विद्यार्थी, शिक्षक र स्कूल बग्यो- तर फर्केर स्कूल चलाउने मन छ

“विद्यालय र मेरो घरको दूरी ५० मिटर जति मात्रै छ। हेर्दाहेर्दै एकैछिनमा बाढी विद्यालयतिर आयो। विद्यालयमा शिक्षकहरू बस्नुहुन्थ्यो। उहाँहरूलाई बोलाउने, खबर गर्ने वा बाहिर निस्कन भन्नेसम्मको मौका मैले पाइनँ। बाढी यति छिटो आयो कि केही सोच्ने समय नै भएन । हाम्रो विद्यालय ६ जना बाहिरी जिल्लाबाट आएका शिक्षकबाट चलेको थियो। तर भोटेकोशीको बाढीले विद्यालयसँगै सबै शिक्षकलाई बगायो। हामी शिक्षक र कर्मचारी गरी ११ जना थियौं।”  

रसुवाको टिमुरेस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फुर्बु दोर्जे घले त्यो क्षण अहिले पनि झलझली सम्झन्छन्। कक्षा-८ सम्म पढाइ हुने चारतले सुविधासम्पन्न विद्यालय थियो। यहाँ कम्प्युटर कक्षा समेत सञ्चालनमा थियो। “अंग्रेजी पढाउने रामचन्द्र विक, गणितका सन्तोष श्रेष्ठ, हिमानसिंह तामाङ, कान्छी घले, कविता न्यौपाने र सोनाम बुट्टी हुनुहुन्थ्यो। सबै विद्यालयमै बस्नुहुन्थ्यो”, घले भन्छन्।

प्रअ घलेका अनुसार टिमुरेमा विद्यार्थी संख्या धेरै थिएन। सामान लोड-अनलोड गर्ने कामदारका छोराछोरी धेरैजसो यही विद्यालयमा पढ्थे। “विद्यार्थी कम थिए, तर हामीले विद्यालय राम्रोसँग चलाएका थियौं। कम्प्युटर कक्षा थियो। बच्चाहरूका लागि राम्रो विद्यालय थियो”, उनले सम्झिए।

तर अहिले त्यो विद्यालय छैन। कक्षाकोठा छैनन्, कम्प्युटर कक्षा छैन र विद्यार्थीलाई पढाउने ६ जना शिक्षक पनि छैनन्। बाढीले टिमुरेका करीब दुई सय घर बगाउँदा विद्यालयमा पढ्ने बालबालिकाका घरपरिवार समेत विस्थापित भएका छन्। “बच्चाहरू कहाँ पढ्ने भन्ने नै समस्या भयो। घर गुमाएका बच्चाहरूको अवस्था झन् गाह्रो छ। पहिले विद्यालयमा आएर पढ्थे, अहिले विद्यालय नै छैन”, घलेले भने। उनी थप्छन्- “भवन त फेरि बनाउन सकिएला। तर हामीसँगै पढाउने शिक्षकहरू नै रहनुभएन। बच्चाहरूलाई फेरि कसरी पढाउने भन्ने चिन्ता छ।” 

बाढीपछि पनि फुर्ब‘ टिमुरे फर्किन चाहन्छन्। “त्यही ठाउँमा नभए पनि एक-दुई किलोमिटर माथि सुरक्षित ठाउँमा बस्न पाए हामी फर्किन्छौं । हामी हिमालमा बस्ने मान्छे, आफ्नो ठाउँ छाडेर अन्यत्र जान सक्दैनौं। घर, विद्यालय र आफन्त सबै गुमे पनि त्यही ठाउँ प्यारो लाग्छ” उनले भने, “सरकारले अध्ययन गरेर सुरक्षित ठाउँमा बस्ने व्यवस्था गरिदिए हुन्थ्यो। त्यहीं गएर फेरि त्यहाँको विद्यालय चलाउने मन छ।” बचेका अभिभावकले पनि तपाईंहरू फर्किए, विद्यालय चले हामी पनि फर्किन्छौं भनेका छन्, उनले सुनाए। 

प्रधानाध्यापक, श्री राष्ट्रिय आधारभूत विद्यालय गोसाइँकुण्ड गापा-२, टिमुरे रसुवा

commercial commercial commercial commercial