गल्कोट मावि एउटा गज्जबको विद्यालय !

सामुदायिक विद्यालय भन्ने वित्तिकै कतिपय अभिभावक, विद्यार्थीलगायतका सरोकारवालाले नाक खुम्च्याउँछन् । राजनीतिज्ञ, कर्मचारीतन्त्र र सञ्चारमाध्यमहरू पनि निजी स्कूलको प्रशस्ति गाउनमै रमाउँछन् । यस्तै कारणले सफल सामुदायिक विद्यालयहरू पनि ओझ्ेलमा परेका छन् ।
शहीद थिरबम मल्लको जन्मभूमि हरिचौर जाने सन्दर्भमा बाग्लुङको मध्यभागमा अवस्थित जिल्लाको पुरानो सदरमुकाम गल्कोट हटियाको गल्कोट माध्यमिक विद्यालयमा पुग्ने अवसर जु¥यो । स्थानीय शिक्षाप्रेमीहरूको प्रयासमा वि.सं. २००५ सालमा स्थापित गल्कोट विद्यालयले २००८ सालमा प्राथमिक, २०१७ मा निमावि, २०२३ सालमा मावि, २०५३ सालमा उच्च मावि र २०६९ सालमा प्राविधिक शिक्षा अन्तर्गत कृषिका कक्षा सञ्चालन गर्ने सरकारी स्वीकृति पाएको रहेछ । हाल माध्यमिक तहसम्म १२ सय ५० विद्यार्थी अध्ययनरत छन् । यसमा कार्यरत ६५ जना शिक्षक÷कर्मचारीमध्ये ४९ जना निजी स्रोतमा निर्भर छन् ।
अहिले गल्कोट माविको शैक्षिक, प्रशासनिक नेतृत्व देवेन्द्र खत्रीले गरिरहेका छन् । विद्यालय नेतृत्व अर्थात् प्रअ–प्राचार्यले स्थानीयवासीको विश्वास जित्न सके मात्र विद्यालय सफल हुन्छ भन्ने उनको अनुभव छ । खत्रीले आफ्ना बुबाको पुस्ताबाट स्थापित त्यही विद्यालयमा पढेका हुन् र उनका छोराछोरी पनि सोही स्कूलमा पढिरहेका छन् ।
गल्कोट मावि समर्पित विद्यालय नेतृत्व र शिक्षकहरूको सुदीर्घ परम्पराबाट तयार भएको सामाजिक संस्था हो । यस विद्यालयका बारेमा जान्नेहरू यसको सुनामका लागि तत्कालीन प्रअ चित्रबहादुर के.सी. (पछि राष्ट्रिय जनमोर्चाका नेता), २२ वर्षसम्म प्रअ भएर विद्यालयको नेतृत्व गरेका मोहनचन्द राजन र हालका प्रअ देवेन्द्र खत्रीलाई जस दिन्छन् । चित्रबहादुर के.सी. करीब दुई वर्ष प्रअका रूपमा रहेका बेला नै झ्लनाथ खनाल (नेकपा एमालेका नेता, पूर्व प्रधानमन्त्री) ले पनि विज्ञान शिक्षकका रूपमा यहाँ पढाएका थिए । “मोहनचन्द राजनजीको प्रेम, प्रअ देवेन्द्रको साहस र लगन नै गल्कोट माविको सफलता हो”, सहायक प्रअ नवराज गौतम भन्छन् ।
२०५३ सालमा त्रिविबाट स्नातकोत्तर तह उत्तीर्ण गरी उक्त विद्यालयमा शिक्षकको रूपमा प्रवेश गर्दा राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर के.सी.ले “अरू त डिग्रीपछि शहरमै रमाउँछन् तिमी त गल्कोटै फर्कियौ देवेन्द्र बाबु, बधाई छ” भनेको उनी अहिले पनि झ्ल्झ्ली सम्झ्न्छिन् । त्यसबेला उनको गाउँ फर्किने कदमलाई मान्छेले ‘बाँदरलाई भीरै रमाइलो’ भन्ने आहानसँग तुलना गरेका थिए । ‘ईश्वरले तँ चिता म पु¥याउँछु’ भन्छन् भन्ने लोकोक्तिमा विश्वास गर्छन् खत्री । प्रशासक भएर नियममा प्रतिबद्ध हुनुपर्दछ र टीमवर्क नै सफलताको चुरो हो भन्ने उनको मूल मान्यता छ ।
‘तपाईंमा विद्यालयप्रतिको यो लगाव र कार्यक्षमता कहाँबाट आयो ?’ भन्ने प्रश्नको जवाफमा प्रअ खत्री आफ्ना गुरु पूर्व प्रअ मोहनचन्द राजनको शिक्षा र प्रेरणालाई जस दिन्छन् । राम्रो कार्यको लागि पैसा बाधक नबन्ने तर्क गर्दै थुप्रै भवन, विज्ञान र कृषि प्रयोगशाला निर्माण गर्न सफल खत्री भन्छन्, “आय–व्ययको पारदर्शी व्यवस्थापन भएपछि विद्यालय खोज्दै पैसा आफैं आउँदो रहेछ ।” धार्मिक महायज्ञ गरेर मनग्ये पैसा संकलन गरी गल्कोट बहुमुखी क्याम्पस समेत सञ्चालन गर्न सफल देवेन्द्रले अहिले क्याम्पस प्रमुखको जिम्मेवारी पनि सम्हालेका छन् ।
प्रअ देवेन्द्रसँग सशस्त्र द्वन्द्वका बेलाका केही तीता स्मृति पनि छन् । विद्यालयमा अध्ययनरत माओवादी विद्यार्थीलाई नचिनाएको कारणले सुरक्षाकर्मीद्वारा मरणासन्न हुने गरिको कुटाइ भोगेका देवेन्द्र अहिले पहिला जस्तो स्वस्थ छैनन् र भन्छन्, “यो मेरो पुनर्जन्म यही विद्यालय सेवाका लागि हो र म समर्पित छु ।”
स्थानीय बासिन्दाका अनुसार, ‘खत्री सर’ बिहानदेखि बेलुकैसम्म र विदाका दिनमा समेत विद्यालयमै देखिन्छन् । वास्तवमा उनी बिहान उठ्नासाथ विद्यालयतर्फ लागिहाल्छन् र विद्यालयमै फलिरहेका तरकारी र फलफूल हेरेर दङ्ग पर्छन् । विद्यालयको छतमा काम नलाग्ने टायरमा तरकारी फलेका छन् । खत्री भन्छन्, “विद्यार्थीलाई काम नलाग्ने बस्तु केही हुँदैन भन्ने कुरा बताउन यो अभियान थालिएको हो ।” आफ्नी छोरीले सोही स्कूल पढेर एमबीबीएस गरेको सफलताका कथा सँगै थुप्रै विद्यार्थीले मुलुकमा राष्ट्रसेवक, निजामती, जङ्गी र प्राविधिक क्षेत्रमा राम्रो स्थान बनाएकोमा सन्तुष्टि व्यक्त गर्छन् प्रअ खत्री ।
औपचारिक शिक्षा हासिल नगरे पनि आफ्नी श्रीमती यमकुमारी खत्रीले आफूलाई मनग्ये सहयोग गरेकोमा पनि प्रअ खत्री फुरुङ्ग छन् ।
गल्कोट माविको व्यवस्थापन समितिका अध्यक्ष छन् स्थानीय युवा गुमानसिंह के.सी. । उनी पनि सोही विद्यालयका उपज हुन् ।
विद्यालयले बोलाएको समयमा सदैव उपस्थित रहने र आफ्नो बलबुताले भ्याएसम्म राम्रो गर्न प्रतिबद्ध छन् अध्यक्ष के.सी. ।
नर्सरी कक्षामा काम गर्ने शिक्षक जमुना थापा मासिक रु.५ हजार मात्र पारिश्रमिक पाउँछिन् । तर, बीएड उत्तीर्ण थापा भन्छिन्, “सफल विद्यालयमा काम गरेपछि थोरै तलब भए पनि सन्तुष्टिको अनुभव हुँदोरहेछ ।” ग्रेड शिक्षक कृष्णकुमार श्रेष्ठलाई ‘कसरी पढाउनुहुन्छ ?’ भनेर सोध्दा सहज रूपमा जवाफ दिन्छन्, “म त खेल्छु, खेलाउँछु । पढाउने होइन सिकाउनमा तल्लीन हुन्छु ।” कक्षा ७ मा अध्ययनरत छात्रा मनिषा नेपाली ‘भविष्यमा के हुने ?’ भन्दा सहज रूपमा ‘डाक्टर वा पाइलटमध्ये एक हुने’ भनेर जवाफ दिन्छिन् । सयौं विद्यार्थीसँगको अन्तरक्रियापछि के थाहा भयो भने यहाँका विद्यार्थी ‘गल्कोटको विद्यार्थी’ भएकोमा गौरव गर्छन् । स्कूल आउने भन्दा सबै रमाउँछन् । अत्यन्त माया र तयारीका साथ शिक्षकहरूले पढाउने कुरा बताउँछन् । सबै प्रयोगात्मक विषयका लागि उत्कृष्ट प्रयोगशाला भएकोले खेल्नभन्दा पढ्न रमाउँछन् विद्यार्थी ।

विद्यार्थीले भने जस्तै यहाँको परीक्षा परिणाम पनि सन्तोषजनक छ । साधारणतर्फ २०६० मा जिल्ला प्रथम भएको गल्कोट माविको गत वर्षको एसएलसी नतीजा ७२ प्रतिशत छ । एसएलसीको शतप्रतिशत नतीजाभन्दा पनि विद्यालयका विद्यार्थीहरूले विद्यालय शिक्षा पछि कुनस्तरको जीवनयापन गरेका छन् त्यो महŒवपूर्ण हुने बताउँछन् त्यहाँका शिक्षक अभिभावकहरू ।
एसएलसी अनुत्तीर्ण भएर पनि प्राविधिक शिक्षामार्फत जीवन जिउने कला प्राप्त गरेकोमा विद्यार्थीहरू रमाइरहेका भेटिन्छन् ।
अतिरिक्त क्रियाकलापतिर पनि यो विद्यालय उत्कृष्ट छ भन्ने कुराका उदाहरण हुन विद्यालयको कार्यालयमा देखिने शिल्डहरू ।

विद्यालयमा सदन विभाजन र सदन अनुसारको पोशाक पनि उदाहरणीय छ । अझ् पछिल्लो चोटि धान रोप्ने, गहुँ छर्ने, धान गोड्ने, धान–गहुँ झँट्ने, खेतबारी जोत्ने आधुनिक कृषि यान्त्रिक उपकरण प्रयोग गर्ने, कृषिलाई अर्गानिक र व्यवसायीकरण गर्नेतर्फ विद्यालयको प्राविधिक शिक्षाले ठोस योगदान पु¥याएकोमा दंग छन् गल्कोटवासीहरू । विश्वप्रसिद्ध शैक्षणिक पुस्तकहरू दिवास्वप्न र तोत्तो–चान का थुप्रै सबल उदाहरण भेटिन्छन् गल्कोट माविमा ।
गल्कोट माविको सफलताको लागि सदैव यही रूपमा टीमवर्क र अभिभावकको साथ रहोस् र मावि देशकै उदाहरणीय बनोस् भन्ने शुभकामना छ ।
(ज्ञवाली नेपाल शिक्षक संघ तथा सार्क शिक्षक महासंघका पूर्व अध्यक्ष हुन् ।)



