थ्याङ्क यु पापा, छोरी मात्रै सम्झेर नहुर्काउनु भएकोमा . . .

होबुवा वसन्त हुन्। अभिभावकहरू वसन्त झैं हुनुपर्छ। जसको हुर्काइले नै हामीलाई हजार हन्डरबाट जोगाउँछ र नयाँ शुरूआतका लागि उठाउँछ पनि। मेरो हुर्काइ त्यस्तै भयो। मसँग अहिले पापा हुनुहुन्न, उहाँ परलोक हुनुभएको एक दशक भयो । तर उहाँको ‘पेरेन्टिङ’ ले मलाई आज पनि बलियो टेको दिएको छ। मधेशकी ‘बेटी’ हरूलाई बलियो हुर्काइको खाँचो छ। 

आमा–बुबा हरेक मोडमा हामीसँग भौतिक रूपमा उभिन सक्नुहुन्न, अभिभावकत्वको पनि एउटा सीमा हुन्छ । त्यही भएर उहाँहरूको हुर्काइले नै हामीलाई एउटा व्यक्तित्व दिन्छ। सधैंभरिको लागि बलियो आधार दिन्छ र प्रतिरोधात्मक क्षमता पनि । कतिपय अवस्थामा ‘पेरेन्टिङ’ले हामीलाई बलियो र कमजोर मात्र होइन, इमानदार र घुस्याहा, चण्ड र दयालु सबै बनाइरहेको हुन्छ। अर्थात् असल हुर्काइ नै हाम्रो जीवनभरिको ‘सम्बल’ बनिदिन्छ। र, यो मधेश मात्रै होइन सबैका लागि उत्तिकै आवश्यक छ। 

पापाले हामी पाँचै जना भाइ-बहिनीलाई बलियो गरी हुर्काउनुभयो। उहाँले कहिल्यै औंला समातेर हिंडाउनुभएको याद छैन, स्वयं उठ र हिंड भन्ने ‘थ्यौरी’ लागू गर्नुभयो हामीमाथि। उहाँ यदाकदा निकै कठोर लागे पनि त्यो कठोरताले हामीलाई जीवनको युद्धमा योद्धा झ्ैं लड्न सक्षम बनाएको छ। 

मधेशमा छोरीको हुर्काइ कहिल्यै पनि ‘पेरेन्टिङ’ भित्र परेन। थोरै भाग्यमानीले त्यो सहुलियत पाए । होइन भने त ‘छोरा बोर्डिङमा, छोरी सरकारीमा’ पढाउने आमाबुबाका बारेमा मैले स्वयं पनि समाचार लेखेकै हुँ । छोरा बोर्डिङ पढाएर डाक्टर, इन्जिनियर अथवा सरकारी ओहोदा, वकिल-प्राध्यापक बनाउने र चर्को ‘दहेज’ लिएर त्यो पैसा असुलउपर गर्ने परिपाटी पुरानै हो। छोरामा ‘लगानी’ गर्नुको एउटा ध्याउन्न त्यही हुन्छ । त्यसमाथि छोराले बुढेसकालमा हेर्ने भावनाले पनि जरो गाडेको हुन्छ। अर्कोतर्फ, छोरीलाई जसरी पनि दाइजो दिएरै बिहे गर्नुपर्ने बाध्यात्मक अवस्थाले गर्दा छोरीहरूका लागि उच्च शिक्षा पनि सपना नै रह्यो । छोरीहरूको पढाइमा लगानी गर्नुभन्दा पनि बिहेमा लगानी गर्नु उपयुक्त ठाने अभिभावकले। 

यद्यपि; यतिबेला अवस्था थोरै फेरिएको छ। बोर्डिङ पढ्ने छोरीहरूको संख्या बढेको छ। र; बढेको छ गर्भमै लिङ्ग पहिचान गरी भू्रण हत्या गर्ने प्रवृत्ति । हो, हाम्रोतिर छोरीहरू सधैं खुकुरीको धारमाथि हुन्छिन् भन्नु अतिशयोक्ति नहोला। मैले दुई दशकअघि लेख्ने समाचार र आज लेखिने समाचारको विषयवस्तुमा खासै अन्तर छै । यी कुराहरूले मलाई बेला–बेलामा विचलित तुल्याउँछन् ।

कतिपयले छोराका साथै छोरीलाई पनि उच्च शिक्षा प्रदान गरिरहेको हामी देख्छौं, तर त्यसभित्रको अन्तर्य आज पनि उस्तै छ । नयाँ पुस्ताका केही यस्ता अभिभावक पनि छन् जसले छोरा र छोरीलाई समान शिक्षा र उनीहरूको उचित भविष्यका लागि आफूलाई उत्सर्ग पनि गरिरहेका छन् । हो, आज मधेशका छोरीहरू डाक्टर–इन्जिनियरदेखि व्यापार–व्यवसाय र उच्च ओहोदामा पुगिरहेका छन् तर त्यो संख्या आशलाग्दो छैन । 

मलाई सबै अभिभावकहरूसँग प्रश्न गर्न मन लाग्छ-  मुटुमाथि हात राखेर भन्नुस्, के डाक्टर छोरीलाई दाइजो दिनु परेको छैन र ? के ज्वाईं ‘साहेबहरू’ क्रय–विक्रय भइरहेका छैनन् ? के आरतीहरू दहेजको दावानलमा जलिरहेका छैनन् ? आगोको त्यो लप्काले शहरदेखि गाउँसम्मलाई खाइरहेको छैन ? 

मलाई थाहा छ, मेरो यो प्रश्नमा धेरैले केही मिनेटको मौन धारण गर्नुहुनेछ; त्यसपछि यथावत् चल्ने छ सारा कुरा । म पनि मधेशकी एउटी बेटी हुँ र मलाई बेला–बेला चिच्याएर बोल्न मन लाग्छ, “हे बुवा हो, छोरीलाई दाइजो होइन शिक्षा दिनुस् । होइन भने दाइजो र छोरी दुवै खाइदिन्छन् दहेजका लालचीहरूले । मलाई डाक्टर श्रीमान् होइन स्वयं डाक्टर बन्नु छ । मेरो लागि वर किन्ने पैसाले मलाई नै सक्षम बनाउनुस् । ताकि, म भोलिको दिनमा आफ्नो जिम्मेवारी स्वयं उठाउन सकूँ, दहेज विरोधी भएर उभिन सकूँ । मैले हजुरबाटै त हो संस्कार सिक्ने र सिकाउने । ती पनि त हामी नै होइनौं र ? छोरा र छोरी जन्माउने पनि तपाईं–हामी होइनौं र ? हे, बुवा हो...!” 

...र भन्न चाहन्छु, असल हुर्काइ र शिक्षाले छोरीलाई सधैं साथ दिन्छ भन्ने हेक्का होस् । नपत्याए, म मेरै कथा सुनाउँछु... यहाँ, लेखक केही बहकिएको भान हुन सक्छ पाठकलाई तर यो कथाले पनि ‘पेरेन्टिङ’ कै कुरा गर्नेछ । विश्वास गर्नुस् । 
म मधेशकी केही भाग्यमानी छोरीहरूमध्ये पर्छु, जसको ‘पेरेन्टिङ’ विना कुनै भेदभाव गरियो । पापा चाहनुहुन्थ्यो उहाँका सबै छोराछोरीले उच्च शिक्षा हासिल गरुन् । र, स्वतन्त्र भएर आफ्नो खुट्टामा उभिउन् । २०५० सालतिरको कुरा गर्दैछु म । जतिबेला दिदीहरू आफ्नै स्वेच्छाले पढ्दै हुनुहुन्थ्यो । हामीलाई धेरै कुराको स्वतन्त्रता थियो घरमा, जो टोलकै अन्य केटीहरूलाई प्राप्त थिएन । त्यो अर्कै कुरा कि, बुवाका सबै सन्तानले उहाँको सपना पछ्याउन अथवा पूरा गर्न सकेनन् । हामी दुई जना दिदी–बहिनी र भाइ ‘इन्डिपेन्डेन्ट’ भयौं भने दुई जना गृहिणी । यद्यपि, पापा (उपेन्द्र चौधरी) चाहनुहुन्थ्यो हामी चार जना दिदी–बहिनी कुनै न कुनै पदमा पुग्नैपर्छ । 

पापाले हामीलाई प्रशस्त अवसर र समय दिनुभयो । उमेर पुगेपछि मात्र बिहे गर्नेदेखि लिएर स्वतन्त्र रूपमा आफ्नो ‘करिअर’ बनाउन र आफ्नै खुट्टामा उभिन स्वतन्त्र थियौं हामी । तर भनिदिऊँ, बुहारीहरू घरबाट बाहिर निस्केर काम गर्ने–नगर्ने स्वतन्त्रता फेरि पनि घरकाहरूको स्वेच्छामा हुन्छ । यो आज पनि कायम छ । यस विषयमा म पछि चर्चा गर्छु ।

मैले २०५८-५९ सालमा पत्रकारितामा आफ्नो भविष्य खोजें । मेरो अध्ययन अनुसार, त्यतिबेला व्यावसायिक रूपमा पत्रकारितामा मधेशका महिला आइसकेकै थिएनन् । म सँगसँगै जस्तो स्व. उमा सिंह आएकी थिइन् । मैले वीरगञ्जको प्रतीक दैनिक पत्रिकाबाट पत्रकारिताको शुरूआत गरेकी थिएँ, र साथै हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि धनुषा जिल्ला संवाददाताको रूपमा कार्यरत थिएँ । माओवादी सशस्त्र युद्ध, मधेशी–पहाडी दंगा, मधेश आन्दोलन लगायत थुप्रै राजनीतिक घटना र द्वन्द्वबाट गुज्रिरहेको थियो देश । मैले त्यस्तो परिस्थितिमा पत्रकारितामा हाम फालें र पापा–ममीले पूर्ण साथ र समर्थन दिनुभयो । दिनहुँ रिपोर्टिङमा हिंड्नुपथ्र्यो, म हिंडेथे पनि । टोल–छिमेकका आँखामा म सधैं विझइरहे पनि घरबाट मलाई पूरा छूट थियो । त्यतिबेला पत्रकारिताका तालिमहरूमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगर, वीरगञ्ज, पोखरा लगायत ठाउँहरू पुग्थें । घरबाट कहिल्यै रोकतोक भएन । सधैं बाटोखर्च दिएरै पठाउनुभयो । म पत्रकार भएँ, मेरो पहिचान र करिअर नै यही भयो ।


त्यतिबेला पापाले, ‘तिमीले पत्रकारिता गर्नुपर्दैन, द्वन्द्वकालको वेला किन घरबाट निस्किनुपर्‍यो, किन केटा साथीहरूसँग हिंड्नुप¥यो ?’ भनेर अवरोध गर्न सक्नुहुन्थ्यो । रोक लगाउन सक्नुहुन्थ्यो । हदै भए, मैले विरोध गर्थे हुँला । तर, मेरो पापाले मलाई सधैं सपोर्ट नै गर्नुभयो । मैले बिहेभन्दा अगाडि पाँच वर्ष अनवरत–अवरोधरहित पत्रकारिता गरें । 

मधेश आन्दोलन चर्किरहेकै बेला २०६३ सालको असारमा बिहे गरेर श्रीमान्सँगै म काठमाडौं आइपुगें । त्यतिबेला मेरो उमेर २३ वर्ष थियो । मैले काठमाडौंबाटै आफ्नो ‘प्रोफेसन’ अगाडि बढाउने विचार गरें । कान्तिपुरको नेपाल म्यागजिनमा मैले काम पनि पाएँ । तर मैले त्यो अवसर उपयोग गर्न सकिनँ, किनभने घरमा जेठानी सुत्केरी हुने अवस्थामा मेरो आवश्यकता प¥यो, घर फर्किएँ । त्यतिवेला त्यही प्राथमिकता थियो । केहीपछि अर्थात् २०६४ मा म आफैं सुत्केरी भएँ । त्यसको चार वर्षपछि नागरिक दैनिकबाट पुनः पत्रकारितामा फर्किएँ । 

यो कथाको एउटा सुखद् पाटो मात्र हो । एक्कासी मेरो जीवनमा ठूलो भुइँचालो गयो । मेरो बिहेको भर्खर १५ वर्ष पूरा भएको थियो । समय निर्दयी भएपछि नियतिले भाग्यमाथि अट्टहास गर्छ । त्यो डरलाग्दो दिनलाई म चाहेर पनि आफ्नो जीवनबाट मेट्न सक्दिनँ । २०७९ साल, असारको ११ गते मेरो जीवनको कालरात्रि बनेर आयो । भर्खर ४०औं वसन्तमा प्रवेश गर्दैथिएँ, त्यही राति ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा मेरो जीवनसाथी सधैंको लागि अस्ताउनुभयो । र, अस्ताए मेरा जीवनका हँसिला दिन पनि । 


मधेशकी ‘बेटी’ हरूलाई बलियो हुर्काइको खाँचो छ। मधेशमा छोरीको हुर्काइ कहिल्यै पनि ‘पेरेन्टिङ’ भित्र परेन। थोरै भाग्यमानीले त्यो सहुलियत पाए। होइन भने त ‘छोरा बोर्डिङमा, छोरी सरकारीमा’ पढाउने आमाबुवाका बारेमा मैले स्वयं पनि समाचार लेखेकै हुँ। 

२०७८ को फागुन महीनामा मेरो श्रीमान् प्रदीप दासलाई चौथो स्टेजको लिभर क्यान्सर रहेको पुष्टि भयो । भित्रभित्रै उहाँको शरीरलाई क्यान्सरले खाँदै गरेको हेक्का हामीलाई तब भयो जतिबेला उहाँको छाती र पेटमा सहिनसक्नुको पीडा उत्पन्न हुनथाल्यो । उहाँ त्यसरी छटपटिएको त्यसअघि मैले देखेकै थिइनँ । उहाँमा अथाह धैर्य थियो । आफैं स्वास्थ्यकर्मी–फर्मासिस्ट मान्छे । आफ्नै क्लिनिकमा दिनहुँ चिकित्सकहरूसँग घेरिएर बस्ने मान्छेलाई क्यान्सर जस्तो रोग लाग्ने कुरा त कसरी अनुमान गर्नु ? तर अस्पतालले क्यान्सरको पुष्टि गरेपछि भने हाम्रो धरातल भासियो । बुढाबुढी रातभरि एकै सिरान भएर रोयौं । काखमा दुई वर्षकी कान्छी छोरी थिई । ठूली छोरी भर्खर कक्षा १० मा उक्लेकी थिई । उसको उज्ज्वल भविष्यको सपना त छँदैथियो आफ्नै पनि सुनौला दिन लेख्न अझ्ै बाँकी नै थियो । ओहो... बाँच्नै पनि त बाँकी थियो !

जीवन साथीको परिभाषा आ–आफ्नै हुन सक्छ । हाम्रो मागी बिहे भए पनि, एक समयपछि मैले उहाँलाई ‘वे–इन्तेहा’ वाला प्रेम गरेकी हुँ । कसरी आफ्नै प्याराको मृत्युको कल्पना गर्नु ? मैले आँसु पिएँ तर त्यसको आहालमा बगिनँ । मैले हरेश कहाँ खाएकी थिएँ र ? ममा अझै पनि त्यो विश्वास कायम थियो कि मैले जसरी पनि उहाँलाई बचाउन सक्छु । सक्नुपर्छ ।

उहाँको शरीर मेरै आँखा अगाडि गल्दै गएको थियो । यी सबै परिवर्तन आएको आफ्नै आँखाले देख्दै थिएँ । मुटु भक्कानिन्थ्यो । एक्लैमा बेस्मारी रुन्थें र ईश्वर–ईश्वर भनेर पुकार्थें । मैले आँसु सबै पिइदिएँ । किनभने उहाँको आत्मबल जोगाउनु थियो । यतिवेला आत्मबलभन्दा ठूलो कुनै औषधि थिएन, उहाँको लागि । उहाँको अगाडि सधैं दह्रो गरी उभिन्थें, मानौं क्यान्सर केही होइन, हामी त्यसलाई जित्छौं । उहाँको प्रभावकारी उपचारका लागि हामी भारतका दिल्ली लगायत विभिन्न शहरमा पुग्यौं । तर उहाँलाई बचाउन सकिएन । मेरो जीवनको सबभन्दा अँध्यारो दिन थियो त्यो । योभन्दा नराम्रो के नै हुनसक्थ्यो र ? तर थप नराम्रो अवस्था अब शुरू हुँदैथियो । किनभने उहाँ बित्नुभन्दा दुई वर्ष अगाडि मैले दोस्रो सन्तान जन्माउनको लागि पुनः कामबाट ब्रेक लिएकी थिएँ । प्राइभेट मिडियामा सुत्केरी आमालाई लामो बिदाको कुनै व्यवस्था छैन । न त लामो अन्तरालपछि ‘कम ब्याक’ गर्दा सजिलै अवसर पाइन्छ । 

म एक प्रकारले बेरोजगार थिएँ । श्रीमान्को औषधि सम्बन्धी व्यापार र आफ्नै क्लिनिक पनि थियो । पार्टनरसिपका सबै व्यापार उहाँका पार्टनरहरूले खाइदिए । अप्ठ्यारोमा सहयोग गर्न चाहे, गर्न सकिन्छ तर नचाहनेका लागि अनेक बहाना थिए । त्यसअघिसम्म म अर्कै दुनियाँमा बाँचिरहेकी थिएँ, सबै आफ्नै जस्ता लाग्थे । तर जसै उहाँले आँखा बन्द गर्नुभयो, सबै टाढिए । परिवार पनि । आफन्त पनि । इष्ट पनि । मैले आफ्नो हक त मागें तर दुई–चार लाखकै लागि कसैसँग मुखामुख गरिनँ, झ्ैंझ्गडा गरिनँ । प्रायः सबै सम्बन्धमा नै पर्थे । बरु सबैसँग टाढा भएँ, जसरी उनीहरू मेरो सबभन्दा कमजोर समयमा मसँग टाढिएका थिए । तिनीहरूसँग टाढिने अनेक कारण थिए । मैले जीवनबाट सधैंका लागि निकाले तिनीहरूलाई । मैले जीवनको वास्तविक रूप चिन्दै गएकी थिएँ । 

श्रीमान्ले व्यापारको लागि लिनुभएको केही ऋण थियो, जसको कारण मेरो परिवार नै पनि मसँग टाढिए । हतास र निरास मनस्थितिमा मैले आफूलाई कैद गरें, कसैसँग नबोल्ने भएँ । उहाँहरूले त्यसैलाई निहँु बनाएर मलाई झ्नै एक्लो पारिदिनुभयो । म उहाँहरूका लागि बढारेर फाल्ने कसिंगर भएकी थिएँ जो हावाले उडाएर सजिलो बनाइदिएको थियो । मैले अनेक बिन्ती गर्नुपर्ने भयो । यो त भर्खर शुरूआत थियो ।

उहाँ बित्नुभएको दुई महीना पनि म शोकमा बस्न सक्ने अवस्था रहेन । आपत् कस्तो आइलाग्यो भने घरभाडा तिर्ने पैसाको पनि चिन्ता हुनथाल्यो । म मानसिक रूपमा एकदमै असुरक्षित महसूस गर्न लागेकी थिएँ । उहाँका व्यापारिक सबै पार्टनरहरूले त्यतिबेला पैसा फिर्ता गरिदिएको भए, ऋण चुक्ता हुन्थ्यो तर सबैले व्यापार डुबेको कहानी सुनाए । घरबाट कुनै खास सहयोग आइरहेको थिएन । म अघोर विचलनको अवस्थामा थिएँ । त्यसपछि उहाँको उपचारको वेला बेचिएको एक टुक्रा जग्गा र उहाँका सबै दाजुभाइ–दिदी–परिवारले जुटाएको आर्थिक सहयोग कति थियो भन्ने रकमको कागजात मैले घर पठाइदिएँ । जो मसँग थियो । त्यो म गर्न चाहिरहेकी थिइनँ तर गर्नुपर्ने अवस्था नै आइलाग्यो । त्यसरी केही ऋण काटियो । ऋणको भारीले लाज–शरम देख्दैन, मैले पनि त्यागें । 

पुख्र्यौली घरको जग्गा सगोलमा थियो, त्यसबाट हाम्रो भागको एउटा प्लट बेचेर दिन मैले अनेकलाई भनेर पहल गरें तर त्यसको ठूलै घमासान चल्यो । बेच्ने र नबेच्ने दुई धारमा उभिए दाजुभाइहरू । यो अवस्थाको बारेमा थाहा पाउँदा म भित्रभित्रै भत्किंदै गएँ ।

यस्तैमा, मलाई स्याहार्न भनेर एक दिन माइतबाट मम्मी आउनुभयो, उहाँको काखमा लडेर म बेस्समारी रोएँ, यति रोएँ कि मानौं मेरो आँखाको सबै आँशु सकिए । काश, त्यो सकिदिएको भए हुने ! ममी आएपछि मैले आफूलाई उठाउने र लड्ने निर्णय गरें, आफैंसँग । मैले आफूभित्र शक्ति सिञ्चित गरें र हाम्रो आफ्नै औषधि पसलसँगैको क्लिनिकलाई सम्हाल्न पुगें । त्यसलाई स्टाफ वन्दनाले चलाइरहेकी थिइन् । तर पसलको अवस्था जर्जर भइसकेको थियो । 

पुनः फार्मेसी चलाउन मैले एक वर्ष ज्यानै फालेर संघर्ष गरें । तर, न बैंकको लोन चुकाउन सकें न त पसलको नै । कतैबाट सहयोगको अपेक्षा थिएन । अन्ततः मैले पसल बेचें, घाटामा । र, त्यसरी तीन चौथाइ ऋण चुक्ता गरें । घरको जग्गा बेचेर मलाई सहयोग गर्न निकै दबाब सृजना गर्नुप¥यो । उहाँ बितेको झ्ण्डै दुई वर्षपछि गाउँको त्यो सानो जग्गा बेचियो र त्यो पैसा आयो तर आधा मात्र । त्यसले पनि सोचे जस्तो राहत दिन सकेन । उहाँको पसल र जीवन–बीमाबाट प्राप्त रकमले नै मैले एकप्रकारले ऋणको भारी उतारें ।

दुई बच्चाको शिक्षा र जीविका छँदैथियो । पसल बेचेपछि म पुनः आफ्नै कर्ममा फर्कने विचार गरें । तर ‘लकडाउन’पछि मिडियाको अवस्था यस्तो दर्दनाक भइसकेको थियो कि काम पाउनै गाह्रो, पाएको ठाउँमा पनि चरम श्रमशोषण । तर मैले हार खाइनँ । मसँग शिक्षा थियो र सीप पनि । उहाँ गएको झ्ण्डै दुई वर्षपछि मैले पुनः आफूलाई उभ्याएँ ।

पापाले सानैदेखि बलियो नहुर्काउनुभएको भए, म यतिवेला अँध्यारो कुनै कुनामा आफ्नो भाग्यलाई सराप्दै वैधव्यको चिर पीडा र कसैको निगाहमा बाँचिरहेकी हुन्थें होला । होइन भने, दुई छोरीको भविष्य अन्धकारमा धकेल्दै आत्महत्याको बाटो रोज्थें होला । 

तर, मैले मेरो शक्तिको पहिचान गरें र आफ्नो सारा बल लगाएर काम खोजें । यस्तोबेला रगतको नाता नभएका दाइ र दिदीहरू, जोसँग प्रोफेसनल सम्बन्ध मात्र थियो, उहाँहरूले ठूलै गुन लगाउनुभयो । सहयोग गर्नुभयो । त्यस्तै पापा नभए पनि ममीले कहिल्यै साथ छोड्नुभएन । मनोबल बढाइरहनुभयो । यतिबेला म स्वतन्त्र रूपमा आफ्नो प्रारम्भको पेशा–पत्रकारितासँगै अर्को संस्थामा कार्यरत छु । यसबाट मेरी छोरीहरूको शिक्षा र जीविकोेपार्जन सहज मात्रै भएको छैन, हामीलाई आत्मसम्मानका साथ बाँच्ने हैसियत पनि प्राप्त भएको छ । 

मलाई सधैं मेरा वसन्त (अर्थात् अभिभावक) ले साथ दिए जस्तै साथको खाँचो मधेशका सबै छोरी–बेटीहरूलाई छ । राज्य र राजनीतिक दलहरूका ‘बेटी पढाउ, बेटी बचाउ’ जस्ता नारा र अभियानलाई माता–पिता या अभिभावकहरू अग्रसर भएर जतिसक्दो छिटो ‘एका देशको कथा’ जस्तै विस्मृतिमा पठाइ सक्नुपर्छ । किनभने शिक्षा सर्वोपरि भए पनि त्यसभन्दा ‘दुई कदम’ अगाडि बढेर सोच्ने बेला आएको छ, अर्थात् छोरीहरूलाई आफ्नो खुट्टामा उभिने प्रोत्साहनको खाँचो छ, अवसरको खाँचो छ । मधेशका हरेक छोरीले आफ्ना माता–पिता–अभिभावकबाट त्यति पाउने अधिकार राख्छन् ।

हामी प्राविधिक, आर्थिक र सामाजिक रूपले पनि नयाँ युगमा प्रवेश गरेका छौं । र हाम्रा नयाँ पुस्ताले पनि नव युगको स्वागत आत्मविश्वासका साथ गर्न सक्नुपर्छ । उड्न सक्नुपर्छ । 

शिक्षक  मासिक, २०८१ फागुन अंकमा प्रकाशित । 

commercial commercial commercial commercial