शिक्षकको विकासमा सहयोग नै उनीहरूको सम्मान

शिक्षा कुनै पनि समृद्ध समाजको आधार हो, र शिक्षाको केन्द्रमा हुन्छ- शिक्षक। उसको भूमिका रचनात्मक, परिवर्तनशील र उत्तरदायित्वमा आधारित हुन्छ। प्रत्येक दिन उनीहरू कक्षाका जटिल वास्तविकताको सामना गर्छन्, मानवीय परिस्थिति एवं सिकाइका विविधतालाई स्वीकार गर्छन्, अनि स्वयंलाई तदनुरूप समायोजित गर्दै विद्यार्थीको बौद्धिक, भावनात्मक र सामाजिक विकास सुनिश्चित गर्छन्। यो उत्तरदायित्व-भरित कार्यको विस्तारलाई हेर्दा, शिक्षकको ‘तयारी’ वा भनौं विकास केवल सामान्य प्रशिक्षण अथवा यदाकदा आयोजित हुने कार्यशालाहरूको माध्यमबाट हुन सक्छ भन्ने सोच्नु अत्यन्त असंगत देखिन्छ। 

चिकित्सा, इन्जिनियरिङ अथवा वैज्ञानिक अनुसन्धान जस्ता महत्वपूर्ण मानिने अन्य पेशाको तुलनामा शिक्षण कार्यसँग जोडिएका मानिसहरूको लगातार क्षमतावर्धन गरिनु बढी आवश्यक छ। किनभने, शिक्षण कार्य मूलतः मानवीय एवं सामाजिक कार्य हो, जसमा हरेक प्रकारका अनिश्चितता र विविधता समाविष्ट हुन्छन्। सरल शब्दमा भन्दा, प्रत्येक विद्यार्थीका आवश्यकता फरक र व्यवहार पनि फरक हुन्छन्। कहाँसम्म भने, एउटै विद्यार्थीले फरक-फरक समयमा फरक फरक व्यवहार गर्न सक्छ। ती व्यवहारलाई प्रभावित गर्ने कैयौं कारण हुन सक्छन्, जसमाथि शिक्षकको नियन्त्रण शून्य बराबर हुन्छ। यी सबैलाई छिचोलेर अघि बढ्न शिक्षकले लगातार आफ्नो क्षमतालाई तिखार्नु र परिष्कृत गर्नु आवश्यक हुन्छ। यो कार्य शिक्षकको क्षमतावर्धन गर्ने कार्यक्रमहरू मार्फत गरिनुपर्छ।

यस्तो हुँदाहुँदै पनि, अधिकतर शिक्षातन्त्रहरूमा शिक्षकको पेशागत विकासलाई केवल खाना पूर्तिका रूपमा हेर्ने गरिंदै आएको छ। अर्थात् कुनै प्रशिक्षण-सत्र यहाँ भयो, कुनै अनिवार्य कार्यशाला त्यहाँ भयो। यस्तो प्रक्रिया अनुचित मात्र होइन, परन्तु यसले शिक्षण पेशाका बारेमा व्याप्त बृहत् भ्रमलाई प्रदर्शित गर्छ। यो विद्यार्थीका लागि हानिकारक छ। सही अर्थमा शिक्षकको पेशागत विकास निरन्तर तथा दैनन्दिन कार्यहरूसँग जोडिएको अनि उनीहरू दैनन्दिन धरातलीय चुनौतीहरूको समाधान खोज्न सहयोगी हुनुपर्छ। यसमा विविध तरीका समाविष्ट हुनुपर्छ। उदाहरणका लागि, सहयोगात्मक शिक्षण, मार्गदर्शन, कक्षा-आधारित सहयोग र साथी शिक्षकहरूसँग लगातार सम्पर्क। यो सबैको उद्देश्य शिक्षकहरूलाई तिनको कौशल परिष्कृत गर्न सहयोग पुर्‍याउनु तथा आफ्नो कामप्रति गर्व र सन्तुष्टि महसूस गराउनु हो। यस्तो उपलब्धि प्रत्येक दिन आफ्नो कामलाई बढी प्रभावपूर्ण तरीकाले सम्पन्न गर्दा प्राप्त हुन्छ।

शिक्षणको अर्थ केवल निर्धारित विषयवस्तुलाई यान्त्रिक रूपमा पढाइदिनु मात्र होइन। यसका लागि रचनात्मकता, तात्कालिक परिस्थिति र चुनौती अनुरूप प्रक्रियामा परिवर्तन तथा स्थितिहरूप्रति गहिरो समानुभूति आवश्यक हुन्छ। हरेक शिक्षकमा यो क्षमता हुनु जरूरी छ कि ऊ सिक्ने-सिकाउने नयाँ तरीकाहरूप्रति, आफ्नो कक्षाका विविधता र समाजका बदलिंदा सन्दर्भ तथा अपेक्षाहरूप्रति जागरुक एवं संवेदनशील होस्, तीसँग सामञ्जस्य निर्माण गर्न सकोस्। अन्य पेशाहरूको तुलनामा शिक्षण धेरै अनिश्चितताले भरिएको कार्य हो। 

नेपालमा यसरी गर्ने गरिएको छ शिक्षकको सम्मान ।

एउटा तरीका, जुन केही विद्यार्थीका लागि ठीक लाग्छ, सम्भव छ- अन्य केहीका लागि त्यसले काम नगरोस्। कुनै अवधारणा, जो कसैलाई सरल लाग्छ, अरू धेरै विद्यार्थीलाई कैयौं उदाहरण दिएर बुझउनुपर्ने हुन सक्छ। साथै, विद्यार्थीका जिज्ञासा र संघर्षले पनि सिकाइका निम्ति नयाँ आयाम खोल्न सक्छ । यसैकारण एकपल्ट दिइने प्रशिक्षणले यस क्षेत्रमा काम गर्दैनन्। कल्पना गर्नोस् यस्तो सर्जनको जो आफ्नो एकपल्टको प्रशिक्षणमै निर्भर हुन्छ, हरेक अपरेशनपछि केही नयाँ सिक्तैन, अथवा यस्तो संगीतकार जो कहिल्यै रियाज (अभ्यास) गर्दैन। अनौठो लाग्दैन त यो कुरा ? तर शिक्षकबाट यही अपेक्षा गरिन्छ कि उनीहरूले पहिलो प्रशिक्षणमा बताइएका सैद्धान्तिक कुरा र प्रक्रियालाई नै आधार बनाएर वर्षौं वर्ष शिक्षण गरिरहुन्, भलै ती सिद्धान्त र प्रक्रियाहरू कक्षाका वास्तविक सन्दर्भबाट पूर्णतः पृथक् होउन्।

वस्तुतः शिक्षणको प्रक्रिया नै सतत सिक्ने अभ्यास हो, त्यसैले शिक्षकको प्रभावी क्षमतावर्धन निरन्तर भइरहनु आवश्यक छ। विद्यार्थीसँग भएको हरेक संवाद, हरेक शिक्षण योजना र आकलन शिक्षकका लागि एउटा रिफ्लेक्शन (प्रतिबिम्ब) हुन्छ, जसलाई चिन्तनशील शिक्षकले आफ्नो शिक्षण प्रक्रियामा सुधारका लागि उपयोगमा ल्याउँछन्। यस्तो ‘रिफ्लेक्शन’ एक्लैमा सम्भव हुँदैन। यसलाई शिक्षकको विकासका लागि निर्धारित अवसरहरूमा समर्थन गरिनुपर्छ। पारम्परिक प्रशिक्षण कार्यक्रम, जसमा शिक्षकहरू पढ्ने-पढाउने तरीकाका बारेमा कुर्सीमा बसेर अर्काको व्याख्यान सुन्छन्, प्रायः लाभप्रद हुँदैनन् किनभने तिनको कक्षाका वास्तविक शिक्षण प्रक्रियाहरूसँग कुनै निकटता वा नाता हुँदैन। यसको सट्टा, शिक्षकका पेशागत विकासका कार्यक्रमहरू निरन्तरता कायम गर्दै अनुभव-आधारित तथा सहयोगात्मक हुनु जरूरी छ। 

शिक्षकको पेशागत विकासको एउटा सबैभन्दा सशक्त तरीका एकअर्कासँग सिक्नु हो। शिक्षकलाई साना र सुव्यवस्थित समूहमा बाँडेर आआफ्ना कक्षा–प्रक्रियाहरूमाथि चिन्तन गर्न मौका दिनाले सुधारको सहयोगी संस्कृतिको विकास हुन्छ। यसप्रकारको चर्चालाई नियन्त्रित गर्नुको सट्टा सरल बनाइनुपर्छ जसबाट विचारको आदान-प्रदानका लागि समय र अवसर प्राप्त होस्। जब गणितका शिक्षकहरू ‘भिन्न’को अवधारणा बुझन नसकिरहेका विद्यार्थीलाई कसरी सहायता गरियो भनेर आआफ्नो अनुभव बताउँछन्, अथवा इतिहासका शिक्षकहरू वादविवाद र विमर्शका अवसर निर्माण गरेर कक्षालाई कसरी जीवन्त बनाइयो भन्ने कुरा आपसमा साटासाट गर्छन्, त्यसवेला थाहा हुन्छ- यी धरातलीय अनुभव सैद्धान्तिक प्रशिक्षणहरू भन्दा धेरै बढी प्रभावकारी सावित हुन्छन्।


शिक्षकहरू खोक्रो प्रशंसा अथवा औपचारिक पुरस्कारबाट गौरवान्वित हुँदैनन्। गौरवको भाव उनीहरूमा आफ्नो काम राम्ररी गर्ने आत्मविश्वासबाट प्राप्त हुन्छ। जब कुनै शिक्षक संघर्षरत विद्यार्थीले अन्ततः कठिन अवधारणा बुझिरहेको देख्छ, त्यसले नै उसलाई शिक्षक बनाइराख्छ।

कार्यशालाहरू त्यसवेला मात्र उपयोगी हुन्छन्, जब तिनमा भनिएका–बताइएका उपायहरू व्यावहारिक र तुरुन्तै प्रयोग गर्न सकिने होउन्। ‘सक्रिय सिकाइ’ विषयमा आधारित कार्यशालामा यसको अवधारणा मात्र नबताइयोस्, परन्तु यसबारे सहभागी शिक्षकहरू मार्फत यस्ता गतिविधिको निर्माण गरियोस्, जसलाई उनीहरूले भोलिपल्टै कक्षामा उपयोग गर्न सकून्। साथै त्यस्ता गतिविधिको अनुगमन पनि आवश्यक छ: के त्यो (कुनै खास) गतिविधि कक्षाका लागि उपयुक्त थियो ? अथवा त्यसमा अरू कस्तो फेरबदल जरूरी छ ? कार्यशालामा बताइएका कुराहरूको कक्षामा प्रयोग र तीमाथिको पृष्ठपोषण (फीडब्याक) विना कार्यशालाहरू पनि अमूर्त नै रहिरहन्छन्। 

सबैभन्दा प्रभावकारी पेशागत विकास कक्षाकोठाभित्रै हुन्छ। त्यहाँ प्रशिक्षक अथवा ‘मेन्टर’ ले कुनै पनि शिक्षकको कक्षा-शिक्षण प्रक्रियाको अवलोकन गरेर वास्तविक र पूर्वाग्रहरहित पृष्ठपोषण दिन सक्छन्। के कक्षामा सोधिएका प्रश्नले विद्यार्थीलाई गहिराइमा पुगेर सोच्न प्रेरित गरिरहेका थिए ? के सबै विद्यार्थी कक्षामा रुचि लिइरहेका थिए ? यसप्रकारका पृष्ठपोषण मूल्यांकनात्मक नभएर रचनात्मक हुनुपर्छ जसले गर्दा आलोचनाको डरको सट्टा विकासको मानसिकतालाई प्रोत्साहन मिलोस्। 

शिक्षकहरू एकअर्काले पढाएको हेरेर बढी सिक्छन्। यसप्रकारको सुनियोजित अवलोकनका अवसरहरू, जहाँ सबै साथी-शिक्षकले एकअर्काका कक्षामा गएर विशेष कक्षा-प्रक्रियालाई हेर्न पाउन्, उनीहरूको शिक्षण-प्रक्रियामा परिवर्तनका लागि निकै महत्वपूर्ण हुन सक्छन्। कक्षा सकिए उप्रान्त कक्षा-प्रक्रियामाथि छलफल गर्दा पढाउने र अवलोकन गर्ने दुवैलाई आआफ्ना कक्षा-प्रक्रियाहरू थप राम्रो बनाउन मद्दत पुग्छ। शिक्षकहरूलाई बृहत्तर सञ्जालको हिस्सा बनाइनुपर्छ जसमा तिनका विद्यालय, अरू विद्यालय र अरू डिजिटल मञ्च पनि शामेल होउन्। यस्तो सञ्जाल, जुन मञ्चमा शिक्षकले आफ्नो विचार बाँडचुँड गर्छन्, शैक्षिक अनुसन्धानहरूको चर्चा गर्छन् र तिनमाथि सबैको राय माग्छन् अनि सतत सिकाइको संस्कृतिको निर्माण गर्छन्। कुनै ग्रामीण विद्यालयमा पढाउने भौतिकीका शिक्षकलाई पनि ती सबै नयाँ प्रक्रियाबारे जानकारी हुनु जरूरी हुन्छ, जो कुनै शहरी क्षेत्रको शिक्षकलाई हुन्छ। 

शिक्षकहरू खोक्रो प्रशंसा अथवा औपचारिक पुरस्कारबाट गौरवान्वित हुँदैनन्। गौरवको भाव उनीहरूमा आफ्नो काम राम्ररी गर्ने आत्मविश्वासबाट प्राप्त हुन्छ। जब कुनै शिक्षक संघर्षरत विद्यार्थीलाई अन्ततः अवधारणा बुझ्रिहेको देख्छ, अथवा जब कुनै पाठ कक्षामा असाधारण रूपले राम्ररी पढाइन्छ, अथवा जब कुनै शिक्षकले पढाएका विद्यार्थी आभार व्यक्त गर्न फर्केर आउँछन्- यी त्यस्ता क्षण हुन्छन् जसले शिक्षकलाई शिक्षक बनाइराख्छन्। तर यी क्षण अचानक आउँदैनन्। यस्ता मौका लगातार राम्रो हुँदै गएका शिक्षणका तरीका, कक्षामा चलिरहने नयाँ प्रयोग र आफ्ना प्रक्रियामा निरन्तर भइरहने सुधारबाट हासिल हुन्छन्। यदि कुनै शिक्षक जडता महसूस गर्छ, वर्ष-प्रतिवर्ष विना कुनै विकास एउटै पाठ, उस्तै किसिमले दोहोर्‍याइरहन्छ भने उसको प्रेरणा समाप्त हुन पुग्छ। यसका विपरीत, जब उसले आफूलाई विकसित हुँदै गरेको देख्छ, त्यसवेला आफ्नो कार्यमा उसको सहभागिता गहिरिन्छ । त्यसैले शिक्षकको क्षमतावर्धन उसको शिक्षण प्रक्रियाको अभिन्न अंग हुनुपर्छ, यसलाई छुट्टै जोडिएको कुनै अंगका रूपमा हेरिनुहुँदैन। शिक्षकहरूको सतत पेशागत विकासलाई अत्यन्त आवश्यक कुरा मान्दै विद्यालयमा पनि यसका लागि समय छुट्याइनु र व्यवस्थित योजना बनाइनुपर्छ।


शिक्षण कार्यसँग जोडिएका मानिसहरूको लगातार क्षमतावर्धन गरिनु बढी आवश्यक छ। किनभने, शिक्षण कार्य मूलतः मानवीय एवं सामाजिक कार्य हो, जसमा हरेक प्रकारका अनिश्चितता र विविधता समाविष्ट हुन्छन्। 

नीतिनिर्माताहरूले पनि एकपल्टको वा पटके प्रशिक्षणको औपचारिकताबाट पृथक् भएर लामो समयसम्म सहयोग प्रदान गर्ने व्यवस्था निर्माण गर्न समय र संसाधनहरूको निवेश गर्नुपर्छ।

जब शिक्षकहरूमा शिक्षण पद्धतिहरूको विकास हुन थाल्छ, विद्यार्थीको सिकाइ पनि निकै राम्रो हुन्छ। जुन शिक्षक आफ्नो शिक्षण कौशल प्रभावशाली बनाउँदै जान्छन्, तिनीहरू आफ्ना विद्यार्थीमा पनि विषयवस्तुको गहिरो बुझइ, गहन चिन्तन र जिज्ञासा जगाउन तत्पर रहन्छन्। समय सँगसँगै यसबाट व्यक्तिमा मात्र होइन, पूरै समुदायमा परिवर्तन देखिन थाल्छ। साँच्चै भन्ने हो भने हरेक पेशेवर व्यक्ति, चाहे त्यो डाक्टर होस् इन्जिनियर होस् अथवा व्यापारी- सबैको व्यक्तित्वलाई शिक्षकले नै आधार दिएको हुन्छ। यदि हामी निरन्तर सिकिरहने, नयाँ खोज गर्ने र विचारशील समाज चाहन्छौं भने हामीले ती मानिसलाई महत्व दिनुपर्छ जसले यी गुणहरू प्रस्फुटित गर्न सहयोग पुर्‍याउँछन्। शिक्षकलाई महत्व दिनुको अर्थ हो, प्रत्येक चरणमा उनीहरूको विकासमा मद्दत गर्नु।

यस प्रकारको परिवर्तन व्यवस्थित र योजनाबद्ध हुनु आवश्यक छ। यसका लागि विद्यालय र विद्यालयीय तन्त्रले शिक्षकहरूको सहयोगी शिक्षणका निम्ति समय दिनुपर्ने हुन्छ। सरकारले आफ्नो नीति र बजेटमा शिक्षकहरूको सतत पेशागत विकासलाई प्राथमिकता दिनुपर्छ, शिक्षक प्रशिक्षण संस्थानहरू एकपल्टको वा पटके प्रशिक्षणबाट सतत पेशागत विकासतर्फ प्रवृत्त हुनुपर्छ, अनि समाजले शिक्षण कार्यलाई एउटा महत्वपूर्ण एवं बौद्धिक पेशाको रूपमा मान्यता दिनुपर्छ। 

शिक्षकहरू केवल ज्ञानदाता हुँदैनन्, उनीहरू बुद्धिजीवी, पथप्रदर्शक र स्वयं जीवनभर सिकिरहने व्यक्ति हुन्छन्। उनीहरूको पेशागत विकास अचानक फुर्न पुगेको कुनै योजना जस्तो हुनुहुँदैन, अपितु यसलाई सतत, सार्थक र शिक्षाको बुनोटमा शामेल गरिनुपर्छ। तब मात्र हामीले शिक्षकको भूमिकाप्रति न्याय गर्न सक्छौं र विद्यार्थीको उज्ज्वल भविष्यको निर्माण गर्न सक्छौं। 

(शिक्षाविद् बेहार विगत दुई दशकदेखि सार्वजनिक विद्यालयको पठन-पाठन सुधारमा क्रियाशील भारतीय संस्था- अजीम प्रेमजी फाउन्डेशनका कार्यकारी प्रमुख छन्।)

साभार: पाठशाला, भीतर और बाहर, सेप्टेम्बर २०२५

भाषान्तर: वस्ती

शिक्षक  मासिक, २०८२ कात्तिक अंकमा प्रकाशित । 

commercial commercial commercial commercial