कक्षाकोठाको विकल्प खोज्दा. . .
म अहिले चितवनको अर्किड कलेजमा विज्ञान समूहका विषयहरू लिएर १२ कक्षामा पढ्दैछु। यहाँ हप्ताभरि नै बिहानको १०ः३० देखि साँझ्को ५ः१० बजेसम्म कक्षा चल्छ। शिक्षकहरू यति धेरै खटिनुहुन्छ कि उहाँहरू शनिबारको दिन पनि विद्यार्थीलाई बोलाएर परीक्षा लिने गर्नुहुन्छ। उहाँहरूले त्यसरी मिहिनेत गर्दागर्दै पनि हामी थुप्रै विद्यार्थी यस्ता छौं जसलाई कक्षामा पढ्न जाँगरै चल्दैन। पढ्नुपर्ने अधिकांश विषयवस्तुमाथि रुचि लाग्दैन, बरु झिंजो लागेर आउँछ। परीक्षामा पनि सोचे जस्तो नतिजा आउँदैन। अरू स्कूल÷कलेजहरूमा पनि यस्तै भइरहेको होला कि भन्ने लाग्छ।
११ कक्षाको बीचतिर नपुग्दैदेखि मेरो मनमा बारम्बार प्रश्न उठिरहन्थ्यो– शिक्षकहरू कक्षामा पस्नेबित्तिकै हामी विद्यार्थीलाई किन अल्छी लाग्न थाल्छ ? अनि किन पढाइमा फिटिक्कै ध्यान जाँदैन ? हाम्रो मनस्थिति देख्दा शिक्षकहरूका मनमा पनि यस्ता अनेक प्रश्न पक्कै खेलिरहँदा होलान् ।
म एउटा औसत विद्यार्थीका रूपमा आफ्नो कक्षाकोठा नियाल्छु र सोच्छु– हामी कलेज जाने त बुझनको लागि हो। तर ११ कक्षामा भर्ना भएदेखि प्रायः सधैं बिहानदेखि बेलुकासम्म शिक्षकहरूले लेक्चर सुनाउँदै नोट लेखाइरहनुभयो । हरेक दिनको पाठ नौलो हुन्छ, जसलाई विस्तारै समय लिएर बुझने कोशिश गर्छु। तर राम्ररी बुझन नपाउँदै शिक्षकले दिने नोट लेख्नतिर लाग्नुपर्छ। बुझाइ र लेखाइ दुईतिर एकैचोटि दिमाग फोकस नै हुँदैन।
बुझनुपर्ने आफ्नो लागि हो। तर नोट नलेखी सुखै नपाइने काम शिक्षकहरूका लागि गरिरहेछु कि झैं लाग्छ। मेरा थुप्रै साथीहरूको पनि हाल यस्तै हो । उनीहरू पनि बुझन चाहेका विषयवस्तुतिर मन लगाउने समय नै नपाई शिक्षकको डरले केही नबोली खुरुखुरु लेखिरहेका हुन्छन्। कक्षामा बिताउने धेरैजसो समय लेख्नमा मात्र खेर जान्छ, त्यो पनि बुझदै नबुझी लेखेर बस्नुपर्ने !
म शिक्षकहरूको पनि दोष देख्दिनँ। उहाँहरूलाई त राम्ररी पढाएँ जस्तो नै लाग्दो हो। तर हामीलाई बुझन एकदम समय लाग्छ । पहिलो पटक सुनेको ‘टपिक्स’ हामी अलि बढी समय लिएर बुझन चाहन्छौं। तर त्यो प्रयत्न गर्न नपाउँदै शिक्षकले नयाँ पाठ अघि बढाइसकेका हुन्छन्। मेरा धेरै साथीहरू पनि मजस्तै नौलो कुरामा समय लिएर बुझन चाहन्छन् । तर शिक्षकहरूलाई कोर्स भ्याउन हतार भए झैं लाग्छ । त्यसकारण बुझन चाहने विद्यार्थी र कुद्न चाहने शिक्षकको गति मिल्दैन। अनि शिक्षकले पढाउने काम सकिसक्दा पनि विद्यार्थीको बुझने यात्रा आधा पनि भएको हुँदैन।
राम्ररी बुझन नपाउँदा यता विद्यार्थीको समय बर्बाद हुन्छ, उता शिक्षकले अत्तालिंदै पढाउँदा उहाँहरूको पनि ऊर्जा खेर गइराखेको हुन्छ। कोर्स भ्याउनुभन्दा पनि महत्वपूर्ण कुरा त विद्यार्थीलाई बुझउनु हो नि ! किनभने बुझेको ज्ञान मात्र जीवनमा काम लाग्छ । त्यसकारण बरु थोरै पढौं, बुझेर पढौं भन्ने हामीलाई लाग्छ। तर विद्यार्थीको मात्र चाहनाले कक्षाकोठा सोचे जस्तो हुँदो रहेनछ। आफूले वर्षौंदेखि बारम्बार दोहोर्याइरहेको पाठ शिक्षकहरूले लेख्दालेख्दै बुझनुहुन्छ तर पहिलो पटक सुनेका विद्यार्थीले त्यही स्पिडमा कसरी बुझ्न् ? यो कुरालाई अधिकांश शिक्षकले ख्याल गर्नुभए जस्तो लाग्दैन । नत्र उहाँहरूले पढाउने तरिका पक्कै बदल्नुहुन्थ्यो।
यसो भनिरहँदा सबै शिक्षक हाम्रा चाहना विपरीत चल्छन् भन्ने पनि होइन। कतिपय शिक्षकको मुख्य प्रयत्न विद्यार्थीलाई जसरी हुन्छ बुझउनुमै केन्द्रित रहेको देख्छु। विद्यार्थीको अगाडि जान्ने–बुझने देखिएको भन्दा आफूलाई पनि हाम्रै बुझइको स्तरमा ओरालेर प्रष्टसँग बुझाउने शिक्षक मलाई साह्रै मन पर्छ।
आफूले जानेको ज्ञान सके जति दिने प्रयत्न त्यस्ता शिक्षकहरूले गर्छन् नै, तर विद्यार्थीले कति लिए त्यसको पनि हिसाबकिताब गर्दै पढाउने शिक्षकहरू चाहिं मैले एकदम कम मात्र भेटेकी छु। हुनत सबै विद्यार्थी सिकाइमा पूर्ण हुँदैनन् । तर कक्षामा बसेका अधिकांश विद्यार्थीले बुझेका छन् कि छैनन् भन्ने त उनीहरूको अनुहारबाटै पढ्न सकिने कुरा हो । कक्षामा धेरै अनुहार असन्तुष्ट र अन्योलग्रस्त देखिएका छन् भने शिक्षकहरूले तिनै अनुहारलाई ऐना मानेर आफ्नो बुझउन सक्ने क्षमताको मूल्यांकन गर्नुपर्ने हो।
शिक्षक जान्ने हुँदैमा राम्रा हुँदैनन्
विद्यार्थीको मनस्थिति अनुसार ढल्न नसक्ने शिक्षक पाइँदै नपाइने चाहिं पक्कै होइन। यो समस्याको जरो शिक्षक छनोटमा छ भन्ने मलाई लाग्छ । स्कूल–कलेजहरूले शिक्षक राख्दा उहाँहरू कत्तिको जान्ने हुनुहुन्छ भन्दा पनि जानेका कुरा विद्यार्थीलाई राम्ररी बुझउन कति सिपालु हुनुहुन्छ— त्यो क्षमताको चाहिं परीक्षण गर्नुपर्ने हुन्छ। मेरो विचारमा त्यस्तो मूल्यांकन उहाँहरूको प्रमाणपत्र हेरेर होइन, केही प्रयोगात्मक कक्षाहरू हेरेर मात्र गर्न सकिन्छ । सर्टिफिकेटमा अंक कमै होस् तर जान्नेभन्दा पनि विद्यार्थीको भावना बुझने र विषयवस्तु बुझउन सक्ने शिक्षकको खाँचो मैले कक्षामा महसुस गर्ने गरेकी छु।
अधिकांश विद्यार्थीले आफू फेल हुनु भनेको शिक्षकको पनि असफलता हो भनेर सोचेका हुँदैनन्। तर त्यो वास्तविकता त हो नै। हामीलाई शिक्षकले राम्ररी बुझएर पढाउनुभयो भने कोही विफल नै हुँदैनन्। कक्षामा लेखाउन मात्र खोज्ने, घर गएर पढ भन्ने अनि सबै विषयमा भ्याई–नभ्याई लेख्नकै लागि होमवर्कको भारी बोकाउने शिक्षकले त्यो ठाउँमा आफूलाई राखेर किन हेर्नुहुन्न ? सिक्ने समय नै नपाएर फेल भएका विद्यार्थीलाई उहाँहरू दण्ड दिन हतारिनुहुन्छ, तर आफू जिम्मेवारी लिन तत्पर देखिनुहुन्न। विद्यार्थीलाई लेख्नमा अलमल्याएर स्कूलको समय ‘अकुपाई’ गरिदिने र घर गएर पढ्न–बुझनमा लगाउन पाइने समय पनि पढ्नै नभ्याउने गरी ‘होमवर्क’मा खर्च गराइदिने शिक्षक हामीलाई मन पर्दैन ।
त्योभन्दा पनि दुखद् कुरा त विद्यार्थीका यस्ता असन्तुष्टिलाई उहाँहरूले कहिल्यै मूल्य दिएर सुन्नुहुन्न । विद्यार्थीले बुझ्ेनन् भने सिकाउनुपर्ने ठाउँमा उल्टै पिटेर सजाय दिनुहुन्छ । आफूले पढाएपछि कक्षामा विद्यार्थीहरूलाई प्रश्न सोधेर उनीहरूको बुझइ जाँच्ने शिक्षकहरू पनि जवाफ दिन नसक्ने विद्यार्थीलाई दोहोरो सजाय दिइरहेका छन्ः एक सिक्ने मौका नदिएर, अर्को गाली वा कुटपिट गरेर । आफ्ना प्रश्नको जवाफ नआएपछि निश्चय पनि उहाँहरूले यो विद्यार्थीले बुझेकाे रहेनछ भनेर त थाहा पाउनुहुन्छ नि ! त्यसपछि पनि उहाँहरूलाई बुझउन हतार हुँदैन तर कुट्न, पिट्न वा साथीहरूको अगाडि होच्याएर गाली गर्न र हुर्मत लिन भ्याई–नभ्याई हुन्छ।
विद्यार्थीले बुझ्ेका रहेनछन् भनेर जान्दाजान्दै पनि अन्त्यमा त्यत्तिकै झेक्किंदै कक्षाबाट जाने शिक्षकहरू पनि मैले भोगेकी छु । त्यति गरेपछि नबुझेका विद्यार्थीले आफैं बुझछन् त ? त्यस्ता कतिपय शिक्षकहरू त मौका परे अभिभावकलाई ‘कम्प्लेन’ गरेर उताबाट पनि गाली खुवाउनुहुन्छ। १२ कक्षासम्म आइपुग्दा मैले यस्ता घटना धेरै चोटि देखेकी छु। यहाँनिर शिक्षकहरूले आफ्नो सही भूमिका किन खोज्नुहुन्न ? त्यस्ता शिक्षकहरूको व्यवहारबाट हामीले के सिक्ने ?
आफ्नै एउटा ताजा अनुभव राख्छु। भर्खरैको एक दिन मैले चल्दाचल्दैको कक्षामा शिक्षकलाई रोकेर नबुझेको प्रश्न सोधें। उहाँले जवाफ दिनुभयो तर मैले अझै बुझिनँ। कक्षा सकिएपछि फेरि दोहोर्याएर प्रश्न गर्दा जवाफ दिनुको सट्टा उहाँ मसँग रिसाएर झेंक्किनुभयो। अनि ‘एक चोटि भनिसकें, उही प्रश्न कति पटक सोधेको’ भनेर झिंजो मान्दै बाहिरिनुभयो।
त्यो प्रश्न मैले मात्र सोधेकी थिएँ। तर म जस्तै बुझन नपाएका साथीहरू कक्षामा धेरै रहेछन् । त्यो कुरा मैले शिक्षक गइसकेपछि केही साथीहरूलाई सोधेर थाहा पाएँ । स्पष्टसँग बुझ्ेर मेरो प्रश्नको जवाफ दिन सक्ने कक्षाभरिमा कोही पनि थिएनन्। त्यो काम आफ्नै क्षमता परीक्षणका लागि पनि शिक्षक स्वयंले गर्नुपर्ने हो नि ! उहाँले आफ्नो पढाउने काम त सकिएको ठान्नुभयो होला, तर बुझउने काम कति पूरा भयो ? विद्यार्थीले खासै सिक्न पाएनन् भने समय र ऊर्जा खर्चेर पढाएको के अर्थ ? यो प्रश्न उहाँलाई सोध्ने हिम्मत ममा कहिल्यै आएन।
आफ्नो रुचिबाट वञ्चित कक्षाकोठाले तानेन थरीथरी शिक्षकका आ–आफ्नै ‘एटिट्युुड’को सामना गर्नुपर्ने कक्षाको वातावरणमा त्यसै पनि पढ्न रुचि नजाग्ने मेरो अर्को अवगुण पनि छ। कक्षामा रुटिन अनुसार चल्नुपर्दा फिजिक्स पढ्न मन लागेको बेला केमेस्ट्री पढ्नुपर्ने, बायोलोजी पढ्न जाँगर चल्दा अर्कै विषयमा मोडिनुपर्ने । आफ्नो रुचि अनुसार मन लागेको समयमा विषय रोजेर पढ्न नपाउँदा आफ्नो लागि भन्दा पनि स्कूल र शिक्षकको लागि जबर्जस्ती पढिदिनु परे जस्तो लाग्ने । कहिलेकाहीं लगातार घण्टौंसम्म एउटै विषय पढ्न चाख लागेको हुन्छ । कक्षामा त्यस्तो वातावरण नै हुँदैन । घण्टी हेरेर घण्टा नपुग्दै रुचि बदल्नुपर्छ।
आफूलाई पढ्न मन लागेको समयमा लेख्नुपर्छ, हातै गल्छ । शिक्षकको पढाउने मूड भएको बेला आफ्नो हुँदैन । कहिलेकाहीं त लगातार तीन पिरियडसम्म म्याथ मात्रै पढिरहनुपर्छ। आफूले पढ्ने–सिक्ने कुरामा पनि अरूको इच्छा अनुसार चल्नुपर्ने ! यस्तो पाराले हुँदैन भनेर मैले कक्षाकोठाको विकल्प खोज्न थालें। केही उपाय नदेखेपछि कलेज गएर समय पनि खेर फाल्नु, आफूलाई बोझ् पनि थोपर्नुुभन्दा त बरु घरमै बसेर आफैं पढ्नु ठीक भन्ने सोचाइ मलाई ११ कक्षाको आधाआधीतिर पुगेपछि आयो।
अनि घरमै बसेर पढ्ने र केही दिन बिराएर मात्र कलेज जाने गर्न थालें । हरेक विषयका पाठहरू बुझने तरिका जान्न इन्टरनेटमा पनि खोजी गर्दै गएँ । युट्युब, खान एकेडेमी, युडेमी जस्ता भर्चुअल प्लेटफर्महरू मेरा शिक्षक र साथी दुवै हुनथाले।
कक्षा ११ को अनिवार्य नेपाली विषयमा ‘के त्यो फेरि फर्कला ?’ भन्ने उपन्यास पढ्नुपर्छ। एक दिन त्यसको कथा बुझन युट्युबमा सर्च गर्दै जाँदा एउटा छोटो भिडियो भेटें । भिडियोमा उपन्यासको कथालाई ड्रामाटाइज गरेर देखाइएको थियो। मलाई मन पर्यो। बुझन पनि सजिलो लाग्यो। पूरा भिडियो पाउनको लागि ‘माई सेकेन्ड टिचर’मा जानुस् भनेर लेखेको रहेछ । त्यो भनेको के रहेछ त भनेर खोजी गरें । ‘माई सेकेन्ड टिचर’ नामको युट्युब च्यानलमा ११ कक्षाकै धेरै विषयका केही पाठको भिडियो फेला पारें। केही भिडियो हेर्दा साह्रै राम्रोसँग पढाएको देखें।
मैले अघि नै वर्णन गरें, मेरो कक्षामा त त्यसरी प्रष्टसँग बुझेर पढ्नै पाइँदैन। त्यसमाथि बस्ने ठाउँको पनि सधैं ‘रोटेसन’ हुन्छ। सधैं पहिलो बेन्चमा वा अगाडि मात्र बसिरहन पाइन्न । पछाडि परेको बेला शिक्षकले अगाडिबाट बोलेको आवाजभन्दा बढी साथीहरूको खुसखुस कानमा आउँछ । त्यस विपरीत त्यो भिडियोमा प्रष्टसँग एक्टिङ गरी–गरी पढाएको देखेर खुशीले तीन बित्ता माथि उफ्रिएँ। पूरै कक्षा लिन विषय अनुसार पैसा तिरेर ‘सब्स्क्राइब’ गर्नुपर्ने रहेछ। बाबालाई मेरो लागि यो प्याकेज लिइदिनुस् भनें। उहाँले तुरुन्तै लिइदिनुभयो ।
त्यसपछि मैले घरमै बसेर ‘माई सेकेन्ड टिचर’का कक्षाहरू लिन थालें । पढाउने शैली एकदम रमाइलो, बुझनका लागि सजिलो। अनि आफैंले मूल्यांकनमा सहभागी भएर आफ्नो बुझइ परीक्षण गर्न मिल्ने र त्यसको रिपोर्ट कार्डसँगै सुझव पनि पाइने रहेछ । मलाई असाध्यै खुशी लाग्यो। ११ कक्षाको बाँकी समय विज्ञानका प्रयोगात्मक कक्षा हुने दिन बाहेक कलेज जान जाँगर चल्न छाड्यो। १२ कक्षाको पढाइमा पनि विभिन्न वैकल्पिक कक्षाहरू मार्फत धेरैजसो समय मैले घरमै बसेर पढिरहेको छु।
समस्याले समाधानका थप उपायतिर डोर्यायो
‘माई सेकेन्ड टिचर’का भर्चुअल कक्षा नयाँ पाठ बुझनका लागि उपयोगी हुँदाहुँदै पनि त्यसका केही कमजोरी पनि रहेछन् । परीक्षामा सोधिएका पुराना प्रश्नपत्रहरूको समाधान र आफूलाई अप्ठेरो लागेका समस्याबारे सोधेर सिक्न पाइने सुविधा त्यसमा रहेनछ। कन्सेप्ट बुझेर गरिने तयारीले मात्र परीक्षामा सोधिने प्रश्नहरू हल गर्न नसकिने अनुभव मैले गरें । किनभने परीक्षामा त बुझइभन्दा बढी घोकाइको टेस्ट हुन्छ । घोकेर जाने साथीहरू राम्रो अंक ल्याएर पास हुँदा बुझेर गएकाहरूको उत्तर नै काम नलाग्ने खालका प्रश्नहरू बढी सोधिएको पाएँ । त्यसकारण ११ कक्षाको अन्तिम परीक्षा मैले सोचे जस्तो भएन।
कक्षा १२ मा त्यस्तो नहोस् भनेर मेरा सबै समस्या हल हुने गरी उस्तै भर्चुअल कक्षाका अरू उपायहरूको खोजी जारी राखें । ‘माई सेकेन्ड टिचर’ बुझनका लागि उपयोगी लागेकाले त्यसको सब्स्क्रिप्सन १२ कक्षामा पनि नवीकरण गरेर पढिरहें। अपुग भएका अन्य विकल्प खोज्दै जाँदा ‘नेपाल एजुकेसन वाईटी’ नाम गरेको अर्को युट्युब च्यानल भेटें । त्यसमा १२ कक्षाका केही लेक्चरका रेकर्डहरू राखिएको रहेछ। त्यो हेर्दा पढौं पढौं लाग्यो । त्यसले मलाई विराटनगरबाट पढाइने सशुल्क भर्चुअल ट्युशन कक्षाहरूसँग जोडिदियो जसमा हरेक दिनको साँझ् विज्ञान र गणित विषय साह्रै राम्रोसँग पढाइँदो रहेछ। टेलिग्राम मार्फत दिनदिनै पढाइने पाठका रेकर्डहरू कक्षालगत्तै पाइन्छ। ती रेकर्डहरूले आफ्नो फुर्सदको समयमा दोहोर्याई–तेहेर्याई हेरेर मज्जाले बुझने सुविधा मलाई दिएका छन्
दिनभर कलेजका कक्षामा पट्यारलाग्दोसँग बिताउनुभन्दा आफूलाई इच्छा लागेको समयमा रेकर्डेड कक्षाहरू हेरेर बुझन पाउँदा थप आनन्द लाग्यो। आफूलाई बुझन आवश्यक लागेका पाठहरूलाई बढी समय दिएर पढ्न पाइने भयो । कक्षामा सहभागी हुने देशभरका साथीहरूसँग ‘डिस्कसन ग्रुप’हरूमा छलफल गर्दै पढ्ने सुविधा पनि रहेछ । अनलाइनमै साथीहरूसँग सोधेर सिकाइ आदानप्रदान गर्ने अर्को मौकाको पनि सदुपयोग गरिरहेको छु । यसले मलाई घरमै बसेर पढ्दा धेरै फाइदा भएको छ । कलेजका कक्षाहरूमा पनि बेला–बेला गएर साथीहरूबाट अपडेट लिने गरेको छु।
भौतिक कक्षाकोठाको भर्चुअल विकल्पमा अरू सुविधा पनि उपलब्ध रहेछन्। त्यसै क्रममा मैले अर्को वेबसाइट पनि फेला पारें। ‘लर्नहब डटकम’ नामको त्यो वेबसाइटमा कक्षा ६ देखि १२ सम्मका विषयहरू निःशुल्क पढ्न पाइने रहेछ। तर त्यो भारतीय पाठ्यक्रममा आधारित रहेछ । तापनि फिजिक्स, केमेस्ट्री र म्याथका अधिकांश पाठहरू हाम्रो कोर्ससँग मिल्ने हुँदा कैयौं समस्याको समाधान म त्यसबाट पाउँछु।
यो वेबसाइटमा पुराना प्रश्नपत्र, तिनका समाधान जस्ता परीक्षाको तयारीमा उपयोगी सिकाइ सामग्रीहरू प्रशस्त छन्। त्यसका अलावा खान एकेडेमी र युडेमीसँगै नयाँ प्लेटफर्म च्याट जीपीटीको पनि सिकाइमा भरपुर उपयोग गरिरहेकी छु। च्याट जीपीटीले चाहिं म्याथका प्रश्नहरूको सोलुसन माग्दा एकभन्दा धेरै विकल्प दिएर बिगार्दो रहेछ, खासै मिल्दैन । फिजिक्स र केमेस्ट्री पढ्न मात्र उपयोगी हुँदोरहेछ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित कक्षा भएकाले उसले शायद मानिसहरूबाट धेरै सिक्न बाँकी नै छ।
आफ्नो रोगको औषधि भेट्टाएँ
विभिन्न पोर्टल र एपमा आधारित भएर पढ्दा मलाई कक्षाकोठामा जस्तो अत्यास लाग्दैन । आफ्नो रुचि अनुसारको विषय इच्छा लागुञ्जेल पढ्दा राम्ररी ‘क्याप्चर’ गर्न सकिन्छ र पढाइमा मन यसरी एकाग्र हुन्छ कि समय बितेको पत्तै हुँदैन। त्यसकारण कक्षामा गएर भन्दा घरमै बसेर मैले राम्ररी पढिरहेकी छु। स्कूल जाँदा आउँदा र कक्षाकोठामा दिनभर बिताउँदा पढ्ने समय नै खेर गएजस्तो लाग्ने । त्यो नोक्सान छल्न कहिलेकाहीं मात्र कलेज गइरहँदा कलेजले भने मैले पढाइ छलिरहेको ठान्दोरहेछ। मेरो लगातारको अनुपस्थितिबारे कलेज प्रशासनले बाबालाई फोन गरेर सोधीखोजी गरेको सुन्दा अचेल त रमाइलो लाग्छ । मैले पढाइ छुटाएको होइन, पढ्ने समय बचाएको हुन्छु तर कलेज प्रशासन र मेरा शिक्षकहरूलाई यो कुरा आजसम्म बताएको छैन।
कलेजका कक्षाकोठामा हुने पढाइका धेरै फाइदा छन्, तापनि मलाई भर्चुअल कक्षाले नै तानिरहेको छ । यी दुई थरी कक्षाबीच चाखलाग्दो भिन्नता पाएकी छु । डाक्टरले सबै खालका रोगीलाई एउटै औषधि दियो भने कसैलाई काम गर्छ, कसैलाई गर्दैन । त्यस्तै एउटा कक्षामा भेला हुन आएका फरक–फरक खालका विद्यार्थीहरू पनि कोही शिक्षकले पढाएको बुझछन्, कोही घोकेर पढ्ने हुन्छन्, कोही आफैंले समय लिएर विस्तारै पढ्दा बुझछन् । त्यही अनुसार विद्यार्थीलाई आफ्नो रुचिले पढ्ने वातावरण दिनुपर्छ । हाम्रा स्कूल कलेजका अधिकांश कक्षाकोठामा हुने पढाइ मलाई सबै किसिमका बिरामीलाई ज्वरो आएको ठानेर ‘सिटामल चक्की’ बाँडे जस्तै एकांकी लाग्छ। आफूलाई प्रभावकारी हुने उपाय खोजेर आफ्नै लयमा पढ्नु भनेको चाहिं आफ्नो रोग बुझेर त्यस अनुसारको डाक्टर र औषधि जुटाई उपचार लिए जस्तै हो जुन अनुभूति अहिले म गरिरहेकी छु।
शिक्षकले बुझउनुको सट्टा कक्षाबाटै निकालिदिंदाको जस्तो ‘इन्सल्ट’ भर्चुअल कक्षामा भोग्नुपर्दैन । प्रवृत्तिभन्दा पनि प्रविधिबाट पढ्न पाइने भएकाले आफूले नबुझ्ेसम्म जति पटक दोहोर्याएर सुने पनि प्रविधिले झ्ंिजो मान्दैन । त्यसकारण पनि मलाई शिक्षकसामु प्रत्यक्ष उपस्थित भएर पढिने कक्षाभन्दा प्रविधिबाट पढिने कक्षा नै मन पर्छ । कक्षामा नपाइने शान्त वातावरण यसमा पाइन्छ, आफ्नै घरको मनपर्ने कोठामा बसेर खाना, खाजा खाँदै आराम गर्दै पढ्न पाइन्छ । त्योभन्दा महत्वपूर्ण कुरा, नयाँ ज्ञान सिक्ने रुचि लिएर गएका विद्यार्थी हरेक दिन कतिपय शिक्षकका कारण कक्षाबाट कुनै न कुनै नमीठो अनुभव लिएर फर्कन बाध्य छन्। भर्चुअल कक्षाको सिकाइ त्यो जोखिमबाट मुक्त छ ।



