स्कूल बनाउन सुरक्षित जमिन नै छैन
उत्तरगया गाउँपालिकामा बाढीपहिरोले शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। हाम्रा तीन वटा विद्यालय भोटेकोशीको बाढीले बगायो भने एउटा विद्यालय बाढी–पहिरोको उच्च जोखिममा छ। कतिपय ठाउँमा सिंगो बस्ती नै बगेकोले त्यहाँ तत्काल नयाँ विद्यालय भवन निर्माण गर्ने सुरक्षित जमिन समेत उपलब्ध छैन।
यस्तो परिस्थितिमा बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन, विद्यालयहरू समायोजन (मर्ज) गरी आवासीय विद्यालय विकास गर्नुको विकल्प देखिएको छैन। यसबाट एकातिर विपद्का कारण अभिभावक गुमाएका वा विस्थापित भएका बालबालिकाको संरक्षण र शिक्षाको ग्यारेन्टी हुनसक्छ भने, अर्कोतिर छरिएर रहेका स्रोत–साधनलाई एकैठाउँ केन्द्रित गरी शिक्षाको गुणस्तर सुधार्न मद्दत पुग्छ।
तीन वटा विद्यालयलाई आवासीय बनाउने योजना
गाउँपालिकाले तीन वटा विद्यालयलाई आवासीय संरचनामा ढाल्ने योजना बनाएको छ । यो सुविधा विद्यार्थीका लागि मात्र नभई शिक्षक तथा कर्मचारीका लागि पनि हो; किनकि हामीकहाँ कार्यरत धेरैजसो शिक्षकहरू जिल्ला बाहिरका हुनुहुन्छ र उहाँहरूका लागि पनि सुरक्षित आवासको उत्तिकै खाँचो छ ।
हामीले आवासीय रूपमा विकास गर्न खोजेका तीन वटा विद्यालय निम्न छन्:
नीलकण्ठ मावि (वडा नं. ५, बोगटीटार): हाल यहाँ १०० जना क्षमताको छात्रावास रहेको छ। अब यहाँ थप १५० जना विद्यार्थी र ३० जना शिक्षक/कर्मचारीलाई आवास र भान्सा लगायत सुविधा विस्तार गर्नुपर्नेछ।
नवविजयी महेन्द्र मावि (वडा नं. ४): यहाँको छात्रावासमा हाल ७० जना क्षमता रहेकोमा थप ८० जना विद्यार्थी र २० जना शिक्षक समेत अटाउने गरी संरचना विस्तार गर्नुपर्नेछ ।
डाँडागाउँ मावि (वडा नं. २): यहाँको आवासीय क्षमता, हाल ४० जना रहेकोमा अब थप १०० जना विद्यार्थी र २५ जना शिक्षक रहने गरी विस्तार गर्नुपर्नेछ ।
विद्यालय समायोजनको नीति
भौगोलिक विकटता र बाढीपहिरोको जोखिमलाई समेत ध्यानमा राखेर हामीले साना र अप्ठ्यारोमा रहेका विद्यालयलाई नजिकका माविमा गाभ्ने नीति लिएका छौं । त्यस अनुसार वडा-४ को मालिकादेवी आधारभूत विद्यालय (बाढीमा बगेको) लाई सोही वडाको नवविजयी महेन्द्र माविमा मर्ज गर्ने, वडा-१ को चिप्लेटी आधारभूत विद्यालय (बाढीमा बगेको) तथा वडा-२ को सिम्ले आधारभूत विद्यालय (बाढीको जोखिममा रहेको) लाई वडा-२ स्थित डाँडागाउँ माविमा मर्ज गर्ने कार्यनीति बनाएका छौं ।
तत्कालको व्यवस्थापन र थप आवश्यकता
स्थायी छात्रावास भवन निर्माण नभएसम्मका लागि तत्काल अस्थायी सिकाइ केन्द्र (कक्षाकोठा) निर्माण गरी हालका कक्षाकोठालाई आवासको रूपमा प्रयोग गर्ने सोच बनाएका छौं। पछि छात्रावास तयार भएपछि ती कोठाहरू पुनः पठनपाठनकै लागि प्रयोग हुनेछन्।
भौतिक पूर्वाधार बाहेक, छात्रावासका लागि नियमित सञ्चालन खर्च र बाढीका कारण अभिभावक गुमाएका तथा मानसिक रूपमा विक्षिप्त बनेका बालबालिका एवं शिक्षकहरूका लागि मनोपरामर्श सेवा तत्काल आवश्यक छ। साथै, विस्थापित विद्यार्थीका लागि पोशाक, झोला, पाठ्यपुस्तक र कापी–कलम जस्ता शैक्षिक सामग्रीको व्यवस्थापनमा पनि सहयोगी निकायहरूको सहयोगको अपेक्षा गरेका छौं। किनभने जे थियो त्यो बाढीले बगायो या परेको छ।



