विद्यालयमा नेतृत्वको प्रभाव

नेतृत्व धेरै ठूलो र महत्वपूर्ण विषय हो। यो बनाउने होइन, बन्ने कुरा हो। नेतृत्वमा हुनुपर्ने गुणहरूको चर्चा गर्दा विद्यालय नेतृत्वबाटै शुरु गरौं। म १८ वर्षदेखि शिक्षण सेवामा संलग्न छु। विद्यालय र विद्यार्थी एकअर्काका परिपूरक हुन्। शिक्षकहरू विद्यार्थीलाई ज्ञान र संस्कारको उज्यालो दियो बालेर अन्धकार हटाउने अभियानका अभियन्ता हुन्। यस अर्थमा कुनै पनि राष्ट्रको निर्माणमा विद्यालय भनेका यस्ता ‘पिलर’ हुन् जसले देशको भविष्य निर्धारण गर्छ। विद्यालयमा  विद्यार्थी समुदायबाट आउँछन्। परिणामतः विद्यालयमा विद्यार्थीले सिकेको ज्ञान, सीप, धारणा, व्यवहार समुदायमा पनि प्रवाहित हुन पुग्छ। तसर्थ हामीले हाम्रा विद्यालयमा के सिकाइरहेका छौं भन्ने कुराले ठूलो अर्थ र महत्व राख्छ।

विद्यालय शिक्षाको गुणस्तरको विषयमा चासो र चिन्ता धेरै पक्षबाट व्यक्त भएको पाइन्छ। विद्यालय शिक्षामा गुणस्तर सुधारका लागि थुप्रै योजना, परियोजना पनि ल्याइएका छन्। तर के साँच्चै हामीले चाहेको जस्तो गुणस्तरीय शिक्षा दिन सकिरहेका छौं त ? यो प्रश्नको उत्तर सामान्यतः नकारात्मक नै आउँछ। यसमा दुई तीनवटा कुराले काम गरेको पाइन्छ।

गुणस्तरीय शिक्षाका बाधक

पहिलो कुरा त हाम्रो पाठ्यक्रम व्यावहारिक, सीपमूलक र जीवनसापेक्ष छैन। सैद्धान्तिक र नीरस छ। मानिसको मस्तिष्कले त्यही कुरा छिटो टिप्छ जुन रोचक र जीवनसापेक्ष छ। हाम्रो शिक्षाले सूत्र र तिथिमिति रटाउँछ अनि व्यक्तिका नाम र सिद्धान्त रट्न भन्छ। तर ती कुराहरूले हाम्रो जीवनका कुनै पनि आयामलाई प्रत्यक्षतः छुँदैनन्। तसर्थ, सर्वप्रथम पाठ्यक्रमको कमजोरीप्रति हाम्रो ध्यान जानु जरूरी छ।

दोस्रो कुरा सरकारी विद्यालयमा पढ्न आउने अधिकांश बालबालिका निम्न वर्गबाट आउँछन्। जुन बच्चाहरूले राम्रोसँग खान पाएका हुँदैनन्, जाडोमा न्यानो लुगा लगाउन पाउँदैनन्, घरमा राम्रो संस्कार सिक्न पाएका हुँदैनन्, घरमा झैझगडाको वातावरण हुन्छ, कसैले आमा मात्र र कसैले बाबा मात्र पाएका हुन्छन्। बाबा–आमा सँगै पाउने, मिलेर बसेका भाग्यमानी केटाकेटी कमै हुन्छन् सरकारी विद्यालयमा। गरिबीले मानिसहरूको गाँस, बास, कपास, खुशी र सुख मात्र खोसेको हुँदैन, त्यसले मानसिक खुशी र सपनाहरू पनि लुटेर तिनको जीवनलाई नीरस, उदास र रुखो बनाइदिएको हुन्छ। पढ्ने कुरा पुस्तकसँग मात्र होइन, उसले पाएको वातावरणसँग, उनीहरूले खाने खानेकुरासँग पनि प्रत्यक्ष रूपमा जोडिन्छ । अनि ती बालबच्चासँग बोर्डिङ स्कूलमा पढ्ने सुकिलामुकिला बच्चाहरू— जसका बुवाआमाले हरेक महिना कम्तीमा पनि रु.१०/२० हजारदेखि लाखौं तिर्न सक्ने ल्याकत राख्छन्, त्यस्ता बच्चाहरूसँग तुलना गरेर सरकारी विद्यालयका विद्यार्थी कमजोर छन्, शिक्षकले पढाएनन् भन्नु कत्तिको न्यायोचित हुन्छ ?

तेस्रो कुरा कुनै पनि विद्यालयको गुणस्तर त्यसको नेतृत्वसँग पनि प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। नेतृत्व भनेको सामूहिक लक्ष्य प्राप्त गर्नका लागि समूहलाई प्रभावित पारी उत्साहपूर्ण वातावरण निर्माण गरी गरिने कार्य हो। नेतृत्व निश्चित गुणहरूबाट बनेको हुन्छ। ती गुणहरूमध्ये केही गुणहरूको चर्चा यहाँ गरिन्छ।

नेतृत्वमा आवश्यक गुण

१. सहकार्यको भावनाः नेतृत्व एक्लैले मात्र केही गर्न सक्दैन। उसले सबैलाई मनाएर, साथमा लिएर समूहको लक्ष्य हासिल गर्न सक्नुपर्छ। समूहलाई विश्वासमा लिन सकिएन र समूहमा असन्तुष्टि छ भने लक्ष्यमा बाधा पुग्छ। संस्था सबैको हो सबैले गरेर मात्र संस्था राम्रो बनाउन सकिन्छ भन्ने वातावरण निर्माण गर्नुपर्छ। सबैको राय, सुझव, सल्लाह लिन समय–समयमा बैठक बसाल्नुपर्छ र विद्यालयलाई प्रजातान्त्रिक बनाउनुपर्छ। सबैलाई यो कुराको महसुस गराउनुपर्छ कि यो हामी सबैको निर्णय हो। सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको भावना निर्माण गर्नुपर्छ।

२. निर्णय क्षमताः नेतृत्वमा हुनुपर्ने अर्को महत्वपूर्ण गुण नेतृत्व क्षमता हो। कठिन अवस्थामा नेतृत्वले तुरुन्त निर्णय लिन सक्नुपर्छ।

३. इमानदारीः नेतृत्वमा इमानदारी भएन भने मानिसको विश्वास कम हुन्छ। तसर्थ नेतृत्व सदैव इमानदार हुनुपर्छ। समूहलाई विश्वासमा लिनका लागि इमानदारी एक महत्वपूर्ण गुण हो।

४. स्पष्टताः नेतृत्व स्पष्ट हुनुपर्छ। आफ्ना कुराहरू स्पष्टसँग राख्न सक्ने र अरूको कुरा पनि ध्यान दिएर सुन्न सक्ने नेतृत्व हुनुपर्छ। आफ्ना सहकर्मीहरूसँग स्पष्ट र मिलनसार हुनुपर्छ। उनीहरूका कुरालाई सुन्ने, बुझने र उचित किसिमले सम्बोधन गर्ने प्रयास गरिनुपर्छ।

५. उत्प्रेरणा दिनेः नेतृत्वले जहिले पनि आफ्ना सहकर्मीहरूलाई उत्प्रेरित गर्नुपर्छ। कार्यस्थलमा उत्साहपूर्वक काम गर्ने वातावरण बनाउनुपर्छ। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र कमजोरी गर्नेलाई एक्लै राखेर सम्झउने, त्यसको परिणाम बताएर कन्भिन्स गर्नुपर्छ। आलोचना एक्लै गर्ने तर प्रशंसा गर्दा समूहमा गर्ने कुराले व्यक्तिलाई काम गर्न प्रेरित गर्छ।

६. प्रजातान्त्रिक परिपाटीः नेतृत्वमा सहकर्मीहरूको मनोबललाई उच्च राखेर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ। कहिल्यै पनि आफ्ना सहकर्मीहरूको मनोबल गिराउने काम गर्नुहुँदैन। छलफलमा सबैको राय सुन्ने र उचित किसिमले सबैको विचारलाई सम्बोधन गर्ने प्रयास गरिनुपर्छ।

७. समान व्यवहारः नेतृत्वमा मानवीय गुणहरू हुनैपर्छ। कोही मन पर्न सक्छ। कोही कम मन पर्न सक्छ तर व्यवहारमा कहिल्यै पनि निजीपन झ्ल्किनुहुँदैन। नेतृत्वले कहिल्यै पनि काखा–पाखा र विभेदको व्यवहार देखाउनुहुँदैन।

प्रत्येक व्यक्ति आ–आफ्नो ठाउँबाट सामूहिक प्रयासका साथ लाग्ने हो भने असम्भव भन्ने कुरा केही पनि छैन। एकातिर शैक्षिक संस्था राम्रो बनाउनका लागि कुशल नेतृत्वको आवश्यकता छ भने अर्कोतिर शिक्षा क्षेत्रका सारथीहरूको सेवासुविधा, शिक्षा क्षेत्रमा भित्रिने जनशक्ति र समग्र शिक्षा नीति, पाठ्यक्रमको विषयमा पुनरावलोकन गर्नुपर्ने खाँचो पनि उत्तिकै छ। पाठ्यक्रम समयसापेक्ष, जीवनसापेक्ष र रोजगारमुखी भएमा मात्र शैक्षिक बेरोजगारीको समस्या हल हुन सक्छ। जहिले पनि परिणाम त्यतिबेला मात्र राम्रो हुन्छ जब प्रक्रिया र दिशा सही हुन्छ।

सीतापाइला, नागार्जुन–४, काठमाडौं

शिक्षक मासिक, २०८३ जेठ अंकमा प्रकाशित । 

commercial commercial commercial commercial