विद्यार्थीमाथि लाग्ने आरोप र त्यसको यथार्थ

बालबालिकाको सन्दर्भमा पछिल्लो पटक उनीहरूलाई तीनवटा आरोप लाग्ने गरेका छन्– बालबालिकामा पठन संस्कृति छैन, बालबालिकामा सृजना हराउँदै गयो र बालबालिकाहरू चौबीसै घण्टा मोबाइलमा झुण्डिन्छन् । 

सरसर्ती हेर्दा, हो जस्तो पनि लाग्छ। यदि यी आरोप कसैले अनुसन्धान गरेरै लगाएको हो भने यो विषय निकै गम्भीर पनि हो। किनभने, बालबालिका बिग्रनु भनेको देश बिग्रनु हो, देशको भविष्य बर्बाद हुनु हो। त्यसैले, हामीमध्ये अधिकांशले बालबालिकामाथि लगाउने गरेका उपर्युक्त आरोपहरूलाई विभिन्न पाटोबाट केलाएर हेरौं।

पहिलो आरोपः बालबालिकामा पठन संस्कृति छैन
यो आरोपमाथि विचार गर्न बस्दा शुरूमै प्रश्न उठ्छ- बालबालिकालाई पढ्न प्रेरित गर्ने र रुचि जगाउने जिम्मेवारी कसको ? उत्तर प्रष्ट छ अभिभावक, शिक्षक र पाठ्यक्रमको। तर; अधिकांश अभिभावक ‘यो काम शिक्षकको हो’ भन्छन्। अनि, शिक्षकहरू अभिभावक र पाठ्यक्रम-पाठ्यपुस्तकमाथि जिम्मेवारी पन्छाउँछन्। पाठ्यक्रमविद्हरू चाहिं सिंगो शिक्षकलाई दोष दिएर उम्किन खोज्छन्। अभिभावक र पाठ्यक्रमविद् दुवैको पेलान शिक्षकमाथि छ। पाठ्यक्रमको व्यावहारिक प्रयोग गर्ने क्षेत्रमा भएपछि केही बढी जिम्मेवारी त शिक्षकहरूले बोक्नु नै पर्छ, तर अभिभावक र पाठ्यक्रमविद्हरू पनि शिक्षकहरूमाथि दोष थुपारेर उम्किने ठाउँ छैन। पाठ्यक्रम-पाठ्यपुस्तकमा ‘हाम्रा’ भन्दा ‘राम्रा’ विषयवस्तु समेटेर शिक्षाविद्हरूले इमानदारी देखाउन सक्नुपर्छ। राम्रा विषयवस्तुहरू समावेश हुनसकेमा पठनमा रुचि बढ्न सक्छ।

बालबालिकाको पहिलो पाठशाला घरपरिवार हो। पहिलो शिक्षक बाबुआमा हुन्। घरको प्रभाव विद्यालयमा पर्छ। घरमा पढ्ने विद्यार्थीले विद्यालयमा पनि पढाइमा रुचि देखाउँछ। तर कति अभिभावकले आफ्ना बालबालिकाको पठन रुचि बढाउन कुनै कथा पढेर सुनाएका छन् ? लोककथा भनेका छन् ? कविता लय हालेर सुनाएका छन् ? बालसाहित्य र सृजनासँग सम्बन्धित पत्रपत्रिकाहरू बालबालिकाको हातहातमा पुर्‍याइदिएका छन् ? यदि कसैले यस्तो काम गरेका छन् भने तिनका बालबालिकाको पठनमा अवश्य रुचि जागेको हुनुपर्छ। 

पाठ्यक्रमले विद्यार्थीलाई ऊर्जाशील बनाउने उद्देश्य लिएको देखिन्छ । सबै पाठ्यपुस्तकमा विद्यार्थीको रुचिलाई कतै न कतै सम्बोधन गरिएको पनि हुन्छ । उदाहरणको रूपमा विद्यालयको नेपाली पाठ्यक्रमले के कस्तो प्रयास गरेको छ भन्ने एक दुईवटा दृष्टान्त हेरौं । कक्षा ७ को नेपालीमा ‘मेरो विद्यालय’ शीर्षकमा कविता रचना गरेर कक्षामा सुनाउनुहोस् (पृष्ठ १०); पत्रपत्रिकाबाट एउटा कथा खोजेर लेख्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् (पृष्ठ ८३) जस्ता अभ्यासहरू छन् भने कक्षा ९ को नेपाली किताबमा ‘पुस्तकालयबाट देशप्रेमको भाव भएको एउटा कविता खोजी कक्षामा साथीहरूलाई सुनाउनुहोस् (पृष्ठ ९)’ जस्ता अभ्यास राखेर पठन संस्कृतिलाई खोजमूलक बनाउने प्रयास गरिएको छ। हरेक सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सरकारले ठूलो लगानी गरेको छ। ‘बुक कर्नर’का नाममा ठूलो धनराशि खर्च भएको छ। तर त्यसको के कति सदुपयोग भएको छ भन्ने अलग विषय हो।

यथार्थमा, विद्यालयमा पुस्तकालय र पुस्तकालय बजेटको सदुपयोग गरिएको छैन । ‘बुक कर्नर’हरू देखाउनका लागि मात्रै राखिएका छन् । पुस्तकालय प्रयोगमा ल्याइदिने शिक्षकले हो तर शिक्षकहरू झ्न्झ्ट मान्छन्। छुट्टै समयको माग गर्छन् । यो विषय प्रधानाध्यापकसम्म पुग्यो भने जनशक्तिको अभाव देखाएर उनी पनि उम्किन खोज्छन्। कतिपय पुस्तकालयका ढोका र झयाल हप्तौं खोलिंदैनन् । पुस्तकहरू सुरक्षित राख्ने नाममा पुस्तकको बाहिरी गातामा धुलो जमेको हुन्छ। प्रधानाध्यापक र शिक्षकहरूबाट बाटो नदेखाएसम्म विद्यार्थीहरूले आफैं जानेर पढ्ने त कुरै आउँदैन।

विद्यालयमा अनेक समस्या होलान्। जनशक्तिको अभाव होला। पुस्तकालयले विद्यार्थीको चाप थाम्न नसक्ने अवस्था पनि होला। तर ‘जहाँ समस्या, त्यहाँ उपाय’ भनिन्छ । पहिलो उपाय पाठ्यक्रमको मर्म समातेर विद्यालयमा नै कुनै घण्टी र सोही घण्टीका शिक्षकलाई प्रयोग गर्न सकिन्छ। दोस्रो उपाय शनिबार, स्थानीय बिदा, अन्य सरकारी बिदा वा लामा प्रकृतिका जाडो र गर्मी बिदाहरूलाई नयाँ पुस्तक पढ्ने दिनका रूपमा प्रयोग गर्न सकिन्छ । भाषा विषयहरूमा परियोजना कार्य दिन सकिन्छ। आफूलाई मन परेको एउटा नयाँ पुस्तक पढेर त्यस पुस्तकका बारेमा आफूलाई लागेको कुरा लेखी साथीहरू बीचमा छलफल गर्ने खालको परियोजना कार्य दिने हो भने हरेक विद्यार्थीले वर्षका दुई चारवटा नयाँ पुस्तक नपढ्ने भन्ने हुन्छ र ? मात्र शिक्षक बोलिदिनुपर्‍यो। 

हाम्रोमा पठन संस्कृति कमजोर हुनु पछाडि धेरै कारण होलान् तर मूल कारण शिक्षकहरूको उदासीनता हो। शिक्षकहरूले विद्यार्थीमा पठन संस्कृति छैन भनेर दोष दिनु जिम्मेवारीबाट पन्छिन खोज्नु मात्र हो। 

दोस्रो आरोपः बालबालिकामा सृजना हरायो
सृजना भन्ने कुरा व्यक्तिको कल्पना र क्षमतासँग जोडिएको हुन्छ। अध्ययन र अभ्यासले विद्यार्थीलाई सृजनशील बनाउँछ। हामीले हाम्रा बालबालिकाहरूलाई अध्ययन वा पठनमा के- कति लगाउने गरेका छौं माथि नै चर्चा गरिसकेका छौं अब कुरा रह्यो अभ्यासको। म भाषा-साहित्यकै कुरा गर्छु। कथा, कविता र निबन्धकै कुरा गर्छु। हुनत अन्य विषयहरूमा पनि सृजनात्मक अभ्यासहरू प्रशस्तै छन्। धेरै उदाहरण दिन सकिन्छ तर म नेपाली विषयमा समावेश गरिएका केही उदाहरण मात्रै लिन्छु। कक्षा ५ को मेरो प्यारो नेपाली मा ‘तलको चित्र हेरेर बाढी-पहिरोले पार्ने प्रभाव विषयमा एउटा निबन्ध लेख्नुहोस्’ (पृष्ठ ३९), ‘तलको चित्र हेरेर कविताको ढाँचामा वर्णन गर्नुहोस्’ (पृष्ठ ३९) जस्ता अभ्यासहरू छन्। यी अभ्यासले बालबालिकाहरूलाई सृजनशील बनाउने उद्देश्य लिएको देखिन्छ । कक्षा ७ को नेपाली पुस्तकमा ‘तलका शब्दहरू प्रयोग गरी श्लोक पूरा गर्नुहोस् (पृष्ठ १०२), ‘अभिभावकलाई सोधी एउटा लोककथा लेखेर कक्षामा सुनाउनुहोस्’ (पृष्ठ २२) जस्ता अभ्यास छन्। त्यसैगरी कक्षा ९ को नेपाली किताबमा ‘मेरो घर’ शीर्षकमा छोटो कविता तयार पार्नुहोस्, (पृष्ठ ८९), सृजना व्यावसायिक कृषि विषयमा निबन्ध तयार गर्नुहोस् (पृष्ठ ३५) जस्ता अभ्यासहरू राखेर विद्यार्थीलाई कथा, कविता, निबन्ध जस्ता रचनाहरू सृजना गराउने उद्देश्य राखेको देखिन्छ । तर विद्यार्थीलाई यस्ता अभ्यास विरलै गराइन्छ। ‘परीक्षामा आउँदैन’ भनेर त्यसै छोडिन्छ। 

सानै कक्षाबाट सृजनशील अभ्यासहरू गराउँदै लैजाने हो भने माथिल्लो कक्षामा पुग्दा विद्यार्थीहरू आफैं अभ्यास गर्ने हुन्थे। तर पछिल्लो समय, विद्यार्थी मात्रै होइन कतिपय शिक्षकहरूकै सृजनामा अभ्यास छैन । जब छन्द पढाउने शिक्षकले छन्द कविता पढ्न जान्दैनन् भने तिनले के कविता पढाउलान् ? कस्तो लय हाल्लान् ? के सिकाउलान् ? कतिपय शिक्षकहरू आफ्नो कमजोरी लुकाउन पनि यस्ता अभ्यास ‘परीक्षामा आउँदैन’ भनेर तर्किन्छन् । लागे–पुगेसम्म, परीक्षामा यस्ता प्रश्न समावेश पनि गर्दैनन्। 

तेस्रो आरोपः चौबीसै घण्टा मोबाइलमा झुण्डिन्छन्  
यो समस्याबाट अधिकांश अभिभावक पीडित छन्। विद्यालयहरूमा दैनिक गुनासा लिएर पनि पुग्छन्। उपाय निकालिदिन आग्रह गर्छन्। तर यो विषयमा शिक्षक र पाठ्यक्रमभन्दा अभिभावक नै बढी दोषी छन्। बालबालिकालाई मोबाइलमा बानी पार्ने अभिभावक नै हुन्। एक वर्षको बच्चालाई दूध पिलाउन र खाना खुवाउन मोबाइल प्रयोग गर्छन्। काम गर्न फुर्सद हुन्छ भनेर मोबाइलमा भिडियो हेर्न लगाउँछन्। यो क्रम विद्यालय जाने बेलासम्म चलिरहन्छ। यतिबेलासम्म बालबालिकाहरूलाई मोबाइलको लत बसिसकेको हुन्छ । लत नै बसेपछि छुटाउन गाह्रो नहुने त कुरै भएन। 

कतिपय बाबुआमा आफ्ना बालबालिकालाई मोबाइल चलाएकोमा गाली गर्छन् तर आफैं मोबाइलको लतमा फसिसकेका हुन्छन्। बालबालिकाको छेउमा बसेर मोबाइल घन्काउँछन्। बालबालिकाले जिज्ञासा राखेमा हप्काउँछन्। मौका परे हात समेत छोड्छन्। यस्ता बालबालिकाको ध्यान मोबाइलमा जानु स्वाभाविक नै हो। 

मोबाइलको लत नबसेका विद्यार्थीलाई पनि कोरोना महामारी फैलिएको बेला लत बस्यो। ‘लकडाउन’ भएको बेला शिक्षकहरूले पनि विद्यार्थीलाई मोबाइल किन्न र हेर्न सिफारिश गरे। त्यो बाध्यता थियो। पछि ‘लकडाउन’मा त सुधार आयो तर मोबाइल लतमा सुधार आएन। त्यसपछि पनि मोबाइलको लत बढ्ने क्रम जारी छ। यो दोषको भारी शिक्षकले र विद्यार्थीले भन्दा अभिभावकहरूले बढी बोक्नुपर्छ।

भनिन्छ; संसार बदल्न पहिला आफू बदलिनु जरूरी छ। विद्यार्थीमा पठन संस्कृति भएन भनेर असन्तुष्टि पोख्ने या आरोप लगाउने शिक्षक, अभिभावक, साहित्यकार तथा शिक्षाविद्हरूले पहिला आफूले नै नयाँ-नयाँ पुस्तक पढेर बालबालिकालाई पढ्ने वातावरण बनाइदिन सक्नुपर्छ। विद्यार्थी सृजनशील भएनन् भनेर दोष लगाउने शिक्षकहरू आफू सृजनशील हुन जरूरी छ। छोराछोरीको मोबाइलमा लत बस्यो भनेर पिरोलिएका बाबुआमाले पहिला आफ्नो लत त्याग्न सक्नुपर्छ। मोबाइलका लागि निश्चित समय छुट्याउन सक्नुपर्छ। बालबालिकाहरूलाई मोबाइलको सदुपयोग गर्ने बानीमा सुधार गर्दै लैजान सकियो भने शिक्षामा मोबाइल वरदान सावित हुन पनि सक्छ। 

अर्थात्; अरूमाथि प्रश्न उठाउनुपूर्व आफूमाथि उठ्ने प्रश्नहरूको उत्तर खोज्न सकियो भने धेरै समस्या आफैं समाधान हुनेछन्। 

(नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, लक्ष्मणपुर, बाँसगढी-४, बर्दिया)

commercial commercial commercial commercial