शिक्षा सुधार, कक्षाकोठा नै मूल थलो
नेपालको सामुदायिक शिक्षा-सुधारको सवाल एउटा जल्दोबल्दो विषय भए पनि यस सम्बन्धी बहस कतै अल्मलिएको जस्तो देखिन्छ। नेपालको शिक्षालाई सामाजिक आकर्षणको विषय बनाउन केही कमि भएको महसूस हुन्छ। शिक्षा प्रदान गर्ने सेवामूलक सामुदायिक विद्यालय र नाफामूलक संस्थागत विद्यालयका अलग बाटाहरूले गर्दा, अपवादका केही सामुदायिक विद्यालयहरू बाहेक समुदायको आकर्षण र विश्वास संस्थागत विद्यालयतिर नै बढी देखिन्छ। सबै सामुदायिक विद्यालयमा योग्य शिक्षकहरू भएर पनि त्यसप्रति समुदायको विश्वास जगाउन नसक्नु आजको मूल समस्या हो। यसमा कुन-कुन पक्षको कहाँ–कहाँ कमजोरी भयो र सुधार कहाँबाट थाल्नुपर्छ भनी ठम्याउन र किटान गर्न नसक्नु हामी शिक्षाकर्मीको पनि कमजोरी हो। हरेक सरोकारवालामा ‘मेरो÷हाम्रो विद्यालय’; ‘मेरो/हाम्रो कक्षाकोठा’ भन्ने भावनाको विकास गरी अगाडि बढ्ने प्रण नगर्दासम्म सामुदायिक विद्यालयहरूको यात्रा आलोचना सहितको कठिनाइपूर्ण नै हुनेछ।
अहिलेको प्रविधिको युगमा परम्परागत शिक्षणको सट्टा विद्यार्थी केन्द्रित र प्रविधिमैत्री शिक्षण गर्न सकिएन भने अपेक्षाकृत नतिजा अझै टाढा हुन सक्छ। अबका दिनमा गृहकार्यलाई भन्दा कक्षाकार्यमा नै बढी जोड दिनु बुद्धिमत्तापूर्ण देखिन्छ। त्यस्तै, सिकाइसँग सम्बद्ध समस्याहरूबारे कक्षाकोठामा विद्यार्थीहरूलाई नै खेल्न दिई खोजमूलक ढंगबाट प्रस्तुति गर्न लगाउँदा सिकाइ स्थायी हुन गई उपलब्धिमा पनि बढोत्तरी भएको अभ्यासहरूले पनि देखाएका छन्।

विद्यालयलाई विद्यार्थीले ‘मामाघर जान पाउँदा रमाए जस्तोे’ र कक्षाकोठालाई ‘रमाएर खेलमा प्रवेश गरे जस्तो’ बनाउन सक्नु सिकाइ र उपलब्धिसँग जोडिएको एउटा महŒवपूर्ण जिम्मेवारी हो विद्यालय परिवारको लागि। ‘यो भएन, त्यो भएन, यो छैन, ऊ छैन, यो पुगेन, ऊ पुगेन’ भनेर प्रभावकारी शिक्षण क्रियाकलापबाट उम्कन खोज्ने प्रवृत्ति कक्षाकोठालाई सिकाइमैत्री बनाउने कुराको घातक पक्ष हो भने शिक्षण पेशा र स्वयं शिक्षकको लागि पनि यस्तो प्रवृत्ति सहयोगी सावित हुन सक्दैन। सबै शिक्षकले आ-आफ्नो स्थानबाट थोरै इच्छाशक्ति बढाइदिएमा मात्र पनि कक्षाकोठालाई सिकाइमैत्री बनाउन असम्भव देखिंदैन। हो; समयसान्दर्भिक तालिमहरू शिक्षकलाई समय-समयमा प्रदान नगर्नु राज्यको पनि कमजोरी हो। तथापि उचित शिक्षाप्राप्त गर्ने बालबालिकाको अधिकारप्रति शिक्षकहरू गम्भीर बन्नै पर्छ। विद्यालयलाई वास्तविक सिकाइथलोको रूपमा विद्यार्थीले ग्रहण गर्न सक्नुपर्छ अनि मात्र सार्थक सिकाइ देखिन सक्छ। शिक्षकहरू सधैं सार्थक छलफलमा बस्न अल्छी मान्नुहुन्न।
बालबालिकाहरू स्वभावैले जिज्ञासु हुन्छन्, उनीहरूले शिक्षणबाट दैनिक नयाँ-नयाँ कुरा र सिर्जनशीलताको आशा गरिरहेका हुन्छन्। कक्षाकोठालाई सिर्जनात्मक बनाउने एउटा उपाय– स्थानीय पाठ्यक्रमसँग सम्बन्धित, दैनिक जीवनमा उपयोग हुने सीपसँग सम्बधित व्यावहारिक ज्ञानका अभ्यासहरू कक्षाकोठामा नै गराउनु । यसो गर्दा विद्यार्थीमा थप उत्साह र सिर्जनशीलताको विकास हुन गई उनीहरूको नियमिततामा वृद्धि हुने र टिकाउ दरमा समेत टेवा पुगेको प्रत्यक्ष अनुभव रहेको छ । कक्षाकोठा जति सुस्त हुन्छ, सिकाइ त्यति नै फिक्का हुन्छ।

सरकारी विद्यालयमा ‘शिक्षण हुन्छ, सिकाइ हुँदैन’ भन्ने जनगुनासोलाई सम्बोधन गर्न पनि सामुदायिक विद्यालयका शिक्षकहरूले म ‘गुणयुक्त शिक्षक हुँ र मेरो अब्बलताको वैधता कक्षाकोठाले नै दिन्छ’ भन्ने आत्मविश्वास पैदा गरी साँचो अर्थमा गुरु बन्ने प्रयत्न गर्न अब ढिला गर्नुहुन्न। ‘फल के प्राप्त हुन्छ’ भन्दा पनि ‘जुनसुकै कार्यको फल कार्यअनुसारको नै प्राप्त हुन्छ’ भन्ने तथ्यलाई आत्मसात् गर्न सिकौं । शिक्षकहरू मैनबत्ती हुन् जो आफू जलेर पनि संसारलाई उज्यालो बनाउँछ भन्ने भनाइलाई अर्थपूर्ण ढंगबाट ग्रहण गरौं।
कक्षाकोठा रमाइलो भएको दिन शिक्षकलाई पनि आफ्नो जीवन सार्थक भएको महसूस हुँदोरहेछ। आखिरमा त्यही त रहेछ शिक्षकको मूल कमाइ भन्नु नै ! कक्षाकोठाको कसीमा टल्किन सफल शिक्षकहरू समाजमा पनि टल्किंदारहेछन्। समाज आफैंमा एक विश्वविद्यालय हो जहाँबाट धेरै कुरा सिकेर सिकाउन सक्छ शिक्षकले चाहेमा। ‘विद्यालय मेरो मन्दिर हो, विद्यार्थी मेरा भगवान् हुन, शिक्षण मेरो पूजापाठ हो र म त्यस मन्दिरको उत्तम पुजारी हुँ’ भन्ने भावनाबाट प्रेरित भई देशभरका शिक्षकहरू एकपटक मसक्कै लागौं; सुधार सम्भव छ र सामुदायिक विद्यालयप्रतिको सामाजिक विश्वास पनि फर्काउन सकिन्छ। जय शिक्षक।
(प्रधानाध्यापक, मावि मरिन, हायुटार, घ्याङलेख गापा, सिन्धुली)



