महापरिवार, महाविद्यालय !
सिकाइका क्रममा घर नै पहिलो विद्यालय र आमा नै पहिलो शिक्षक मानिन्छ। हो, रहेछ। अझ् महापरिवार त महाविद्यालय नै हुँदोरहेछ। महापरिवार चाहिं हजुरबुवा-हजुरआमा सहितको तीन पुस्ता भएको मात्रै होइन, जिज्युहजुरबुवा– जिज्युहजुरआमा सहित पनाति-पनातिनीसम्म भएको बृहत् परिवारलाई भन्न खोजिएको हो। आमा नै पहिलो शिक्षक भन्ने कुरा चाहिं अलिक बढी परम्परामा आधारित कथन जस्तो लाग्यो।
जतिबेला; आमाले नै सन्तान स्याहार्ने, गर्न हुने वा नहुने काम, खान हुने वा नहुने खाना, जान हुने वा नहुने ठाउँ आदि सिकाउँथिन्, त्यस बेलासम्मका लागि आमा पहिलो शिक्षक शब्दावली ठीकै हो। अनि घर पहिलो विद्यालय हो नै।
अहिले परिवारहरू टुक्रिएर एउटा परिवारमा दुई पुस्ता अर्थात् आमा-बाबु र छोरा–छोरी मात्र हुने क्रम बढेको छ। अनि अचेल आमा गृहिणी मात्र हुन्नन्, अधिकांश कामकाजी हुन्छन्। सुगम र शहरी क्षेत्रमा त झ्नै बढी। त्यसैले बच्चालाई आमाबाट हुने सिकाइको क्रम लामो समय चल्न पाउँदैन। बच्चालाई दुई वा अढाइ वर्षदेखि नै विभिन्न नाम वा उपनामका विद्यालयमा पठाइन्छन्। बिहान उज्यालो भएदेखि साँझ् नपरेसम्म उनीहरूको सिकाइ विद्यालय नामका तिनै चौघेराभित्र हुन्छ। ‘आमा नै पहिलो शिक्षक र घर नै पहिलो विद्यालय’ भन्ने मान्यता यहाँ आएर संकटमा पर्छ, परिरहेको छ। विशेषतः शहरी क्षेत्रमा बालबालिकाले घर र अभिभावकबाट सिक्ने अवसर गुमाइरहेका छन्।
तथ्याङ्कले के भन्छ ?
पछिल्लो जनगणना-२०७८ को तथ्याङ्क अनुसार अहिले धेरैजसो परिवारमा सदस्य संख्या चारको हाराहारी छ। जनगणनाको नतिजामा भनिएको छ- ‘वि.सं. २०७८ मा प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य ३.७ जना रहेको देखिन्छ, जबकि यो संख्या २०६८ सालमा ४.८८ थियो।’
१० वर्षको यो तुलनात्मक तथ्याङ्कले पनि परिवारहरू एकल बनिरहेको पुष्टि गर्छ। प्रतिपरिवार दम्पती दुई जना र दुई सन्तान मान्ने हो भने चार जना भनेको दुई पुस्ता हो। सदस्य संख्या चारभन्दा बढी भएको परिवारमा तीन पुस्ता पनि हुनसक्छ। तर सामान्यतया अधिकांश परिवार चार जना हाराहारीका देखिनुले धेरैजसो परिवार एकल हुँदै गएको मान्न सकिन्छ।
‘परिवारमा अक्सर बसोबास गर्ने संख्याको आधारमा विश्लेषण गर्दा चार जना मात्र सदस्य रहेका परिवारहरू सर्वाधिक अर्थात् २२.८ प्रतिशत रहेका छन् भने तीन जना सदस्य रहेका परिवारको संख्या १८.५४ प्रतिशत, दुई जना सदस्य रहेका परिवारको संख्या १३.२३ प्रतिशत र एक जना मात्र सदस्य भएका परिवारहरू पनि उल्लेख्य संख्यामा (५.३६ प्रतिशत) रहेको देखिन्छ। यस अनुसार, नेपालमा हाल चार जना वा सोभन्दा कम सदस्य संख्या रहेका परिवारहरू ६० प्रतिशत छन्।’ जनगणनाको यो तथ्याङ्कले परिवारहरू साना हुँदै गएको र एकल परिवार अधिक रहेको तस्वीर देखाएको छ।
यसरी परिवारभित्र सदस्य संख्या कम र पुस्ता अन्तरघुलनको अवसर गुमिरहेको छ। संयुक्त परिवार नै सीमित बनिरहेका बेला महापरिवारको स्थिति झ्नै कम हुने भइहाल्यो। यसरी परिवारहरू ‘न्युक्लियस’ बनिरहँदा ‘घर नै पहिलो विद्यालय र अग्रज (आमा-बुवा-हजुरबुवा-हजुरआमा) नै पहिला शिक्षक’को अभ्यास पनि घटिरहेको छ। यसबाट अनुभव, सिकाइ र जीवनशैलीको पुस्तान्तरणको अवसर पनि गुमिरहेको छ।
महापरिवारका महासिकाइ
महापरिवारबाट हुने सिकाइका बारेमा केही अनुभव राखौं। म घर र मावल– दुवैतर्फ महापरिवारमा हुर्कन पाएँ। मावलमा त म जन्मँदासम्म मेरा हजुरबुवाका पनि हजुरबुवा हुनुहुँदोरहेछ। तर मेरो स्मरणअघि नै उहाँ बित्नुभयो। आमाका हजुरबुवा–हजुरआमा भने मेरो कलेज जीवनसम्म रहनुभयो । मावल जाँदा उहाँहरूका उपदेश, कथा सुन्नेदेखि खानपिनका शैलीसम्म नजिकबाट देख्न पाइयो। कुनै दलहन लामो समयका लागि राख्नु पर्दा बन्द भाँडोभित्र सुकेका निमपात मिसाएर राख्नुपर्ने कुरा जिज्युहजुरआमा (आमाकी हजुरआमा) बाटै सुनेको हुँ। नुहाएर कपाल सुकेपछि तोरीको तेल लगाइदिने उहाँको अभ्यास चिसोबाट बच्न उपयोगी हुने कुरा धेरैपछि मात्र बुझ्यिो।
दाँत दुख्दा ल्वाङ वा ल्वाङको तेल लगाउने र शरीर चिलाउँदा तितेपाती दल्ने शिक्षा घरकी जिज्युहजुरआमाबाट लिन पाइयो। यस्ता कुरा विद्यालयमा कहाँ सिक्नु र ? खोकी लाग्दा अदुवा पोलेर खाने हजुरआमा, पेट दुख्दा तनतनी मोही पिउने हजुरबुवा, जीउ दुख्दा तेल लगाएर मालिस गर्ने उहाँहरूको अभ्यास मैले थाहै नपाई अनुसरण गर्न पाएँ। यस्ता ज्ञान न पुस्तकमा थिए न विद्यालयमा सिकियो। मैले अघिल्लो पुस्ताबाट सिकेका यी सबै शिक्षा अहिले पनि उपयोगी छन् । मबाट मभन्दा पछिको पुस्तामा पनि सरिरहेको छ।
अहिलेको चार पुस्ता
अहिले हाम्रो परिवारमा चार पुस्ता छौं। मेरो हजुरबुवा–हजुरआमा, बुवा–आमा, हामी दम्पती र हाम्रा दुई सन्तान । केही वर्षअघि सम्म १२ जनाको एकै भान्सो थियो। अहिले ८ जनाको भएको छ तर पुस्ता चार नै छौं।
महापरिवारका केही अनुभव
कोरोनाको महामारीका बेला बेसार–पानी पिउने कुरा खुबै फैलियो। तर त्यसअघि नै हामी यसमा अभ्यस्त थियौं। मेरो पाँच वर्षको छोरो हजुरबुवाको नक्कल गर्दै भन्थ्यो- ‘ओहो, मलाई कस्तो घाँटी दुख्यो। मलाई पनि बेसार पानी दिनू !’ ऊ खान्थ्यो पनि । उसले विद्यालय वा पुस्तकबाट यो सिकेको होइन। चिसो मौसममा उहिलेदेखि नै टिमुर, अदुवा र पानी उमालेर पिउने चलन छ। चिसो लाग्दा वा पेट दुख्दा अझै पनि हाम्रो घरको प्रारम्भिक उपचार यहींबाट शुरू हुन्छ। छोराले खोकी लाग्दा वा नलाग्दा पनि नक्कल पार्दै, ‘मलाई टिङ्गुर पानी चाहियो, भुँडी दुखिसक्यो !’ भन्थ्यो।
पाँच वर्षकी छोरी, जिज्युहजुरआमा अर्थात् मेरी हजुरआमालाई भन्छे- ‘हजी, खुट्टा चिलायो। तातोपानीले धोएर चिल्लो लगाइदिनू न !’ उसले खुट्टा चिलाउँदा के गर्नुपर्छ भनेर जिज्युहजुरआमाबाट यही सिकी, तातोपानीले धोएर नौनी घिउ वा तेल दल्न। पाको पुस्ताको देखासिकी गरेर कपासबाट बाती कात्छे र पूजा गर्छे। कपुरका डल्ला भेट्दा लुगामा दल्न धमाधम हुन्छ उसलाई, मिठो बास्ना आउँछ र कीरा लाग्दैन भनेर। तातो नुन र भात कपडामा पोको पाकेर दुखेका ठाउँमा सेक्न पनि उसले हजुरबुवाबाट जानी। हजुरबुवा (मेरो बुवा) कतैबाट थाकेर आउँदा पनि धर दिन्न। ‘बुवा चिलको कथा भन्नु न’ भन्छे। दन्त्यकथा सुन्ने बानी उसलाई हजुरबुवाबाट लाग्यो।
नउल्टिने यथार्थ: एकल परिवार
अहिले भने नउल्टिने यथार्थ हो, एकल परिवार । चाहेर वा नचाहेर पनि परिवारको आकार सानो हुँदै गएका छन्। सानो परिवारमा अभिभावक कामकाजी हुनु परेकै कारण उनीहरूलाई आफ्ना सन्तानसँग बिताउने बढी समयको सुविधा पनि हुँदैन।
‘बुढा मरे, भाषा सरे’ यो लोकोक्तिले पनि ज्येष्ठ नागरिकको भूमिकालाई संकेत गर्दछ। बुढा ज्येष्ठ नागरिकको अवसानसँगै धेरै कुराहरू नष्ट भएर जान्छन्। भाषिक ज्ञानसँगै परम्परागत सीप-शिल्प, भाका-संगीत, ललितकला, जडीबुटी सम्बन्धी जानकारी लगायत धेरै विषय पुस्तान्तरण नहुँदा सकिन्छन्, नासिन्छन्। तर संयुक्त परिवारमा तीन वा चार पुस्तासँगै हुर्कने र जिउने वातावरण भयो भने नयाँ पुस्ताले पुराना पुस्ताको जीवनशैलीबाट नै नयाँ विषयहरू जानिरहेका हुन्छन्, सिकिरहेका हुन्छन्।
परिवारहरू खण्डित र एकल भइरहँदा परिवारभित्र प्राप्त हुने सिकाइको अवसर विभिन्न माध्यमबाट पूर्ति गर्न पनि सकिन्छ। त्यो अवसर कसरी दिलाउने त?
चाडपर्व र जमघट
हाम्रा चाडपर्वहरू पारिवारिक जमघट र भलाकुसारीका अवसरहरू हुन्। धार्मिक वा सांस्कृतिक महत्व मात्र नभई यस्ता अवसरहरूले एकअर्का प्रति अन्तरघुलनको अवसर प्रदान गर्दछन्। एकल परिवारमा हुर्किएका बालबालिकालाई जमघट र पर्वहरूमा सहभागी गराउने, अघिल्लो पुस्तासँग उपलब्ध समय बिताउन प्रेरित गर्ने जस्ता प्रयासबाट पनि पुस्तान्तरणमा देखिएको समस्या कम गर्न सकिन्छ।
प्रश्न सिर्जना गर्न प्रेरित गर्ने
घुमघाममा जाने भनेपछि बालबालिकाहरू हुरुक्कै हुन्छन्। घुम्ने समय र अवसर हुँदा उनीहरूलाई त्यस्तै उपयोगी स्थानहरूमा लैजाने, त्यहाँ भेटिएका मानिसहरूसँग बोलचाल गर्न प्रेरित गर्ने, आफूले पनि भलाकुसारी गर्ने र उनीहरूलाई सामेल गराउने, अझ् ज्येष्ठ नागरिकहरू भेटिए उनीहरू रमाउन प्रेरित गर्ने कार्यबाट बालबालिकाहरूमा प्रश्न सिर्जना गराउन सकिन्छ। सरल प्रश्न-उत्तर पनि घरायसी सिकाइको उपाय हुनसक्छ।
अनुभव सुनाउने
यदि हजुरबुवा-हजुरआमा साथैमा छैनन् भने सन्तानहरूलाई आफ्ना बाबुआमाका जीवनशैली, खानपान आदि बारेका कथा सुनाउन सकिन्छ । यसबाट बालबालिकाहरूमा अघिल्लो पुस्ताप्रतिको श्रद्धा विकास हुनुका साथै उनीहरूको जीवनशैली र खानपान, पोशाक आदि बारे जानकारी दिलाउन सकिन्छ ।
लोककथा र श्रुति सिकाइ
हाम्रा समाजका लोककथाहरूमा काल्पनिक समय र पात्रहरू प्रचलित छन्। युगौं वा वर्षौंअघिका बिम्ब र प्रतीकहरू समेटिएका कथाले भोग्दै नभोगेको समयको बोध गराउन महत्वपूर्ण सहयोग पुर्याउँछ।
रुचि अनुसारका सामग्रीको उपलब्धता
अहिले बालबालिकाको रुचि प्रविधिले पस्किएका सामग्रीहरूतर्फ ढल्किरहेको छ। त्यसैले समयले सिर्जना गरेको परिस्थितिबाट बलजफ्ती उनीहरूलाई अलग राख्न सकिंदैन। बरु तिनै माध्यमहरूमा पनि पारिवारिक सिकाइको अनुभूति गराउने सामग्रीहरू खोजी दिने, सिफारिश गर्ने, कार्टुन चलचित्रमा उनीहरूको रुचि भए सोही अनुसारका सामग्रीहरू खोज्न सघाउने गर्नाले उनीहरूले नवीन प्रविधिबाट प्राचीन ज्ञान प्राप्त गर्न सक्दछन्।



