२०० वर्षअघिको नेपाली भाषा
अहिले ‘नेपाली’ भनी जानिएको भाषा आजभन्दा २१०/२१५ वर्षअघि कसरी बोलिन्थ्यो/लेखिन्थ्यो होला ? अहिले जसरी नै कि फरक किसिमले ? त्यतिवेला बोलेका कुरा (उच्चारण, ध्वनि) रेकर्ड गर्ने प्रविधि नभएकाले कसरी बोलिन्थ्यो भनी थाहा पाउने कुरा भएन। कुनै पनि भाषामा विगतमा लेखिएका साहित्य पढेर त्यो भाषा कसरी लेखिंदो रहेछ भन्ने जान्न पनि सकिन्छ। तर, त्यतिवेलासम्ममा नेपाली भाषामा कति पो किताब लेखिएका थिए होलान् र ! अर्काे उपाय त्यतिवेला लेखिएका चिठी हुन्। त्यसैले, माथिको आफ्नै प्रश्नको जवाफ खोज्न म संवत् १८७१-७२ को नेपाल-अंग्रेज बीचको लडाइँका वेलामा सिपाहीले लेखेका र सिपाहीलाई लेखिएका चिठीमा भर परेको छु।
एउटा चिठीमा राजा गीर्वाणयुद्ध वीरविक्रमले लेखेका छन्- ‘शक्तिको चुर्या र विछाखोरी पावस् हरिहरपुरसम्मका चुर्या गैह्रको मजवुति गन्र्या काम गरि तिमी दुई जनाले माडीमै बस्नू। तिम्हेरुले त पूर्व हरिहरपुरसम्म सर्वत्रैको खवर्दारी राख्नुपन्र्या छ। तिमी २ जना अघि बढि गया हाम्रो विरिन जाला।’
१८७२ साल माघ वदी १४ रोज १ मा लेखिएको यस चिठीले त्यसपछिका वर्षमा नेपाली भाषा निकै बदलिएको देखाउँछ । चिठीमा भनिएको ‘शक्तिको चु¥या’ भनेको चितवनको शक्तिखोरको डाँडा हो। ‘विछाखोरीको पावस्’ भनेको अमलेखगञ्ज (भिक्षाखोरी) उत्तरको डाँडाको कछाड हो। आजभोलि मधेशको उत्तर र चितवन जस्ता भित्री मधेशका दुनको दक्षिणका होचा पहाडलाई चुरे भनिन्छ; तर त्यतिवेला दुनको उत्तरको होचो पहाड पनि चुरे कहलिंदो रहेछ। आजभोलि चलाइने ‘लगायत’, ‘आदि’ जस्ता शब्दका ठाउँमा त्यतिवेला ‘गैह्र’ शब्द प्रचलनमा रहेछ। बहुवचन बुझाउन ‘हरु’ र ‘हेरु’ दुवै चलाइँदो रहेछ। आजभोलि ‘एकार’ लाग्ने धेरै ठाउँमा ‘आकार’ लगाइँदो रहेछ । जस्तैः चुरेको ‘चुर्या’, गर्नेलाई ‘गन्र्या’, राख्नुपर्नेलाई ‘राख्नुपन्र्या’, गएलाई ‘गया’ आदि।
ठाउँका नाम र परिभाषा बदलिएको कुरा थाहा नपाउने हो भने त्यतिवेलाका चिठी पढेर बुझन नसकिने रहेछ। कति शब्द त अहिले आम प्रचलनमा रहेको भन्दा फरक अर्थ बुझउन उपयोग गरिंदा रहेछन्। जस्तै, ‘राजाको ढुंगो डुबाइ आफू जीउ बचाउन्या छैन।’ यहाँ ‘ढुङ्गो’ लाई हामी सबैले जानेबुझेको शिला, पत्थर ठान्दा यसको अर्थ लाग्दैन। धन्न, नेपाल प्रज्ञा–प्रतिष्ठानले निकालेको शब्दकोशले ‘ढुङ्गो’ शब्दले ‘राज्य’ पनि बुझउँछ भनेको रहेछ । यो अर्थ थाहा पाएको खण्डमा मात्रै माथिको वाक्य पढ्दा लेख्नेले जे बुझउन लेखेको हो सोही कुरा बुझ्न्छि।
तर त्यतिवेला चलनचल्तीमा रहेका कतिपय शब्द आजका शब्दकोशमा भेटिंदैनन्। कतिपयको जुन अर्थ दिइएको छ, सो अर्थ लगाउँदा या त अर्थ निस्कँदैन या गलत अर्थ लाग्छ। जस्तै, ‘बन्दूकमा कुप गर’ को ‘कुप’ र ‘हाम्रो लस्कर पातलो थियो’ का ‘लस्कर’ र ‘पातलो’। कुप शब्द शब्दकोशमा छैन। त्यतिवेला ह्रस्व र दीर्घको ख्याल गरिंदैनथ्यो भन्ने कुरा मनन गरेर कुपको सही रूप कूप हो भन्ने मानौं जसको अर्थ हो कुवा। यसो गर्दा ‘बन्दूकमा कुवा गर’ भनी बुझनुपर्छ जसको पनि अर्थ लाग्दैन।
‘लस्कर’को हामी जानेको र शब्दकोशले अथ्र्याएको अर्थ हो- मानिस वा अन्य जीवको लामो ताँती, लर्काे, लाम, पंक्ति। अनि ‘पातलो’ भनेको दुब्लो त हो नि! तर हामीले जानेका र शब्दकोशले दिएका यी अर्थ लगाउँदा त्यतिवेलाको नेपाली भाषामा लेखिएका सामग्री बुझिदैंन । त्यतिवेला लस्कर (शुद्ध रूपः लशकर) शब्दले त्यस शब्दको मूल अथवा अरबी/फारसी भाषाको अर्थ बुझउँदो रहेछ। त्यो हो- सिपाही, सैनिक। पातलो शब्दलाई चाहिं लाक्षणिक रूपमा अर्थात् ‘थोरै’ भनेर बुझनुपर्ने रहेछ। यति गरेपछि मात्रै त्यो वाक्यको सही अर्थ अर्थात् सिपाही/सैनिक थोरै रहेछन् भनी बुझन सकिंदो रहेछ।
अर्काे वाक्य हेरौंः ‘वैरिका ३०० तिलंगा षेत रह्या । भोलिपलट लोत माग्न आयो। हामीले दिञ्यूँ ।’
तिलंगा अहिले आम चलनमा छैन। तर पनि शब्दकोशले त्यसको अर्थ सैनिक भनी दिएको रहेछ। त्यतिवेला लेखेका कागजमा ‘ष’ अक्षर भेटिंदा प्रसंग अनुसार ‘ष’ र ‘ख’ मध्ये जुन उपयुक्त हुन्छ त्यही अक्षर हो भनी बुझनुपर्ने रहेछ। ‘षेत रह्या’ भनेको ‘मरे’ भनेको रहेछ। शब्दकोशले लोतको कम प्रचलनको अर्थ लोथ र लोथको पनि कम प्रचलनको अर्थ लाश भनेको रहेछ।
यति बुझेपछि मात्र माथिका नौ वटा शब्दका दुई वाक्य (वैरिका ३०० तिलंगा षेत रह्या। भोलिपलट लोत माग्न आयो।) को अर्थ बुझिन्छ- वैरीका ३०० जना सिपाही मरे। भोलिपल्ट लाश माग्न आयो।
अभिवादन गर्नका लागि त्यतिवेला दर्जा, नाता र उमेर हेरी वेदोक्त आशीर्वाद, आदिर्वाद, शुभाषिस, सेवा र कुर्नेस आदि शब्द चलाइँदा रहेछन । केही उदाहरणः
१. इत सेवक रेवन्त कवर नयनसीं वानिया ठह धोकल प्रल्हाद थापा माहावीर कार्किको कोटीकोटी कुर्नेस बन्दगी सलाम सलाम सलाम सतम शुभम्।
२. इत सबेवक अहिमान सिं अधिकारीको कोटीकोटी कुन्र्हेस कुन्र्हेस कुन्र्हेस सेवा सेवा सेवा दंडवत दंडवत दंडवत।
फारसी शब्द कोरनिशलाई त्यतिवेला नेपालीमा कुर्नेस, कुन्र्हेस र कुर्णेस लेखिंदो रहेछ। राजा राम शाह (सं. १६६३–९३) ले बाँधेका थिति बन्देजमा लेखिएको छ- टाढाका भाइहरुले महाराजलाई कुर्नेस बजाउने गर्नू। यो थिति बन्देजले यो शब्द निकै पहिलेदेखि नेपाली भाषामा चलिआएको देखाउँछ तर नेपालका भाषाविद्हरुले समेत ‘कुर्नेस’ शब्द राणाकालमा प्रचलित भएको शब्द भनेर दोहोर्याइरहने गर्छन्। यो हल्लालाई सत्यको नक्कली जामा पहि¥याउने काम नेपाली बृहत् शब्दकोशले गरेको रहेछ। उसले भनेको छ- यो शब्द नेपालीमा विशेषगरी एकतन्त्रीय जहानियाँ शासनमा प्रचलित थियो।
आधिकारिक जस्तो लाग्ने एउटा संस्थाले जान्ने पल्टिएर गल्ती गरेपछि समाजमा गल्तीलाई नै सही हो भनी ठानिंदो रहेछ । धन्न, त्यस शब्दकोशको पछिल्लो इलेक्ट्रोनिक संस्करणमा भने यस्तो गल्ती दोहोर्याइएको छैन !
त्यतिवेला आगन्तुक शब्द विशेषगरी अरबी/फारसी भाषाका शब्द नेपालीमा छ्यास्छ्यास्ती र अंग्रेजी भाषाका शब्द कताकति प्रयोग हुँदा रहेछन्। जस्तैः फर्द, इकरारनामा, तक्रार, अहदनामा, रस्ता, रसद, असवाप, असवार, तरयानी, लाठ साहेब, विजनिस आदि।



