धर्मको स्वभाव
सिकागो (अमेरिका) । अमेरिकाको इलिनोइज राज्यमा सबैभन्दा बढी जनसङ्ख्या रहेको महानगर हो- सिकागो । यहाँको जनसङ्ख्या झन्डै नेपाल देशजत्तिकै छ, अर्थात् २ करोड ७५ लाखभन्दा बढी। त्यही भीडमा पूर्व–शरणार्थी तथा आप्रवासीको परिचयमा बस्छन्— भोलानाथ सापकोटा, ५८। भूटानको चिराङ, मिथुन गाउँमा जन्मे–हुर्केका भोलानाथको जीवन धेरैले नसोचेको र नभोगेको छ । परिवारजनको सल्लाह र भूटान सरकारले दिएको सहुलियतको फेरो समातेर उनी १० वर्षकै उमेरमा संस्कृत पढ्न भारतको बनारस पुगेका थिए। सरकारले दिने मासिक भत्ता साढे ३०० र वार्षिक लुगाफाटो खर्च १ हजार तथा पाठ्यपुस्तक खर्च १ हजार रुपैयाँ (भारु)को सहारामा त्यतिबेला भोलानाथ जस्ता १३०० जति भुटानी विद्यार्थी बनारसमा अध्ययनरत थिए।
“बनारसबाट मध्यमा वा शास्त्री (स्नातक) तहसम्मको पढाइ सकेर चिराङ फिरौंला र, उतै पाठपूजा, पुराण, कर्मकाण्ड गर्दै जीवन धानौंला भन्नेथियो” सिकागो सेन्ट्रल नजिकै बस्तीमा बसोबास गर्ने भोलानाथ आफ्ना पुराना दिनहरू सम्झिंदै भन्छन्, “विद्यापीठको पढाइ र दैनिकी सहजै चलिरहेको थियो। एकाएक उता घरगाउँ चिराङतिर केही नेपालीभाषीमाथि धरपकड शुरु भएको सूचना बनारससम्म आउन थाल्यो।”
सन् १९९२ जनवरीको सुरुआतमै एक दिन भोलाका बाबुलाई चिराङस्थित स्थानीय प्रशासन कार्यालयमा बोलाइएको रहेछ। अनि, धाकधम्कीको लवजमा भनिएछ— “तेरो छोरा बनारसमा पढ्न बसेको रहेछ । त्यसले त्यता विद्यार्थी राजनीति गर्न थालेको सूचना हामीलाई छ। यसकारण तिमीहरूले पनि अब भूटान छाड्नुपर्छ, छोरो पनि यता आउन पाउँदैन।”
स्थिति यसरी असहज भएको थाहा पाएपछि भोलानाथ चिराङ फर्किएछन्, सर्वाङको बाटो। साथमा व्याकरण र ज्योतिषमा आचार्य तह (स्नातकोत्तर) पढाइ पूरा गरेको प्रमाणपत्र चेपेर। दक्षिणी भूटान पुग्दा नेपाली आफन्तजनको भागदौडका माझ भोलानाथ समेत उनका बाबुआमा र अरू दाजुभाइलाई ट्रकमा हालेर सर्वाङकै भित्री बाटोबाट भारतको आसाम–सिलिगुढी हुँदै पूर्वी नेपाल ल्याएर छोडिएको रहेछ।
“माइधारको शरणार्थी शिविरमा बाआमा थन्क्याएर म फेरि बनारस गएँ, वेदान्त दर्शनको परीक्षा दिन” भोलानाथले सुनाए— “पछि फर्किएर आउँदा बाआमा र परिवारजन झपाको बेलडाँगी शिविरमा बसाइँ सरेका रहेछन्। त्यहीं बसेर शरणार्थी जीवन र आफ्नो पढाइ अनुसार पाठपूजा, ग्रहदशा, हात हेर्ने जस्ता काम गर्न थालेको थिएँ।”
जीवनको यात्रा र लेखान्त सधैं एकोहोरो वा सजिलो बाटोमा हिंड्छ भन्ने ठेगान हुन्न नै। भोलानाथले ज्योतिष र अरू शास्त्र– सूत्रमा पाएको ज्ञान पनि यही थियो। जीवनमा नसोचेका धपेडीहरू व्यहोर्दै गर्दा उनले बिहे गर्न पनि भ्याएनन् वा चाहेनन् । बरू, पढाइमा भने अझै पनि नरोकिने अठोट बनाए। शरणार्थी रहेकै बेला सन् १९९६ तिर त्रिभुवन विश्वविद्यालयबाट उनले नेपाली विषयमा स्नातकोत्तर गरे, अर्का शरणार्थी गंगा लामिटारे एमए नेपालीका सहपाठी थिए।
“हाम्रो धर्म–दर्शनमा प्रशस्तै विकल्प छन्। यो नभए त्यो भन्दै सट्टामा राखिने कुराहरू प्रशस्तै छन्।”
सपना झैं लाग्ने आफ्नो माटोबाट लखेटिएको क्षणतिर फर्केर के, कसरी, किन भन्नै नपाई एकपछि अर्को खबर वा हल्लाहरू आइरहन्थे। सन् १९९६ कै अन्त्यतिर रोवर्ट कुपर भन्ने शरणार्थी आयोग (युएनएचसीआर) सम्बद्ध एक अधिकारीले ‘भूटानी शरणार्थीको तेस्रो देशमा बसोबासको सम्भावना छ है’ भनेर सूचना चुहाएका थिए। घरफिर्तीमै ढुक्क भएर शिविरमा बसिरहेका थुप्रै भूटानी शरणार्थीका मन–मस्तिष्कमा परेको विदेश प्रवाहको यो पहिलो चस्को थियो।
“घरफिर्तीका नाममा नेपाल–भूटान सरकार बीच वार्ताहरू चले, देखावटी धेरै कुरा भए। तर, यो सबै व्यर्थ छ भन्ने भइसकेको थियो” उनी सम्झन्छन्— “पछि सन् २००४/५ तिर अमेरिकी राजदूत जेम्स मोरियार्टीले ल्याएको शरणार्थी पुनर्बसोबासको खबरसँगै तेस्रो देशमा जाने मनस्थिति बनेको थियो।”
पुनर्बसोबासको लहर र प्रक्रियामा जोडिएर भोला सन् २०१० को मध्यतिर अमेरिका आइपुगे। उनका परिवार र अनेक आफन्तजन छिन्नभिन्न भएर कोही कुन देश, कोही कुन भूगोलमा पुगेका छन्। भोलानाथ भने ८९ वर्षीया आमा टीकादेवी र भाइ पूर्ण सापकोटाको परिवारसँगै आफ्नो पढाइ अनुसारको पेशा धान्दै सिकागोमा बसिरहेका छन्।
“यो सबै लेखान्त हो भन्ने लाग्छ। हामी पनि चार पुस्ताअघि तेह्रथुमको पहाडबाट भूटान गएका थियौं रे ! आज देश–दुनियाँको राजनीतिमा परेर आफ्नो थलो भन्दै अमेरिकी–भूटानी नागरिक भएर यहाँ बसेका छौं” उनले सुनाए— “अमेरिकामा पनि सजिलो कहाँ छ र ? संघर्ष झनै चर्को छ। संस्कृतमा शास्त्री गरेका भूटानीहरू अमेरिकामै ५०० जति छौं, आचार्य गर्ने ५० जति छौं होला। तर, धर्मकर्म भनेको मान्छे जहाँ गए पनि साथै जाने रहेछ । श्राद्ध, ग्रहजाप, मृत्यु संस्कार, न्वारान, ब्रतबन्ध सबै कुरा मनमस्तिष्कमै गडेर आउने रहेछ। यो ‘जिन’मै हुने रहेछ ।”
चिराङबाट बनारस हुँदै बेलडाँगी र अहिले सिकागो आइपुग्दा पण्डित भोलानाथ सापकोटाले व्यहोरेको सबैभन्दा ठूलो ‘धर्मसंकट’ हो— समय, परिस्थिति र परिवेशको फेरबदल। “अब चौरासी वा वैतरणी कर्ममा बाच्छीको पुच्छर समात्न लगाउने कसरी ? सुध्याइका लागि गहुँत–गोबर कसरी खोज्ने?” गुरु भोलानाथले व्यहोरेको कुरा छ— “धन्न, हाम्रो हिन्दू धर्म–कर्म निकै उदार छ। हाम्रो धर्म–दर्शनमा प्रशस्तै विकल्प छन्। यो नभए त्यो भन्दै सट्टामा राखिने कुराहरू प्रशस्तै छन्।”
जस्तो, अमेरिकी जगतको कठिनाइका कुरा गरौं। पाठपूजा, सुध्याइका लागि चाहिने गोबर–गहुँतकै कुरा गरौं। यहाँ ठूला गाई फार्महरू पनि छन्। तर, त्यहाँको गोबर झिक्न, चलाउनै पाइन्न। गहुँत पनि पाइन्न नै। नेपाल जस्तो घाँस खाएका, चरनमा गएका वा खोले, दाना खाएका प्राकृतिक तवरका गाईवस्तु यहाँ पाइन्नन्।
“यहाँ पनि भारत, गुजरातबाट ल्याएको गाईको गहुँत हामीले केही वर्ष चलायौं। तर, त्यसको उत्पादन, उपयोग, प्याकेजिङ आदि कारणले पुरोहित र जजमान दुवैलाई एलर्जी आएको अवस्था देखा पर्यो। त्यसमा पनि एउटा रिसर्च सेन्टर (जर्जिया)मा नेपाली विज्ञ जगन्नाथ मिश्रले गहुँत परीक्षण गराउँदा शरीरका निम्ति हानिप्रद ब्याक्टेरिया पाइएको नतिजा आयो” गुरु भोलानाथको अनुभव छ— “आत्मशुद्धिका लागि चाहिने गहुँत आफैंमा ब्याक्टेरियायुक्त भएपछि विकल्प खोज्नैपर्यो। त्यसैले अहिले गंगाजल, तुलसी, दूध, मह, सख्खर मिसाएर गव्य बनाइन्छ। कतिले शालिग्राम स्नान गराएर पनि काम चलाउँछन्।”
अमेरिकामा बसेर पनि गाडी नसिक्ने र नकुदाउने दुर्लभ गुरु हुन् भोलानाथ। पाठपूजा र कर्मकाण्डको दररेट पनि उनले तोकेका छैनन्, जस्तो अरू गुरु–पुरोहितहरूले तोक्ने रहेछन्। उनले छोटोछरितो पूजाको एक सय डलरदेखि बिहे–ब्रतबन्धमा १ हजार डलरसम्म दक्षिणा पाउने गरेका छन्। “यहाँ अब श्राद्धकर्म वा ब्रतबन्धमा पनि जजमानले कपाल नखुइल्याउने नियम चलनचल्तीमा आइसकेको छ” उनी भन्छन्, “लौ त नि भन्यो, अनि यसो कुशले पवित्र बनायो र, कर्म अघि बढायो। उता भूटानी मुद्रा वा भारु, नेरु चल्थ्यो। यता डलरको जगत छ, किन बहस गरिरहने ?”
एउटा युग थियो जुनबेला ‘आफ्नै घर (भूटान) फर्कन पाउनुपर्छ’ भनेर पदयात्रा गर्दै झपाका शरणार्थी शिविरबाट मेचीपुलसम्म जाने र प्रहरी धरपकड व्यहोर्ने अगुवामा थिए, यिनै भोलानाथ सापकोटा। पदयात्रा गर्दै चिराङ पुगेको र त्यहाँ आफ्नै जगत बसाएको कल्पनामा ‘सुनिता’ नामको खण्डकाव्य लेख्दै भावुक काव्यकार पनि बनिटोपलेका थिए उनी। तर, पछि गएर सबै सपना–जपना तुहिएनन् मात्रै, अर्कै स्वप्नलोकमा पुगे उनी।
आखिरमा यो जीवन भन्नु, सपना र उडान चैं के रहेछ त ? सिकागो रेल्वे स्टेसनमा बिदाइको हात हल्लाउनुअघि आफ्नै भाग्य पहिल्याउन नसकेका ज्योतिषाचार्य भोलानाथ सापकोटालाई सोधेको थिएँ।
उनले लामो सास तान्दै शास्त्रीय जवाफ फर्काए—“उत्पद्यन्ते विलीयन्ते दरिद्राणां मनोरथाः। (अर्थात्, दरिद्रका मनका इच्छाहरू पानीका फोका झैं उत्पन्न हुन्छन् र आफैं विलाउँछन् ।)”



