टिकटक बनाउने सर-मिसलाई प्रोत्साहित गरौं !

अफिसमा काम गर्नेहरूलाई भदौ महीना अलि फुर्सदिलो हुन्थ्यो, यसपालि त बिदाहरू झनै बढे। फेसबूक, टिकटक हेर्दै जाँदा मलाई महिला शिक्षकहरूले तीजका र अन्य गीतमा छोटा भिडियो बनाएर पोस्ट गरेको दृश्य घत लाग्यो। लगातारजसो- सय वटा जति हेरें। केही साथीहरूसँग ‘युवा शिक्षकहरू कति धेरै सिर्जनशील भएछन्’ भनेर शेयर पनि गरें। तर प्रतिक्रिया मिश्रित पाएँ। एक जना प्रअ साथीले आफ्नो विद्यालयका ‘मिसहरूको ध्यान टिकटकमा मात्र छ’ भनेर असन्तुष्टि देखाए। माध्यमिक तहमा गणित पढाउने एक युवा शिक्षकले चाहिं त्यो सीप र उत्साहलाई शैक्षिक प्रयोजनका लागि प्रोत्साहित गर्नुपर्ने बताए। त्यसपछि मेरा विद्यार्थी बहिनीहरू जो अहिले शिक्षक छन्, तिनीहरूसँग कुरा गरें । तिनले शुरुमा संकोच माने। तर सम्भावनाको कुरा गरेपछि उत्साही भएर धेरै कुरा शेयर गरे। मलाई यही विषयमा यहाँ अलिक बढी छलफल गरौं भन्ने लाग्यो।

नेपालको पहाडी भेगका प्रायःजसो माध्यमिक विद्यालयमा भलिबल भएपछि अतिरिक्त क्रियाकलापको माग लगभग पूरा हुन्थ्यो। ‘टिफिन टाइम’मा स्कूलको चउर वा आँगनमा भलिबल खेल्ने खेलाउने चलन पुरानै हो। छात्राहरूका निम्ति खेल्ने कुरा केही हुन्नथ्यो। विद्यालयहरूमा संगीत सिकाउने चलन खासै छैन। नियमित त हैन; उत्सवहरूको बेला छात्राहरूलाई नाच्न चाहिं केही सिकाइन्थ्यो। महिला शिक्षकहरूको संख्या बढेपछि आजकल उनीहरू पनि नाचेको देखिन्छ। त्यसैले, आम प्रकृतिका सार्वजनिक विद्यालयहरूबाट नेपालमा खेलाडी, कलाकर्मी उत्पादन हुने सम्भावना न्यून रहन्छ। प्राविधिक सीप र जीवनमा त्यसको प्रयोगको बारेमा त कुरै नगरौं। 

अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद; हिज्जे, निबन्ध लेखन र चित्रकला जस्ता बौद्धिक उन्नयनमा सघाउने कार्यक्रमको पनि हाम्रा सार्वजनिक विद्यालयहरूमा अभाव छ। शिक्षा निःशुल्क बनाउने रहर र नीतिहरूले गर्दा अलि अलि भरथेग गर्ने सम्भावनाका ढोका पनि बन्द भएका छन्। आम रूपमा भौतिक स्रोतसाधन, विषय शिक्षक, शैक्षिक स्रोत सामग्री, शिक्षक विद्यार्थी सहयोग कार्यक्रम, प्रविधि र नवप्रवर्तनमा त्यस्ता अभाव मज्जाले झिल्किन्छन्। यसले गर्दा, धेरैजसो विद्यालयले विद्यार्थीको लागि पाठ्यक्रममा आधारित सिकाइका दायराहरू खुम्च्याएर पाठ्यपुस्तकमा आधारित र अझ् साँघुरो गरी परीक्षा-लक्षित शिक्षण गर्नु परेको छ। परीक्षामुखी र तालीम जस्तो पढाइको पक्ष लिने व्यवस्थापन समिति, विद्यार्थीलाई कक्षामा थुनेर पढ पढ भन्न पाउँदा गर्व गर्ने प्रधानाध्यापक र शिक्षकहरू भएपछि त्यहाँ विद्यार्थी बाहेक सबैको स्वार्थ मिल्छ । यस्तो अवस्थामा हुर्केका विद्यार्थीहरू उच्च शिक्षा वा रोजगारीको सिलसिलामा अन्यत्र जाँदा आफ्नो कमजोर सिकाइ महसुस गर्दछन्। आफू सरहका साथीले खेलहरू खेल्न, नाच्न, अनेक खाले बाजा बजाउन, कम्प्युटर र इन्टरनेटका धेरै सीप जानेको देखेर अनौठो मान्दछन् र आफ्नो विद्यालय-शिक्षाको सीमितता बुझदछन्। तर सुधार गर्न ढिलो भइसकेको हुन्छ।

सबैजसोलाई थाहा छ, अतिरिक्त र बौद्धिक क्रियाकलापले बालबालिकाको समग्र व्यक्तित्व विकासमा योगदान पुर्‍याउँछ। यसबाट बालबालिकाले सामाजिकीकरण हुने, योजना बनाउने, निर्णय गर्ने र नेतृत्व लिने, स्वयंसेवी बन्ने, सहयोग गर्ने, द्वन्द्व व्यवस्थापन गर्ने जस्ता धेरै सीप आर्जन गर्न सक्छन्। उनीहरूले आफ्नो संवेगलाई व्यवस्थित गर्न सिक्छन्; तनाव, आक्रोश र रिस-रागहरू घटाउन सिक्छन्। हाम्रो शिक्षामा यी सीप र व्यवहारहरूको सिकाइ-अभाव स्पष्ट देखिएको छ। 
मैले तीन दशक जति शिक्षक तथा प्रधानाध्यापक भएर काम गरें। त्यसैले माथि लेखिएका कुराहरू मेरो अनुभवमा आधारित छन्। मैले काम गरेको ग्रामीण भेगको विद्यालयमा अनेक भौतिक, शैक्षिक र मानव स्रोतको अभावका माझ्मा विषय शिक्षक जुटाएर कक्षा सञ्चालन गर्नु नै ठूलो कुरा थियो। फेरि त्यस्तै विद्यालयबाट हुर्केर आएका हामी शिक्षकहरूसँग पनि सिकाउन सक्ने पर्याप्त ज्ञान, सीप थिएन। विद्यालय विस्तार हुँदै गएपछि मैले एउटा जुक्ति निकालें। प्राथमिक तहमा पढाउने शिक्षकहरू प्रायःजसो स्थानीय नै हुनाले तिनको विकल्प हुँदैनथ्यो। तर, माध्यमिक तहमा पढाउने शिक्षकहरू नियुक्ति गर्दा वा सरुवा गरेर ल्याउँदा ‘विषय शिक्षण बाहेक तपाईंसँग विद्यार्थी र विद्यालयका लागि काम लाग्ने थप के के सीपहरू छन् ?’ भनेर सोध्न थालें। शिक्षक छनोट गर्दा अतिरिक्त ज्ञान र सीपहरूलाई पनि अंक दिन थालियो।

यो रणनीतिले विद्यालयपछि शिक्षकको नियुक्तिसँगै विशेष प्रतिभाहरू भित्रिन थाले। जिल्लाका एक प्रख्यात भलिबल खेलाडी गणित शिक्षक बनेर आउनुभयो। त्यसैगरी धेरैथरी बाजा बजाउन सक्ने, गाउन सक्ने अंग्रेजी शिक्षक र बौद्धिक क्रियाकलापमा रुचि भएका विज्ञान शिक्षकहरू पाइयो। औसत क्षमता र रुचि भएका पुराना शिक्षक पनि कस्सिएर उहाँहरूसँग जुट्न थाल्नुभयो। व्यवस्थापनका नेताहरूलाई पनि लगानी गर्न उत्साह बढ्यो। पाँच वर्षमा हाम्रा शिक्षकले गरेको मिहिनेतको नतिजा देखिन थाल्यो। विद्यालय- भौतिक पूर्वाधार, विद्यार्थीको आकर्षण र नतिजा आदि सबै क्षेत्रमा चम्कियो। जिल्ला स्तरमा हुने खेलकुद र बौद्धिक प्रतिस्पर्धामा पहिला कहिल्यै सफल नभएको विद्यालयले पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्रहरू चाङ लगाएर ल्याउन थाल्यो। यस्तै उपलब्धिबाट एक दशक बित्दा नबित्दै ‘संघीय तहको नमूना विद्यालय’मा छनोट भयो। अझ अघि बढ्यो । हाम्रोे विद्यालयको प्रगतिमा अरू तत्वहरूको पनि भूमिका होला तर मुख्य योगदान ती विशेष योग्यता, क्षमता र स्वयंसेवी भावना भएका शिक्षकहरूको रह्यो।  

समय र परिस्थिति बदलिएको छ, अहिले त्यतिले पक्कै पुग्दैन। विद्यालय शिक्षालाई प्रभाव पार्ने तत्वहरूमध्ये धेरै छिटो बदलिएको प्रविधिलाई आत्मसात् गरेर त्यसको प्रयोग गर्नु एउटा प्रमुख खाँचो हो। अहिले प्रविधिको प्रयोग र गति समेट्न ज्ञान, सीप र प्रयोग औपचारिक पाठ्यक्रमबाट मात्र सिकाएर सकिंदैन। यसको दुरुपयोग रोक्न ‘नैतिक र जिम्मेवार प्रयोग’ सम्बन्धी विधा नै खडा भएको छ। बालबालिकालाई प्रविधिको नैतिक र जिम्मेवार प्रयोग सम्बन्धी व्यावहारिक सीपहरू सिकाउने काम नै एउटा महŒवपूर्ण अतिरिक्त क्रियाकलाप हुन सक्छ। 

शिक्षामा प्रविधिको प्रयोगका बारेका हाम्रो समाज र परम्परा त्यति प्रगतिशील छैन। विद्यालय जाने उमेरकी मेरी दिदीलाई हजुरआमाहरूले ‘रेडियो सुन्छे’ भनेर कराउनुहुन्थ्यो। त्यसको केही वर्षमा नै विद्यालयमा रेडियो प्रयोग गरेर पढाउन थालियो। म स्कूल जाने उमेरको छँदा ‘टीभी वा भिडियो हेरेको’ भनेर गाली खान्थें। तर पछि शिक्षक भएपछि आफैंले कक्षामा त्यसको प्रयोग गर्नुपर्‍यो। मैले २०६४/६५ तिर फेसबूक एकाउन्ट बनाउँदा ‘हेडमास्टर आफैं फेसबूक चलाउँछ’ भनेर खिसीटिउरी गर्थे तर पछि खिसीटिउरी गर्ने शिक्षक र व्यवस्थापनका पदाधिकारीहरूको फेसबूक एकाउन्ट खोल्न मैले नै सघाउनुपर्‍यो। आजकल धेरै महिला र पुरुष शिक्षकले टिकटक चलाउनुहुन्छ र कुरा काट्नेहरूका निम्ति त्यो ‘कन्टेन्ट’ भएको छ।

अहिले आधाभन्दा बढी नेपाली जनसंख्या सोसल मिडियामा छ। सोसल मिडियाका कारण टेक्स्टुयल र अडियो भिजुयल सामग्री आदानऔप्रदान बढी सजिलो र प्रभावकारी भएको छ। टिकटक, रिल्स, सट्र्स समेत अनेक एप्सहरूको सामान्य प्रयोग निःशुल्क उपलब्ध छ। तर यिनको सदुपयोगमा नेपाली युवाको सीप मात्र हैन, जिम्मेवारीबोधमा पनि समस्या हुन्छ। तथापि त्यसको लागि, प्रविधिमा प्रतिबन्ध लगाउने होइन, बरु असल सीप र संस्कार सिकाउनुपर्छ। यो काममा डराई-डराई भिडियो बनाएर सोसल मिडियामा अपलोड गर्ने हाम्रा युवा शिक्षकको सहयोग लिनु उपयुक्त हुन्छ। त्यस बाहेक, विद्यालय भर्ना, कक्षामा अनुपस्थिति, अभिभावक शिक्षा, किशोरी शिक्षा, प्राकृतिक प्रकोपबाट सुरक्षा, क्यारियर काउन्सिलिङ लगायत अनेक क्षेत्र छन्, जहाँ सोसल मिडियाबाट धेरै काम गर्न सकिन्छ। त्यसैगरी, कतिपय विषय शिक्षकले पाठ्यक्रममा आधारित रोचक शिक्षण सामग्रीहरू पनि बनाउन सक्नुहुन्छ। विरसिला पाठहरूलाई गीत, संगीत र नाच मिसाएर रसिलो बनाउन सकिन्छ। 

त्यसैले, सम्भावनाका ढोका बन्द गर्ने हैन, व्यवस्थापन गर्ने हो। टिकटक लगायतका प्लाटफर्महरूको रचनात्मक प्रयोगका निम्ति सीप, जाँगर र रहर भएका शिक्षकहरूलाई प्रोत्साहन गरिनुपर्छ; तालीम दिइनुपर्छ, अझ् प्रभावकारी बन्न उत्साहित गर्नुपर्छ। राम्रा श्रव्य-दृश्य सामग्री बनाउनेहरूलाई प्रोत्साहन गर्नका लागि लगानी पनि गरिनुपर्छ। शिक्षकहरूले बनाएका शिक्षण सामग्रीहरूको प्रदर्शनी र प्रतियोगिता गराउन सकिन्छ। पेशागत काममा सोसल मिडिया प्रयोग गर्ने शिक्षकहरूको राष्ट्रिय, क्षेत्रीय तहका नेटवर्क बनाएर अनुभव र सीपहरू आदान-प्रदान गर्ने वातावरण बनाउन सकिन्छ। यसरी शिक्षकका विशेष ज्ञान, सीप र जोश-जाँगरलाई विद्यार्थी र विद्यालयको हितमा प्रयोग गर्न सकिन्छ । अर्थात् ‘भाइरल मिस’हरूलाई अझ सिपालु, उत्साही र जिम्मेवार शिक्षक बन्न र बनाउन यो सम्भव छ, सबैले प्रोत्साहित गरौं।

(पूर्व प्रअ, सत्यवती मावि, सिद्धलेक-७, धादिङ)

commercial commercial commercial commercial