मेरो चार दशकको आर्जन
मेरो नेपाली नागरिकताको प्रमाणपत्रमा स्थायी ठेगाना– शोभा गाउँपञ्चायत; रुकुमकोट, रुकुम उल्लेख छ । देशमा भएका राजनीतिक फेरबदलका क्रममा मेरो स्थायी ठेगानामा पनि परिवर्तन हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्र शाहकी कान्छी बहिनी शोभा शाहीको विवाह रुकुमकोट, बाहुनठानाका मोहनबहादुर शाहीसँग भएको थियो। शाहज्यादी परिवार आफ्नो कुलको पूजा गर्न २०३२ सालमा रुकुमकोट आएको केही समयपछि बाहुनठाना गाउँपञ्चायतको नाम बदलेर शोभा गाउँपञ्चायत राखियो। २०४६ सालको राजनैतिक परिवर्तनपछि शोभा गाउँ विकास समिति बन्यो। २०६२/६३ सालपछि त्यही ठाउँ रुकुमकोट गाविस भयो। नेपालको संविधान २०७२ लागू भएसँगै मेरो स्थायी ठेगाना– सिस्ने गाउँपालिका-६, रुकुमकोट, रुकुमपूर्व रहन गएको छ।
मैले तत्कालीन रुक्मिणी साधारण मावि, रुकुमकोट, रुकुमबाट २०३८ सालमा एसएलसी परीक्षा दिएको हुँ । त्यसको नतिजा आएपछि २०३९ सालको भदौ २४ गतेदेखि नै शिक्षण पेशामा जोडिन पुगें । त्यसपछि ४१ वर्ष १ महीना १५ दिनसम्म शिक्षण कार्यमा रहेर त्यसबाट निवृत्त (२०८०) भइसकेपछिको स्थितिमा आफूले जीवनमा आर्जित गरेका सम्पत्तिको संक्षिप्त चर्चा गर्ने जमर्को गरेको छु ।
१. चार दशक लामो अवसर
जीवनको ऊर्जाशील अवधि सम्पूर्णतः शिक्षण कार्यमा समर्पण गर्ने अवसर पाएँ । मैले आफूले जाने, बुझेका अनुभव गरेका ज्ञान, सीप, क्षमता र बौद्धिकता हजारौं कलिला बालबालिकाहरूमा समर्पण गर्न पाएँ। यसलाई मैले मेरो आर्जित सम्पत्तिमध्ये सबैभन्दा ठूलो सम्पत्तिको रूपमा लिएको छु।
२. हजारौंसँग काम गर्ने अवसर
शिक्षण सेवामा रहँदा साविक रुकुम जिल्लाका तीनवटा विद्यालयमा काम गर्ने अवसर जु¥यो। सेवामा रहँदाको ८० प्रतिशतभन्दा बढी अवधिसम्म प्रधानाध्यापक पदको भूमिकामा रहें। यस अवधिमा हजारौं विद्यार्थी, शिक्षक-कर्मचारी, जिल्ला शिक्षा अधिकारी, समन्वय प्रमुख र पालिकाका शिक्षा अधिकारी, विव्यस तथा शिअसंघ अध्यक्षहरूको साथमा रही उहाँहरूका अनुभव, सीप र कार्यदक्षताहरूसँग साक्षात्कार हुन पाउनुलाई पनि मैले आर्जित सम्पत्तिको रूपमा लिएको छु।
त्यसरी काम गरेका कैयौं सहकर्मी मित्रहरूलाई म अहिले पनि राम्ररी सम्झ्रिहेको छु। जस्तो; २०३९ भदौदेखि २०४० वैशाख २० गतेसम्म हालको रुकुमपश्चिम आठबिसकोट नगरपालिकास्थित हिमालय मावि; दाँजेमा शिक्षण गर्दा बिनिराम अर्याल (गुल्मी), चन्द्रकान्त अधिकारी (गोरखा), भीमलाल शर्मा, चंखलाल धिताल, भीमबहादुर आग्री र विव्यस अध्यक्ष धनबहादुर बुढासँग काम गर्ने अवसर पाएँ । त्यसैगरी हाल रुकुमपूर्व, भूमे गाउँपालिकास्थित शहीद शुक्र मावि, सिमा, मोराबाङमा कार्यरत रहँदा तिलबहादुर पुन, ऋषिराम शर्मा, रामबहादुर घर्ती, जोखबहादुर पुन, रामेश्वर सुनार, खिमप्रसाद श्रेष्ठ, मनबहादुर केसी, भुवनेश्वर बुढा, चिन्तामणि दाहाल, प्रेमप्रकाश पुन, शशिकिरण पुन, तिलक छन्त्याल, ऋषिराम शर्मा, पद्मप्रसाद पोखरेल (दाङ), अनन्तप्रसाद गौतम, शशिराम कार्की, मानबहादुर बुढाथोकी, रेशमबहादुर बुढाथोकी, हस्तबहादुर पुन, जुनबहादुर बुढा, सचेतकुमार शाह, हेमराज गौतम (पाल्पा), शिरोमणि सुवेदी (कास्की), टोपेन्द्र गौतम, सूर्यकुमार राई (उदयपुर), हेमराज गौतम, भुवनेश्वर उपाध्याय, हर्कबहादुर शाही, बद्री यादव (सिरहा), प्रमोद यादव (महोत्तरी), फर्कबहादुर पुन र मनबहादुर विश्वकर्मा विव्यस अध्यक्ष जमलाल पुन, तुलासरी सुनार, सुनवीर पुन, दलबहादुर शाह, भीमप्रसाद सुनार, जनकबहादुर सुनार लगायतसँग संगत गर्ने अवसर मिल्यो ।
यस्तै, हालको यमुनानन्द नमूना मावि, सेरीगाउँमा २०५५ वैशाख ८ गतेदेखि २०८० सालसम्म कार्यरत रहँदा समीरजंग मल्ल, सन्ध्या मल्ल, मिश्रीप्रसाद शर्मा, कालिका घर्ती, वीरबहादुर रावल, ओमबहादुर केसी, राजवीर खत्री, ताराबहादुर कुँवर, मनबहादुर बोहरा, मानबहादुर कुँवर, तारकबहादुर शाही, खम्बबहादुर केसी, रामप्रसाद शर्मा, सुनिता मल्ल, दीपेन्द्रबहादुर पुन, सूर्यकान्त घिमिरे (स्याङ्जा), हरिबहादुर शाह (दाङ), रमेशप्रसाद शर्मा, पुष्पलता सुवेदी (प्युठान) भीमनारायण पुन, सिर्जना थापा, लोकबहादुर बुढाथोकी, सुशीला शर्मा, देवराज केसी, धनीराम देवकोटा, खड्कबहादुर कुँवर, राजदेव यादव (सिरहा), धनीराम केसी, अनुपमा मल्ल, हरिमाया गौतम, डिल्लीबहादुर मल्ल, बिनु मल्ल, कालिका केसी, दीपप्रसाद शर्मा, मेघराज गौतम, अमृत दाहाल, दीपेन्द्रा मल्ल, देवीप्रसाद शर्मा, सन्जु गौतम, बिमला शर्मा, रामलाल गौतम, हरिचन्द्र गिरी, यामबहादुर शाही, पुनम गौतम, रूपेन्द्रकुमार रावत, वसन्त नेपाली, यमुना मल्ल, सपना खड्का, सुशीला मल्ल, भवानी गिरी, शक्तिराम ओली, जसन्ता केसी, निरन्जना पाण्डे, पवनलाल चौधरी (सप्तरी), कृष्णा पुनमगर, सुमन गौतम, सावित्रा ओली, धनमाया अधिकारी, नन्दराम देवकोटा, अनिता खड्का, निलम गौतम, अमृता खड्का र उदयराम ओली, विव्यस अध्यक्षहरूमा कुमारजंग मल्ल, सुरतजंग मल्ल, केदारसिंह गौतम (कावा अध्यक्ष), देवीलाल गौतम, महेन्द्रराज गौतम, जनार्दन केसी, मीनबहादुर केसी, राजेश अधिकारी तथा शिक्षक–अभिभावक संघ अध्यक्ष बालकृष्ण मल्ल, ठगेन्द्रप्रकाश पुरी, चन्द्रबहादुर बोहरा, बामदेव मल्ल, मीनबहादुर केसी र भीमबहादुर खड्कासँग पनि काम गर्ने सुअवसर मिल्यो।
हालका शिक्षक कर्मचारी साथीहरू कमप्रसाद देवकोटा, दीपेन्द्रप्रसाद चौधरी (सप्तरी); विवेक शर्मा, यज्ञबहादुर खड्का, पृथ्वी ओली, जगतबहादुर ओली, सुशीला शर्मा, प्रेमबहादुर खड्का, सेवक रिजाल (दाङ), गोपाल केसी, युवराज गिरी, प्रज्वला पुन, प्रेमकला बाँठा, रेखा मल्ल, अमर आचार्य, अमृता खड्का, कल्पना ओली, ममता चन्द, लक्ष्मण केसी, गणेशा पुन, चन्द्रबहादुर केसी, मीनकुमारी नाथ, नवीना केसी र कल्पना केसीसँग त काम गर्ने अवसर मिलिरहेकै छ।
जिल्ला शिक्षा अधिकारीहरूमा पूर्णचन्द्र पौडेल (तनहूँ), रमेशनारायण दास (सप्तरी), सुन्दरकुमार शाक्य (सङ्खुवासभा), गणेशबहादुर खत्री (ललितपुर), यमुनाप्रसाद चौरसिया (पर्सा), हीराप्रसाद ढकाल (भोजपुर), मोहम्मद हसरत अलि (कपिलवस्तु) देवीदत्त भट्ट (बैतडी), रामदयाल दास (सिरहा), दानबहादुर अधिकारी (भोजपुर), कपिलदेव उपाध्याय (बर्दिया) शालिग्राम रेग्मी (स्याङ्जा), जीवन शर्मा पौडेल (कास्की), गोविन्ददेव भट्ट (बैतडी), हंसराज रोकाया (जाजरकोट), देवीप्रसाद अधिकारी (सिन्धुली), महेन्द्रकुमार बोहरा (सल्यान), दामोदर सुवेदी (कास्की), कृष्णप्रसाद घिमिरे (भोजपुर), बद्रीकुमार बस्नेत (ओखलढुंगा), धर्मराज केसी (बाँके), नारायणप्रसाद शर्मा (अर्घाखाँची), डा. बाबुराम ढुङ्गाना (काठमाडौं), दिव्यराज कट्टेल (सङ्खुवासभा) रामप्रसाद पाण्डे (इलाम), हरिहर धिताल (मोरङ), मित्रमणि खनाल (अर्घाखाँची), निर्मलकुमार घिमिरे (महोत्तरी), रामलाल खड्का (रुकुम), पूर्णबहादुर अछामी (लमजुङ), कर्णबहादुर कुँवर (रुकुम), इकाइ प्रमुख लालबहादुर घर्ती (रुकुम), ताराप्रकाश पुन (रुकुम) र मुसिकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्का लगायत हजारौं विद्यार्थीसँग सङ्गत गर्ने अवसर प्राप्त भएकाले यसलाई पनि मैले अर्को आर्जित सम्पत्ति ठानेको छु।
३. दुई विद्यालयको स्तर वृद्धि गर्ने अवसर
तत्कालीन शहीद शुक्र निमावि, मोराबाङमा कार्यरत रहँदा उक्त विद्यालयलाई मावि तुल्याउने अवसर मिल्यो। सो विद्यालयले स्तरवृद्धिका निम्ति २०४८ मा अस्थायी र २०५२ सालमा स्थायी स्वीकृति पायो । २०५५ साल वैशाख ८ गते यमुनानन्द नमूना निमाविमा सरुवा भई आई २०५८ सालमा मावि तह र २०६६ सालमा उच्च माविको पढाइ हुने व्यवस्थापन गर्ने अवसर पनि मलाई प्राप्त भयो । तत्कालीन समयमा नौवटा मात्र दरबन्दी रहेकोमा अहिले सो संख्या २८ पुग्न गएको छ।
४. आर्थिक–भौतिक उपलब्धि
२०४१ देखि २०४४ सालसम्म तिहारको अवसरमा देउसी-भैलो खेली शहीद शुक्र मावि सीमाको स्तरवृद्धि गर्ने काम गरियो। त्यो समयमा देउसी-भैलो खेल्नु भनेको त्यस भेगको लागि नौलो कार्य थियो। २०४८ सालमा जिल्ला विकास समितिबाट रु.५० हजार अनुदान ल्याएर ११ कोठे पक्की भवन बनायौं। श्रमदान जुटाई कर्कटपाता, सिमेन्ट र रड ढुवानी गराउने कामको अगुवाई स्वयम् मैले गरेको थिएँ । त्यसैगरी, ब्रिटिस सोल्जर बोर्ड, खुङ्ग्री रोल्पाका भूपू ब्रिटिश आर्मी गल्लावाल सुनवीर पुनमार्फत दुईकोठे आधुनिक शौचालय निर्माण गरिएको थियो।
सेरीगाउँमा मावि खोल्नका लागि पनि देउसी-भैलो खेलियो। हाल सो विद्यालयमा सबै पक्की भवन तथा अन्य संरचनाहरू निर्माण भएका छन्। विद्यालयभित्र शुद्ध खानेपानीको व्यवस्था पनि गरिएको छ। त्यसैगरी पारिजात बालपार्क, पारिजातको प्रतिमा र यमुना बाबाको सालिक पनि विद्यालय परिसरभित्र स्थापित गरिएको छ।
साथै, विद्यालयको पठनपाठनमा योगदान पुगोस् भन्ने उद्देश्यले फरक-फरक नाम र प्रकृतिका अक्षय कोषहरू स्थापना गरिएका छन्। ती कोषका संस्थापकहरू हुनुहुन्छ– वसन्त पुन मगर, राजकुमार पुन मगर, द्रोणराज गौतम, वामदेव गौतम, विष्णुराज गौतम, यामबहादुर शाही, सनम शाही, सजाता शर्मा, डा.विमला शर्मा, सुलोचना शर्मा, सुदीप शर्मा, धर्मराज केसी, निर्मला केसी, केदार गौतम र पुनम गौतम ।
५. व्यक्तित्व विकास र पेशागत जिम्मेवारीको अवसर
नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध भई जिल्ला अध्यक्ष समेतको भूमिका निभाउने अवसर पाएँ। केन्द्रस्तरमा नेपाल शिक्षक युनियन केन्द्रीय सदस्यको भूमिकामा रहें । एसएलसी, एसईई र कक्षा– ११ र १२ का परीक्षाहरूको केन्द्राध्यक्षको भूमिकामा पनि सधैं रहें । शिक्षणमै रहँदा वैवाहिक जीवनमा पनि जोडिन पुगें। हाल हामी चारैजना (दुई छोरासहित) अधिकृतस्तरमा कार्यरत छौं । बसोबासका लागि काठमाडौं, बालाजुमा घर बनाएका छौं । यो मेरो जीवनको व्यक्तिगत सम्पत्ति हो।
६. वफादारी, कर्तव्यनिष्ठता तथा पारदर्शिता
काम गर्ने क्रममा अन्जान तथा व्यक्तिगत स्वभावका कारण थुप्रै त्रुुटिहरू भए होलान्। तर कहिल्यै पनि कुभावना तथा कुविचार लिएर काम गरिएन। राजनीतिक आस्था, विश्वास तथा नाता सम्बन्धलाई कहिल्यै पनि प्रश्रय दिने काम पनि गरिएन। मबाट व्यक्तिगत स्वार्थ, मतलब साध्य हुने गरी कुनै व्यवहारहरू प्रदर्शन भएनन् । हरेक अवसरमा संस्थालाई नमूनायोग्य बनाउने सोच र विचार पलाइरह्यो । यसरी ठीक ठाउँमा उभिएर सही मार्गदर्शन पक्रन सक्नु पनि मेरो अर्को आर्जन हो।
७. पुरस्कार तथा सम्मान
शिक्षण कार्यमा रहँदा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था तथा शिक्षण संस्थाहरूबाट दर्जनौं सम्मान, कदर तथा प्रशंसा पत्रलगायत पुरस्कार प्राप्त गर्ने अवसर पाइयो । यसलाई पनि आर्जित सम्पत्ति सम्झेको छु।
निवर्तमान प्रअ, यमुनानन्द नमूना माध्यमिक विद्यालय, सेरीगाउँ, रुकुमपश्चिम



