ग्रीन स्कूल, क्लिन स्कूलः विद्यालयदेखि घरसम्मै परिवर्तन

“२०७३ सालमा उपचारका क्रममा लखनऊ गएको थिएँ। त्यहाँ सडक, अस्पताल लगायत ठाउँमा ‘ग्रीन रोड क्लिन रोड, ग्रीन हस्पिटल क्लिन हस्पिटल’ लेखिएका होर्डिङ बोर्डहरू देखें। त्यसअघि पनि लखनऊ गएको थिएँ। तर पछिल्लो पटक जाँदा सरसफाइ र हरियालीले त्यहाँको वातावरण लोभलाग्दो पाएँ। यसैबाट प्रेरित भएर विद्यालयमा पनि यस्तो अभियान सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो। र, फर्केपछि ‘ग्रीन स्कूल, क्लिन स्कूल’ अभियान शुरु गर्‍यौं।

हाम्रो विद्यालयको चउर ठूलो तर फोहोर थियो। जताततै प्लास्टिक र कागजका टुक्रा फालिएका हुन्थे। सबैभन्दा पहिले शिक्षक–विद्यार्थी मिलेर फोहोर संकलन र व्यवस्थापन गर्‍यौं। अहिले कक्षागत रूपमा पालो मिलाएर विद्यार्थीले सरसफाइ गर्छन्। त्यसपछि प्रशस्त वृक्षरोपण गर्‍यौं, फूलबारी बनायौं। विद्यार्थीहरू कक्षागत रूपमा जिम्मेवारी लिएर फूलका बिरुवा रोप्छन्, फुलाउँछन्। कक्षागत रूपमा प्रतिस्पर्धा हुन्छ र प्रोत्साहनका लागि पुरस्कृत गर्छौं। यो अभियानले विद्यालयको वातावरण स्वच्छ र हरियालीयुक्त भएको छ।

दुना, टपरी बनाउने अभ्यास गर्दै युवक माविका छात्राहरू ।

कुनै कक्षा खाली भयो र फुर्सद मिल्यो भने विद्यार्थी फूलबारीमा जान्छन्। गोडमेल गर्छन्। यसरी कुनै रचनात्मक काममा संलग्न हुँदा, विद्यार्थीबाट कहिलेकाहीं जानी नजानी हुने बिगार, जस्तो— पंखा भाँच्ने वा बोर्ड ठोक्ने जस्ता कुरा नहुने रहेछन्।

यो अभियान हाम्रो विद्यालयमा मात्र सीमित रहेन। यसले विद्यार्थीको घरको वातावरणमा समेत सकारात्मक प्रभाव पार्‍यो। उनीहरूले ग्रीन हाउस क्लिन हाउस अभियान चलाए। गत वर्ष हामीले ५२४ घरमा पुगेर सर्वेक्षण गर्‍यौं । ८३ प्रतिशत विद्यार्थीले आफूसँग उपलब्ध स्रोतसाधन प्रयोग गरेर फूलबारी बनाई फूल रोपेको पायौं। साथै घरका आँगन र कोठाहरू पनि सफा राखेको पाइयो।

अभिभावक नै शिक्षक

युवक माविले स्थानीय सीप प्रवर्धनका लागि विद्यार्थीलाई विभिन्न सीपहरू सिकाउँछ। कहिले उनीहरू परालको चकटी बनाउन सिक्छन्। थारू भाषामा यसलाई बेर्रे भनिन्छ । कहिले थारू समुदायको परिकार बनाउन सिक्छन्। हाते पंखा (बेना), दुनाटपरी, सिन्की बनाउन पनि सिकाइन्छ। हाम्रो विद्यालयमा ८४ प्रतिशत विद्यार्थी थारू समुदायका छन् ।

यस्ता सीप सिकाउन स्थानीय अभिभावकहरू स्वयंसेवक शिक्षकका रूपमा पालैसँग आउनुहुन्छ। उहाँहरूबाट हामी शिक्षकले पनि सिक्ने अवसर पाएका छौं। विद्यार्थी उत्साहित भएर सिक्छन्। यस्तो पनि लाग्छ कि हामी विद्यार्थीलाई कम आकलन गर्दा रहेछौं। हामीले सोचेभन्दा उनीहरूले धेरै राम्रो बनाउँदा रहेछन् । उनीहरूले बनाएका बेर्रे छात्रावासमा समेत प्रयोग गरिन्छ। विद्यार्थीले बनाएका सामान बिक्री गरेर उनीहरूका लागि आयआर्जन हुन सक्छ कि भन्ने पनि सोचेका छौं।”


परियोजना कार्य, हाम्रो विशेषता

“म आफ्ना विद्यार्थीलाई व्यावहारिक समस्या समाधान, तथ्यांक संकलन तथा विश्लेषण र दैनिक जीवनसँग जोडिएका परियोजना कार्य गराउँछु । परियोजना कार्यले विद्यार्थीलाई सिकाइमा सक्रिय रूपमा सहभागिता गराउँछ। साथै उनीहरूमा आपसी समन्वय र सहयोग, सिर्जनात्मक सोच र नेतृत्व सीपको विकास पनि हुन्छ।

जनकका विद्यार्थीले सञ्चालन गरेका परियोजनाहरू स्थानीय स्रोतमा आधारित, व्यावहारिक, वैज्ञानिक, सिर्जनात्मक र जीवनोपयोगी सिकाइका उत्कृष्ट उदाहरण बन्ने गरेका छन्। यस्ता परियोजनाबाट उनीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता समेत जितेका छन्। काठमाडौंमा सम्पन्न राष्ट्रिय स्तरको युवा वैज्ञानिक सम्मेलन–२०२४ मा हाम्रा विद्यार्थीले सञ्चालन गरेको अजोला सम्बन्धी परियोजना प्रथम भएको थियो । यो परियोजनाबाट उनीहरूले मलेशियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा तृतीय स्थान हासिल गरेका थिए। त्यो प्रतियोगितामा ३९ वटा देश सहभागी थिए। यो परियोजना अन्र्तगत विद्यार्थीले विद्यालयको कृषि फार्ममा झयाउ जस्तो एक बहुउपयोगी वनस्पति अजोला को खेती गरेका थिए।

घरपालुवा पशुको आहारामा पोषण वृद्धि गर्न अजोला उपयोगी हुन्छ। यसमा प्रोटिन, अमिनो एसिड, भिटामिन तथा खनिज पदार्थ पर्याप्त मात्रामा पाइने भएकाले यसलाई माछा, पशुपन्छी तथा कुखुराका लागि गुणस्तरीय आहारका रूपमा प्रयोग गर्न सकिन्छ । विद्यालयको फार्ममा रहेका गाई, भैंसी, कुखुरालाई हरियो आहारका रूपमा अजोला दिने गरिन्छ। अन्य दानासँग मिसाएर प्रयोग गर्दा दूध, मासु तथा अण्डा उत्पादन वृद्धि भएको पनि पाइयो। यसबाट विद्यार्थी तथा स्थानीय किसानहरूमा सकारात्मक प्रभाव परेको थियो। युवा वैज्ञानिक सम्मेलनमा हाम्रै विद्यार्थीले बनाएको नीम सम्बन्धी परियोजना दोस्रो भएको थियो ।”


द्यार्थीको वाक् क्षमता र लेखन सीपमा प्रगति भएको छ

“विद्यार्थीमा अंग्रेजी भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइ सीप विकासका लागि नियमित पठनपाठन बाहेक अंग्रेजी भाषा क्लब मार्फत विविध क्रियाकलाप गर्ने गरेका छौं। पुस्तक समीक्षा, भाषण प्रतिस्पर्धा, कविता लेखन, नाटक प्रदर्शन, पत्रिका पढ्ने लगायत गतिविधि हुन्छन्।

भाषण प्रतिस्पर्धाका लागि हामी कुनै विषय दिन्छौं। त्यसमा विद्यार्थीले चयन गरेका शब्द, उच्चारण, प्रस्तुतिको प्रवाह लगायत पक्षलाई हेरेर विजेतालाई पुरस्कृत गर्छौं। सानो पुरस्कारले पनि उनीहरू उत्साहित र खुशी हुन्छन्।

कविता लेखनमा चाहिं उनीहरूलाई मन लागेको विषयवस्तुमा कविता लेख्न र वाचन गर्ने अवसर दिइन्छ। भर्खरै कक्षा ५ देखि १२ सम्मका ४७ जना विद्यार्थीले कविता लेखे। त्यसमध्ये मौलिकताका आधारमा २७ वटा छनोट गर्‍यौं। कक्षाकोठाभन्दा बाहिर नारायणी नदीको ‘राइनो क्रुजसिप’मा एक कार्यक्रम बीच उनीहरूले कविता वाचन गरे। अभिभावक र अन्य अतिथिसामु कविता वाचन गर्दा उनीहरू अत्यन्त हर्षित भए।

त्यस्तै, विद्यार्थीले पुस्तक समीक्षा पनि गर्छन्। पुस्तकालयमा भएका किताब बाहेक उनीहरू अन्य किताब पनि माग गर्छन्। उनीहरूलाई हामी शिक्षकले थाहा नपाएका किताबका बारेमा पनि जानकारी हुन्छ। उनीहरूको माग अनुसारको किताब किनेर उपलब्ध गराउँछौं। पढ्नका लागि समय दिइन्छ। समीक्षा लेख्छन् र पुस्तक फिर्ता गर्छन्।

तीन वर्षदेखि सञ्चालन हुँदै आएको क्लबको गतिविधिबाट विद्यार्थीको वाक् अभिव्यक्ति क्षमता र लेखन सीपमा प्रगति भएको छ। अंग्रेजी भाषा बोल्न हाम्रा विद्यार्थी धक मान्दैनन्। विदेशीसँग पनि संवाद गर्छन्।

परीक्षामा सन्दर्भ अनुसार आफ्नै शब्दमा सृजनात्मक तरिकाबाट लेख्न सक्ने क्षमता पनि उनीहरूमा विकास भएको छ।”


शैक्षिक सत्रको शुरुमै विद्यार्थीको सिकाइस्तर पहिचान

“विद्यार्थीको सिकाइस्तर पहिचान गर्न शैक्षिक सत्रको शुरुमै २० अंकको परीक्षा लिएर विद्यार्थीलाई ४ समूहमा वर्गीकरण गर्छु। ‘उदार–कक्षोन्नति’का नाममा हिजोआज कमजोर सिकाइस्तर भएका विद्यार्थीलाई पनि कक्षा चढाइएको हुन्छ। वास्तविक सिकाइस्तर र कक्षागत वा तहगत रूपमा हासिल गरेको सिकाइस्तर बीच तालमेल नमिल्दा पछि कक्षामा उनीहरूलाई बुझाउन र सिकाउन गाह्रो हुन्छ। कमजोरहरूलाई सहयोग गरिएन भने उनीहरू सिकाइमा थप पछि पर्छन्।

खासगरी बाहिरका विद्यालयबाट स्थानान्तरण भएर आउने विद्यार्थीमा सिकाइ कमजोर पाइन्छ। तिनको सिकाइ सुधारका लागि शिक्षण सुधार योजना ९त्क्ष्ए० बनाएर प्रधानाध्यापकबाट प्रमाणित गराउँछु । ज्यादै न्यून अंक ल्याउने विद्यार्थीलाई ‘जोखिमपूर्ण’ र उच्च अंक ल्याउनेलाई ‘उत्कृष्ट’ समूहमा वर्गीकरण गरेपछि उच्च अंक ल्याउने विद्यार्थीलाई कमजोर विद्यार्थीको संरक्षक बनाउँछु। जस्तो, कक्षा ७ की ‘क’ चेम्जोङ (८५%)ले सोही कक्षाकी ‘ख’ राई (५%) लाई सहयोग गर्ने जिम्मेवारी पाउँछिन्।

उच्च अंक ल्याउनेले कमजोर सिकाइस्तर भएका विद्यार्थीलाई ‘मेन्टरिङ’ गर्छन्। आफ्ना साथीलाई सहयोग गरेर जिम्मेवारी पूरा गरेबापत मेन्टर विद्यार्थीलाई स्याबासी र धन्यवाद दिने गर्छु। यसो गर्दा कहिलेकाहीं कमजोर विद्यार्थीलाई असहज पनि लाग्न सक्छ। त्यो संवेदनशीलताको पनि ख्याल गर्नुपर्ने हुन्छ। साथै न्यून सिकाइ उपलब्धि भएका विद्यार्थीका लागि पुनः शिक्षण कक्षा (अतिरिक्त कक्षा) पनि सञ्चालन हुन्छ। गृहकार्य पनि दिइन्छ । अभिभावकसँग पनि घरमा पढ्ने वातावरण बनाइदिन कुराकानी हुन्छ। यसरी, केही हप्तामा कमजोर विद्यार्थीको सिकाइस्तरमा पहिलेभन्दा सुधार हुन्छ।

पहिलो त्रैमासिक परीक्षापछि कमजोर सिकाइ भएका विद्यार्थीको नतिजा हेरी उनीहरूको पहिलेको अवस्था र पछिल्लो अवस्था के छ, कतिको प्रगति गरेका छन् भनेर मूल्यांकन गर्छु। र आवश्यकता अनुसार शिक्षण सुधार योजना बनाउँछु ।”


६ जना शिक्षक पुरस्कृत

पी.पी. प्रसाईं उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ बाट ६ वटा प्रदेशका ६ जना शिक्षक पुरस्कृत भए। पुरस्कृत हुनेमा कोशी प्रदेशबाट खगेन्द्र निरौला (जनता मावि, चुलाचुली गापा, इलाम), बागमती प्रदेशबाट युवराज भट्टराई (जनक मावि, नमोबुद्ध नपा, काभ्रे), गण्डकी प्रदेशबाट मनोजविक्रम बिष्ट (जनक नमूना मावि, गैंडाकोट नपा, नवलपरासी) छन्।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादव, विशेष अतिथि त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा र पी.पी. प्रसाईं फाउण्डेशनका अध्यक्ष शिखर प्रसाईं लगायतसँग पुरस्कृत शिक्षकहरू।

यस्तै, लुम्बिनी प्रदेशबाट नरेशकुमार चौधरी (युवक मावि, बारबर्दिया नपा, बर्दिया), कर्णाली प्रदेशबाट लोकेन्द्र चन्द (त्रिपुरेश्वर मावि, वीरेन्द्रनगर नपा, सुर्खेत) र सुदूरपश्चिम प्रदेशबाट अन्जुकुमारी उपाध्याय (सिद्धनाथ अमर मावि, भीमदत्त नपा, कञ्चनपुर) पुरस्कृत भएका छन्। पी.पी. प्रसाईं फाउण्डेशनका अनुसार यो वर्ष मधेश प्रदेशका शिक्षकबाट पर्याप्त मात्रामा आवेदन नपरेकाले त्यहाँबाट शिक्षक छनोट गरिएन।

२० भदौ २०८३ का दिन काठमाडौंमा आयोजित एक समारोहमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले विजेता शिक्षकहरूलाई उक्त पुरस्कार प्रदान गरेका थिए। पुरस्कारमा जनही ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको थियो। पी.पी. प्रसाईं फाउण्डेशनले देशभरिबाट आवेदन माग गरी पुरस्कारका लागि शिक्षक छनोट गर्ने गरेको छ। पहिलो चरणमा छानिएर संक्षिप्त सूचीमा परेका शिक्षकहरूले दोस्रो चरणको अन्तर्वार्तामा प्राप्त कुल अंकका आधारमा विजेता बन्ने गर्छन्। 

commercial commercial commercial commercial