आफू शिक्षक नरहँदा पनि शिक्षक पढिरहें !
२१ वर्ष ६ महीना १८ दिन पढाएपछि स्कूलबाट स्वेच्छिक अवकाश लिएँ। सेवा निवृत्त भएको पनि ८ वर्ष पूरा भयो। जागिर छाड्ने बेला दुई वटा उद्देश्य थिए मेराः बुद्ध दर्शनमा विद्यावारिधि गर्ने या राजनीतिमा अघि बढ्ने। तर न विद्यावारिधिका लागि अघि बढें न राजनीतिमा पाइला सार्न सकें। उद्देश्य अनुरूप दुवै उद्देश्य पूरा भएनन्।
हुँदाखाँदाको शिक्षण पेशा छाडेर आउँदा कहिलेकाहीं नरमाइलो लाग्छ। पेन्सन त आउँछ तर शिक्षक साथीहरू, विद्यार्थी भाइबहिनी र अभिभावकहरूको सामीप्यता बैंकमा पेन्सन बुझदा नपाइने रहेछ। पढ्दै-पढाउँदै गरेको कामलाई चटक्क माया मारेर विद्यालय बाहिर हुँदाको पीडा कहिलेकाहीं उम्लेर आउँछ।
विद्यालयको चार दिवारबाट बाहिर रहँदा राजाको घोडा फुकेजस्तो त हुने तर बेवारिसे जस्तै भइँदोरहेछ। न कुनै समयसारिणी; न कुनै कामको शुरू र अन्त्यको टुंगो धोबीको कुकुर जस्तै भइने रहेछ, घरी घरतिर, घरी घाटतिर! तथापि, शिक्षण पेशा छाडेपछि आफ्नो योग्यतालाई प्रयोग गर्न सहकारी, वन, पर्यटनमा आफूलाई निरन्तर गतिशील बनाएँ। नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ मानिसहरूसँगको संगतलाई अघि बढाएँ । चिनजानको दायरालाई फराकिलो पारें। शिक्षण पेशामा रहँदा सिकेका ज्ञान, सीप र क्षमतालाई व्यावहारिक रूपमा उतार्न हरप्रयास पनि गरिरहें।
शिक्षक हुँदा पढाइरहेको बानी अनि निडरताका साथ प्रस्तुत हुनसक्ने क्षमताले यतिबेला मलाई हरस्थानमा सहयोग पुगेको छ। कसैका अघि कुनै कुरामा डर, त्रास र भय हुँदैन। निडरतापूर्वक आफूलाई प्रस्तुत गर्न सक्ने खूबी शिक्षक भएकै कारण प्राप्त भएकोमा खुशी लाग्छ। कुनै पनि विषयमा सहजीकरण गर्न जाँदा धेरैले सोध्छन्– तपाईं शिक्षक हो र ? त्यो फ्लेवर आज पनि आउँदो रहेछ । अर्को कुरा शिक्षक हुँदा असल र योग्य शिक्षक बन्नका लागि फुर्सदको समयमा खूब पढिन्थ्यो। चाहे त्यो कोर्षको किताब होस् वा बाहिरी सन्दर्भ किताब वा अरू कुनै पनि।
प्रवेशिका उत्तीर्ण गरी शिक्षक भएको मान्छे म । विद्यालय छाड्ने बेला दुई वटा विषयमा स्नातकोत्तर गरेको थिएँ । विद्यालय छाडेपछि यी सर्टिफिकेटको के अर्थ र महत्व रहला भन्ने लागेको थियो। पानी पर्न छाडेपछि छाता बोझ् हुन्छ भन्ने लागेको थियो तर घाम चर्किंदा पनि छाता काम लाग्दोरहेछ भन्ने कुरा आज बुझदैछु।
शिक्षक हुँदा शिक्षक पत्रिका खूब पढ्थें । केही लेख, अनुभवहरू सो पत्रिकामा प्रकाशित पनि भएका छन्। काठमाडौं जाँदा पत्रिकामा लेखेबापतको लेखकस्व बुझेको पनि थिएँ । सम्पादक राजेन्द्र दाइसँग कहिले नेपालगञ्ज, कहिले बुटवल, कहिले काठमाडौंमा गरी पटक-पटक भेट्ने अवसर समेत मिलेको थियो। भेट्दा शिक्षक पत्रिकाको गुणस्तरीयता, शिक्षकमा प्रभाव र अझ् राम्रो बनाउन कसरी सकिएला भन्ने विषयमा दाइको जिज्ञासा रहन्थ्यो। मैले पनि शिक्षक पत्रिकाका बारेमा जाने बुझेको कुरा बताएको थिएँ।
शिक्षक हुनु सामाजिक क्षेत्रमा क्रियाशील हुनु पनि रहेछ । समाजका हरेक पाटामा शिक्षकको उपस्थिति उल्लेखनीय हुँदोरहेछ। समाजलाई गतिशील गराउन र सामाजिक न्याय र रूपान्तरणका लागि शिक्षक मियो बन्न सक्ने धेरै उदाहरण भेटेको छु। दुनियाँलाई जगाउने र दौडाउने भनेकै शिक्षकले हो। त्यस्तो गुण, क्षमता र योग्यता शिक्षकमा हुने गर्छ तर कतिपय शिक्षकले प्रयोग गर्न नसक्दा आफ्ना खूबीहरू प्रयोगहीन बनाएका छन्। हतियारमा धार नलगाए त खिया लाग्नुको विकल्पै छैन।
शिक्षण पेशाबाट निवृत्त भए पनि पढ्ने कामबाट विमुख भएको छैन। यो सीप मलाई शिक्षक हुँदा नै प्राप्त भएको हो। पढ्नुपर्छ, लेख्नुपर्छ भन्ने सिकाइ शिक्षक हुँदा नै सिकेको हुँ। एक अक्षर लेख्न सय अक्षर पढ्नुपर्छ भन्ने कुरा मैले शिक्षक हुँदा नै जानेको हुँ।
कोरोनाकालको लामो ‘लकडाउन’का कारण शिक्षक मासिकको छापा प्रकाशन बन्द भयो। त्यतिबेला पढ्ने खुराकको अभाव धेरैलाई भएको हुनुपर्छ । म निवृत्त शिक्षक भए पनि शिक्षक मासिक पढ्न छुटाएको थिइनँ । पढाउँदा होस् वा नपढाउँदा होस्— यो पत्रिका सबैका लागि सान्दर्भिक रहेको छ । कोरोनापछि साउन र भदौ अंक २०८० प्राप्त भयो । यसको नालीबेली पढ्ने अवसर मिल्यो।
यो पत्रिका देशका सबै विद्यालयमा पुगेको होला ? पु¥याइएको होला ? पुगे पनि आद्योपान्त पढ्ने शिक्षक कति होलान् ? विद्यालयसँग सरोकार राख्नेहरूका निम्ति यो पत्रिका कति फलदायी होला ? यसका बारेमा थप खोज, अध्ययन र अनुसन्धान कसैले गरेका होलान् ? यति मिहिनेतका साथ सामग्री संकलन, सम्पादन र दुःखका साथ प्रकाशन गरिएको यो पत्रिकाबाट शिक्षासँग सरोकार राख्नेहरूले कति लाभ लिएका होलान् ? यकिन तथ्याङ्क होला पत्रिका वा अरू कोहीसँग ?
पत्रिकाको मूल्य बढेर आउँदा महँगो भएको केही शिक्षक साथीहरूले कुरा गरेको सुनें तर सुनिनँ मैले पत्रिकालाई स्तरोन्नतिका लागि दिएका राय/सुझवहरू। विद्यालयमा एउटा पत्रिका जान्छ होला शायद। कसले कतिबेला पढ्ने भन्ने पनि होला । धैर्यका साथ पढ्ने फुर्सद शिक्षकलाई विद्यालयमा नहुन पनि सक्छ। घर लैजाने व्यवस्था होला वा नहोला ? त्यसैले संग्रह गरिराख्न, मिहिन तरिकाले फुर्सदका बेला घरमै बसेर पढ्नका निम्ति शिक्षक मासिक शिक्षकले निजी तरिकाले किन्दा के फरक पर्ला र ? सय खर्चिएर हजारको ज्ञान प्राप्त गर्न सकिने पत्रिका शिक्षक मासिक हो भन्न मलाई संकोच लाग्दैन।
शिक्षक मासिक निरन्तर प्रकाशनको अपेक्षा हो मेरो। तर शिक्षासँग सरोकार राख्ने सबैले पढिदिए पो यसको शाब्दिक मूल्य बढ्ला; अर्थपूर्ण बन्ला । छाप्नेले छापिरहने, बजारमा लैजानेले लगिरहने, विद्यालयमा पुर्याउनेले पुर्याइरहने अनि पढ्नेले पढे जस्तै गरी पाना मात्र पल्टाइरहने हो भने शिक्षक मासिक प्रकाशनको कुनै तूक हुने छैन।
(पूर्वशिक्षक, दोभान मावि, पाल्पा)



