एचआईभी संक्रमितको सहारा सफलता शिक्षा-सदन

सुर्खेतकी गोमा आले मगर (उमेर १७ वर्ष, नाम परिवर्तन) का बाबा र आमा दुवैको एड्सका कारण मृत्यु भयो। गोमा पनि एचआईभी पोजिटिभ छन्। डेढ महीनाअघि आफन्तले उनलाई सफलता एचआईभी शिक्षा सदन, कीर्तिपुरमा ल्याएर छाडेका छन्। आएको दोस्रो दिनदेखि बिरामी परेकी उनी पहिलो पटक १७ दिन र दोस्रो पटक ४ दिन अस्पताल बसेर फर्किएकी छन्। गोमाका आफन्त अहिले सम्पर्कबाट टाढा भइसकेका छन्।

धरानका प्रवेश भण्डारी (उमेर १७ वर्ष, नाम परिवर्तन) शिक्षा सदनका अर्का विद्यार्थी हुन्। उनका पनि बाबा र आमाले एड्सकै कारण ज्यान गुमाए। एचआईभी पोजिटिभ देखिएका भण्डारी शिक्षा सदनमा बसेर व्यवस्थापन समूहतर्फ कक्षा ११ मा अध्ययन गरिरहेका छन्। अहिले उनको परिवार र आफन्त भनेकै विद्यालयका विद्यार्थी र विद्यालय सञ्चालक हुन्।

गोमा र प्रवेश मात्रै होइन, यस सदनमा रहेका बालबालिकाका आ–आफ्नै मर्मस्पर्शी कथा छन्। उत्तम मगर (९), टोपेन्द्र मगर (९) जुम्ल्याहा, वसन्त मगर (१३) र सुमित्रा मगर (१४) चार भाइ–बहिनी (नाम थर परिवर्तन) हुन्। धेरैजसोका आमा–बाबाको एड्सका कारण मृत्यु भइसकेको छ भने कतिपयले एड्सकै कारण आमा वा बाबामध्ये एक जना गुमाइसकेका छन्। यहाँ रहने प्रायः बालबालिका एचआईभी पोजिटिभ छन्।

कसरी जन्मियो स्कूल ?

बालबालिका पढ्न चाहन्छन्। उनीहरूलाई विद्यालय जान मन लाग्छ। साथीहरूसँगै बसेर पढ्ने, खेल्ने र भविष्यका सपना देख्ने रहर हुन्छ। तर, सबै बालबालिकाका लागि सबै विद्यालयका ढोका सहजै खुल्दैनन्। कसैलाई गरीबीले रोक्छ, कसैलाई अपाङ्गताले त कसैलाई सामाजिक विभेदले। एचआईभी सङ्क्रमित बालबालिकाका लागि पनि समाजको यस्तै विभेद शिक्षाको बाटोमा पर्खाल बनेर उभिएको थियो। राजकुमार पुनले त्यही पर्खाल भत्काउने प्रयत्न गरिरहेको भान हुन्छ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–५, भत्केपाटीमा रहेको सफलता एचआईभी शिक्षा सदन एचआईभी सङ्क्रमित बालबालिकाको शिक्षाका लागि खोलिएको वैकल्पिक धारको विद्यालय हो। एचआईभी सङ्क्रमित बालबालिका मात्रै पढ्ने यो विद्यालयमा आवासीय सुविधाका साथै स्वास्थ्य उपचार र नियमित एआरभी (ARV) औषधि सेवनको सुविधा उपलब्ध गराइएको छ।

राजकुमार पुन कुनै बेला कीर्तिपुरस्थित ल्याबोरेटरी स्कूलमा शिक्षक थिए भने उमा गुरुङ आफ्नै व्यवसायमा संलग्न थिइन्। दुवैको आ–आफ्नो दैनिकी थियो। तर, दाङमा एचआईभी सङ्क्रमित बालबालिका कठिन अवस्थामा रहेको समाचारले उनीहरूलाई आफ्नो नियमित जीवनशैलीबाट बाहिर निकाल्यो। उनीहरू केही सहयोग सामग्री लिएर त्यहाँ पुगे। त्यहाँ देखेको बालबालिकाको अवस्था र उनीहरूप्रति समाजले गरेको व्यवहारले उनीहरूको मन छोयो। एक बालिकाका आफन्तले समेत ती बालिकालाई आफूसँगै लैजान आग्रह गरे। उनीहरूको अवस्था देखेपछि केही राहत दिएर फर्किने योजना पर्याप्त नहुने महसुस भयो। बालबालिकालाई खाना र कपडा दिनु आवश्यक थियो, तर त्यतिले मात्रै उनीहरूको भविष्य सुरक्षित हुँदैनथ्यो। उनीहरूलाई नियमित पढाइ, स्वास्थ्य उपचार, सुरक्षित आवास र आत्मसम्मानका साथ हुर्किने वातावरण चाहिन्थ्यो।

काठमाडौं फर्किएपछि राजकुमार पुन, उमा गुरुङ र उनीहरूसँग जोडिएका सहयोगीहरूले ‘बेबी लाइफ होम’मार्फत बालबालिकाको संरक्षणको काम अघि बढाए। शुरुमा चार बालबालिकाबाट थालिएको प्रयास क्रमशः आवास, स्वास्थ्य सेवा, परामर्श र शिक्षासँग जोडिंदै गयो। तर, बालबालिकालाई पढाउन सामान्य विद्यालयमा भर्ना गराउने प्रयास सफल हुन सकेन। एचआईभी सङ्क्रमण बारे समाजमा रहेको डर, भ्रम र विभेदका कारण उनीहरूले सहजै विद्यालयमा प्रवेश पाउनै सकेनन्।

“त्यतिबेला सामुदायिक विद्यालयले बालबालिकालाई भर्ना गरेको भए म अर्कै बाटो लाग्थें पनि होला, तर उनीहरूलाई पढाउनैपर्ने बाध्यताले हामीलाई यो विद्यालय खोल्ने निर्णयमा पुर्‍यायो”, राजकुमार सम्झन्छन्। ‘शिक्षा सबैका लागि भनिन्छ, तर यस्ता बालबालिकाका लागि खै त ?’ पुनको अहिले पनि त्यही प्रश्न छ। एचआईभी पोजेटिभ कतिपय बालबालिका पढ्न मात्र होइन, अभिभावक नहुँदा अहिले पनि औषधि खानबाट वञ्चित हुने गरेको उनी बताउँछन्।

आफ्नै घर बेचेर सङ्क्रमितको स्कूल

विद्यालय खोल्ने निर्णय गर्न सजिलो थियो, तर त्यसलाई निरन्तर सञ्चालन गर्नु कठिन थियो। बालबालिकाका लागि भवन चाहिन्थ्यो, शिक्षक र पुस्तक चाहिन्थे। उनीहरूको भोजन, स्वास्थ्य उपचार र दैनिक हेरचाहको व्यवस्था पनि गर्नुपथ्र्यो। चुनौती ठूलो थियो। राजकुमार पुन आफ्नो घर बेचेर बालबालिकाको स्थायी बसोबास र विद्यालयको व्यवस्था गर्ने काममा अगाडि बढे। उमा गुरुङले पनि बालबालिकाको संरक्षणका लागि आफ्नो कस्मेटिक व्यवसायलाई टाढा बनाइन्। विद्यालयका लागि आर्थिक स्रोत जुटाउने कामसँगै सामाजिक अविश्वासको सामना गर्नु पनि उनीहरूको बाध्यता बन्यो। बालबालिकालाई भाडामा राख्ने ठाउँ खोज्दा कठिनाइ भयो, विद्यालयमा भर्ना गराउन खोज्दा पनि अवरोध आए। तर, समाजले बालबालिकालाई अस्वीकार गरे पनि उनीहरू वचनबाट विचलित भएनन्।

सहयोग थपियो, ‘वल्र्ड बुक’ मा नाम लेखियो

प्रारम्भिक बालविकास केन्द्रबाट शुरु भएको यस सदनको शैक्षिक यात्रा प्राथमिक, आधारभूत हुँदै माध्यमिक तहसम्म पुगेको छ। विद्यालयले २०६८ मा प्रारम्भिक बाल विकास केन्द्र, २०६९ मा कक्षा १–५, २०७२ मा कक्षा ६–८ र २०७५ मा कक्षा ९–१० सञ्चालन हुने गरी अनुमति पायो। शिक्षा मन्त्रालयले वार्षिक रूपमा ‘वैकल्पिक विद्यालय’ शीर्षक अन्तर्गत सञ्चालन खर्च स्वरूप रु.१८ लाख दिने गरेको छ। त्यसैगरी, सरकारले २०७६ मा रु.१ करोड स्कूलको अक्षय कोषमा राखिदिएको छ। सामाजिक सुरक्षा भत्ताबापत यी संक्रमित बालबालिकाले मासिक रु.३ हजार ९०० पाउने गरेका छन्।

पढाइसँगै आत्मविश्वास र कला

नेपाल सरकार बाहेक, विभिन्न सामाजिक संस्था र सामाजिक अगुवाहरूले पनि यस विद्यालयलाई विभिन्न प्रकारले सहयोग गर्दै, सहयोग जुटाउँदै आएका छन्। यस्तै सहयोगीहरूमध्ये एक हुन् काठमाडौं महानगरपालिकाको २२ नं. वडाका अध्यक्ष चिनीकाजी महर्जन। सफलता शिक्षा सदनलाई व्यक्तिगत तवरबाट २०७५ सालदेखि सहयोग गर्दै आएका वडाध्यक्ष महर्जनका अनुसार, यसपटक काठमाडौं महानगरपालिकाले संस्थागत रूपमै सो स्कूललाई सहयोग गर्ने भएको छ। यस सम्बन्धमा कामपाको शिक्षा समितिका संयोजक समेत रहेका वडाध्यक्ष महर्जन भन्छन्, “त्यो स्कूल कीर्तिपुरमा भए पनि त्यहाँ सबैतिरका बालबालिकाले आश्रय र शिक्षा पाइरहेका छन्। त्यसै भएर त्यस्तो स्कूललाई सहयोग गर्नु सबैको दायित्व हो भन्ने ठानेर यसपटक काठमाडौं महानगरपालिकाले त्यसनिम्ति रु.२५ लाख बजेट विनियोजन गरेको हो। यो सहयोगले त्यस स्कूलमा पढ्ने कठिन–अवस्थाका बालबालिकाको पढाइ र औषधोपचारमा आंशिक रूपमा भए पनि मद्दत पुग्ने हाम्रो विश्वास छ।”

यो विद्यालयले पहिलो पटक २०७६ सालमा एसईई परीक्षामा विद्यार्थी सहभागी गराएको थियो। यस विद्यालयबाट अहिलेसम्म १९ जनाले एसईई पूरा गरिसकेका छन् भने तीमध्ये ७ जना आफन्तकहाँ फर्किएका छन्। अहिले यहाँका बालबालिकामध्ये कक्षा १–१२ मा १९ जना, कक्षा ११ र १२ मा ८ जना, स्नातक तहमा ४ जना र एक जना प्रदीप भट्टराई (नाम, थर परिवर्तन) एमबीबीएस अध्ययनरत छन्। विद्यालयमा ७ जना शिक्षकले पठनपाठन गरिरहेका छन्। यो आँकडाले विद्यालयको ढोका बन्द गरिएका बालबालिकाले पनि अवसर पाएमा राम्रो शैक्षिक उपलब्धि हासिल गर्न सक्छन् भन्ने सन्देश दिएको छ। यो विद्यालय एचआईभी बालबालिका मात्रै पढाउने फरक खालको पहिचान बनाउँदै वल्र्ड बुक मा विश्वको पहिलो विद्यालयको रूपमा दर्ता भएको छ। विद्यालयका भित्ताभरि दर्जनौं संघ–संस्थाले प्रदान गरेका कदर र सम्मानपत्रहरू झुन्डिएका छन्।

अभिभावक गुमाएका, आफन्तबाटै विभेद भोगेका तथा समाजबाट विभेदपूर्ण व्यवहार व्यहोरेका बालबालिकाको मनमा रहेको डर हटाउन, आत्मविश्वास बढाउन र भविष्यप्रति आशावादी बनाउन सफलता एचआईभी शिक्षा सदनले अनेक प्रयास गरेको देखिन्छ। विद्यालय नै बालबालिकालाई नियमित पठनपाठनसँगै स्वास्थ्य उपचार, संरक्षण र भावनात्मक सहयोग उपलब्ध गराउने साथी बनेको छ।

सुरुआती चरणमा आफूले भोगेको तीतो अनुभवलाई यहाँ बसेर प्रगति गर्दै जाँदा बालबालिकाले बिर्संदै जाने गरेको अनुभव संस्थाकी निर्देशक उमा गुरुङ सुनाउँछिन्। प्रारम्भिक दिनमा बालबालिकाहरू बिरामी हुने, विद्यालयले भर्ना नलिने, समाजले तर्किने जस्ता व्यवहारले मन दुखाउने गरेको उनले सम्झ्इिन्। दुई छोराकी आमा गुरुङले ती बालबालिकालाई आफ्नै सन्तानको रूपमा हेर्ने गरेको बताइन्। उनका अनुसार बालबालिकालाई पठनपाठनका साथै घरायसी काम, आर्ट एण्ड क्राफ्ट, गायन, नृत्य र पेन्टिङका सीपहरू पनि सिकाइने गरिएको छ।

सबैकी प्रेरणा: प्रअ ‘मञ्जु दिदी’

पहिलो व्याचका चार जना बालबालिका मध्येकी एक थिइन् मञ्जु चन्द। उनले यसै विद्यालयबाट अक्षर आरम्भ गरेकी थिइन्। आज उनी यही विद्यालयको प्रधानाध्यापक बनेकी छन्। उनी हाल बीएसडब्ल्यू (ब्याचलर इन सोसल वर्क) को चौथो सेमेस्टरमा अध्ययनरत पनि छन्। “जुन स्कूलले मलाई जिन्दगी दियो, त्यसमै काम गर्न पाउनु मेरा लागि ठूलो गर्वको कुरा हो”, मञ्जु भन्छिन्। मञ्जुको यो भनाइले विद्यालयप्रति उनको समर्पण र आत्मीयता उजागर गर्छ।

आफू विद्यार्थी छँदा विद्यालयबाट पाएको माया, संस्कार र अनुभवलाई सम्झेर उनी साना भाइबहिनीहरूलाई मार्गदर्शन गर्न तल्लीन छिन्। मञ्जुले विद्यालयको प्रशासन मात्रै नहेरी बालबालिकाको सिकाइ, मनोबल, स्वास्थ्य र अभिभावकत्व समेत लिइरहेकी छिन्। परिवारबाट टाढा रहेका बालबालिकाका लागि यो विद्यालय एउटा न्यानो र सुरक्षित घर जस्तै बनेको छ। राजकुमार पुनलाई ‘बाबा’ र उमा गुरुङलाई ‘ममी’ मान्ने यहाँका बालबालिकाका लागि प्रअ मञ्जु चन्द भने एउटा स्नेही र प्रेरणादायी ‘दिदी’ बनेकी छन्।

समय बदिलयो, समाज कहिले ?

संविधान र कानूनले शिक्षाको अधिकार सुनिश्चित गरेका छन्। अधिकारको वास्तविक कार्यान्वयनका लागि विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, विभेद विरुद्ध सचेतना र उनीहरूलाई आवश्यक सहयोग अझै पनि हुनसकेको छैन। अध्यक्ष पुन एचआईभी बारे समाजमा रहेको भ्रमलाई हटाउनुपर्नेमा जोड दिन्छन्। एआरभी औषधि निकै प्रभावकारी रहेको र औषधि नियमित सेवन गर्न सके अन्य मानिससरह नै सहजै जीवनयापन सम्भव हुने उनले बताए। “एचआईभी सङ्क्रमित १० वर्षभित्रै मर्छन् भन्ने जस्ता भ्रमलाई हामीले समाजबाट हटाउनुपर्छ। हामीकहाँ ६–७ वर्षको उमेरमा आएका बालबालिका अहिले २४–२५ वर्षका भइसके, कोभिड–१९ को समयमा हामी पोजेटिभ हुँदा उनीहरू भने पूर्ण रूपमा सुरक्षित रहे”, पुन गर्वका साथ सुनाउँछन्।

तर पनि समाज र आफन्तको सोचाइमा एचआईभी पोजेटिभप्रतिको हेराइ र बुझइमा फरक आउन सकेको छैन। “हामीलाई जिम्मा दिएपछि बालबालिकाका आफन्तहरू झन्झटबाट मुक्त भएको ठान्नुहुन्छ, कतिपयले त फोन समेत स्विच अफ गर्नुहुन्छ”, शिक्षा सदनका संस्थापक अध्यक्ष राजकुमार पुन दुःखेसो गर्छन्। काठमाडौंका तत्कालीन जिल्ला शिक्षा अधिकारी बाबुकाजी कार्की, राजकुमार पुन र उमा गुरुङको सोच र सक्रियतालाई देखेर आफूले विद्यालय दर्ताको पहल गरेको बताउँछन्। त्यतिबेला एचआईभी पोजेटिभ बालबालिकाको शिक्षाको आवश्यकतालाई सम्बोधन गरेको हो, उहाँहरू (पुन र गुरुङ) को सक्रियतालाई मैले प्रेरणादायी र सत्कार्यको रूपमा लिएको छु।  

commercial commercial commercial commercial