पिता बन्नुहोस्, खुशी रहनुहोस्
करीब एक दशकभन्दा बढी समयदेखि युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया स्थित मेरो प्रयोगशाला पितृत्व (fatherhood) ले मानिसको मस्तिष्क, शरीर, स्वास्थ्य र मानवीय सम्बन्धहरूमा कसरी प्रभाव पार्छ भन्ने बारे अध्ययन गरिरहेछ। पितृत्व अर्थात् कुनै पुरुष बाबु बन्दाको अवस्थाले बच्चा र आमाहरूलाई पार्ने प्रभावबारे भएका अध्ययनका प्रशस्त प्रमाण र निष्कर्ष उपलब्ध छन् तर त्यसले स्वयं बुबाहरूलाई पार्ने प्रभाव बारे भने कमै मात्र ध्यान गएको छ।
बाबुको पर्याप्त समय र रेखदेख पाएका बालबालिका जीवनका विभिन्न पक्षमा अरूभन्दा अगाडि हुन्छन् भन्ने हामीलाई पहिलेदेखि नै थाहा भएको कुरा हो। त्यस्ता बालबालिकामा आत्मनियन्त्रणको क्षमतादेखि अनेक सामाजिक सीप हुन्छन्। उनीहरूको शैक्षिक उपलब्धि पनि तुलनात्मक रूपमा उत्तम हुन्छ। सहयोगी स्वभावका पिताहरूले आमाको तनाव कम गराउँछन्, आफ्नो वैवाहिक सम्बन्धलाई सुमधुर बनाउँछन् र आमाहरूमा पैदा हुनसक्ने सुत्केरीपछिको अवसाद (Postpartum depression) को जोखिम पनि घटाउँछन् भन्ने पनि हामीलाई थाहा छ।
मैले आफ्नो नयाँ पुस्तकका लागि अनुसन्धान गर्ने क्रममा, पितृत्वले पिताहरूलाई पनि प्रत्यक्ष प्रभाव पार्ने तथ्य फेला पारें। पिताको भूमिका या कर्तव्यलाई बढी प्राथमिकता दिने पुरुषको निद्रा पूरा नहुन सक्छ, तौल केही बढ्न सक्छ र उसले मन बहलाउने फुर्सदको समय कम पाउन सक्छ, तर पनि उसले आफ्नो जीवन अर्थपूर्ण र उद्देश्यमूलक भएको पाउनेछ । पुरुषहरूको मस्तिष्कको स्वास्थ्य र मानसिक तन्दुरुस्तीका निम्ति पिता हुनु सबैभन्दा उत्तम विकल्प नै हो।
तथ्यांकहरू हेर्दा, व्यस्त जीवनशैली अपनाउने, पारिवारिक जीवन त्याग्ने म्यानोस्फेयरको आह्वानलाई पुरुषहरूले समान रूपमा अंगीकार गरेको पाइँदैन Manosphere– पुरुषलाई प्रधानता दिने र महिलाको अधिकार र समानताका आवाजलाई निन्दा गर्ने डिजिटल सञ्जाल। भविष्यका प्राथमिकताहरू बारे सोधिएको प्रश्नमा जेनजी महिलाको तुलनामा जेनजी पुरुषले विवाह र बालबच्चालाई उच्च महत्व दिएको पाइयो।
अघिल्ला पुस्ताहरूको तुलनामा अहिलेका पुरुषहरूले बच्चालाई दिने समय चौगुणा बढी भएको छ। अहिलेका मिलेनियल पिताहरूले आफ्ना सन्तानसँग त्यति नै समय बिताइरहेछन् जति ‘बेबी बुमर’ समयमा आमाहरूले बिताउने गर्थे (बेबी बुमर– सन् १९४६ देखि १९६४ बीचमा जन्मिएको पुस्ता; मिलेनियल्स– सन् १९८१ देखि १९९६ बीचमा जन्मिएको पुस्ता)। बाबुहरूले आफ्ना सन्तानलाई दिने समय केही दशकदेखि बढ्दै आएको भए पनि कोभिड महामारीको बेला यो दर ह्वात्तै बढ्यो। कोभिड महामारीको समयमा पिताहरूले आफ्ना सन्तानसँग समय बिताउने प्रशस्त मौका पाए, जसले त्यसपछि पनि सन्तानसँग व्यतीत गर्ने तिनको समय क्रमिक रूपमा बढाइरह्यो।
त्यसो त अन्य समकालीन प्रवृत्तिहरू जस्तै पितृत्वमा पनि वर्गका आधारमा विविधता पाइन्छ । सन् २००३ को एक तुलनामा उच्च शिक्षा हासिल गरेका पिताहरूले अभिभावकत्वमा धेरै समय र ऊर्जा खर्चिरहेका छन् जबकि कलेज नगएका पिताहरूले कम समय दिइरहेछन्। संयुक्त राज्य अमेरिकामा सन् २००३ मा उच्च शिक्षा पाएका पिताहरूले कलेज नगएका पिताहरूको तुलनामा हप्तामा दुई घण्टा बढी समय सन्तानलाई दिने गर्थे (साप्ताहिक रूपमा अघिल्लाले ७.९ घण्टा, पछिल्लाले ६.२ घण्टा)। पछिल्ला वर्षहरूमा भने उच्च शिक्षा पाएका पिताहरूले कलेज नगएका पिताहरूको तुलनामा आफ्ना सन्तानलाई दोब्बर जस्तो नै बढी समय दिन्छन् (साप्ताहिक रूपमा १०.२ घण्टा र ५.९ घण्टा) । खासगरी बच्चाहरूसँग पढ्ने, खेल्ने र कुराकानी गर्ने प्रसंगमा बाउहरूको शैक्षिक योग्यताको असर झल्किन्छ।
सन्तानलाई दिने समयमा भएको यो खाडलले स्थापित वर्ग विभाजनलाई अझ् फराकिलो बनाउन सक्छ र सुविधासम्पन्न बच्चाहरूले जीवनमा तुलनात्मक रूपमा बढी उपलब्धि हासिल गर्न सक्छन् । यो खाडलले मानिसहरूको स्वास्थ्यमा पनि प्रभाव पार्न सक्छ, किनभने सुमधुर पारिवारिक सम्बन्धले मानिसहरूलाई स्वस्थ बनाउँछ। वयस्क जीवनबारे गरिएको संसारकै लामा अध्ययनमध्ये एक हार्वर्ड स्टडी अफ एडल्ट डिभलपमेन्टले पनि यो तथ्यलाई पुष्टि गरेको छ। एउटा ५० वर्ष उमेरको पुरुषको कोलेस्ट्रोलको तहले भन्दा उसको परिवार र समुदायसँग सम्बन्ध कति सन्तोषजनक छ भन्ने तथ्यले उसको दशकौंपछिको शारीरिक स्वास्थ्यको सही अन्दाज दिन सक्छ।
सही अभिभावकत्वले हाम्रो आफ्नो परिवारभित्रको सम्बन्ध मात्र नभई नाताकुटुम्ब र समुदायसँगको सम्बन्ध पनि गाढा बनाउँछ । छोराछोरीका स्कूले साथीका अभिभावकसँगको सम्बन्धलाई समाजशास्त्रीहरू ‘झिनो सम्बन्ध’ भन्छन् । तर तिनै समाजशास्त्रीहरूका अनुसार पटक–पटकको भेट र निकटताले यस्तो झिनो सम्बन्ध पनि सुदृढ सम्बन्धमा बदलिन सक्छ। र, यस्तो अवसर त्यस्तालाई मात्रै उपलब्ध हुन्छ जो आफू पनि पिता अथवा माता छन्। हुन पनि, सन्तान नै छैनन् भने सन्तानका साथीका बा–आमालाई कसरी भेट्नु ? यदि सन्तान सानै छन् भने तपाईं उनीहरूसँगै खेल मैदानमा हुनुहुनेछ। उनीहरू अलि बढेका छन् भने विद्यालय पुर्याउने, ल्याउने र खेलकुदमा सहभागी हुने जस्ता गतिविधि मार्फत तपाईं बालबालिकाका परिवारसँग सम्पर्कमा आउनुहुन्छ।
पक्कै पनि समुदाय बनाउने र सामाजिक सीपहरू निर्माण गर्ने अरू पनि थुप्रै तरिका छन् तर आफू जस्तै अन्य अभिभावकसँगको सम्बन्धले यस्तो अभ्यासलाई गति दिन्छ। सन्तान हुने अभिभावकहरू एउटै डुंगामा हुन्छन् । र, सबै जना एकै ठाउँमा एकै समयमा भेटिरहँदा ‘झिना सम्बन्धहरू’ले बलियो बन्ने मौका पाउँछन्। वयस्क अवस्थामा पुरुषहरूलाई साथी बनाउन बढी संघर्ष गर्नुपर्छ । त्यसैले पनि पिताहरूका लागि यस्ता सामाजिक सम्पर्कहरू बढी अर्थपूर्ण हुन्छन्।
मस्तिष्क-स्वास्थ्यको कुरा गरौं । जवानी कायम राखिरहने अनेकथरी औषधि भन्दा उत्तम छ— अभिभावकत्व। बच्चाहरूले हामीलाई हाम्रो सामाजिक मस्तिष्कको कसरत गर्न, अरूहरूसँग सम्बन्ध सुधार गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्छन्। जिद्दी गरेर दुःख दिइरहने तीन वर्षको बच्चालाई फुल्याएर शान्त पार्न र स–साना बच्चा हुर्काउन कुन हदसम्म सम्झौता गर्नुपर्छ र आफूमा कति धैर्यको विकास गर्नुपर्छ भन्ने तिनलाई मात्रै थाहा हुन्छ जसले आफैं खटेर बच्चा हुर्काएका छन्।
अहिले भइरहेको एउटा अनुसन्धानले पुरुषहरू वृद्ध हुँदासम्म पनि पितृत्वले मस्तिष्क सुरक्षित राख्नसक्ने तथ्य फेला पारेको छ। अभिभावकहरूको मस्तिष्कको उमेरको विकासक्रम वयस्क अवस्था र त्यसपछि कस्तो हुन्छ भन्ने परीक्षण गर्न न्युरोवैज्ञानिक एन–मेरी डे ल्यांग र उनका सहकर्मीहरूले बेलायतको बायो बैंकमा राखिएका बेलायतभरका हजारौं मानिसको मस्तिष्कको स्क्यान उपयोग गरेका थिए। त्यो परीक्षणको क्रममा बालबच्चा भएका मानिसहरूको मस्तिष्क तुलनात्मक रूपमा जवान भएको पाइयो। यस्तो सम्बन्ध पिता र माता दुवैमा पाइयो।
युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका अनुसन्धाताहरूले गरेको एक पूरक अध्ययनले पनि बालबच्चा नभएका पुरुष र महिलाको तुलनामा भएकाहरूको मस्तिष्क जवान भएको पायो। सन्तान नभएका अभिभावकहरूका तुलनामा दुई जना सन्तान भएका तिनका साथीहरूको मस्तिष्क ०.६ वर्ष जवान र तीन जना भएकाको ०.७ वर्ष जवान भएको पाइयो। सामान्य अवस्थामा मस्तिष्कलाई त्यति नै जवान राख्न हप्तामा कम्तीमा साढे दुई घण्टा कडा कसरत गर्नुपर्छ।
बच्चाहरूबाट आमाहरूले भन्दा बढी बुबाहरूले संज्ञानात्मक लाभ पाउने तथ्यतर्फ संकेत गर्ने प्रशस्त प्रमाण उपलब्ध छन्। बेलायतको बायो बैंकको अर्को एक अध्ययनमा ३९/४० वर्षदेखि ७४/७५ वर्षसम्मका पुरुष र महिलाहरूले पाँच वटा संज्ञानात्मक क्षेत्रमा कसरी प्रस्तुत हुन्छन् भनेर अनुसन्धान गरिएको थियो। पाँचवटै क्षेत्रमा बच्चा भएका पुरुषहरूको संज्ञानात्मक क्षमता बच्चा नहुनेहरू भन्दा बढी देखियो। महिलाहरूको भने मिश्रित प्रकारको नतिजा आयो।
पितृत्वबाट बढी संज्ञानात्मक लाभ मिल्छ भन्ने तथ्यसँग अभिभाकत्वको आनन्द— आमाहरूले भन्दा बढी बुबाहरूले लिन्छन् भन्ने प्रमाणसँग पनि मेल खान्छ। यसको एउटा कारण त पुरुषहरूले अभिभावकत्वको रोचक पक्षको जिम्मेवारी पाउने भएकाले पनि हो। प्रायःजसो बच्चाहरूसँग खेल्ने काम पिताहरूले गर्छन् भने आमाहरूले दिसा–पिसाब सफा गर्नेदेखि लुगाफाटा धुनेसम्मका दैनिक स्याहारका जिम्मेवारी पूरा गर्नुपर्ने परम्परागत श्रम विभाजन छ। तर, यो अभ्यासमा पनि परिवर्तन भइरहेछ। अहिले पिताहरूले बच्चासँग खेल्ने काम मात्रै गर्दैनन्; तिनले खुवाउने, नुहाइदिने, कपडा लगाइदिने जस्ता भौतिक स्याहारका कामहरूमा बिताउने समय पनि बढ्दो छ। सन् १९८२ मा गरिएको एक अध्ययनमा ४३ प्रतिशत बेलायती पिताहरूले कहिल्यै पनि बच्चाको डायपर फेरेका थिएनन्। ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले सन् २०१० मा गरेको अर्को एक अध्ययनमा पाँच वर्षमुनिका सन्तानसँगै बस्ने अमेरिकी पिताहरूमध्ये ९० प्रतिशतले हप्तामा केही पटक भए पनि डायपर फेरिदिने जस्ता काम गर्ने गरेको पाइएको थियो।
बच्चा हेरचाह गर्ने काममा दैनिक रूपमा संलग्न हुँदा पुरुषहरूले अभिभावकत्वका केही नकारात्मक पक्षहरूको सामना गर्नुपर्ने सम्भावना पनि रहन्छ। आम पुरुषहरूको तुलनामा भर्खरै पिता बनेकाहरूले अवसाद (डिप्रेसन) र बेचैनी (एन्जाइटी)का लक्षण बताउने सम्भावना बढी हुन्छ । उनीहरूलाई निद्रा नपुग्ने वा कम निद्रा लाग्ने, तौल बढ्ने जस्ता शारीरिक स्वास्थ्य समस्या पनि हुन सक्छ। (भुँडे बाउको किस्सा वास्तविकता पनि हो)। अभिभावकत्वले दिने दीर्घकालीन उपलब्धि हासिल गर्न पुरुषहरूलाई समय लाग्छ किनभने त्यसभन्दा अघि उनीहरूले कठिन पक्षहरूको सामना गर्नुपर्छ ।
हिजोआज केही मानिसहरू पूर्णतया परिवार त्याग गरिरहेछन्। कुनै समय युवाका लागि अभिभावकत्व पूर्वनिर्धारित कुरा थियो। अहिले यो बढी नै ऐच्छिक भइरहेछ। पछिल्ला केही दशकदेखि अमेरिकामा विवाह दर खस्किएको छ । सन् १९८० मा संयुक्त राज्य अमेरिकामा ४० वर्ष पुगेका अविवाहित जम्मा ६ प्रतिशत हुन्थे। सन् २०२१ मा यो संख्या बढेर २५ प्रतिशत पुगेको छ। विवाहित युवा जोडीले पनि ढिलो बच्चा जन्माइरहेछन् वा कहिल्यै पनि बच्चा नजन्माउने निर्णय गरिरहेछन्। अमेरिकामा पछिल्लो ५० वर्षमा प्रजनन दर ह्वात्तै खस्किएको छ।
बच्चाको हेरचाह गर्न सिक्ने क्रममा पिताहरूले आफूमा समानुभूतिको विकास गर्छन्, आफ्नो मस्तिष्कलाई थप स्वस्थ र सुदृढ बनाउँछन् अनि त्यस्ता सीप पनि हासिल गर्छन् जसले उनीहरूलाई संस्था र समुदायमा समेत प्रभावकारी बनाउँछ। आखिर असल पिताका गुणहरू असल मानिसका पनि गुणहरू हुन्। ती हुन्ः युवा र कमजोरहरूलाई ध्यान दिने, सिकाउने सँगै सुन्ने पनि, उदाहरण प्रस्तुत गरेर नेतृत्व गर्ने, कठिन चुनौतीको सामना गर्ने र कुनै पनि काममा लागिपर्ने।
यी गुणहरूको प्रशंसा गर्दा हामीले स्वस्थ मस्तिष्क र सन्तोषजनक बुढ्यौली मात्र निर्माण गरिरहेका हुँदैनौं, बरु पुरुषत्वको सामाजिक स्वरुपको पनि सिर्जना गरिरहेका हुन्छौं। म्यानोस्फेयर ले अहिले हाम्रा युवाहरूमा सिर्जना गरेको पुरुषको आदर्श तस्वीर एक्लो ब्वाँसो जस्तो छ जो पुरुषत्वको कठोर स्वरुप मात्र हो। यसको विकल्प भनेको पितृत्व अर्थात् जिम्मेवार बाबुको भूमिका निर्वाह गरिरहेको पुरुष हो।
डार्बी स्याक्सबी क्लिनिकल साइकोलोजिस्ट तथा युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियामा मनोविज्ञानकी प्राध्यापक हुन्। उनको ‘ड्याड ब्रेनः द न्यू साइन्स अफ फादरहुड एन्ड हाउ इट सेफ्स मेन्स लाइभ्स’ शीर्षकको पुस्तक प्रकाशित छ।
६ जून २०२६ को न्यूयोर्क टाइम्स बाट साभार ।
अनुवादः लक्ष्मण श्रेष्ठ



