरका महँगा र नाम चलेका निजी स्कूल अध्ययन गरेको पृष्ठभूमिबाट आएका छन् । तर तिनीहरू र म जस्ता गाउँले सामुदायिक स्कूल पढेर आएका विद्यार्थीबीच सिक्ने क्षमता र स्तरमा खासै भिन्नता छैन । बरु संघर्ष गरेर यहाँसम्म आइपुगेका गाउँका हामी नै व्यवहारिक, खुला, सहयोगी र आइपरेका चुनौती सामना गर्न सक्ने हुँदारहेछौं । आत्मबल धेरै हुँदोरहेछ । प्रकृति र समुदाय, समाजसितको खुला, निरन्तर र जीवन्त अन्तरक्रियामा हुर्केको केटाकेटीको समग्र विकास राम्रो र सन्तुलितसित भएको हुँदोरहेछ । त्यसैले, सरकारी या सामुदायिक स्कूल नराम्रो र निजी स्कूल धेरै राम्रो भन्ने कुरा होइन रहेछ । वातावरण महत्वपूर्ण पक्ष रहेछ । पाटन एकेडेमीमा आएपछि महसुस भयो, पढाइमा पनि हामी सरकारी स्कूलका विद्यार्थी निजी स्कूलका भन्दा कमजोर छैनौं ।

मेरो दृष्टिमा नियमित पढाइ हुने सरकारी स्कूल कुनै पनि अर्थमा निजी भन्दा कमजोर छैनन् । त्यसैले सरकारी स्कूललाई एकोहोरो रूपमा गाली गर्ने वा कमजोर छौ भनेर सोच्ने दुवै सोच सही होइनन् । हामी सरकारी स्कूलमा पढ्ने विद्यार्थी या पढाउने शिक्षक दुवैले हीनभावना पाल्नु पटक्कै आवश्यक छैन । रह्यो स्कूलको स्तर उकास्ने कुरा, त्यो त सक्षम र समर्पित शिक्षक र सहयोगी व्यवस्थापन समितिको समन्वयात्मक र निरन्तर प्रयत्नबाट हासिल हुँदै जाने कुरा हो । बरु जुन सरकारी स्कूलका शिक्षकले दश–चार राम्रोसित ड्युटी गरेका छैनन्, त्यसको उपचार गर्न ढिलाइ गरिनुहुँदैन । यति भयो भने नेपालका सरकारी र सामुदायिक स्कूलहरूको नतिजा पनि निजीको जस्तै राम्रो आउँछ, आउँछ ।

अबको तीन वर्षमा म चिकित्सक बन्नेछु । छात्रवृत्ति पाउँदाको शर्त अनुसार चार वर्ष दुर्गम जिल्लामा या आफ्नै जिल्लामा गएर सेवा गर्नुपर्नेछ । मेरो त सानैदेखिको सपना नै गाउँले दाजुभाइ, दिदीबहिनीहरूको सेवा गर्ने नै हो । मिलेसम्म म रोल्पामै फर्कनेछु । त्यहाँ अहिलेसम्म पनि सुत्केरी गराउने प्रसूति सेवाको राम्रो प्रबन्ध छैन । त्यो मेरो पहिलो प्राथमिकता हुनेछ ।

त्यसपछि म आवश्यक अरू काममा लाग्नेछु । यही चार वर्षको अनुभवले नै मैले केमा विशेषज्ञता हासिल गर्नेछु भन्ने कुराको निर्धारण गर्नेछ । किनभने मैले अहिल्यै यही विषयमा विशेषज्ञ बन्नेछु भन्ने निक्र्योल गरिसकेकी छैन । मसित असल डाक्टर हुने बाहेक अरू कुनै सपना थिएन, छैन । प्राविधिक ज्ञान तथा सीप भएपछि डाक्टर होइन्छ । तर असल डाक्टर हुन त्यो मात्र पर्याप्त छैन । बिरामीप्रतिको पूर्ण समर्पणले नै मलाई असल डाक्टर बनाउनेछ । म पूरा निष्ठा र समर्पणका साथ असल डाक्टर हुने प्रयत्न गर्नेछु । म यो पेशा पैसा कमाउन होइन, मानिसको सेवाका लागि हो भन्ने मान्यतालाई अझ् अग्लो बनाउन चाहन्छु । मलाई लाग्छ, म यस कार्यमा केही इँटा थप्न अवश्य पनि सफल हुनेछु ।



 

commercial commercial commercial commercial