कक्षा सञ्चालनका चुनौती र केही उपाय
केटाकेटीलाई शान्त राखेर कक्षा सुचारु रूपमा चलाउनु, खासगरी नवप्रवेशी शिक्षकका लागि सबैभन्दा ठूलो चुनौती हो। केटाकेटीलाई गाली गरेर हप्काएर, चड्काएर, सिर्कनाले सुम्ल्याएर शान्त बनाउने परम्परागत चलन हो र त्यो चलन अलिक बेग्लै रूपमा आज पनि जीवित छ। अर्थात् दण्ड र /वा भयको माध्यमबाट कक्षामा अनुशासन कायम गर्ने प्रवृत्ति हिजो जस्तै आज पनि छँदैछ। हप्काएर वा पिटेर केटाकेटीलाई शान्त बनाउने तरीका ठीक होइन भन्ने सबैलाई राम्ररी थाहा छ, तर पनि प्रायः सबैले घरी घरी त्यही तरीका अपनाइरहेका हुन्छन्।
यस्तो किन हुन्छ ? मलाई लाग्छ, यसका अनेक कारण छन्। कक्षामा सबै विद्यार्थी एउटै बौद्धिक स्तरका हुँदैनन्। पढाएको कुरा केहीले बुझ्रिहेका हुन्छन् र त्यसमा मग्न हुन्छन् । अरूले बुझ्रिहेका हुँदैनन् र चकचक गर्न थाल्छन्। यसले कक्षाको व्यवस्था बिग्रन्छ। बुझ्रिहेका विद्यार्थी अझ् बढी पढ्न चाहन्छन्, अरू चाहिं शिक्षकले धेरै नपढाओस्, खेल्न पाइयोस् भन्ने चाहन्छन्। उता, शिक्षकमा पाठ्यक्रम निर्धारित समयमै पूरा गरिसक्नुपर्ने दबाब हुन्छ। यस्तो अवस्थामा कक्षामा अशान्ति हुन थालेपछि, दुई–चारपटक राम्रो मुखले ‘शान्त भएर÷चूप लागेर बस, पढाइमा ध्यान देऊ’ भन्दा पार नलागेपछि शिक्षकले ‘वैकल्पिक तरीका’ सोच्न भ्याउँदैन, झवाँकिइहाल्छ !
केटाकेटीलाई हप्काएर, तर्साएर, पिटेर शान्त बनाउनु निकै सजिलो र तत्काल परिणाम दिने उपाय हो। तर यो सही उपाय होइन। भय र दण्डका माध्यमबाट केटाकेटीमा अनुशासन कायम गराउनु लोकतान्त्रिक तरीका पनि होइन । यसले लोकतान्त्रिक समाजको निर्माण गर्दैन। यसरी हुर्किएका केटाकेटीले आफ्नो जीवनमा अरूलाई पनि यसैगरी नियन्त्रित गर्न खोज्छन्। हामीले निर्माण गर्न चाहेको समाज त्यस्तो होइन । त्यसैले, कक्षालाई शान्त, सुचारू रूपमा चलाउन हामीले लोकतान्त्रिक तरीका नै खोज्नुपर्छ। यस्तो तरीका, जो भय वा दण्डमा आधारित नहोस्, जसले केटाकेटीलाई जान्न, सिक्न, सक्रिय हुन अभिप्रेरित गरोस्।
मैले दुई–तीनपल्ट ‘अब चूप लागेर बस। कक्षा शुरू हुने वेला भयो’ भनें। उनीहरूले ध्यान दिएनन्। अनि मैले च्याँठिएर भनें, ‘चूप लाग सबै जना! त्यही बेला एउटी बच्ची मतिर फर्की र मेरो जस्तै चर्को स्वरमा भनी, ‘तँ चूप लाग।’ उसले यसो भन्नासाथ पूरै कक्षा चकमन्न भयो। म पनि एकछिनका लागि स्तब्ध भएँ।
कक्षामा लोकतान्त्रिक वातावरण निर्माण गर्न, त्यसका लागि कक्षा सञ्चालनका वैकल्पिक उपाय खोज्न र तिनलाई कक्षामा लागू पनि गर्न त्यति सजिलो चाहिं छैन। यसका लागि तपाईंमा धैर्य, स्वनियन्त्रण र विद्यार्थीमाथिको गहन विश्वास जरूरी हुन्छ। केही वर्षदेखि प्राथमिक कक्षाका विद्यार्थीसँग काम गर्दा मैले के पनि थाहा पाएँ भने एउटै पृष्ठभूमिका र एउटै कक्षाका विद्यार्थीमा पनि हरेकको मनोविज्ञान, परिस्थिति, अभिरुचि र क्षमता फरक हुन्छ, जसलाई बुझनु अत्यन्त जरूरी छ। लोकतान्त्रिक वातावरणमा कक्षा सञ्चालन गर्न शिक्षकले यस्ता तमाम कुरामा अत्यन्त सावधान एवं संवेदनशील हुनु आवश्यक छ।
कक्षामा केटाकेटीसँग काम गर्दा मलाई आफूमाथि नियन्त्रण गर्न निकै प्रयत्नपूर्वक प्रयास गर्नुपर्यो। कैयौं पटक कतिपय घटना अथवा कुनै विद्यार्थीको व्यवहारलाई ध्यान दिइनँ। कैयौं पटक निकै झवाँक चल्यो र रिसाएँ पनि । पहिलो वर्ष कहिलेकाहीं विद्यार्थीलाई हप्काएँ पनि। दोस्रो वर्ष भने यस्ता घटना निकै कम भए, तर निमिट्यान्नै चाहिं भएनन् । आखिर म पनि त यसै समाजमा हुर्किएकी थिएँ र भयबाट कसैलाई कुनै कुरा गराउन सकिन्छ भन्ने अनुभवबाट गुज्रिंदै आएकी थिएँ !
कक्षामा यस्ता थुप्रै अनुभव भए, जसमा मैले केटाकेटीसँग कुराकानी गर्दा उनीहरूसँग काम गर्दा चुनौती महसूस गरें। कक्षा-२ को एउटा घटना यस्तो थियोः
केटाकेटी प्रार्थना सकेर कक्षामा पसेका थिए। म प्रधानाध्यापकलाई भेटेर कक्षामा पुगें । केटाकेटी यताउति रगरग गरिरहेका थिए र हल्ला गरिरहेका थिए । मैले दुई-तीनपल्ट ‘अब चूप लागेर बस। कक्षा शुरू हुने वेला भयो’ भनें। उनीहरूले ध्यान दिएनन्। अनि मैले च्याँठिएर भनें, ‘चूप लाग सबैजना ! त्यही बेला एउटी बच्ची मतिर फर्की र मेरो जस्तै चर्को स्वरमा भनी, ‘तँ चूप लाग।’ उसले यसो भन्नासाथ पूरै कक्षा चकमन्न भयो। म पनि एकछिनका लागि स्तब्ध भएँ । केही नबोली तत्काल कक्षाबाट बाहिर निस्कें । एकै छिन पछि ‘स्वस्थ’ भएर कक्षामा फर्के र सधैं झैं सामान्य तरीकाले पढाउन थालें।
आज यो घटना सम्झ्ँदा मनमा धेरै प्रश्न उठ्छन्। जस्तै- त्यो बच्चीले त्यसो भनेपछि सबैजना किन चूप लागे ? उनीहरूलाई अब यसले पिटाइ खाने भाइ भन्ने लाग्यो ? अथवा उसले त्यसो भनेको अरू सबैलाई ठीक लागेन ? के मैले साँच्चै सारै नराम्रो तरीकाले केटाकेटीलाई हप्काएकी थिएँ ? अथवा, त्यो बच्चीले मलाई साथी जस्ती मानेर त्यसरी भनेकी थिई ? न उसका घरमा यसैगरी कुराकानी हुने पो गथ्र्यो कि ? सँगसँगै मलाई के पनि लाग्छ भने, त्यसवेला मैले त्यो बच्चीलाई हप्काएको भए अथवा चड्काएको भए उसले यस्तो शिक्षा पाउँथी होलाः ‘आफूभन्दा कमजोर व्यक्तिसँग चिच्याएर अथवा हप्काएर कुरा गर्नुहुन्छ, अथवा उसमाथि हात उठाउनुहुन्छ।’ यस्ता घटनाबाट धेरैले यस्तै शिक्षा पाइरहेका छन् नि, होइन र ?
त्यस दिन त मैले त्यस बच्चीसँग यस विषयमा कुनै कुरा गरिनँ, तर अर्को दिन कक्षा शुरू हुनु भन्दा पहिले उसलाई आफूनजीक बोलाएँ र कुरा गरें। आफू च्याँठिएर बोल्नुपरेको कारण स्पष्ट पार्दै भनें, ‘मैले दुई-तीनपल्ट चूप लाग भन्दा पनि मेरो कुरा कसैले सुनेन, त्यही भएर मैले चिच्याएर बोल्नुप¥यो ।’ अनि मैले उसलाई अनुरोध गरे, ‘कक्षालाई शान्त बनाउन तिमी मलाई मद्दत गर। हुन्छ ?’ उसले, ‘हुन्छ’ भनी। एकैछिन पछि हामी कक्षामा गयौं।
उसले आफै कतैबाट एउटा लामो लठ्ठी ल्याई र केटाकेटीलाई भन्न थाली, ‘हल्ला नगर। चूप लागेर बस।’ उसले एक-दुई जनालाई लठ्ठीले हिर्काई पनि। मैले देखें, ऊ जोडले हिर्काइरहेकी थिइन । उसको प्रयासले कोही शान्त चाहिं भएन। मैले पनि केही भनिनँ । एकछिन कोशिश गरेर पार नलागेपछि ऊ मेरो नजीक आई र भनी, ‘हेर्नू न मिस, कोही पनि चूप लाग्दैन।’ मैले भनें, ‘जाऊ, फेरि एकपल्ट कोशिश गर।’ ऊ बच्चाहरू बीच पुगी, तर एउटा बच्चाले उसको हातबाट लठ्ठी खोसेर उल्टो उसैलाई हिर्काउन थाल्यो । त्यसपछि मैले केटाकेटीलाई चूप लागेर, शान्त भएर बस्न भनें। सधैं झैं कक्षा शुरू भयो।
दिउसो, टिफिनका वेला मैले त्यो बच्चीलाई बोलाएर सोधें, ‘आज कस्तो लाग्यो त ?’ उसले भनी ‘कसैले मेरो कुरा सुन्दै सुनेन, मिस।’ मैले अर्को प्रश्न गरे, ‘तिमीले लठ्ठी किन ल्याएको त ?’ उसले भनी, ‘लठ्ठी नभए त कसले मान्छ र ?’ अर्थात्, आफ्नो कुरा मनाउन अरूलाई हप्काउनु, कुट्नु नराम्रो कुरा होइन भन्ने शिक्षा नै उसले समाजबाट, र हामीबाट पनि ग्रहण गरिसकेकी थिई।
यस घटनाले मलाई ‘कक्षा सञ्चालन कसरी गर्नु हुँदैन’ भन्नेबारे राम्रो शिक्षा दियो। त्यसपछि मैले कक्षा सञ्चालन रोचक र लोकतान्त्रिक तरीकाले गर्न विभिन्न उपाय अपनाएँ जो प्रभावकारी साबित भए। त्यस्ता पाँच तरीका यहाँ उल्लेख गर्दैछु।
तरीका-एक
तपाईं कुनै गीत वा कविता लय हालेर भन्नोस्, जसमा केटाकेटीको नाम लिने ठाउँ होस्। जस्तैः ‘हिंड्दा बाटो बिरायो, कुकुरदेखि डरायो। उफ्री उफ्री करायो, अनिताको खरायो ।’ जो कक्षामा शान्त भएर, राम्ररी बसेको छ, ऊ तिर औंलाले देखाउँदै गीत/कवितामा उसको नाम लिनोस्। अनिताको ठाउँमा सुशीला अथवा देवकी भन्न सक्नुहुन्छ, नरेन्द्र अथवा प्रफुल्लको नाम लिन सक्नुहुन्छ। यसले केटाकेटीको तपाईं प्रति ध्यानाकर्षण हुन्छ र उनीहरू कवितामा आफ्नो नाम आओस् भनेर ‘म, म’ भन्न थाल्छन् । तपाईं भनोस्– कवितामा त्यसको मात्र नाम आउँछ, जो शान्त र अनुशासित छ । सबै केटाकेटी बिस्तारै चूप लागेर बस्नेछन्, कक्षा व्यवस्थित हुनेछ।
तरीका-दुई
केटाकेटीसँग मिलेर कक्षाका लागि नियम बनाउनोस्। जब यो काम शुरू गर्नुहुन्छ, कक्षामा कसरी शान्त, अनुशासित भएर बस्नुपर्छ भन्ने कुरा केटाकेटीलाई पहिल्यैदेखि थाहा रहेछ भन्ने कुरा तपाइँले थाहा पाउनुहुनेछ। तपाईंलाई लाग्न सक्छ, कक्षामा के गर्नुपर्छ के गर्नुहुँदैन भन्ने थाहा रहेछ त, किन त्यसो नगरेका होलान् ? कुरा के हो भने, जुन वेला नियम बनाइरहेका हुन्छन् त्यसवेला उनीहरू सचेत हुन्छन्, सोचेर–विचारेर कुरा गर्छन्। तर अरू वेला नसोची व्यवहार गर्छन्। जस्तै– झूटो बोल्नुहुन्छ कि हुँदैन भेनर सोधियो भने सबैले बोल्नुहुँदैन भन्छन्। तर व्यवहारमा अनायास झूटो बोलिरहेका हुन्छन्। जे होस्, केटाकेटीसँग मिलेर नियम बनाएपछि कक्षा पहिलेको तुलनामा अलिक व्यवस्थित भइहाल्छ। त्यसपछि केटाकेटीलाई उनीहरूले नै बनाएका नियम बीचबीचमा सम्झइराख्नुपर्छ। यस क्रममा कक्षा क्रमशः व्यवस्थित हुँदै जान्छ। बिर्सन नहुने कुरा के हो भने ती नियम पालना गर्न केटाकेटीलाई सम्झउने मात्र होइन, उनीहरूसँगै शिक्षकले पनि तिनको पालना गर्नुपर्छ। बारम्बर नियमबारे ध्यान दिलाइराख्नु र त्यसबारे कुराकानी गरिरहनु किन पनि आवश्यक छ भने, यसले केटाकेटीमा आत्मनियन्त्रण विकसित गर्न सघाउँछ।
तरीका-तीन
‘अब एउटा खेल खेल्ने’ भनेर फरक–फरक किसिमले एकसाथ ताली बजाउन लगाउनोस्। पहिले त ‘खेल खेल्ने’ भन्दा नै केटाकेटी अरू गतिविधि छोडेर त्यसका लागि तयार भइसक्छन्, त्यसपछि विशेष लयमा एकसाथ ताली बजाउन थालेपछि उनीहरूको ध्यान त्यसमा केन्द्रित हुन्छ, जसले ‘खेल’ पछि कक्षालाई शान्त, व्यवस्थित बनाउन भूमिका खेल्छ। भित्तामा अक्षर र अंकको आकारमा काटिएका कार्डबोर्ड टॉसेर केटाकेटीलाई शिक्षकले भनेको अक्षर वा अंक सामु उभिन लगाउने खेल पनि प्रभावकारी हुन्छ। खास गरी कक्षा १ र २ मा केटाकेटी उठेर एक ठाउँबाट अर्को ठाउँ जाने खेल बढी उपयुक्त हुन्छ।
तरीका-चार
एकजना अनुभवी शिक्षकले मलाई एउटा अर्को तरीका बताए। उनले भने, केटाकेटीका सामु एकदेखि पाँचसम्म गन्ती गर र उनीहरूलाई भन– ‘मैले पाँच भन्नुभन्दा पहिले सबैजना बसिसक्नुपर्छ। मलाई उनको कुरामा पत्यार लागेको थिएन; पाँचवटा अंकको गन्ति गर्दैमा केटाकेटी कसरी व्यवस्थित होलान् भन्ठानेकी थिएँ। त्यसैले तीन हप्तासम्म त यस उपायको प्रयोग गरिनँ। एक दिन ‘के हुँदो रहेछ, हेरिहालौं न त’ भनेर यो तरीका प्रयोग गरें। साँच्चै, केटाकेटी त सरक्कै बसे। मलाई अचम्म लाग्यो– यस्तो कसरी सम्भव भएको होला ? सोच्छु, उनीहरूलाई यो खेल जस्तो लागेछ क्यार ! यो उपायमा अन्तरनिहित एक प्रकारको चुनौती (५ उच्चारण हुनु अगावै बसिसक्नुपर्ने) ले काम गर्यो कि ! जेहोस्; नपत्याउँदो खोलाले बगाउँछ भनेको यस्तै होला।
तरीका-पाँच
कक्षामा जब ब्ल्याक बोर्डमा केही लेख्न कुनै विद्यार्थीलाई बोलाउनुपर्ने हुन्थ्यो, सबै केटाकेटी ‘म लेख्ने, म लेख्ने’ भनेर एकसाथ कराउन थाल्थे। कथा सुनाउँदा बीचमा अथवा अन्त्यमा जब म कुनै प्रश्न सोध्थें, सबैजना एकैचोटि जवाफ दिन थाल्थे। यो समस्या हटाउन मैले चिठ्ठा विधि अपनाएँ। कागजका टुक्रामा, कक्षामा जति जना विद्यार्थी छन् त्यति अंक (एक देखि क्रमशः बढाउँदै) लेखेर अलग-अलग डल्ला पार्थें र सब केटाकेटीलाई एक एकवटा डल्ला लिन लगाउँथे। त्यसपछि कुनै पनि काम गर्न, जस्तै ब्ल्याक बोर्डमा लेख्न अथवा कथामा सोधिएका प्रश्नको उत्तर दिन मैले जुन अंक भन्छु, त्यही अंक भएको डल्लो लिने विद्यार्थीले मौका पाउँथ्यो। यसले गर्दा एउटै कामका लागि सबैले हानथाप गर्ने, अवस्थाको अन्त्य भयो।
कक्षाका अन्य पक्ष
केटाकेटीलाई हल्ला गर्न नदिनु, चूच लगाउनु र शान्त राख्नु मात्र सफल कक्षा सञ्चालनको मापदण्ड होइन। उनीहरूलाई प्रश्न गर्न र छलफलमा भाग लिन प्रेरित गर्नु तथा सक्रिय बनाउनु सफल कक्षा सञ्चालनका अनिवार्य पक्ष हुन्। विद्यार्थीलाई अनुशासित त बनाउनुपर्छ, तर अनुशासन भनेको शिक्षकले जे भन्छन् त्यो मात्र गर्नु, नबोल्नु र कक्षामा चूपचाप बसेर आफ्नो काम गर्नु मात्र होइन। कुनै कुरा सिक्न वा काम गर्न हल्ला होइन कुराकानी आवश्यक हुन्छ भनेर केटाकेटीले महसूस गर्न पाउनुपर्छ। यसका साथै, सिकाउनु शिक्षकको जिम्मेदारी हो भने सिक्नु विद्यार्थीको जिम्मेदारी हो भन्ने कुरा उनीहरूलाई प्रारम्भिक कक्षा देखि नै महसूस गराइनुपर्छ।
राम्ररी कक्षा सञ्चालन गर्न पर्याप्त धैर्य, संयम र समझ्दारी आवश्यक हुन्छ। नयाँ तरीका अपनाउँदा केटाकेटीलाई त्यसबारे कैयौं पटक बुझइराख्नुपर्ने हुन्थ्यो। यसो गर्दा कहिलेकाही म दिक्क पनि हुन्थे। कापी चेक गराउन मेरो कुर्सीभन्दा अलिक पर उभिएर, लाइन लागेर आओ भनेर बारम्बार भन्थे, तर उनीहरू जहिले पनि मसँग टाँस्सिंदै मलाई घेरिहाल्थे। एक दिन भुइँमा चकले एउटा लाइन तानें र त्योभन्दा उता मात्र लाइन लाग भनें। तैपनि एउटी बच्ची अरूलाई उछिनेर सीधै मलाई आफ्नो कापी दिन आइपुगी । ‘लाइन देखिनौ ?’ भनेर मैले सोधेपछि ऊ लाइनमा त लागी। त्यसपछि लाइन मिचेर अगाडि आउन खोज्नेलाई विद्यार्थीले नै मेरो जस्तै शैलीमा ‘लाइन देखिनौ ?’ ‘लाइन देखेनौ ?’ भनेर सोध्न थाले।
हामीले के पनि विचार गर्नुपर्छ भने, विद्यार्थीले हामीले भनेको मानेनन् भने त्यसको कारण अनुशासनहीनता मात्र नभएर उनीहरूको जायज इच्छा पनि हुनसक्छ। जस्तै, सबैजना एकैचोटि कापी चेक गराउन आउँछन् भने त्यसको कारण ‘शिक्षकले मेरो कापी पहिले चेक गरिदेओस्’ भन्ने निर्दोष र स्वाभाविक चाहना हुनसक्छ, जसलाई गलत अथवा नाजायज भन्न सकिँदैन। शिक्षकले यस्ता कुरा बुझन र उनीहरूको उत्साहमा नकारात्मक प्रभाव नपर्ने गरी समस्या समाधानका उपाय अपनाउनु जरूरी हुन्छ। कक्षामा अनुशासन त चाहिन्छ तर लोकतात्रिक वातावरण त्यसभन्दा पनि बढी आवश्यक छ।
बैंकको जागिर छोडेर शिक्षण कर्ममा आएकी लेखक प्राथमिक कक्षाका केटाकेटीसँग काम गर्न विशेष रुचि राख्छिन् ।
साभारः पाठशाला, भीतर और बाहर (डिसेम्बर २०२२)
भाषान्तर/सम्पादन: शरच्चन्द्र वस्ती



